साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उखान कि पद्यलय ?

उल्टिँदो हावा, फेरिँदो परिवेश, बदलिँदो चरित्र, पातलिँदो सम्बन्ध, बाक्लिँदो स्वार्थ, घोटिँदो नैतिक धरातललाई चाहिने केही नवीन पद्यलय वा उखान यो जाबोको खोपडीमा यसरी पो फुऱ्यो त ।

Nepal Telecom ad

देवीप्रसाद चापागाइँ :

वाक्यस्तरको सूत्रात्मक कथनमा परिभाषित छ उखान होइन ? थेगो, उखानटुक्काका प्रयोक्ताहरू  प्रशंसाका पात्र पक्कै होलान् । प्रवचन, गोष्ठी, मेला, सेमिनारमा उखानटुक्का औधी मौलाउँछ। भीड हाँसेपछि त एउटा जाबोको त के कुरा ? ऊ त मरीमरी हाँस्ने नै भयो । उच्चकोटीको भाषण वा प्रवचन दिँदा उखानको वर्चस्व देखिहालिन्छ । उच्च कोटीको वक्ता वा प्रवचकले औपचारिक वा अनौपचारिक कार्यक्रममा यसलाई च्याप्पै समातेकै  छन् । अब जीवनमा आफूलाई सफल बनाउने ध्येय छ भने उखानलाई झर्को नमानी प्रयोग गर्नुहोस् । अब खाँडो जागिहाल्यो नभए एक दुई घाँडो पन्छिहाल्ला।

 ‘अर्थ न वर्थ गोविन्दे गाई टाउको दुख्या औषधी नाइटामा लाई’ भनिदिनुहोस् त तपाईंकी पत्नी पनि फिस्स हाँस्छिन् । ‘ठाउँ न ठहर बूढीको रहर’ भन्नुभयो भने झनै अँगालो मार्न आउलिन् । अब एक दुई उखानले घाँडो पन्छि‌यो कि पन्छिएन त ? अब हरेक समस्याको समाधानमा कुनै न कुनै भौतिक वस्तु मात्र देख्ने लाटाबुङ्गाहरू दङ्‌ग नपर्लान् त ? भान्छे, मास्टर, डाक्टर, पुरोहित, पण्डित, व्याख्याता, अध्येता, गजेंडी सबैका मुखमुखमा उखान मात्र होइन आलङ्‌कारी पद्यलयले पनि ठाउँको ठाउँ नचाइ दिन सक्छ । उखान त झन माथिल्लो स्तरको भइहाल्यो । एउटा प्रवचनमा पण्डित नारायण पोखरेलको पद्यलय सुनेर हाम्रा गाउँका पुरोहितहरू त्यसलाई बारम्बार पुनरावृत्ति गरिरहन्थे।

वनमा सुते मुकुन्द ढुङ्‌‌गा सिरानी
कृष्ण मार्न गाको यवन आफै खरानी ।

बोलीचालीको भाषालाई हलुङ्‌गो ठान्ने ती मनुवालाई उखान वा पध्यलयले यसरी समाउँछ कि सात दिनमा एक दिन पनि हाँसो दिन नसक्नेले बाटामा एक्लै हिँड्‌दा पनि एक्कासी हाँस्न पुग्दछ । एक पटक पढाइरहेका मास्टरले एक विद्यार्थीलाई गुणरत्नमालाको छोटो पधलय के सुनाएका थिएँ । त्यसपछि त्यो विद्यार्थीमा परिवर्तन मात्र आएन ऊ  त्यही पद्यलयको भक्त नै बन्यो ।

सबको ओखती रचिदियो  दैवले बिर्सेछन्  है मूर्खको 

उहिलेका बेलिबिस्तार पहेँल्चिएका छैनन् भने भोलि, पर्सि,आघौँ, पराघौँ त झन् अब्बल नै लाग्लान्। शिक्षण पेशामा झन् बढी समस्या। दुई वा तीन पुस्ता हाजिर। तपाईं डाक्टर, पाइलट, इन्जिनियर वा जुनसुकै, जस्तोसुकै, त्यस्तै उस्तै पेशा अँगाल्नुहोस् आफ्नो समवयी, दाँवली वा दौँतरी भेट्नुहुन्छ । तर शिक्षण पेसाको कठालो समाउनु‌भयो भने पुस्तेनी ग्यापको झन्झटले फन्दामा फस्नुहुन्छ। विद्यालयमा पस्दा छोराछोरी, क्याम्पसमा भाइबहिनी अब समस्या जन्मिहाल्यो । डाक्टर हुँदा आमाबुवा सम्वोधन गर्न सकियो बिरामीलाई । पाइलट वा ड्राइभरले त्यो सिट तपाईंको  होइन अङ्कल आन्टी भन्न पाउँदा कस्तो मजा । अब शिक्षकलाई जहिल्यै फसाद । स-साना बच्चालाई छोराछोरी अलि ठूलो भएपछि भाइबहिनी अझ त्यो भन्दा माथि भएपछि मित्र। फेरि तिनलाई सम्झाउन बेलाबेलामा उखानटुक्का, पद्यलय र कथाकुथुङ्ग्रीको साथ नलिए शिक्षण टर्रो र रुखो भएको आरोप खप्नुपर्ने । कि अधिक भयो मेरो जिकिर ? चित्त वृत्ति नभए यो निबन्ध गनगन गरेर ‘भूतो न भविष्यति’ भन्दै डस्वीन‌मा हालिदिने मौलिक हक तपाईंसँग ज्युँदै छ ।

