साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्को नयाँ पसल

विषम स्थितिका मान्छेलाई पुस्तक-पत्रिका किनेर पढ्ने रोग लाग्यो भने स्वास्नीको दम र आफ्नो वातको औषधि आउँदैन, साँझ-विहानलाई तरकारी आउँदैन, चिनी-नून-मट्टितेल आउँदैन, छोराछोरीको स्कूलको फिस र पुस्तक-कापी आउँदैन, के गर्ने ?

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

ठूलो साहित्यकार बन्ने सपना देख्दादेख्दा पानको पसल खोल्न पुगेको कुरा त यहाँहरूलाई विदितै होला ? बरू भनौँ, मेरो साहित्य-रचना गर्ने हातले बनाएर दिएको पानको कलात्मक बिडाको यहाँले पनि पागुर लाउनुभएकै होला ! खयरले कालिएका दाँत देखाएर म व्यावसायिक हाँसो हाँस्दै पान, चुरोट, खैनी र गुटखाले स्वागत गर्छु, यहाँहरू ‘भोलि दिउँला’ भन्दै हिँड्नुहुन्छ । यहाँहरू छप्पन्न परिकारले पेट भर्नुहुन्छ होला, म आशाले पेट भर्छ । तर म गलेको छैन भन्ने कुरा पानको पातमा खयरको लुँडो छिटोछिटो चलाउँदै गर्ने मेरा हातको गतिबाट सहजै अनुमान लगाउन सक्नुहुन्छ ।

मेरा हात काममा व्यस्त भए पनि आँखा चाहिँ आफ्नो पसलको छिमेकमा दगुरिरहेका हुन्छन् । मेरो पसलको केही पर एउटा पाँचतारे होटेल छ । त्यसको पोर्टिकोमा साँझपख नित्य विभिन्न रङ्गका कार पस्छन् । कारमा केटी जान्छे । ऊ एक-आधा घण्टापछि पैदल फर्किरहेकी हुन्छे । उसको जीउ निचोरिएर एउटा मुठीमा अटाएको हुन्छ । ऊ आफै हिँडेकी हुँदैन मनभित्रको कसैले उसलाई बाहिरतिर घोक्रयाइरहेको हुन्छ । आँखा भावशून्य हुन्छन्, मेकअप लतपतिएको हुन्छ ।

त्यसको अगाडि एउटा सार्वजनिक पुस्तकालय छ । त्यहीँ काम गर्ने एउटा मान्छे बोहक त्यहाँ माखो पनि रिङ्दैन । बरू बाहिर पेटीमा बसेर एउटा भिखारी भटमास चपाइरहेको हुन्छ र आठ-दशवर्षे केही बालक-देवताहरू त्यसलाई हेर्दै थुक निलिरहेका हुन्छन् ।

अगाडि एउटा पुस्तक पसल छ । त्यहाँ गाइड किन्ने विद्यार्थी, रोमान्टिक र जासूसी उपत्यास किन्ने भलाद्मी एवम् उभिएर फिल्मी पत्रिकाका पृष्ठहरू पल्टाई चित्र हेर्ने लामा लामा जुल्फी पालेका, हातको अगाडि होइन – पछाडि ठेला परेका विचित्र वेशभूषाका व्यक्तिहरूको घुइँचो हुन्छ । ऱ्याकमा राखिएका, विभिन्न विद्वानहरूका कतिपय बहुमूल्य पुस्तकहरू त्यसै धूलो खाइरहेका छन् – कसैले किन्दैन । कबाडीले किलोको भाउले मागेको छ शायद तौलेर लैजान्छ होला !

दायाँतिर एउटा राशनको पसल छ जहाँ जसवेला पनि क्यू लागेको हुन्छ । क्यूमा लाग्नेहरू आफ्नो जीउको ख्यालै नराखी ढोकासम्म पुग्ने भगीरथ प्रत्यत्नमा लागेका देखिन्छन्, तर हुनमानको पुच्छरझैँ क्यू लामिँदै जान्छ- घटेको देखिँदैन – साहुलाई तिर्ने साउँ जस्तै । अनि, पसल बन्द भइसकेपछि पनि ‘साहेब’को चिठी लिएर आउनेलाई ‘हुन्छ साब् ! जी साब् !… बडा साबको हमारो राम राम कहिदिनू’- भन्दै राति गोदाम खोलेर बोराका बोरा सामान ओसारेको पनि कसैले देख्दैन ।

त्यसको छेउमा अर्को एउटा ठेकेदारको गद्दी छ । त्यहाँ एकक्षण पहिले एउटा भिखारीलाई पाँच पैसा दिन पाँच मिनट लगाउने साहुले अहिले चन्दा असूल गर्न आएका ‘ठूला’ लाई भन्छ- ‘बसों साब् । ठन्डा मगवावेँ या गरम ? चन्दा ? दिन्छम् साब् ! दिइहाल्छम् नि ! हामीले पनि नई दिएर काम कैसे चल्छ ?’ यो केही वर्षअघि भोकै आएको थियो, तर आज यस शहरको खाद्यान्नको ठूलो व्यापारीको रूपमा यसको गणना हुन्छ । पहिले ठेला धकेल्थ्यो, अब ऊ नेपालको नागरिक हो ठेक्का तान्छ ।

