सुरेश राईढ्याङ्ग्रो
उनीहरूको छाती भारि भएका थिए । मुटुमा स्याने सार्कीको उक्त कविताले ठोकेको ढ्याङ्ग्रो अझै बजिरहेकै थियो- ‘ढ्याङ्ढ्याङ ढ्याङ्ढ्याङ् ढ्याङ्ढ्याङ् ढ्याङढ्याङ ...’

सुरेश राई :
मुल्याङ्कनको क्रम चलिरहेको थियो । पहिलो निर्णायकको हातमा स्याने सार्कीको कविता पर्यो । कविता यति शक्तिशाली थियो कि निर्णायकज्यूको सातोपुत्लो उड्यो । उनलाई भित्रभित्रै एक किसिमको जलन जस्तो भएर आयो । तुरुन्तै कवितालाई शून्य अङ्क दिएर उनी अन्य कविता पढ्नतिर लागे ।
दोस्रो निर्णायकको हातमा पनि उक्त कविता पर्न गयो । अभिव्यक्ति, भाव, चेतना, विचार आदि जम्मैले कविता एक नम्बर थियो । तर उनलाई पनि कविताले पिरोलेन मात्रै अशान्ति नै गरायो । उनले पनि कवितालाई शून्य अंक प्रदान गरे ।
तेस्रो निणर्ायक ज्युले पनि उक्त कविता सहनै सकेनन् । कविता यति बुलन्द थियो कि उनलाई बेस्सरी ईर्ष्या लाग्यो । भित्रभित्रै कताकता डामे जस्तो लाग्यो । कविको थरले त झन् उनलाई छटपटी नै गरायो । उनीबाट पनि उक्त कविताले आखिर शून्य नै पायो ।
यसरी जातीय विभेदविरुद्ध आगो ओकलिएको एउटा सशक्त कविता ‘राष्ट्रिय’ भनिएको प्रतियोगितामा रद्दी साबित भयो र त्यसले शून्याङ्क प्राप्त गर्यो । आखिर विजेता तिनै कविताहरू भए जसले ती कथित उच्च जातिका निर्णायकहरूको अहंमा कतै आँच पुर्याएनन् ।
पुरस्कार समारोहको दिन सभाहलभरि मानिसहरू खचाखच थिए । मञ्चमा विजेता भएका कविताहरूको वाचनका साथमा बाँसुरी, गीतार र तबलाको मीठो धुन गुन्जिरहेको थियो । सारा दर्शकहरू मन्त्रमुघ्ध थिए । भरपूर आनन्द उठाइरहेका थिए ।
मन्च तल सुरुकै लहरमा बसेका ती तीन निर्णायक महानुभावहरूको मन भने बडो बेचैन थियो । उनीहरूको छाती भारि भएका थिए । मुटुमा स्याने सार्कीको उक्त कविताले ठोकेको ढ्याङ्ग्रो अझै बजिरहेकै थियो-
‘ढ्याङ्ढ्याङ
ढ्याङ्ढ्याङ्
ढ्याङ्ढ्याङ्
ढ्याङढ्याङ …’
०००
बाम्राङ, खोटाङ
Subscribe
Login
0 Comments
Oldest







































