साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यत्थमुथि जनबाडे माटीगडो जनछाडे

आफूले बोलेको फिर्ता लिउँलिउँ जस्तो हुन्छ तर डामेको जिब्रो लरखराएर वाक्य फुट्दैन ती युवा भनाउँदा बबुराहरुको। विस्तारै नबोलिकन टुसाउन खोजे कैंची लगाइन्छ।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

बडो गजबको अर्थ छ यसको । यो गालको रुपमा प्रयोग हुने उखान हो। यो बिबिन्नो आशीर्वाद पनि हो। यो मरेस् भन्नु भन्दा कडा छ। जीवन भरी झ्यालखाना बस्नु परोस् भन्नु भन्दा पनि बढी अनौठो छ नि यसको अर्थ। मर्नु, सजाय पाउनु भन्ने अर्थ दिँदैन यसले। यसले तड्पीतड्पी बाँच्नु भन्ने अर्थ दिन्छ। अधिक रिस उठेको मानिस र त्यसका शाखा सन्तानलाई गाली दिन बनाइएको हो यो उखान। तिमीहरू छटपटाइ राख हामी हेरेर रामाउँछौं भने को हो। उल्टोबाट दिएको आशीर्वाद जस्तै हो।

कालिदासले यो उखान सुनेको भए के लेख्थे कुन्नी। देवकोटाले सुनेको भए उनले कस्तो निबन्ध लेख्थे होलान् अनुमान गर्न गाह्रो छ। सायद महाकाव्य खण्डकाव्य रच्थे कि संसारका मूर्धन्य विद्वानहरूले यो उखानलाई सुने र बुझेका भए। भैरव अर्यालले कस्तो व्यङ्ग्यबाण प्रहार गर्थे होला। प्रदिप गिरीले सुनेका भए गणतन्त्रसँग मिलाएर सदनमा मार्क्सवाद सम्मत कसरी व्याख्या गर्थे होला। समकालमा खगेन्द्र सङ्ग्रौलाले कस्तो लेख्लान् थाहा छैन। यो बबुरोको कलमले सायदै सक्ला अर्थ्याउन।

यसमा गहिरो साहित्य छ। वास्तवमा यो उखान बोट बिरुवासँग जोडेर मानिसमाथि प्रहार गर्न बने जस्तो छ। यसको शाब्दिक अर्थ उम्रिनु तर माटो नछोड्नु अर्थात कहिल्यै नबढ्नु भनेको हो। भावार्थ भने जन्मिनु तर नहुर्किनु हो। यत्थ मुथि जनबाडे भनेको यो भन्दा बढी नबढ्नु। माटी गडो जनछोडे भनेको माटोबाट माथि नउठ्नु। अर्थात उम्रिनु तर नबढ्नु, नहुर्किनु । यसको भाव बडो गजबको छ- सहयोगी बन्न सक्छौँ तर आफै नेतृत्वमा जाने प्रयत्‍न नगर भनेको हो नि यो । त्यसो गर्ने औकात पनि नबनोस् भनेको हो।

यो उखान उखानकै रुपमा रहेको भए सायद यसले स्थान कम पाउँथ्यो कि। यसको प्रयोग व्यापक भएको पाइन्छ। राज्यका हर्ताकर्ताले यो उखान सुने पनि नसुने पनि व्यवहारमा भने बेजोडले प्रयोग गरेको पाइन्छ। आफ्ना सहयोगी समर्थकहरूलाई कज्याउन यो उखानले काम गर्छ। कजिएर बस तर काजी बन्ने प्रयत्‍न चाहिँ नगर भनेको। समर्थक बन ठिक छ। सहयोग गर त्यो पनि ठिक छ तर त्यो भन्दा माथि उठ्न मन्टो उचाल्ने कोशिस गर्ने होइन नि भनेको क्या !

