सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मच्छर दिवस

सम्मेलनको उदघाटन गर्ने नेताजीले आफैँले मच्छर दिवसको घोषणा गर्दैगर्दा गौरवान्वित भएको बताएका थिए । मेरो त खुसीको सीमा नै रहेन । मच्छर दिवसको प्रचलनले इतिहासमा मेरो नाम अमर हुने भयो ।

Nepal Telecom ad

सञ्जय साह ‘मित्र’ :

एक दिनको कुरो हो । बिहान बिहानै रेडियो खोलेर सुन्न खोज्दा कागको सम्चार सुन्न पाइयो । बिहान नहुँदै कागको सम्चार सुनेर मलाई लाग्यो कि आजको दिन खराबै बित्छ । सम्चारमा एउटा कुरो निकै घतलाग्दो थियो – एउटाले काग सम्मेलन गर्दै थियो । त्यस दिन काग दिवस थियो । काग दिवसको दिन एकजनाले काग सम्मेलन गर्ने खबरले उत्सुकता बढाएको थियो मेरो ।

साँझ फेरि सम्चार सुन्न मेरो मन व्याकुल थियो । काग सम्मेलन हेर्ने मौका त पाइएन तर साँझमा रेडियो अलि चाँडै खोलें । विज्ञापन त यस्तो आउँछ कि सुनेर टाउको रन्थनिन्छ । जस्तै- मृतकको लागि खुसीको खबर (अस्पतालको विज्ञापन), कन्या केटीसित बिहे गर्दा एउटा छोरो उपहार, घुस खाने तालिम लिने सुवणर् अवसर, नेता बन्न सिकाउने स्कुलमा भर्ना खुल्यो … ।

बल्ल प्रतीक्षाको घडी सिद्धियो । सम्चार पनि आयो । एकजना थियो कागको बोली बुझ्ने । ऊ कागको बोली बुझ्थ्यो र कागको बोली बोल्थ्यो पनि । उसैले काग दिवस चलाएको पनि थियो । काग दिवस चलाएको हुनाले उसको नाउँ इतिहासमा लेखिएको थियो । मेरो मनले उल्लाई काग सम्बत चलाउने सुझाव दियो । सायद उल्लाई बाडुली लाग्यो होला ।

के मानिन्छ भने माहुरी जदि फोहोरमै बस्छ भने पनि चुस्ने उसले मह नै हो । मलाई यति ज्ञान प्राप्त भएको छ कि जस्तोसुकै काम गर र इतिहास बनाऊ । कागको प्रेरणाले मभित्र नयाँ इतिहास रच्ने भूत सबार भयो । मनमा यो विचार आउन थाल्यो कि इतिहासमा नाउँ अमर त गर्नैपर्‍यो तर यसको रहस्य कसैलाई बताइनँ किनभने अरुले थाहा पायो भने उसले पनि यसै गर्न बेर लाग्दैन ।

सोचविचारमा मग्न थिएँ, त्यहीवेला एउटा मच्छरले दिमागमै टोक्यो । यति जोरले हानें थप्पड कि ऊ घटनास्थलमै मर्‍यो । थप्पडको जोरले म आफैँ पनि रन्थनिएँ । आफैँले हानेको थिएँ, कसलाई कराउनु । केहीबेरमा दर्जनौँ मच्छरले हडताल सुरु गर्‍यो । एकैछिनमा हजारौँ मच्छरले मलाई चारैतिरबाट घेरेर टोक्न सुरु गरिहाल्यो । आफ्नै घरमा छु, छोडेर भागूँ कहाँ ? म कुनै पनि मच्छरको कुरै बुझिरहेको थिइनँ, चारैतिरबाट भुनभुन र गुनगुन गर्दै कोही कता टोकन थाल्यो त कोही कता । ठाउँ कुठाउँमा टोकेर र कुन भाषामा के के हो गीत गाएर मलाई हैरान पारेपछि बल्ल मेरो दिमागको बत्ती बल्यो कि वास्तवमा मच्छरकै पढाइ पढ्नु जाती होला । मच्छरको पढाइको लागि पहिले त मैले सोचें कि कतै टिउसन पढ्छु । तर कोही मास्टर टिउसन गराउन तयार भएनन् । कसैले भन्थे मैथ पढ त कसैले इङलिस । कोही भन्थे म नैतिक शिक्षाको टिउसन राम्ररी पढाउन सक्छु, पढ्ने भए भन ।

सहरमा विभिन्न भाषाको कोचिङ हुन्छ भन्ने सुनेको थिएँ । मच्छर त हाम्रै देशको बासी हो । अर्को देशको भाषा पढाउने मास्टरले आफ्नै देशका मच्छरको भाषाको टिउसन पढाउन नसक्लान् भन्ने कुरा मेरो मनको कुनै कुनामा पनि थिएन । वास्तविकता भने सहर पुगेपछि मात्र थाहाँ पाएँ । एउटा कोचिङमा पुगेर मैले आफ्नो कुरा राखेपछि मलाई त खुस्केको भन्यो, ठाडै । एउटा तार सर्ट भएको भन्यो । मेरो चित्त दुखेन, बरु भित्रभित्रै खुसी नै लाग्यो । नयाँ काम गर्ने वा गर्न खोज्नेलाई समाजले सुरुमा खुस्केको भन्ने गर्छ सधैँ । बरु सहरको मच्छरको सेवा पनि ग्रहण गरियो । मलाई सहरको मच्छरले गाएको गीतको बोल र भाकामा कुनै भिन्नता लागेन ।

सात ठक्कर खाएर बल्ल मेरो बुद्धिको बिर्को अलिकति खुल्यो । अनि सम्झेँ जदि कसैले मच्छरको भाषा जान्छ भने मेरो इतिहास कसरी बन्ला । राम्रो बुद्धि त पछि न आउँछ । फेरि म तरिका खोज्न थालें आफैँ आफ्नै लागि ।
जीउमा बस्नुभन्दा पहिले लामखुट्टे निक्कै खुसी हुन्छ । त्यत्तिवेला लामखुट्टेको जुँगा कसरी हल्लिन्छ । नजिक कुनै सिकार छ भने मच्छरको आवाज कस्तो हुन्छ । सिकारलाई देखेपछि अरुलाई कसरी जानकारी दिन्छ । कसैको रगत चुस्दै अरुलाई कसरी बोलाउँछ आदि जस्ता विषयमाथि अध्ययन तथा खोजीनिधि गर्न सफल भएँ । मच्छर कसरी भुन्भुनाउँदा उसलाई भोक लागेको छ, पुरुष मच्छरले महिला मच्छरलाई कसरी फकाउँछ, रगत चुसेर मच्छरले कता जानलाई भन्छ आदि कुरासम्मको जानकारी प्राप्त गर्न धेरै समय लागेन । सबैभन्दा गाह्रो कुरो थियो मच्छर मच्छरबीचको झगडा सिक्नलाई ।

मच्छरवाणी सिक्न करिब छ महिनाको समय लाग्यो । अब म यत्ति परफेक्ट भइसकें कि मच्छरको चाल देखेर नै बुझ्न थालें कि कता जान्छ, के गर्छ । समूहमा बसेपछि कुन मच्छरले कसलाई टोक्ने योजना बनाउँदैछ, आफ्नो भविष्यको बारेमा, सन्तानको बारेमा के विचार गर्दैछ भन्ने पनि थाहा पाउन थालें । तर एउटा समस्या अझै पनि थियो । जसरी जातैपिछे भाषा छ, त्यसै गरी फाँटैपिच्छे मच्छरको भाषा पनि हुन सक्थ्यो । बुझ्नु त पर्‍यो, म अर्को गाउँमा पुगें, फेरि सहर पुगें । भाषामा थोरबहुत भिन्नता रहेको पाइयो । त्यो पनि बुझें, त्यत्ति गाह्रो भएन ।

मच्छरहरूको भाषाको आन्दोलन चलिरहेको थियो । सहरका केही शिक्षित मच्छरहरूले गाउँघरका मच्छरहरूको निकै धेरै आलोचना गर्दथे । कुनै ठाउँमा कम संख्यामा रहेका जातलाई धेरै संख्यामा रहेका मच्छरहरूले निकै शोषण गरेका थिए । केही गाउँमा यतिसम्म पनि देखियो कि अल्पमतको संख्यामा रहेका मच्छरलाई मान्छे तथा पशुपक्षीको जिउमा बस्ने कुनै अधिकार नै थिएन । मरेको मुर्दा वा सिनोमाथि बसेर आफ्नो जीवन कटाउन बाध्य हुनुपथ्र्यो ।
मलाई यस प्रकारका बेकारका कुराहरूसित कुनै सरोकार थिएन । मलाई त इतिहासको रचना गर्नु थियो आफ्नो लागि । त्यसपछि मेरो मस्तिष्कमा सबैभन्दा पहिले मच्छरको सम्मेलन आयोजन गर्नुपर्‍यो । मच्छरको सम्मेलन गर्न एक साँझ म मच्छरलाई बोलाएँ । मेरो बोली सुनेर यति धेरै मच्छर आइहाल्यो कि मेरो आशाभन्दा कैयौँ गुणा बढी । लाखौँलाख मच्छर जम्मा भइहाल्यो एकैछिनमा । म त देखेरै छक्क परेँ । सायद जङ्गलबाट पनि मच्छर आएका रहेछन् । त्यो दिन अहिले पनि याद छ, चैत महिनाको समय थियो । मच्छरहरूलाई फर्किँदाफर्किँदैँ करिब एक महिना लाग्यो । त्यसै दिनदेखि चैतमा अरु महिनाको तुलनामा केही बढी मच्छर लाग्छ ।

