
धनी मान्छे
केटोले प्लाष्टिकको झोलामा खानेकुरा राख्दै थियो, घरधनीका आँखाबाट आँसु झरे । उनले भनिन् - “तिमीले यहिं बसेर खाउ । तिम्री आमाको लागि मैले छुट्टै प्याक गरिदिन्छु ।"

पदम भण्डारी :
करिब दस वर्षको एउटा पत्रिका बेच्ने केटो दैनिक रुपमा घरको गेटमा पत्रिका राखेर जाने गर्थ्यो, तर आज उसले पत्रिका नराखि गेटको घण्टी बजायो । शायद त्यो दिन पत्रिका छापिएको थिएन ।
घर धनी महिला बाहिर आएर सोधिन् – “किन ? आज पत्रिका ल्याएनौ ?”
केटो – “आन्टी ! आज पत्रिका छापिएन । म तपाईंको बगैंचा सफा गरूँ ?”
घर धनी – “पर्दैन ।
केटो – दयालु स्वरमा हात जोडेर भन्यो – “प्लीज काकी, म राम्ररी सफा गर्छु नि ।”
घर धनी – ठीक छ । तर कति पैसा लिन्छौ?
केटो – काकी मलाई पैसा हैन खानेकुरा दिनुहोस् है ।
गरीब केटो भोकाएको जस्तो देखिन्छ, म उसलाई पहिले खाना दिन्छु भन्ने ठानेर उनले भनिन – “आउ पहिले खाना खाउ, अनि बगैंचा सफा गर ।“
केटो – “हैन काकी ! पहिले म काम गर्छु, अनि खानेकुरा दिनुहोला ।”
घरधनी – “ठीक छ !” यति भनेर केटोलाई काम अह्राइन् । केटो काममा ब्यस्त भयो ।
करिव एक घण्टापछि केटोले भन्यो – “काकी ! काम सकियो । मैले गरेको काम ठीकसँग भयो कि भएन हेर्नू त ?”
घरधनी – “ओहो ! धेरै राम्रो सरसफाई गर्यौ बाबु । ल बस ! म तिमीलाई खाना लिएर आउँछु ।” घरधनीले खाना ल्याएर दिइन्, तर त्यो केटाले खल्तिबाट प्लाष्टिकको झोला निकालेर त्यसमा खान राख्न थाल्यो । घरधनीले भनिन् – “कहाँ लैजान लागेको खानेकुरा ? तिमीले काम पनि भोकै गर्यौ । यहिं बसेर खाउ । पुगेन भने म अरु थपिदिन्छु ।“
केटो – “हैन काकी ! मेरो आमा घरमा बिरामी हुनुहुन्छ । अस्पतालबाट औषधि ल्याएको छु, तर डाक्टरले खाली पेटमा औषधि खानु हुँदैन भन्नुभएको छ, त्यसैले आमालाई खाना लैजान लागेको ।”
केटोले प्लाष्टिकको झोलामा खानेकुरा राख्दै थियो, घरधनीका आँखाबाट आँसु झरे । उनले भनिन् – “तिमीले यहिं बसेर खाउ । तिम्री आमाको लागि मैले छुट्टै प्याक गरिदिन्छु ।”
केटोले आँखाभरि आँसु पार्दै भन्यो – “पर्दैन काकी । मेरी आमालाई खानेकुरा लैजान मैले हजुरको बगैँचामा काम गरेको हो ।”
घरधनी – “के भो त ! तिमीले यहिँ खाउ, आमाको लागि छुट्टै प्याक गरिदिन्छु ।” केटोले त्यहाँ ल्याएको खानेकुरा आफूले खायो । घरधनीले केटाको आमाको लागि खानेकुरा प्याक गरेर ल्याइन् र केटासँगै उसको बिरामी आमा भएको ठाउँमा गइन् ।
केटोले मुस्कुराउँदै भन्यो – ”आमा ! हजुरको लागि काकीले खाना दिनुभएको छ । ल खानु । त्यसपछि दबाई खानुपर्छ ।”
बिरामी आमाले घरधनीलाई हेरिन् । उनका आँखाबाट आँसु झरे । दुई हात जोडेर नमस्कार गरिन्, केहि बोल्न सकिनन् ।
घरधनीले बिरामीलाई भनिन् – “बैनी ! तपाईं धेरै धनी हुनुहुन्छ । तपाईंले आफ्नो छोरालाई दिएको शिक्षा र संस्कार हामीले हाम्रा छोराछोरीलाई दिन सकेको छैनौँ । तपाईंलाई छिट्टै निको हुन्छ बैनी ।”
केटो – “काकी ! हजुरले खानेकुरा दिएर ठूलो गुन लगाउनु भयो । मेरी आमालाई अब दबाईले राम्ररी काम गर्छ ।”
घरधनी आँखाभरी आँसु पार्दै बाटो लागिन् । उक्त केटो र उसकि बरामी आमाले दुई हात जोडेर नमस्कार गर्दै उनको बाटो हेरिरहे ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest