प्रथम साहित्यिक शहीद ज्यामिरे काइँलाको अन्तिम अन्तर्वार्ता
त्यहाँ पसेसी दुईचार करोडको भ्रष्टाचार गरिएछ भने पनि उँदेर्ले नै बचाइदिन सक्छन् । डनहरू पाल्न नसक्ने, अन्तर्राष्ट्रिय लेबलका तस्करलाई सुरक्षा दिन नसक्ने पाटी काम नलाग्दो रछ । त्यसैले मैले साना पाटी छोड्ने निधो गरें ।
डा. गोविन्दराज भट्टराई :
हिँड्ने बेलामा आमाले सम्झाउनु भो, “आजको सपनामा तुलसाका मोठमाथि एक जोर ढाडे बसेको देखें, साइँला । आज बाहिर नजा; हुल्दुङ्गाको ट्याम छ । तेसरी ढाडे मिलेको राम्रो होइन ।” तर मेरो बाहिर नगै नहुने थियो । त्यसैले एउटा रित्तो झोला भिरें । भरे कसैले पुस्तक बाँड्न सक्छन् । नबाँडे पनि के गर्छ र बेच्न राखेको थाकबाट टिपेर दुई-चारोटा झोलामा हाल्दा झम्टेर खोस्न को आउँछ र हिजोसम्म कोही आएन आज पनि नआउला । बजारमा हाप दाममा बिकिहाल्छ नत्र किलोमा तर झोला रित्तो भयो भने बतासले ज्यादा हल्लाउँछ भनेर त्यसमा एउटा बूढो डायरी पनि हालेँ । भरे ज्यामिरे काइँलाका ज्वाइँको पुस्तक विमोचन । त्यहाँ एउटा गजल गाउनु पर्ने हुन सक्छ ।
कृषि विभागको खर्दार त्यो ज्वाइँ भन्नेले के लेख्यो होला था छैन । विदाको दिन ता जैले पनि नाम्ले चोकमा केरेमबोट हान्दै हुन्छ । तीन दिनदेखि ज्यामिरे चाहिँ निम्ता बाँड्न टोल छिमेकका घरघर धायो, भेटेजति सबैलाई संझायो, हात जोड्यो— मेरो मुख हेर्दिनोस् बिन्ति सुन्दिनोस्, मेरा ज्वाईं अचानक साहित्यकार उत्रे । ‘नयाँ जिन्दकी’ उनको यो पहिलो पुस्तक एकथान जसरी पनि किन्दिनुहोला । कार्यक्रममा बेच्न राख्ने बेबस्ता गर्दैछौं । पुस्तक पनि साँच्चै दामी लेखेछन् । तेस्मा कथा, कविता, विहेमा भन्ने सिलोक, राम्रा राम्रा भजन, रुवाई लडाइँका सवाई र सबभन्दा दामी चाहिँ पिनास झार्ने मन्त्र छ ।
आठ बज्ने बेलामा बजारको खोसेले रेस्टुराँ पुग्यौं । चिनेका र नचिनेकाको ताँती सिँढीमा उक्लिरहेको छ । माथ्ला तलामा आम्मा ! कत्रो हल भरिएको रहेछ । पूmलमाला सजिसजाउ, छेउमा कफी चियाका तोर्मे ठडिएका, बाफ उडाउँदै नाङ्ला भरी भरी विस्कुट र कुकिज् कति खानु । आधा माना जति त विस्कुटका पाना बरमकोटभित्र पनि हालेँ ।
आजको थकाली डिश खाँदाखाँदै मान्छे लड्ने खालको हुनेछ भन्ने हल्ला चलेको तीन दिन तीन रात भयो । ज्यामिरेले माछा पोखरी बनाउने भनेर तीन लाख लोन लियो । स्वीकृति भएको ता पाँच नै तर सरकारी कमिशन केजाई उजाई गर्दा तीन मात्र हातलागी हुने रहेछ । कृषि विकासले सबै बट्टा कटाएर दियो । त्यो पैसाको लगानी गरेर ज्वाईंलाई साहित्यकार उतार्ने प्रतिज्ञा गरेको छ । अब बनाउने भयो ।