यसको उत्पति यही समाजमा भएकोले होला व्यवहारमा यो विचार सिद्धान्त र दर्शनको रुपमा स्थापित छ। लागु भएकोमा कुनैं शंका छैन। यहाँ कसले पो हात समात्छ र यहाँ त सबले सबका खुट्टा तान्छन्। तानि रहेका छन्। थोरै दायाँबाँ हुन खोज्यो उसको विवेकलाई प्रकटमात्र गर्न खोजे पनि उसको भुटिकुटी बनाउछन् नाइकेहरुले। नायकको बाँसुरीको धुनमा नरमाउने र मादलको तालमा ननाच्नेले कस्तो हालत व्यहोर्नु पर्छ त्यो लुकेको छ र ? छैन। बिदु (पर पीडामा रमाउने) देख्ने साङ्लो निर्माण भएपछि समाजको कुन वर्ग र क्षेत्र यो उखानबाट अछुत छ। सबकासब यसैलाई अनुशरण गरेर बाजि मार्दै छन्, पेट पाल्दैछन्, सास फेर्दैछन् र आफू जीवित भएको प्रमाण पेश गर्दैछन्।

राजनीतिमात्र कहाँ हो र समाजका हरेक वर्ग, पेशा, व्यवसायमा समान रुपले कार्यान्वयनमा छ यो सिद्वान्त । जहाँ मानिस त्यहाँ यो उखानको उपस्थिति अनिवार्य जस्तै देखिन्छ। सबले सबलाई यसै उखानले सम्बोधन गर्दै छन् कि जस्तो पो देखिँदै छ। यो उल्टो आशिर्वादको रुपमा प्रयाेग भएका तमाम उदाहरणहरु व्याप्त छन् यो समाजमा । बाहिर भने तपाइँको भलो होस्। राजनीतिमा सफलता मिलोस्। जागिरमा बढुवा होस् । व्यापार व्यवसाय फस्टावस् भनेर अन्तमा आशीर्वाद माथिकाले तलकालाई दिँदा “यत्थमुथि जनबाडे माटी गडो जन छाडे” भन्छन् भित्रभित्रै।

किन नहोस्। समाजले आफ्नैं गर्भबाट जन्माएको उखानलाई आफ्नै सन्तानले लागु गरेनन् भने त्यो समाजको औचित्यमाथि प्रश्नचिन्ह खडा भएन ? मानिस अर्थात नेता, कर्मचारी, पेशा व्यवसायमा संलग्न जोसुकै पनि यो समाजको गर्भको देन हो। उखान पनि यसै समाजको। एउटै गर्भका दुईवटा सन्तानले एक अर्काको परिपूरकको रुपमा काम गरेनन् भने अनि मातापिताको अपमान भएन। उखानले मानिस र मानिसले उखानको दोहोरो सम्बन्धका बारेमा गहिरोसँग बुझेर नै कर्ममा लाग्नु पर्छ।

कहिलेकाँही उकुसमुकुस भएर कसैले जिब्रो चलाएमा उपल्लोले कहिल्यै नबोल्न मिल्ने गरी उहिले गाईगोरुलाई तलजिब्री अर्थात जिब्रो मुनी आएको अर्को जिब्रोलाई फलामको पुन्युँको डाँस ततायर तल्जिब्री डाम्ने चलन थियो। आजकाल यो अलि बोल्न खोज्नेलाई यत्थमुथि जनबाडे माटी गडो जनछाडे भन्ने उखानलाई सफलिभूत पार्न माथि उठ्न खोज्नेको जिब्रोमा तिम्रो तल्जिब्री आयो ल भनेर तामाको पुन्युको पुच्छर तताएर गणतान्त्रिक नेताले डामेपछि भएन त उसको बोल्ती बन्द। ल, नरहे बाँस नबजे बाँसुरी।