अब मेरो मनको इच्छा पूरा भएजस्तो लाग्यो र मनमा यो पनि लाग्यो कि मच्छर सम्मेलन राजधानीमा गरूँ । राजधानीमा सम्मेलन गर्दा बढी प्रचार हुने सम्भावना रहन्छ । सबैभन्दा नजिक रहेको राजधानीका केही मिडियामा प्रचार गराएँ धुमधामसित । दाबी यही गरेको थिएँ कि सहरभरिको मच्छर एकै ठाउँमा जम्मा गर्न सक्छु । म आफ्नो दाबीमाथि विश्वास दिलाउन यो पनि प्रचार गराएँ कि सम्मेलनमा आउनेले आफ्नो लागि एउटा झूल लिएर आउनु जरुरी हुन्छ किनभने त्यहाँ यति धेरै मच्छर आउँछन् जसले झूल नबोक्ने व्यक्तिलाई मच्छरले उठाएर लैजान बेर लाग्दैन ।

सम्मेलनको तयारी गर्दैगर्दा मैले मच्छरका अग्रज, बौद्धिक र मच्छर समाजमा हैसियत राख्नेहरूसित समन्वय गर्नु जरुरी थियो । साधारण मच्छरमाथि नियन्त्रण गर्ने हैसियतका सबै मच्छरलाई बोलाएँ । सबैमा उत्साह थियो । सबैले सहयोगको लागि प्रतिबद्धता जनाए । यो पनि उत्सुकता सार्वजनिक भयो कि प्रथम मच्छर सम्मेलनमा लाखौँ मच्छर सहिद हुन तयार छन् । बरिस्ट मच्छरहरूको एउटा जिज्ञासाले भने मलाई निरुत्तर बनाइदियो – मच्छरमा पुलिङ्ग जति साकाहारी हुन्छन् र स्त्रीलिङ्ग जति रक्ताहारी अर्थात् मांसाहारी । तेस्रो लिङ्गी मच्छर भने मनाहारी अर्थात् मन लागेको आहार लिने । के मानिसमा पनि यस्तो हुन्छ ? के आहार लिने आधारमा महिला र पुरुष छुट्याउन सकिन्छ त ? मच्छरहरू कपडा नगाउने नहुनाले मानिसको जातका पुरुष र महिला छुट्याउन गाह्रो भयो रे ।

पहिलो मच्छर सम्मेलनमै मच्छरहरूले मलाई अभिनन्दन गर्ने सुखद खबर पनि प्राप्त भयो ।

तोकिएको दिन मच्छरलाई बोलाएँ समयमै । मेरो आवाजलाई सुनेर लाखौँलाख मच्छर आइहाल्यो । मच्छरकै भाषामा मैले कुराकानी पनि गरेँ । तिनीहरूको भाषामा म जे भन्थें, त्यहीँ गथ्र्यो । जता जता जान अह्राउँथे, अनगिन्ती मच्छर उतै भाग्थ्यो ।

सम्मेलनको प्रमुख अतिथिलाई सम्मान गर्ने कुरो थियो । मैले यो घोषणा गरेपछि केही सेकेन्डमै नेताजीको अनुहार र हात मच्छरले छोपिए । हजारौँ तालिमे मच्छरले कपडा नभएको ठाउँलाई छोपिदियो तर एउटाले पनि टोकेन ।
मेरो अभिनन्दनको घोषणा गरें । कति करोड हो कुन्नि मच्छर आए र मेरो सम्पूणर् शरीरलाई छोपिदिए, केवल नाकको प्वालमात्र बाँकी थियो । मच्छरहरूले मलाई बोक्ने प्रयास पनि नगरेका होइनन् तर मैले हप्काएपछि बल्ल मलाई छोडे ।

मच्छरहरूले आफ्नो सभ्यताको कुरो पनि खोले । सार थियो – पोथी मच्छरहरू रुटिनअनुसार मात्र कसैको घरमा टोक्न जान्छन् । जमानाअनुसार मच्छर समाज सभ्यताको सिखरतिर चढ्दैछ । कोही मच्छर बिरामी भयो कि अस्पताल नै बिरामीनेर पुग्छ ।

सम्मेलन भव्य रह्यो । मेरो कुरो सही साबित भयो । मच्छर दिवस त्यहीँ दिनलाई घोषणा पनि गरे नेताजीले । सम्मेलनको उदघाटन गर्ने नेताजीले आफैँले मच्छर दिवसको घोषणा गर्दैगर्दा गौरवान्वित भएको बताएका थिए । मेरो त खुसीको सीमा नै रहेन । मच्छर दिवसको प्रचलनले इतिहासमा मेरो नाम अमर हुने भयो । म मच्छरविद् घोषणा गरिएँ । देशको पहिलो मच्छरविद् ।

अब केही दिनमा गिनिज बुकमा नाम लेखाउने प्रयास गरिरहेको छु ।

०००
गरुढा, रौतहट

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पत्ना–पत्नी

पत्ना–पत्नी

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
चाटपर्व

चाटपर्व

सञ्जय साह मित्र
ओम नमः मूर्खाय

ओम नमः मूर्खाय

सञ्जय साह मित्र
मुस्कानको रहस्य

मुस्कानको रहस्य

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x