चिरञ्जीवी दाहालभ्रष्टाचारी जाति
उहिले भारद्वाज गोत्रका पृथ्वीनारायण शाहले गोत्र परिवर्तन गरेर कश्यप गोत्रीय बने जस्तै अचेल राजा महाराजा, छोटे महाराज हुनेहरू पनि धमाधम गोत्र परिवर्तन गर्दै “पतित” गोत्रमा प्रवेश गर्ने क्रम व्यापक रूपमा देख्न सकिन्छ ।

चिरञ्जीवी दाहाल :
संसारमा मान्छेका जम्मा दुई प्रजाति हुन्छन् स्त्री र पुरुष । हुन त महिला र पुरुष नखुुट्टिएको अर्को एउटा सानो समूह पनि हुन्छ । यो समेत मान्छे जम्मा तीन प्रजातिका हुन्छन्, वास्तविकता यही हो । तर पूर्वीय दर्शनले मनुको समयदेखि मान्छेलाई चार समुहमा वर्गीकरण गरेको पाइन्छ । लामो समयदेखि चलि आएको यही परम्परामा अनुसार मान्छे चार जातिको हुन्छ भन्ने गरियो । पृथ्वी नारायण शाहले यही चार जातमा ३६ वर्ण थप गरेर चार जात छत्तीस वर्णकाे बनाए ।
तर नेपाल लगायतका अन्य देशमा पनि यी बाहेक थप एउटा जाति अस्तित्वमा थियो भ्रष्टाचारी जाति । जसको लिखितरूपमा कुनै पनि ग्रन्थमा उल्लेख भएको पाइँदैन । तर हरेक क्षेत्रमा यही जातिको उल्लेख्य भूमिका रहेको देखिन्छ ।
कुनैपनि ग्रन्थमा यस जातिको उल्लेख नभएकोले यो जातिलाई अरुलाई जस्तै अलग्गै गोत्र पनि दिइएको थिएन । थर गोत्रावलीमा आफ्नो जातको उल्लेख नभएपछि यिनले मनखुशी आफ्नो गोत्रको नामाकरण गरे । त्यसैले यिनको गोत्र अन्य जातिको भन्दा विलकुल फरक पाइन्छ ।
भन्न त यिनीहरू आफूलाई “पातकी” कुलका सन्तान हौँ भनेर दावी गर्छन्, हो होइन उनै जानुन् । यिनले आफ्नो गोत्र तिनै महान् पातकीको नाम झल्किने गरि “पतित” गोत्र भएको उल्लेख गरेका छन् । झलक्क हेर्दा यिनमा मुख्यतया: तीन प्रवर देखिने भए पनि यस जातमा कम्तिमा पाँच वर्षमा प्रवर परिवर्तन गर्ने प्रचलन छ । त्यसैले यिनको स्थायी प्रवर कति हो ठ्याक्कै भन्न सकिन्न ।
यिनको पुर्खाको रगतमा भएको स्वभाव अनुसार यिनीहरूलाई लाज, शरम र घिन केही पनि लाग्दैन । त्यसै कारण यिनीहरूलाई मान्छेहरूले सामुन्ने पर्दा भगवान मानेपनि कण्डापरि निकै गाली गर्छन् । यिनका विषयमा चर्चा गर्छन् । यिनलाई चोर डाँका, फटाहा जे नाम दिएपनि यिनले प्रतिक्रिया जनाउँदैनन् । यिनीहरूमा एक कानले सुनेर अर्को कानले उडाउने अनौठो खुबी हुन्छ ।
यस जातिले भ्रष्टाचार नगर्ने हो भने सास पनि फेर्न सक्दैनन् । किनकि यिनको सासमा पनि भ्रष्टाचार हुन्छ, यिनको गाँसमा भ्रष्टाचार हुन्छ, वासमा भ्रष्टाचार हुन्छ । यिनको रगतमा भ्रष्टाचार बगेको हुन्छ । यो जातिको मुटुको धड्कनमा भ्रष्टाचार हुन्छ । यिनको नाडी र गाडीको चालमा भ्रष्टाचार हुन्छ । भ्रष्टाचार गर्न नपाउने हो भने यस जातिको अस्तित्व उहिले लोप भइसक्ने थियो । भ्रष्टाचार यिनको जन्मसिद्ध अधिकार हो । धन्न यहाँको माटो भ्रष्टाचार गर्नकालागि अत्यन्त उर्वर छ र यो जाति लोप हुने अवस्थामा पुगेको छैन बरू उल्टै व्यापक रूपमा मौलाएको देखिन्छ । राजनीतिको अधिकांश हिस्सा यिनकै हातमा छ । कर्मचारी तन्त्रमा यिनकै हालीमुहाली देखिन्छ । समाजसेवा, व्यापार, उद्योग धन्दामा यही जातिको बाहुल्यता देख्न सकिन्छ ।