कसैले वरतिरपरतिर काप हाल्न खोजे वा टुसाउन लाग्दा वा कापफुट्नै लाग्दा कैंचीले स्वाट्ट पारेपछि काप सखाप अनि रहेन त त्यो सग्लो अजम्बरी सोच्ने बुढो बिरुवा नमरुन्ज्याल। आफू मरे कन्नै सित्ती। भाँडमा जावस्। जोसुकै आवस जोसुकैले खेलावस् यो गणतन्त्रको बच्चो के मतलव परान सकिएपछि। परानको हावा फुस्किए पछि। शेखपछि कसले जान्दछ। हाललाई भने अरु उम्रे र हुर्के भने यो बाल गणतन्त्र सखाप हुने। गणतान्त्रिक राज्यमा केही थान बाहेक अरु बोल्न खोजे अरु टुसाउन खोजे भने तामाको पुन्युको बिँड नतताएर र फलामको कैँची नकारेर बाँच्छ गणतन्त्र ? अहँ बाँच्दैन।

बिरुवालाई प्रतिबिम्बका रुपमा देखाइ मानिसप्रति लक्षित यो उखानको आजकाल गणतन्त्रमा भरपूर प्रयोग हुँदैछ। गणतन्त्रलाई पनि जन्मियौ तर नहुर्कियौ भनेर विभिन्न प्रयोग गरेकोमा कुनै शंका छैन। बडो शंकालु छन् यो गणतन्त्रका बुद्धिचाल खेलाडीहरु। उम्रेको गणतन्त्र हुर्क्यो भने आफ्नो हिसावकिताब चाँडै हुन्छ होला जस्तो अर्धविश्वासमा यिनीहरु बाँच्दैछन्। यो गणतन्त्र आफै पनि माथि उठ्यो भने। यो झाङ्गियो भने आफ्नो अवस्था के होला भन्ने सुर्ताले यिनको ओठ तालु सुकेर ए गणतन्त्र तिमी जन्म्यौ हामी छउन्ज्याल हुर्किन बढ्न र झाङ्गिन तिमीलाई छुट छैन। हामीले उठाए उठ्ने बसाले बस्ने बन्नु पर्छ भन्दै गणतान्त्रिक बालखलाई आफ्नैं काखमा लुट्पुट्याउन खोजिँदै छ।

म हुर्काउँछु भनेर बेला बेला उफ्रिन खोज्नेलाई तेरा दुई जिब्रा भए तल्जिब्री डाम्नु पर्‍यो भन्न पनि नभनी रातारात डामेर वाकपटुतामा बिर्को लगाइन्छ। भोलिपल्ट ती अघिल्लो दिन बरबराएकाहरुका जिब्राहरु तामाको पुन्युले डामेको खबर ती बबुराहरुले मुहारपुस्तिका पर्खालहरुमा सार्वजनिक भएपछि मात्र सुन्छन्, देख्छन् र जिल्लिन्छन्। आफूले बोलेको फिर्ता लिउँलिउँ जस्तो हुन्छ तर डामेको जिब्रो लरखराएर वाक्य फुट्दैन ती युवा भनाउँदा बबुराहरुको।
विस्तारै नबोलिकन टुसाउन खोजे कैंची लगाइन्छ। कैंची सोझै पनि लगाइन्छ। बाँङ्गोटिङ्गो बनाएर पनि लगाइन्छ। जसो गर्दा टुसो काट्न सकिन्छ त्यसैत्यसै गरी चलाइन्छ कैंची किनकी यत्थमुथी जनबाडे माटी गडो जनछाडे विचार सिद्धान्त र दर्शनले त्यसो गर्दा पाप लाग्दैन यो हाम्रो धर्तिको बिउ उब्जनी र सृजना हो भन्छ।

हामी निख्खर राष्ट्रवादी भएकाले अरु आयायातित विचार सिद्धान्त र दर्शनलाई बाहिर देखाउँछौँ, बोल्छौँ, लेख्छौँ, सुनाउँछौँ, सुन्छौँ तर लागु आफ्नो गर्छौं । हाम्रो मातृ माटोको सुगन्ध आउने यो उखानै हाम्रो सडक नक्सा हो। राजमार्ग हो। द्रुतगतिमा चल्ने रेलमार्ग हो। हामी बिल्कुल निष्ठाका साथ यो सिद्धान्तको अनुशरण गर्छौं।

०००
कैलाली : हाल थानकाेट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x