चिया कफी खाइसक्ता इडेन सुब्बा ‘मिर्मिरे’ ले स्टेजमा चढेर अतिथि डाक्न थालिन्, गीतका क्यासेट बन्द भए; सबैका कान ठाडा भए— ‘प्रशिद्ध महाकवि वृन्दावनलाल पाठक प्रमुखअतिथि’ भन्ने घोषणा सुनियो । वृन्दावनलालको एउटै काव्य कृति छैन, त्यसरी ‘महाकवि’ त्यसमाथि ‘प्रशिद्ध’ ? भन्ने गाईंगुईंं चल्यो । तर वृन्दावनले भन्ने गर्छन्— मेरो १८६० पेजको महाकाव्य ५८ वटा छन्दमा तयार भएको २२ वर्ष बित्यो । छाप्ने पैसा नपाएर मात्रै ।
गाईंगुईं अलिक मत्थर भो । इडेन सुब्बा फेरि बोलिन्— “आजको उप-पर्मुख अथिति अर्थात् एसिस्टेन्ट चीप गेस् आँसु कवि खम्बसिं साङपाङ ‘तीन तारे’ ।” हामी थिएनौ र त्यो आँसुलाई कल्ले रोज्यो ? गाईंगुईं अलिक चर्को भयो । हलमा अशान्ति बढ्दै गयो ।
“भाइस चेयरम्यान” इडेनले थपिन्, “वरिष्ठ साहित्यकार विजुलीप्रसाद ‘तीनपाने’ ।” मान्छेले भन्न थाले क्या रड्डी मान्छे । यो ‘तीनपाने’ कैलेदेखि ‘बरिष्ठ’ भो । गाउँतिर खैनी मल्दै हिन्छ । गाउँका भाले भेला गरेर बजारमा बेच्छ । बेकारमा कत्रो चानस देको ? उसले छापेको किताप जम्मा २७ पेजको ।
तेसैगरी महिला पर्तिभा— नामी संगीतकार आशमाया “खिनौटी” । “छ्या, छ्या ! यो खिनौटीले ता मेरो गीत चोरेर ऊ पो अगि अगि । अहिले नेपाल आइडल जित्ने भनेर पैसा खन्याउँदैछे ।” यसमा पनि असन्तुष्टि बढ्यो । गर्दागर्दा मञ्चका तीस अतिथि कुर्सी भरिन लाग्यो । फेरि पाँच कुर्सी थपिए । अझै वडा अध्यक्ष बाँकी थिए, पालिकाका प्राज्ञ सदस्य तीनजना बाहिर उभिएका छन् । उनीहरूको आसन ग्रहण छुटेको छ । यतिकैमा एकजना महसूर आएर फाँफाँ फूँफूँ गर्दै कस्सियो— कोल्ले हो यो प्रोगाम खास्मा अर्गनाइज गरेको चैं । यो बजारको “पप एण्ड र्याप योङस्टर” भनेको हामी हो— चिन्या छैन हाम्रो कम्पनीलाई ? हामीले नै देखाइदिनु पर्छ कि क्या हो ? उसको कपाल छ खैरो बारुज जस्तो । हातमा जोर फलामे चूरा, शिरमा काँडे रिबिन्, एक कानमा सुनको मुन्द्री र घाँटीमा माइकल ज्याक्सनको लकेट । उसका पछि छ-सात जना त्यस्तै प्रकृतिका सदस्य तत्पर भएर उभिएका छन् ।
आयोजकहरू थर्र भए र त्यो नेपाली माइकल ज्याक्स भन्नेलाई माथि लगेर राखे । अब कार्यक्रम शुरु होला जस्तो भएको थियो तर ठीक तेसैबेला हातहातमा कालो झन्डा बोकेका पन्ध्रवीस नारीहरू नारा लाउँदै आएर स्टेजमा चढेर,
झन् थर्काए— नारी शक्तिलाई हेप्ने तिमेरु ! हाम्रो प्रतिनिधि नचाहिने । हामी गीतकार, हामी कवि, कलाकार तर मञ्चमा बस्ने तिमेरु । यो मञ्चमा कल्लाई राख्या आज ?