यस जातिका मान्छेहरू सधैँ हाँसिरहेका र रमाइरहेका भेटिन्छन् । यसरी सधैँ हाँसीखुसी रहनुको पछाडि उनीहरूको ‘काम’ निर्विघ्न रुपमा सधैँ चलिरहेकाले हो भन्ने बुझिन्छ । यो जातिका मान्छेहरूले अन्य जातका मान्छेहरूले जस्तै शारीरिक परिश्रम गर्दैनन् । यिनीहरू मात्र “काम” बनाउँछन् । यिनीहरू “काम बनाउन” माहिर हुन्छन् ।
यिनको बसोबासको कुरा गर्दा अन्य जाति जस्तो सीमित क्षेत्र र निश्चित भेगमा मात्र यिनीहरूको बसोबास हुँदैन । देशका सबै गाउँपालिकादेखि लिएर राजधानीका मुख्य अड्डासम्म र सबै ठाउँमा यस जातिका मान्छेहरू पाइन्छन् । हिमाल पहाड तराई जताततै पाइने यो जातिको मुख्य विशेषता भनेको, यिनले आफ्नो जातिको भलाइका लागि ज्यान पनि दिन तयार हुनु हो । देखावटी रुपमा सधैँ झैंझगडा गरिरहेको देखिए पनि आन्तरिक रूपमा भने यिनीहरू सधैँ एकढिक्का भएर रहन्छन् । यिनले क्षेत्रीयता, लैङ्गिकतालाई खासै ध्यान दिँदैनन् तर जातियताको मामलामा यी कट्टर हुन्छन र सधैँ एक हुन्छन् । यिनको मुख्य नारा नै “भ्रष्टाचारी एक हौँ” भन्ने रहेको छ ।
एक आपसमा झगडा गरेको देखाएर अन्य जातिलाई भ्रममा राख्ने यिनीहरूको प्रमुख नीति रहिआएको छ । यो जातिको कुल पूजामा अन्य जातिलाई निमन्त्रणा गर्न हुँदैन भन्ने मान्यता छ । यस जातिको कुल पूजामा वलि प्रथाको प्रचलन देखिएको छ । यिनीहरू अन्य जातिले जस्तो पशुवलि होइन नरवलि दिने गर्छन् । नरवलिमा आफ्नो जातिवाहेक अन्य जातिका निरीह र कमजोर मान्छेलाई बोका बनाएर वलि चढाउने गर्छन् । भनिन्छ, यसरी वलि चढाएपछि उनीहरू तत्कालका लागि सुरक्षित रहन्छन् ।
यिनले अन्य जातिले जस्तो दशैँ, तिहार, तीज, रम्जान, उधौली, उभौली, चण्डीपूर्णिमा, क्रिसमस, ल्होसार त मनाउँछन् तर यिनको मुख्य चाड भनेको ठूला ठूला विकास निर्माण र महत्वपूर्ण राष्ट्रिय अन्तराष्ट्रिय खरिद बिक्री नै हो । जब चाडवाड आउँछ, अन्य जातिले कसरी मनाउने भनेर चिन्ता गर्नु पर्ने समय छ, तर ठ्याक्कै उल्टो यिनीहरूको भने यस्ता चाडवाडमा मुख्य फसल भित्र्याउने सिजन हुने भएकोले यी निकै रमाउँछन् र खुशी हुन्छन् । यसरी भित्र्याएको फसलले सात पुस्तासम्मलाई पुग्ने भएकोले यसरी रमाउनुलाई त्यति अस्वभाविक मान्न सकिन्न ।
यिनले खेतीपाती त गर्छन् तर अरुले जस्तो खेतबारीमा होइन, कागजमा खेती गर्दछन् । कोदालो र खुर्पाको ठाउँमा कलमको प्रयोग गर्छन् र आफ्नै हस्ताक्षरको प्रयोग गर्ने गर्छन् । यस प्रकारको खेती गर्दा न खडेरीले उत्पादनमा नोक्सान पुर्याउँछ । न बाढी पैरो लाग्छ । न त कुलोको मुहान सुक्ने समस्या देखिन्छ । यिनले नियम कानुनमा विश्वास गर्दैनन् । यिनले परिस्थिति र अवस्था हेरेर कानुन बनाउने गर्छन् ।
