चिरञ्जीवी दाहालगुरुपूर्णिमाको सम्मान जतनले राख्नुस् गुरु
साँच्चै गुरुहरूले पनि आज पाएको सम्मानलाई वर्षदिन सम्मलाई जतनसँग राख्नसक्नु पर्छ । धन्न, अघिपछि नभए पनि आज गुरुपूर्णिमाको दिन शिष्यको सम्मान पाउँदै हुनुहुन्छ ! होइन र गुरु !

चिरञ्जीवी दाहाल :
अर्जुनलाई अर्ति र उपदेश दिएर महाभारतको युद्ध लड्न उक्साएर मात्र त्रेतायुगमा कृष्णको चर्चा भएको होइन । उनले अनेकौं लिला गरे । कलिलो उमेरमा आफ्नै मुखमा सारा ब्रह्माण्ड देखाइदिए । महाभारत युद्धमा उनले पाण्डवहरू लाई साथ दिएका थिए र पाण्डवहरूको जीत र कौरवहरूको पराजय भयो ।
उनले अर्जुनलाई उक्साएको उक्साहट नै गीता नाम गरेको ग्रन्थ बन्यो । त्यसको चर्चा संसारभर चलिरहेको छ र गीता कालजयी ग्रन्थ बन्न पुग्यो । मान्छेहरू भन्छन् गीतामा जीवन जिउने सुत्र छ । अनेकौं समस्याको समाधान पनि छ, अनगिन्ती प्रश्नहरूको उत्तर छ । गीतामा के मात्र छैन ? कर्म, धर्म, राजनीति, कुटनीति सबै छ । लोकले सोच्न पनि नसक्ने कला कृष्णले प्रत्यक्ष देखाएका थिए त्यसैले उनी ठूलो विद्वान बने र उनी ईश्वर मानिए । तर तिनै कृष्णलाई त्यत्रो विद्वान बनाएर पढाउने गुरु सन्दिपनि ऋषिको चर्चा त्यति सुनिदैन । गुरुको भन्दा चेलाको चर्चा हुने यस धर्तीमा सन्दिपनिको नाम कसैले नसुनेको भएपनि कुनै आश्चर्य मान्नु पर्दैन ।
द्वापरयुगमा मात्र होइन, त्रेतायुगमा समेत यस्तै थियो, वशिष्ठ र विश्वामित्रको नाम भन्दा तिनका चेला राम लक्ष्मणको नाम बढी चर्चामा आएकै हो । कलियुगमा बौद्ध दर्शनका प्रवर्तक एसियाका तारा गौतम बुद्धका गुरुहरू अलारा कालमा, उड्डक रामपुत्र र अट्टाका अलाराको नाम कमै मान्छेलाई थाहा होला । त्यसबेलाको समयमा त गुरु भन्दा शिष्य अगाडि हुने रहेछन् भने अहिले त कलियुग हो । कुनै पनि गुरुहरूले चित्त नदुखाए हुन्छ । हुन त भनिराख्नु पर्दैन, गुरुको चित्त झिँगाको पित्त जस्तो सानो हुँदैन ।
वर्तमान अवस्थामा हाम्रा नेताहरूका गुरुहरू को थिए कस्लाई के थाहा ? फेरि मलाई थाहा नभएपनि अन्य धेरैलाई भने थाहा हुनसक्छ । थाहा भए पो के हुने हो र ? तिनका चेला चौथो पटक पाँचौं पटक प्रधानमन्त्री र बिसौं पटक मन्त्री भइसक्दा पनि बिचरा यिनका गुरुहरू भने प्रधानमन्त्री, मन्त्री त परै जाओस् आजसम्म सहायक मन्त्री पनि भएनन् होला । भएको भए केही न केही सुइँको अवश्य पनि पाइन्थ्यो ।
भन्नलाई त ‘गुरु’ भन्नासाथ ज्ञानको भण्डार, मार्गदर्शक, अनि अनुशासनको प्रतीक सम्झिएर गुरुको मानसम्मान गर्नुपर्छ भनिन्छ । झन आजभोलि त समय बदलिएको छ, मान्यता फेरिएको छ । सबै चेलाहरू यति व्यस्त भएका छन् कि गुरुको सम्मान गर्न कस्लाई पो फुर्सद छ र ?
