गाेपेन्द्रप्रसाद रिजालकुर्सीको आत्मकथा
म सिंहदरबार छिरौँ कि बाग दरबार छिरौँ । मैले देख्ने भनेको ब्वासो चरित्र नै हो । न्यायालयको कुर्सीमा बसेर कानूनको नुन झिक्नेहरूलाई देखेर त झन लाजले लगौँटी लाउन नै लजाए जस्तो लाग्छ ।

गोपेन्द्रप्रसाद रिजाल :
मेरो नाम नै कुर्सी हो । कसैकसैले मलाई मेच पनि भन्ने गर्छन् । कहिलेकाहीँ म मेरो परिचय दिने गर्छु । देश, काल, परिस्थिति अनुसार मेरो स्वभाव परिवर्तन हुने गर्छ । हुन त पहिला पहिला पनि मेरा आत्म कथा नलेखिएका होइनन् त कहिले काँही दिनदिनै मेरो चरित्र फेरिने गर्छ ।
मेरो वशांवली कसैले नलेखे पनि फरक पर्ने वाला छैन । मेरा बाबु बाजे सबै बडेमानका रुखहरू हुन् । तर म कुर्सी बन्न त्यति सजिलो कहाँ छ र ? गाँठे रुखबाट म बन्ने कल्पना नगरे पनि हुन्छ । जसले जे भने पनि मान्ने नेपाली जनता जस्तै सोझा सलक्क परेका छिप्पिएर रुख भित्र चुरो पसेका रुखलाई आरा वा बञ्चरोले ढालेर टुक्रा टुक्रा पारेर फेरि हाते आरीले चरचरी चिरेर मेरा अङ्गहरू बनाउँछन् । रन्दा दलेर चिल्लो पार्छन । हथौंडाले काँटी ठोक्छन मानौं मेरा निर्मातालाई म माथि कुनै दया माया नै छैन वा उनीहरूको संवेदनशीलता नै काशी नुहाउन गएको फिरेको छैन ।
मेरो बास भनेको सधैँ ठुलाबढा भनिने दलालहरू, जन प्र्रतिनिधि नाम धारी हरामहरू, घुस र कमिसन हसुर्ने र आदेश दिने कार्यालयका हाँडी घोप्टे भूँडी बोकेका भष्मासुरहरू, सीता, सति साबित्रीको भजन गाउने तर लोग्नेको आडमा ब्रह्मलुट मच्चाउने आधुनिक सुरशाहरू र तिनैको किचनमा बफे डिनर ज्युनार गर्ने थलामा हुने गर्छ । जहाँको कक्टेल पार्टीले देश र जनताको ढाड सेक्ने काम गरोस् ।
यसो बिचार गर्दा म साँच्चै भाग्यमानी हो कि जस्तो लाग्छ तर जब भुइँ मान्छेतिर ध्यान जान्छ तब आत्म ग्लानीले भतभति पोल्छ । त्यही मेरो पोलाइको न्यानोले उनीहरू झम्म भएर निदाउँछन पनि । मेरो बास झोपडी हुँदै होइन । गुन्द्री, पिरा, घुम, गजरा आदि भए ठाउँमा म अटाउन्न पनि । म माथि बसेर भोक खाएर छाक टार्न सुहाउँदैन नै । अर्थात् मेरो बास भनेको रातो मसीले कालो कर्तुत गर्ने शर्महाराहरूको घर हो, दरबार हो सर्वहाराको मझेरी होइन । चरीत्र मात्रै हे-याे भने त म पनि भुइँमान्छे जस्तै पाकिथाकी सकेर थेचारिएको हुँ त्यसैले त म माथि बसेर रगत चुस्न सकेका छन् खरी जुकेहरूले ।
मैले मेरो जीवनकाल भरी के देखेँ, के भोगेँ भनिसाध्य र गनिसाध्य छैन । जति मेरो मान जस्तो भएको छ त्यो भन्दा दश गुणा बढी त अपमान नै भएको छ । मलाई जस्ले बनायो ऊ बस्न पाउँदैन र जो बस्छ उस्ले मेरो मान नै गर्दैन । बरू मै माथि बसेर अपान वायु छोड्दै अरबौँको सही गर्छन मान्छेहरूले त्यस्तो देखेर पनि म बोल्न सक्तिनँ । मलाई बनाउनेलाई सराप्न मन लाग्छ किन मेरो मुख नबनाएको भनेर ।
मलाई पाउन के गरेन मान्छेले । जेठका मच्छड मारे जस्तो मान्छे मारेनन् कि, साउनको निगरो निमोठे जस्तो घाँटी निमोठेनन् कि, सुँगुरलाई काखी मुनी झीरले रोपे जस्तो रोपेनन् कि, मञ्चमा उभिएर म जतिको दुधले नुहाएको कोही अरु छैन भनेर साँडे डुक्रिए जस्तो डुक्रिएनन् कि, रुखसँग दुख साटछौँ भने, घाममा सेकाएर पाउरोटी र जाम दिन्छौँ भने, गाई दिन्छौ, माई दिन्छौ, धाई दिन्छौँ, भाइ दिन्छौँ के के भने के के भने । जब मलाई पाए नि त्यसपछि त भनेका कुरा सबै मोबाइलबाट जङ्क फायल हटाए जस्तो सबै हटाए । म हेरी मात्र रहेँ । संजयले महाभारतको कथा सुनाउने दिव्य दृष्टि पाएको भए म यी धृतराष्ट्र जस्ता अन्धा त नभनौँ तर गान्धारी जस्ता आँखामा पट्टि बाँधेर अन्धा बनेका निमुखाहरूलाई सबै सुनाउँथे ।
म सिंहदरबार छिरौँ कि बाग दरबार छिरौँ । मैले देख्ने भनेको ब्वासो चरित्र नै हो । न्यायालयको कुर्सीमा बसेर कानूनको नुन झिक्नेहरूलाई देखेर त झन लाजले लगौँटी लाउन नै लजाए जस्तो लाग्छ । म बन्नु अर्थात कुुर्सी बन्नु भनेको अपराधीकरणलाई हौसला दिनु जस्तै भो ।
ए मान्छे म नहुँदो हुँ त तँ यति बेला जङ्गलमै हुन्थिस् होला । मान्छेको अस्तित्व लुट्नु भन्दा तरुल भ्याकुर खान्थिस् होला । तँसँग आदिम साम्यवाद हुन्थ्यो होला । समाजवाद हुन्थ्यो होला । हिसाबको बेहिसाब गरेको देखेर आजकल मलाई म हुनुमा ठूलो पछुतो छ पश्चाताप छ । तै पनि मैले मलाइ नै भन्नु परेको छ, जय कुर्सी !!!
जदौ !
०००
मैतीदेवी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