वातावरण डरलाग्दो भयो । कार्यक्रम शुरु हुन सकेन । बल्ल संझौता गरेर सोफिया गुरागाईं “उडनतस्तरी” लाई महिला कोटाको सीटमा बसाए । तर ठूलो अन्याय बाँकी थियो । त्यसैले एकजना युवा पाखुरा सुर्किदै आएर यो ‘वरिष्ट’ भनेको को हो ? सर्वश्रेष्ठ, नम्बर वान, आँसु कवि, विशिष्ट, पर्सिद्ध भनेर टाइटल दिने त्यो हो ? कोल्ले सिकाउँदै छ हाम्रो ठाउँमा आज ? सबै जना हाम्रो ठाउँको निकै जान्नेहरू देख्छु म त । भन्दाभन्दै ऊ तनक्क तन्कियो र आफ्नो ग्याङलाई अह्रायो, “ए जेठा, उता प्रेसिडेन्ट भएर बसेको दोखलाई घिसारेर यहाँ ले । बाहिर निकाल । डल्लै हाम्रो केटाहरू एता आइज ।”
अग्ला अग्ला बूट लगाएका सशस्त्र प्रहरी जस्ता दश-बार योद्धा माथि चढे । स्टेजमा बुट हान्दै, भित्तामा मुड्की बजार्दै ‘चिप गेस्’ भए ठाउँ पुगेर उसको घाँटीको रुद्राक्ष माला ताने । झड्याक्क तान्दा नाइलनको डोरीले उसको घाँटीमा घाउ नै बनाएर रगत चुहाउँदै चुँडियो । पर्मुख अतिथि निस्केर तल झरे अरु सहायक, भाइस, पर्तिनिधि एक एक गर्दै निस्कँदै झर्न थाले ठूलो खलवल र भागाभाग शुरु भो ।
अन्त्यमा पन्ध्रवीसजना युवादल बाँकी रहे । ती दुईतिर बाँडिएर कुटाकुटमा उत्रिए । कुनामा लुकेको गोपी क्यामेरा सोझ्याउँदै थियो । ज्यामिरेका ज्वाईंका चार बोरा किताव र खाजाका प्याकेट त्यहाँ एउटै बाँकी थिएन । एकछिनमा हेर्दा भाँचिएका कुर्सी, फुटेका सिसा, उत्ताना सोफा र टेबल मात्र थिए । हिउँदको बेला स्टेजका झ्याल ढोकाका दामी पर्दा एउटै रहेनन्; ती ओढ्दै भाग्दै गरे कति ता । तल्तिर भुईंमा क्यामेराका चोइटा, रातो घेरावाल क्याप टोपी भुईंमा दलिएका थिए, एउटा बूढो साइकल सबै पार्ट खुस्के झैं सुतेको । हाम्रो गोपी क्यामेरा र टोपी छोडेर भागेछ बरा । अब जाहानले मार्छिन् । किनभने उहिले उसका विहेमा ससुरालीले दिएको क्यामेरा आजै धुलो भएछ ।
तुरुन्तै पुलिस आइपुगे र एकसर्को कुकुर डुलाएर फर्किए । एकैछिनमा स्थानीय “उत्पात अनलाइन” का पत्रकार आइपुगे । डुकनाथले आफ्नो क्यामेरा तेर्छ्यायो, प्रधान सम्पादक सनम ‘झारफुके’ले भुईंमा पसारिएको ज्यामिरेलाई उठायो— “मामा, कडा चोट परो कि कसो ?”
“मलाई ताकेर ता होइन, हुलमुलमा कसले हिर्काएको एक मुक्का नाकमा परेछ भान्जा । तेसबाट रन्थनिएर बाहिर निस्कँदै थिएँ ढोकैमा भाग्ने हुलले पेल्यो र यो देब्रो घुँडाको पाङ्ग्रो खुस्केर भुईंमा खस्यो जस्तो लाग्दैछ एतिबेला । मेरो ता यहीं परान जाने हो कि जस्तो छ भान्जा ।”
त्यो भरे हेरौंला मामा— “परान जानुभन्दा पहिले तपाईंको एउटा अन्तर्वार्तै लिनुपर्यो भनेर म क्यामेरा बोइ लिएर आको । यो मिनेरल वाटर घुट्क्याउनोस्, अलिक तागत आउँछ कि !”
एक लिटर पानी निखारेपछि पसिना पुछो र ज्यामिरे अलिक कडा भएर बोल्यो— लु सोध भान्जा ।
प्रश्न : तपाईंका जीवनका मुख्यमुख्य कर्म के के हुन् ? छोटकरीमा बताइदिनुहुन्छ कि ?
उत्तर : पाँचवर्ष गाउँकै पराइमरीको अस्थाइ टिचर, पाँचवर्ष सामुदायिक जंगलको वनपाले, फेरि पाँचवर्ष कतार गैयो, पार लागेन । फर्केर सात वर्ष घरजुवाईं बसें । तेसबेला पो झन्डै मरें, टीवीले भेटेछ ।
प्रश्न : किन त्यस्तो खतरा भो ?
उत्तर : किनभने बिहानभरि एकहल राँगा जोत्थें, भात खाएर दिनभरि राँगा आराम गर्थे अर्को हल झन महसूर गोरु नारेर जोत्थें । ससुरालीको थुप्रै जग्गा, एक्लै बसौं भने श्रीमती नमान्ने । अनि छोडेर राजनीतिमा लागें ।
प्रश्न : राजनीतिमा के भो ?
उत्तर : “हली गोठाला खेताला” नामको पाटी खोलें । त्यसैबाट चुनाव लडें । ओडा अदच्छेमा जितें । तेई पाँचवर्षमा मेरो जिउ अलि फिर्यो; धन पनि कमाइयो तर ससुराली उधुम रिसाए ।
प्रश्न : किन रिसाए ?