अनि ‘गुरु’ भन्दा ‘चेला’ बढी चर्चामा आउने नै भए । चर्चामा नआउनु पनि किन “खुकुरी भन्दा कर्द लाग्ने गुरुभन्दा चेलो जान्ने ” सम्झिए पछि ।
गुरुले हजारौं घण्टाको मेहनत गरेर कुनै कलामा निपुणता हासिल गर्छन्। विद्यार्थीलाई आफ्नो कला र ज्ञान दिन्छन्, तर अन्तिममा गुरुले भन्दा चेलाले नाम कमाउँछ। समाजमा चर्चा उसैको हुन्छ, मिडियामा अनुहार देखाउन र पुरस्कार जित्ने कलामा गुरु भन्दा चेलाहरू सात पाइला अघि हुन्छन् । यो चलन अचेल मात्र भएको भए त ठिकै थियो , उहिले देखिको रहेछ । के गर्नु उहिले देखिको चलन, गुरुहरूले यसैलाई नजीर मानेर चित्त बुझाउनु पर्छ ।
कुनै सङ्गीतको गुरुलाई हेरौं, गुरुले बच्चा उमेरदेखि नै कुनै विद्यार्थीलाई सङ्गीत सिकाउन थाल्छन् । बिस्तारै विद्यार्थीलाई सङ्गीतमा रुचि लाग्न थाल्छ। उसको प्रतिभा झल्किन थाल्छ। अनि के चाहियो ? विद्यार्थीले कुनै रियालिटी शोमा भाग लिन्छ, चर्चित हुन्छ, अनि सबैजना उसको प्रशंसा गर्न थाल्छन् । तर त्यस चेलालाई पछाडिबाट धकेल्ने को छ ? कसलाई के मतलब ? जसले आफ्नो सारा ज्ञान र समय लगाएर त्यो प्रतिभा निखार्दा चेलाहरू तिखारिए गुरु निख्रिए !
नभए हाम्रा मन्त्री, सांसद र नेतालाई पढाउने गुरु हरूलाई नै हेरौं न ! उनिहरू अझैसम्म प्रा वि स्कूलमा कखरा पढाउनमै व्यस्त छन् , यता चेलाहरू भने चार महिने पालो लगाएर मन्त्री बनेको बन्यै छन् । गुरुका चेला मन्त्री, मेयर, साँसद , वडा अध्यक्ष बनिरहँदा उता गुरुहरू भने सुरुवालको इँजार कस्दै स्कूलको कक्षा कोठामा बच्चाहरू सँग सम्वाद गरिरहेका भेटिन्छन् ।
गुरुले सोह्र वर्ष अघि खरिद गरेको सेकेण्ड ह्याण्ड साइकल घिस्याइ रहँदा यता शिष्यले भने सोह्रवटा कार र सोह्र मन्त्रालय परिवर्तन गरिसकेको गुरुलाई पत्तै हुँदैन । आखिर पत्तो पाए पो गुरुले के लछारपाटो लगाउन सक्छन् र बरा ! उबेला केटा केटाकेटीमा पढाउँदा त नटेर्ने चेलोले अचेल यसो गर उसो नगर भन्दै बिनसित्ति बिन्ति चढाउँदा खानदानी बनिसकेको चेलोले किन टेरपुच्छर लगाउँथ्यो ? गुरुलाई टेर्ने भए कुन गुरुले भ्रष्टाचार र तस्करी गर्न आफ्ना शिष्यलाई सिकाउँथे होला ? शिष्य दिनदहाडै भ्रष्टाचारको आहालमा डुब्दा गुरुहरू आँखा चिम्म गरेर किन बस्न सक्थे ?