त्यसको छेउमा एउटा हाकिमको बङ्गला छ । हाकिम अफिस गएपछि त्यहाँ एउटा सेतो कार आइपुग्छ र बूढो हाकिमकी युवा पत्नी अत्याधुनिक संक्षिप्त वस्त्र र नाना अलङ्कारमा ठाँटिएर गहिरो मेकअपमा अझ गहिरो रहस्यमय मुस्कान ओढेर कारमा बस्छे, कार गुड्छ ।

यस्तै, मन्त्री वा पर्व आउँदा मात्र सफा गराइने फोहर सडक र नाली, ज्ञान बेच्ने गुरु र कानून घोट्ने डिठ्ठाका लठारिएका खुट्टा चाल्ने साँझ, बिजुलीको पोलनेर उभिएर ग्राहक खोज्ने बीस ननाघेकी प्रौढा, घरिघरि निभ्ने बत्ती एवं हिलो, मरेको माछा र भ्यागुतो आउने पानी धारा यिनै छन् मेरो पसलको वरिपरि ।

म यी घटनाहरू वा दृश्यावलि हेर्दिनँ भन्दा पनि देख्छु । अब त बानी परिसक्यो । आज होटेलमा कार किन पसेन ? हाकिमको घर सेतो कार किन आएन ? राशनको पसलमा क्यू लाग्नेहरूको बीच भनाभन र हानाहान किन भएन विजुलीको पोलमेर उभिने यौवन निभेकी केटी आज किन देखा परिन ?- भनेर उत्सुकता हुनेसम्म भयो । यो नित्यक्रममा भएको व्यवधान जस्तो, असजिलो जस्तो मानौं कुनै त्यान्द्रो छिनिए जस्तो थियो । वास्तवमा यी घटनाहरू अब त स्वभावगत भइसकेछन् । भोलि पुनः त्यो क्रम जोडिँदा मात्र आश्वस्त भएर लामो सास फेरिन्छ मानौं हरीपछिको शान्ति, भोकपछिको तृप्ति र व्यवधानपछिको समाधानजस्तै, बस् । यसरी, प्रत्येक दिनको घटनागर्भबाट भएको प्रसवले अनुभूति जन्माउँछ र मेरो मनमा फेरि केही लेख्ने लहड जागेर आउँछ । आफ्नी पानपसलमा आधाको पार्टनर बनाएर दिलमायालाई राख्छु, अनि आफू लेख्न थाल्छु । उता पसलको आम्दानी बढ्दै जान्छ, म पनि विभिन्न रचनाहरूको बाढी ल्याउन थाल्छु । प्रकाशकहरूको चापलूसी गरेर, रचनाको कुनै पारिश्रमिक नलिने कबूल गरेपछि विभिन्न पत्र-पत्रिकामा रचनाहरू पनि छापिन थाल्छन् ।

अब त लेखन नै मेरो पेशा भो, नशा भो । तर अरुको कमजोरी देखाउने कलम-घोट्वा जीव स्वयम् आफू कति कमजोर हुँदोरहेछ बल्ल बुझियो । ‘कतै गौली सन्न आएर ठहरै पार्छ कि ? पसलेले राशन दिन्न कि ? बीचसडकमा कसैले छुरी हानेर आन्द्राभुँडी निकालिदिन्छ कि ? कति त्रास ? कति संशय ?’ तर जे होस्, मैले लेख्न छाडिनँ ।

केके लेखियो, कसको लेखियो, सम्झना नै छैन । मेरो रचनाले कसैलाई पोल्यो होला, कसैलाई पोलेकोमाथि मलहम भयो होला । तर कसै-कसैले त ‘मलाई जथाभावी भन्ने तँ को होस् ? म मानहानिको दाबा गर्छु’ पो भने । गरी खान धौ भई जोगी भई टोपलेका पलायनवादी तनजोगी तर मनभोगी भएकाहरूमाथि लेखेँ- एउटा जोगी चिम्टाले मेरो पुर्पुरो सेक्न आइपुग्यो । यस्तै, गुण्डाले ज्यान मार्ने धम्की दियो, उरन्ठ्याउले केटाहरू (बूढा बाबुका दमका व्यथा) ले बाटो बथाने । नेताजीले जीवनभरि भ्यालखान भित्र कुहाइदिन सक्ने कुरा बताए । साथीहरू मसँग नबोल्ने भएका छन् । प्रकाशकहरूको धूलो झार्न कुचो चलाएको त, अब तेरो लेख पटक्कै छाप्दैनौँ भन्छन् । मन्त्रीज्यूको केटी-काण्ड, भेटी- काण्डबारे लेखेकोले गोलीले ताछ्यो – झन्डै ज्यान गुल्टेको थियो । पाहुनाहरू मेरो घर आउनै छाडे । स्वास्नीले बोल बारेकी छ । केही बकुला- भगतको मुकुन्डो च्यात्ने प्रयास गरेको त तिनीहरूले यो पानको ढापली समेत मलाई पनि टाढै फ्याँकिदिने धम्की पो दिए। बिजुलीको पोलनेर उभिने केटीले आफ्नो चप्पलले मेरो पुर्पुरो सेकी । माइती-मावली रिसाएका छन्, ससुराले निम्तो पठाउनै छाडे ।