उत्तर : मलाई हली बनाउन पाइएन भनेर ।
प्रश्न : साँची त्यो “हली गोठाला खेताला” पाटीमा कसरी जित्नुभो ?
उत्तर : “जुन जुन घरमा हली गोठालो खेताला पालेका हुन्छन् तिनले हाम्रो पाटीलाई भोट हालेनन् भने ती परिवार कडा कार्बाइमा पर्नेछन्,” भन्दै घरघर डुल्यौं । राति राति, मुख छोपेर झोसुवा बन्दुक देखायौं, खुकुरी नचायौं । पछि ता हाम्रो पाटी एक नम्बर भछ ।
प्रश्न : अनि साहित्तेमा कसरी पस्नुभो ?
उत्तर : मेरो साथी मसाने कान्छो गीत गाउँदै गजल लेख्तै गर्दागर्दै उता पालिकाको हिरो भो । ऊ ता त्यहाँको प्रतिष्ठिानको सदस्से भो । उसैले मलाई तरिका सिकायो र सहित्तेमा लागें ।
प्रश्न : राजनीति र साहित्ते कुन राम्रो ?
उत्तर : हेर भान्जा, राजनीतिमा पनि हिनामिना गर्यो भनेर एक दुई घुस्सा नखाएको होइन तर पैसा उधुम कमाइँदो रछ । एता साहित्तेमा ता एसरी घुस्सा खाएँ, घुँडाको पाङ्ग्रै खुस्कियो, तर पैसाको चैं कुरा नगरौं । एस्को दबाई गर्न नसकेर मरिन्छ कि जस्तो लाग्दैछ ।
प्रश्न : तपाईंको भविष्यको योजना के छ त ?
उत्तर : म आजदेखि पानी समाएँ साहित्ते छोड्छु । आफ्नै ज्वाँइले धोका दिए र मेरो झन्डै परान गयो । उनले आफ्नै पाटीका मान्छे मत्तै छानेर माथि मञ्चमा राखेनन् त्यसैले एस्तो भो । अब राजनीतिमा लागेर पोल्टिक्स् गर्छु ।
प्रश्न : भनेसी “हली गोठाला खेताला” पाटीलाई माथि पुर्याउने ?
उत्तर : होइन, अब त्यो नरिवलको गेडा रोपेर कैले फल्नु ? म लटरम्मै फलेका बोटमा झटाराले हान्छु र टिपेर पकापकी खान्छु, खाई नसके बोरामा । साना पाटी अब च्यानघारीमा गए । यो देशमा सानतिना लिखुरे पाटीको काम छैन । ठूल्ठूला पाटीमै जानु पर्छ— जसले वाइड पचाउन सकोस्, हजारौंलाई नागरिकता दिलाउन सकोस्, चिया बगान जोगाउन सकोस्, ओम्नी जस्तालाई बचाओस्, विरोधीका करङ खुस्काउने सधैं सत्ता च्यापेर मुस्काउने शक्ति भएको राच्छेसको तागतवालाहरूको ग्याङ चाहिनेरछ । त्यहाँ पसेसी दुईचार करोडको भ्रष्टाचार गरिएछ भने पनि उँदेर्ले नै बचाइदिन सक्छन् । डनहरू पाल्न नसक्ने, अन्तर्राष्ट्रिय लेबलका तस्करलाई सुरक्षा दिन नसक्ने पाटी काम नलाग्दो रछ । त्यसैले मैले साना पाटी छोड्ने निधो गरें ।
प्रश्न : तपाईंको अन्तिम इच्छा के छ ?
उत्तर : बाँचे भने ता आफ्नो पालिकामा एउटा पच्चीस तले भिउ टावर बनाउँछु बनाउँछु । आजको फौदारी युद्धले गर्दा रोगाएर मरेंछु भने तपाईंहरूले एउटा ईच्छा पूरा गराइदिनु होला भान्जा । यही आँगनमा एउटा सिंगमरमरको सेतो सालिक ठड्याएर तेस्का फेदमा हाम्रा पालिकाको प्रथम साहित्यिक शहीद— ज्यामिरे काइँला, जन्म ( — ) मृत्यु ( — ) लेखिदिनु होला । मेरो अरु कुनै इच्छा छैन ।
०००
२४ असार २०८१
कीर्तिपुर
‘साहित्ते’ गर्ने यस्तै जमात बढ्दै छ।सुन्ने पढने नभए के हुन्छ!मञ्च ओगट्नेको खाँचो छैन।राजनीतिकको जाँतोमा आजको साहित्य ! हाँसो थामेर घोत्लन थाले ….