असिम सागरशोकगीत
त्यही कसिङ्गरमा थियो स्कुले नानीका च्यातिएका कापीका पानाहरू मलाई साह्रै दुःख लाग्यो कसैले नदेख्ने गरि म बेस्सरी रोएँ किनभने त्यसमा देशको नक्शा थियो ।

असिम सागर :
एक्कासि
सगरमाथा हुँदै आएको तुफानले
मेरो घरको छानो उडायो
मलाई कुनै दु:ख लागेन
एउटै हाँगामा सँगै थियौँ
काँडा र फूल
त्यो फूल काहाँ पुर्यायो
मलाई कुनै दु:ख लागेन
आफू भोकभोकै बसेर
जोगाएको थिएँ अनिकालमा बीउ
बाली सखाप बनायो
मलाई कुनै दुःख लागेन
भुमरी बनेर उड्दै आयो
सडकमा धूलो
चङ्गा झैँ माथि माथि उड्दै गए
झरेका फूल पात र कसिङ्गरहरू
त्यही कसिङ्गरमा थियो
स्कुले नानीका च्यातिएका कापीका पानाहरू
मलाई साह्रै दुःख लाग्यो
कसैले नदेख्ने गरि म बेस्सरी रोएँ
किनभने त्यसमा
देशको नक्शा थियो ।
०००
“क” कविता सङ्ग्रहबाट
Subscribe
Login
0 Comments
Oldest









