समय सापेक्ष समयानुकूल कर्म नगर्नेलाई उखान टुक्का र पद्यलयले खुब खेदेको पाउनुहुन्छ । अनि चिप्ला कुरा गर्नलाई पनि त्यतिकै । दिन उजेली सुती बिताइ रात उजेली बिस्कून सुकाइ । अगि आउने भरियाको रोजी बिसौनी पछि आउने भरियाको छाडी बिसौनी । उठ्‌नेको राँगो सुत्नेको पाडी । रोटी चिल्ला मिठा कुरा खस्रा मिठा । हाम्रा गाउँमा एक जना ९५/९६ वर्षका एक वृद्ध छन् । उनको नाम हो तप्तबहादुर खड्‌का । जसको विवाह‌मा जाँदा पनि खाँडो भन्ने हुनाले उनका पछाडि खाँडे माहिलो क्या भनेर उनको विषयमा कुरा उठान गर्दथे उनका परिचितहरू । ‘पुवाँर’ खड्काहरूको कूलदेवताको धामी भए‌को हुनाने तप्ते धामी क्या भन्दै कुरा काट्ने पनि भेटिन्ये ।

एकपटक ती तप्तबहादुरलाई छिमेकी भाउजूबुहारीहरूले अलिअलि गिज्याउन थालेछन्। उनकी पत्नी अलि मोटी र घरबाहिरको काममा त्यति जाँगर नदेखाउने रहिछन्। तप्तबहादुर जहाँ गए पनि उनकी पत्नीलाई कटाक्ष गरी गिज्याएको सुनेर बिसौनीमा जम्मा भएका महिलाहरूलाई लक्षित गरी थोरै पद्यलयको जोहो गरिहालेछन् ! इन्द्रेकी चाउरी, वीरेकी दाउरी, मेरी लाहुरी भनेपछि सबैको मुखमा बुझो लागेछ। महिलाहरूको मुखमा त खोया ठोके उनले तर पुरुषहरुको मुखमा कसले बिर्को लगाओस् । एक दिन चिया पसलमा गफिंदै गर्दा फुत्त एउटा तुकबन्दी फुराइहाले। ‘मेरी परि दिलपरी अर्काको अर्कोसँग मनपरि’ अब मुखमा बिर्को लागिहाल्यो भुइँ राजाहरूको । अब लम्बेतान गथासो किन ? संकटै संकटले जकडिएको हाम्रा मुलुकका शासक प्रशासकहरू गतिछाडा र मतिछाडा आत्मालाई पनि नाकेहोरी लाग्थ्यो कि?  यी नवीन उखान र पद्यलयले:

बुढीको गनगन व्यथा न टनटन।
आकाशकी रानी पातालकी सानी ।
(ठाउँ हेरी मान्छेको बल रहन्छ)

अभागीको बिहे गोठ गाउँ
न गोडाले पुगिन्छ न बस‌मा जाऊँ ।

काम न खाजा रैती न राजा ।

भूत लागे मन्त्र जोगी आए भिक्षा
मूर्खको ओखती न शिक्षा न दीक्षा ।

उम्केको माछो मरेको पाडो
पोहोरको मकै यसपालीको जाडो ।

भोट गएँ मधेश गएँ कहीं पाइन पोइ
आइज आइज लुरे पोइ तेरै गोडा धोई ।

विना शब्द कुकुर भुक्दैन मूलाको फेदामा हात्ती लुक्दैन
लोभीको हार सुढं पसार अल्छीकोको हार लम्पसार ।

नाउँ न जस खरानी घस
आगो न अँगेनी पलेटी कस ।

दुना टपरी बिहेको तयारी
खाजा न भात व्यर्थको डायरी ।

जुत्तालाई स‌लाम टोपीलाई दोष
सत्मार्गी छोडी कुमार्गी पोष ।

वैश छुँदा सन्नानी फुर्के चोली लायो
मस्ती झऱ्यो सन्नानी साँवा ब्याज पायौ ।

धान रोप्छौं खेतमा कोदो रोप्ने बारी
समय नचिन्नेलाई अररीको धारी।

बाबु थियो आमा थिइन् उस्तै
विधातालाई चित्त दुख्यो उत्रको उत्रै ।

जमान यति शीघ्र कुदिसक्यो कि, मान्छेले आफ्नो जीवनलाई सुधार्न उखानटुक्का, मननीय अभिव्यक्ति, नीति श्लोक आदिको प्रयोग गर्न बिर्सिसके । उखानभन्दा होचा पुड्‌का बनाउने प्रयत्न भइसक्यो नीतिश्लोकका वान्कीहरूलाई:

आयु कर्म च वित्तं च विधा निधनमेव च।
पञ्चैतानि हि सृजयन्ते गर्भस्यैव देहिन: ।

(आयु, कर्म, धन, विधा र मृत्यु यी पाँच कुरा प्राणी गर्भमा हुँदै बनेका हुन्छन् भनी कयौं पटक श्रमण गरे पनि एक-दुई पटक मनन गर्दछन् त्यस‌पछि आ-आफ्नै लुते धन्दामा लाग्दछन्)

त्याजेत् कं कुलस्याSर्थे ग्रामस्याSर्थे कुलं त्यजेत् ।
ग्रामं जनपद‌स्याSथै पृथ्वी त्यजेत् ।।

(कुलका लागि एक व्यक्ति, गाउँका लागि एक कुल, जिल्लाका लागि एक गाउँ, आत्माका लागि पृथ्वी त्याग्नु पर्छ । उपर्लिखित श्लोक एक पटक स्मरण गर्लान्, त्यस‌पछि दिमागबाट बेसिनमा हातमुख चुठेजस्तो गरिहान्छन् )

जमानाको हावाले उल्टिएको, जीवनशैली कचल्टिएको, आहारविहार गुल्टिएको आचारव्यवहार अगुल्टिएको, कर्तव्य भकुण्डिएको, मूल्यमान्यता रित्तिएको बेलामा नवीन उखान‌टुक्काको जोहो नगरे उहिलेका कुरा खुइले भन्दै लोप्पा खुवाइदिन्छन् आजकालका ठिटाठिटीहरूले । उल्टिँदो हावा, फेरिँदो परिवेश, बदलिँदो चरित्र, पातलिँदो सम्बन्ध, बाक्लिँदो स्वार्थ, घोटिँदो नैतिक धरातललाई चाहिने केही नवीन पद्यलय वा उखान यो जाबोको खोपडीमा यसरी पो फुऱ्यो त । जसले पनि लेख्ने  उखानटुक्का ? भन्दै यसैलाई पोको पारी मैतर्फ हुऱ्याइदिनुहोस् टन्टैसाफ:

युरोप जाऊँ वा अमेरिका जाऊँ आखिर उही चाला
जता आऊँ पेशा गर्नुपर्ने त्यही राष्ट्रियताको छाला। 
(पास‌पोर्ट या नागरिकताको सन्दर्भ)

आमा रुन्छिन् क्वाँक्वाँ बाउ घुँक्कघुँक्क
उमेर सकियो छैन अझै भएको ढुक्क ।
(पि.आर. र सिटीजनसिप नआइसकेको अवस्थाको पीडा)

पानी मिठो मूलको, केटी छान्नु कूलको
त्यही कुरा सुन्दा डिभोर्सको टुटिल्को ।

आफ्नै देशको ठान्यो उसैले ठग्ने
 जुन थालमा खायो त्यही थालमा ……. ।
(विदेशमा कमाएको पैसा आफ्नै साथीले झ्वाम पारेपछि)

स्वाभिमान बचाउनु भन्थे हाम्रा बाले
अहिले तिनका कुरा झाले न माले ।

उहिलेका जति कुरा अब ती खुइले
 जे गर्छ गर्छ भीटामिनको सुइले ।

मादलुको घिन्ताङ घिन्ताङ, बाँसुरीको पिँपिँ
वजन मात्र तलमाथि बानी उही चिँ चिँ।

मयुरको पखेटा खुट्टा हेर कस्तो
आफूचाहिँ तुच्छ, खोज्ने अरु जस्तो ।

खान्नखान्न बाहिर बाहिर भित्रभित्र पाथी
सत्वुद्धितल कुवुद्धि चाहिँ माथि ।

सिरानीचाहिँ खुट्‌टातिर चस्मा टाउकामाथि
नक्कलझक्कल अति‌ ज्यादा छिन्न लाग्या घाँटी ।

अल्छीलाई मानसम्मान परिश्रमीलाई कचकच
 सोझालाई उठ्उठ् फटाहालाई बस् बस् ।

चरालाई पखेटा कछुवालाई कवच
जागरिलाई काम जहिल्यै आउँछ फगत ।

०००

२०८१/०३/१५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
कुरा खेलाउने बानी

कुरा खेलाउने बानी

देवीप्रसाद चापागाईं
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x