यिनको प्रमुख पेशा भनेकै भ्रष्टाचार हो । भ्रष्टाचार मात्र पेशा भएकोले यो जातिलाई “भ्रष्टाचारी जाति” भन्ने गरिएको हो । यिनीहरूको पुर्खा भारतको विहार वा अफ्रिकी मुलुक इथियोपियाबाट नेपाल आएको हुनसक्ने अनुमान गरिए पनि कहिले नेपाल प्रवेश गरेका हुन्, किन प्रवेश गरेका हुन् त्यसको भने एकिन हुनसकेको छैन । अन्य जातिले जस्तो व्यापक रूपमा यिनले आफ्नो वंशावली तयार गरेको आजसम्म थाहा पाइएको छैन ।
यिनले खेती गर्दा दुई चार जना देखि लिएर ठूलो समूह बनाएर खेती गर्ने गरेको देखिन्छ । अन्य जातिको खेतीमा जस्तै यिनले गर्ने खेतीबालीमा कुनै पनि प्रकारको रोग, किरा, असिना र हावाहुरीले समेत नोक्सान पुर्याउँदैन । कसैले आँखा लगायो भने पुरानो फसल तयार नहुँदै अर्को नयाँ बालीलाई घुसुवा वालीको रूपमा पुनः खेती गर्ने गर्छन् । अन्य मान्छेको ध्यान नयाँ बालीमा तानिए पछि तयार हुँदै गरेको साविकको बालीलाई ठाँगेले पनि छुँदैन । यस कुराको जानकारी उनीहरूलाई राम्रोसँग छ । आँखा लगाउनेको ध्यान अब पुरानो बाली तिर छोडेर नयाँ बालीतिर गएपछि, पुरानो बालीमा घुन पुत्ला लाग्ने कुरै भएन । बिना अवरोध यिनले ढुक्ले बाली भित्र्याउन पाउँछन् ।
यसरी अन्य सोझा र गाउँलेको ध्यान अन्यत्र मोडिदिने खुवी यो जातिमा पाइन्छ र यिनले सुरक्षित रुपमा आफ्नो फसल भित्र्याउने गर्छन् । सबैभन्दा गजबको कुरा त के छ भने यिनको खेतीपातीबाट अन्न मात्र होइन नगद र सुन चाँदी पनि फल्ने गरेको छ । यस जातीले अन्य जातिका मान्छेले जस्तै अन्न मात्र होइन पैसा र सुनचाँदी पनि खाने गर्छन् । अन्न मात्र खाने भए पो अन्न खानेका कुरा सुन्नु, त्यसैले यिनले कसैको कुरा पनि सुन्दैनन् र कसैलाई पनि मान्छेलाई जस्तो व्यवहार गर्दैनन् । यिनलाई के भ्रम छ भने मान्छे भनेको “भ्रष्टाचारी जाति” मात्र हो ।
उनीहरूको पहिचान गर्न भने एकदमै सजिलो छ – उनीहरूको गोजी सधैँ पुक्क फुलिरहेको देखिन्छ । गोजी मात्र होइन यिनको मुख पनि हरहमेसा फुलिरहेको हुन्छ । भ्रष्टाचारी जाति बाहेक अन्य जातिका मान्छेसँगको साक्षात्कार हुँदा यिनको पुरा अनुहार फुलेको देखिन्छ । ज्यान फुल्नु त यिनको वंशाणुगत गुण हो ।
एकताका, एक जना इमान्दार भनिएका मान्छेले यो जातिको धुवाँधार बिरोध गर्न सुरु गरेका थिए । तर के गर्नु, विरोध गर्न थालेको केही समयमै उनले पनि गोत्र परिवर्तन गरे र हेर्दाहेर्दै “भ्रष्टाचारी जाति”को सदस्यता लिन पुगे । यसपछि यिनको धुवाँदार भाषण नौनीदार भाषणमा परिवर्तन भयो । आखिर यिनले गोत्र परिवर्तन गरेपछि, त्यही जातिको नियममा बाँधिनु पर्थ्यो बाँधिए ।
गोत्र परिवर्तन गर्ने प्रचलन नयाँ भने होइन । उहिले भारद्वाज गोत्रका पृथ्वीनारायण शाहले गोत्र परिवर्तन गरेर कश्यप गोत्रीय बने जस्तै अचेल राजा महाराजा, छोटे महाराज हुनेहरू पनि धमाधम गोत्र परिवर्तन गर्दै “पतित” गोत्रमा प्रवेश गर्ने क्रम व्यापक रूपमा देख्न सकिन्छ । यही गतिमा गोत्र परिवर्तन हुँदै जाने हो भने कुनै दिन हाम्रो मुलुकमा यही पतित गोत्रका मान्छेहरू मात्र भेटिन सक्छन्, आश्चर्य नमाने हुन्छ ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest






































