चूडामणि रेग्मीमहत्वाकाङ्क्षी गफ !
थलामा गएर सेवा गर्ने समाजसेवी- भन्दा सोल्टीमा जुवा खेल्ने निर्लज्ज रक्स्याहा आफूलाई समाजसेवी भन्दछ र उही नै 'तिन पुस्ता हड्डी नघोटी देश बन्दैन' भन्छ ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरू लार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
मुखिया नेता हुँदा
गफडीले सुन्या’ थियो, स्टालिन भन्ने नेता चमारका छोरा थिए, तर उनी विश्वका ठूला नेता भए । माओ पनि चाओ झैं ठुलाका छोरा थिएनन् अनि जगजीवनराम पनि चमारपुत्र नै अरे ! दुनियाँमा महत्वाकाङ्क्षी पुरुष साना भएर पनि ठुला भएका छन् । यसरी विचार गर्दा केही मुखियाहरू नेता भएको देख्दा यहाँ नेतृत्वको विकास भएको लाग्दछ । अझ तिनले टेलिफोन राख्न पाएको, मोटर कुदाउन पाएको, भत्ता पड्काउन पाएको देख्ता त अरूतिरकालाई पनि मौका परे यी जित्छन जस्तो लाग्छ । कहिलेकाहीँ ठुला-ठुलाले खाएको सन्सारमा सानातिना मानवको नेतृत्व अप्रशम्सनीय हो भनी गफडी भन्दैन । यसोभन्दा पनि चाकरीतिर ढल्केको, कमाइतिर पल्केको देख्दा अनि गफडीका आँखा खुल्छन् र ऊ छक्क पर्छ ।
महत्वाकाङ्क्षाको रोग !
मनोविज्ञान हीनतावोधलाई नराम्रो ठान्छ । यसैले व्यक्तित्व विकासका लागि महत्वाकाङ्क्षा आवश्यक छ। यसैले नै होला यहाँ सिक्किममा गुन्ड्याइँ गरेर रेल्वे स्टेसन ढुक्न थालेका मान्छे नेपाल पसेर पत्रकार भएका छन् । यस्ता ‘पत्रकार’ ले, आफूलाई त्यसै गरी दिग्गज पत्रकार ठान्छन्, जसरी मुखियाहरू आफूलाई दिग्गज लिडर । यहाँ यस्तै-यस्तै नाना थरीका रोगहरू छन् । यहाँ यस्ता रोगले ठुलो फैलावट पाएको छ । यहाँ ‘कार्यकर्ता’ हुनेहरू प्रायः आफूलाई एकतमासको लिडरै हूँ भनिठान्छन् । जमिन्दारी प्रथा हटेपछि जमिन्दारहरू प्र.पं. पद पाउँदा सानातिना हाकिम नै भएको ठान्छन् । एकाध कविता-सङ्ग्रह छपाउने तुकजोडुवा आफूलाई लेखनाथको भतिजो नै ठान्दछ भने गद्यका टुक्रालाई प्रतीकात्मक पारिटोपल्ने नयाँ युवक आफूलाई सार्त्रकाे नयाँ अवतार ठान्छ । ‘परियोजनाको १५/२० सय रुपियाँमा घुम्ने शिक्षकहरू’ आफूलाई अनुसन्धाता ठान्छन् ।
एक ठेली लेखेर प्रोफेसर पद चुँडाउने टिपोटकार आफूलाई भारतीय वरिष्ठ साहित्यकार आचार्य रामचन्द्र शुक्लका नयाँ अवतारका रूपमा नै औतार भएको ठान्छन् । असल लाइब्रेरियन हुन पनि नसक्ने सूचीकारहरू आफूलाई इतिहासविद् ठान्छन् । कक्षामा दुई-चार हार अलिकति सायरी भट्याउने शिक्षक आफूलाई प्रोफेसर ठान्छन् । यहाँ ठान्नेको कुरा कति लेखौं । यहाँका लेखक, पत्रकार, कार्यकर्ता-महत्वाकाङ्क्षी छन् । थलामा गएर सेवा गर्ने समाजसेवी- भन्दा सोल्टीमा जुवा खेल्ने निर्लज्ज रक्स्याहा आफूलाई समाजसेवी भन्दछ र उही नै ‘तिन पुस्ता हड्डी नघोटी देश बन्दैन’ भन्छ ।
लिडरका कुरा !
यहाँ हाम्रा लिडर लिड गर्ने होइन वनाइएका हुन्छन् । १० वर्षपछि प्रधानमन्त्रीमा दोहोरिने व्यक्तित्व कतै चर्चित हुन्न, जब कि तिनै वर्षमा सत्तामा दोहोरिने अन्यत्रकाहरू चर्चित बन्छन् । यहाँ मथै विल्डिङमा बस्ने जननेता हुन बोन्छन् । अन्तर्राष्ट्रिय स्यातिप्राप्तिको आधारमा गाउँ-कुनामा लोकप्रिय हुन खोज्छन् । यहाँ खोज्नेहरूको कुरा गरी भने महाकाव्य र महाभारत बन्छ।
पातमा पात ! बातमा बात !
कमाउने रोगले, विल्डिङ ठड्याउने विचारले, पद पाउने आशाले, योग्य दबाइन्छन् यहाँ । पातमा पात हुँदा वातमा वात हुँदैछ । यहाँ दिनभरि कुर्सीमा उड्ने र घुसको पैरो लडाउने हाकिमको उन्नति हुन्छ । राष्ट्र र जनताका नाममा पर्मिट ठग्ने कार्यकर्ता हुन्छन् यहाँ । यहाँ पैसा उडाउने र भोज उडाउने, चम्कन्छन् । यहाँ केही गुदी नहुने नै महत्वाकाङ्क्षी छन् । महत्वशील, अध्ययनशील, अनुभवी र इमानदार हीनताबोधमा जकडिएको छ । यहाँ जिउ-हजुरी प्यारो छ। यो कन्याइ-आनन्दमा धेरै मख्ख छन्, आफू मख्ख पर्नेले धेरैलाई छक्क पारेका छन् । गफडी देख्छ, लेख्छ, यहाँ महत्वाकाङ्क्षाले नराम्ररी शिर उठाएको छ । यो गलतबोधले र हीनताबोधले परन्तुमा राष्ट्रलाई नै ड्याक्छ र यस ड्याकाइमा हाम्रो उन्नति टालिन्छ । ल त, कुरोमा कुरो अर्थात् बातमा बात आजलाई यति नै । आगे फेरि ।
०००
युगज्ञान, वर्ष ११, अङ्क १४, २०३६
Subscribe
Login
0 Comments
Oldest







