अब के गर्ने ? लेखनले मेरो पूणर् दुर्गति बनाई छाड्यो । जसले पनि ‘ममाथि लेखिस् ? पख् .!’ भन्छ । कसलाई के भन्नु ? म त व्यक्तिमाथि होइन वर्ग र समूहमाथि लेख्छु । म त मानवको विचित्र स्वभाव र समाजको विभिन्न क्षेत्रमा विद्यमान विकृति र विसङ्गतिमाथि लेख्छु म वर्गको कमजोरीमाथि लेख्छु । अब कसैले यो पढेर आफूमाथि गरेको व्यङ्गय ठान्छ भने मेरो के दोष ? यी असङ्गति र हास्यास्पद बिब्ल्याँटा म कम-बेसी ज-जसको व्यवहार र क्रियाकलापमा देख्छु- लेख्न थालिहाल्छु । म एउटा ‘कलम-कुचिकार’ हुँ, त्यसैले जहाँजहाँ फोहर र धूलो देख्छु झार्न थालिहाल्छु । कहिलेकाहिँ त मनको ऐनामा आफ्नो अनुहार हेर्दा केके पाउँछु केके, र आफूमाथि नै पनि व्यङ्ग्य लेख्न मन लागिहाल्छ !

तर एकदिन बिहानै दुईजना फिल्मी दादा जस्ता देखिने अपरिचित व्यक्तिहरू मेरो कोठामा आए । ’बडो लेखक हुँ भन्दोहोस् ! हाम्रै बोसमाथि लेख्ने ?’ उनीहरू राताराता आँखा पारेर घुर्के ।

‘मैले त्यस्तो केही लेखेको छैनँ’ म भित्रभित्रै डराएर सुस्तरी बोलेँ ।

‘झूठो बोल्छस् ? नक्कली औषधिको कारोबार अरू कसले गर्छ त ? स्म्याक र हेरोइनको सप्लाई हाम्रो बोस बाहेक अरू कसले गर्छ ? कालगर्लको र्‍याकेट कसले चलाउँछ ? बेलहिया भंसारमा तीन पेटी फेन्सिडिल र विमानस्थलमा चारकिलो सुन कसको समातिएको हो, लौ भन् । अझ हामीलाई छल्न खोज्छस् ?’- एउटाले एक ज्यूँदो थप्पड मेरो गालामा चड्काउँदै भन्यो ।

केही क्षणभित्रै उनले मेरो नाकको साथमा कलम र मन पनि भाँचिदिए । जाँदा-जाँदै- ‘यो त ट्रेलर हो, अब केही बोलिस लेखिस् भने हातगोडा भाँचेर वा गोलीले गिदी छितारेर पूरै रिल देखाइदिउँला’ भन्दै गए ।

म अस्पताल पुर्‍याइएँ । मलाई भेट्न आएको एउटा साथीले भन्यो- ‘यहाँ लेख, कविता वा व्यङ्गय होइन, जाँड बनाएर बेचे बढी फाइदा हुन्छ बुझिस् ? तैँले लेखेर छपाएको पुस्तक किनेर कतिले पढ्लान् ? दुई-चारओटा तेरो झैँ गिदी सड्केकोले, बस् ? तर जाँडको पसलमा क्यू लाग्ने छ बुझिस् ?’ मलाई पनि ‘हो’ जस्तो लाग्न थाल्यो किनभने विषम स्थितिका मान्छेलाई पुस्तक-पत्रिका किनेर पढ्ने रोग लाग्यो भने स्वास्नीको दम र आफ्नो वातको औषधि आउँदैन, साँझ-विहानलाई तरकारी आउँदैन, चिनी-नून-मट्टितेल आउँदैन, छोराछोरीको स्कूलको फिस र पुस्तक-कापी आउँदैन, के गर्ने ?

म अस्पतालबाट ज्यूँदै बाहिरिएपछि साथीको सल्लाहबमोजिम मैले सेन्टरको एउटा घर बहालमा खोजेँ । वरिष्ठ नेताजीबाट बियरका काँचका ठूला गिलास ‘चियर्स’ गराई ‘बार एन्ड रेष्टुराँ’ को विधिवत् उद्घाटन गराइसकेको पनि एक हप्ता भयो । अब त पसलमा पाइला टेक्ने ठाउँ समेत पाइँदैन । तर हजुरले कृपया एकपल्ट पाउकष्ट गरी सेवाको मौका दिनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु । बरु जस्तै भीड भए पनि मेरो यो नयाँ पसलमा काम गर्ने रिना, विना, मीना, रुबी, जुही र जुलियासित हजूरको विशेष परिचय गराइदिनेछु- वचन दिएँ, लौ !

०००
दाङ
‘धरोधर्म हजुर’ (२०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
0
Would love your thoughts, please comment.x
()
x