फेसबुक, युट्युब ,इन्स्टाग्राममा ‘फेमस’ हुन चेलाको लागि निकै सजिलो छ। एकदमै राम्रो फोटो खिच्यो, अलिकति सक्रिय भइदियो, अन्ट न सन्टका पोष्ट टाँस्यो तुरुन्त सेलिब्रेटी बन्न पाइयो । तर तपाईँलाई अक्षर चिनाउनदेखि लिएर अनेकौं ज्ञान दिन, को पछाडि पछाडि दौडिएको थियो ? तपाईँको गुरु होइन ? जसले तपाईँलाई ज्ञानका हरेक पोज, हरेक एङ्गल, अनि हरेक ट्रेन्डको बारेमा सिकाउने गुरुप्रति कृतज्ञ हुनु पर्दैन ? कसैले सोच्छ गुरुको बारेमा ? सबैको ध्यान आफैमा मात्र केन्द्रित हुनेगरेको छ ।
एकजना साहित्यकार गुरुले आफ्नो चेलालाई साहित्य सिर्जना गर्ने अभ्यास गराउन लागेछन् । भुत्ते दिमाग भएको चेलाले सहजै टिप्न सकेन । गुरुले घनिघसाइ गरे । साहित्यको कखरा सिकाइ दिए । भन्थे, रहर गरिहाल्यो तर जति कोशिसगरे पनि केही सिप लागेन । रचना सिर्जना गर्ने आइडिया चनौटोमा घोटेर पियाउन मिल्ने भए दिनभरि घोटेर भएपनि पियाइदिने थिएँ । त्यसपछि तीन महिनामा कनिकुथी एउटा कविता लेखेको शिष्यले चार महिना पुग्दा नपुग्दै सत्र थान सम्मान पाएछ । गुरुको हातमा भने आजसम्म एउटा पनि सम्मान परेको छैन रे । गुरुले एकदिन गुनासो पोख्दै थिए । सबै क्षेत्रमा जस्तै साहित्यमा पनि धुलो चटाएछ गुरुलाई आफ्नै चेलाले ।
खेलकुदमा पनि त्यही हालत छ, ऐेना हेरे जस्तै छर्लङ्ग देख्न पाइन्छ। कुनै खेलाडीले प्रतियोगितामा पदक जित्छ। सारा देश उसको नाममा गर्व गर्छ। मिडियामा उसको नामको चर्चा हुन्छ। तर उसको प्रशिक्षकको नाम कसलाई थाहा हुन्छ? तपाईँलाई थाहा छ त्यो प्रशिक्षकले कति मेहनत गरेको हुन्छ ? छैन, बरा प्रशिक्षकको नाम कहिल्यै चर्चामा आउँदैन।
यो सबै सुन्दा मनमा प्रश्न उठ्छ, आखिर किन? किन गुरुको भन्दा चेलाको ख्याति बढी हुन्छ? यो प्रश्नको उत्तर सायद समय र समाजको प्रवृत्तिमा लुकेको छ। समाजलाई केवल परिणाम चाहिन्छ, मेहनतको मूल्य कसैले बुझ्दैन। जसले अन्तिममा सफलता प्राप्त गर्छ, त्यो नै असली नायक ठहर हुन्छ।
“यस्तो पनि हुन्छ ? गुरु बिना चेला , कहिल्यै चर्चित हुन सक्दैन भन्ने यथार्थ मान्छेले किन बुझ्दैन ? यो कुरा चेलाहरूले कहिल्यै बिर्सनु हुँदैन थियो। गुरुले दिएको ज्ञान, सिकाएको अनुशासन, अनि मेहनत गर्ने बानीले चेलालाई सफल बनाउँछ। त्यसैले, चेला सफल भएकोमा सबै गुरुहरूले गर्व गर्ने ठाउँ पाउनु पर्थ्यो तर खै गर्व गर्ने ठाउँ नै पाइन्न । न गुरुको योगदानलाई कसैले सम्झन्छन् ? कृतघ्न मोराहरू ! ” यति भनिसकेर गुरुले लामो सास फेरे । मेरो आफ्नै गुरुले मैसँग यसो भनिरहँदा म झसङ्ग भएँ । मलाई लाग्यो, मबाट पनि ठूलो भुल भएछ !
अघिपछि जेसुकै होस् आज एकदिन मात्र भएपनि गुरुका नाममा देखावटी गुरुभक्ति फेसबुकमा छरिदिने हो भने गुरु मख्ख पर्छन् । माफी मागेपछि, सातखुन त माफ पाइन्छ भन्छन् ! सम्मान नगरेको अपराध हो , कसो माफ नपाइएला ? नपाइने भए फेसबुकका भित्तामा अनगिन्ती शिष्यका गुरुभक्तिका हजारौं नमुना आजमात्र किन देख्न पाइन्थ्यो ? साँच्चै गुरुहरूले पनि आज पाएको सम्मानलाई वर्षदिन सम्मलाई जतनसँग राख्नसक्नु पर्छ । धन्न, अघिपछि नभए पनि आज गुरुपूर्णिमाको दिन शिष्यको सम्मान पाउँदै हुनुहुन्छ ! होइन र गुरु ! अँ साँची, मेरो पनि सबै ज्ञातअज्ञात गुरुहरू प्रति गुरु पूर्णिमाको अवसरमा अनगिन्ती शुभकामना छ ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest








































