सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उधारो बजेट, नुनिलो भान्सा…

‘नुन’ सरोकार नहुन सक्छ, सुनको लाप्सा समाउनेलाई जुनको दरोकार नहुन सक्छ, खोपिमानै रमाउनेलाई जुवाको अड्डा जमाउनेलाई महत्व हुन्न मर्यादा, आखिर खर्चको सरोकार नहुन सक्छ, ‘सर्प’ पाल्दै कमाउनेलाई ।

Nepal Telecom ad

कुमार खड्का :

उधारोमा खीर खाने आदत हाम्रो मान्नुपर्छ
दूध, चिनी, चामल समेत पारिबाटै धान्नुपर्छ
अल्छे तिघ्रो, स्वादे जिब्रो तलबल लाग्छ सधैंँभरि
आर्थिक मन्दि, व्यापार घाटा के गर्ने हो जान्नुपर्छ ।

म कुनै विज्ञ, अर्थशास्त्री, तर्कशास्त्री, लाजनीतिकर्मी या स्वघोषित समाजसेवी कोही हैन, तर समसामयिक परिप्रेक्ष्यमा मोटामोटी तर्क टिपोटको जमर्को गर्दैछु । राष्ट्रको बजेट सञ्चालन गर्ने अवसर नपाए पनि हालैका वर्षहरूमा घरको बजेट चलायमान गर्ने अवसर पाएको स्थितिले पनि यो धृष्टता गर्ने हिम्मत भएकै हो । बुवाको दम रहुन्जेल उहाँकै टाउकोमा गिर्रा हानिन्थ्यो, छातिमा हल्ला खेलिन्थ्यो, भरोसामा गर्जिने गरिन्थ्यो । आन्तरिक र मोफसलका समस्याहरू हल्काफुल्का ढङ्गले लिइन्थ्यो । अहिले आफ्नो टाउकोमा सारा घरायसी र सामाजिक जिम्मेवारीको भाउँताे आइलाग्दा महङ्गीको प्रहर र मन्दीको कहरमा दिवा स्वप्नमै बर्बराउने गरि तोरीको फूल देखिदैछ ।

“एकछाक बरू भोकै बस्नु, उधारो नखानु” भन्नुहुन्थ्यो बा ले । “ दुई चार छाक अलिनो खानु, नुन सापटी नलिनु…“ भन्नुहुन्थ्यो उहाँले ।

हैट ! अचम्म लाग्थ्यो । कस्तो रुखो र खस्रो कुरा ? कस्तो टिठ लाग्दो विचार ? केको अलिनो खान सक्नु ? किन नमिठो खानु ? त्यस्तो खरो स्वभाव लिएर हुन्छ त ? एक बारको जीवन छ, सकेसम्म अनावश्यक दुख, भुक्तमानमा किन बल्झने ? मान्छे सामाजिक प्राणी हो, आत्मनिर्भरता भन्दा आपसी अन्तर्निर्भरता र पर निर्भरताको विनिमय प्यारो लाग्ने बानी परिसकेको मान्छे । सोचेर भन्छु, सहयोगको लेनदेन भन्ने कुरा सामान्य हो । आजको सापटी भोलि तिरिन्छ, भोलिको उधारो भविष्यमा तिरिएला । अहिले नहुदा पो समस्या लाग्छ, भएपछि त्यतिकै फोस्रो दुख बेहोरिएछ भनेर बेकारको थकथक मात्र हुनसक्छ । पछि आफूसँग हुँदा छिमेकीले पनि सरसापटी माग्लान्, नदिनु र ? दिन परिहाल्यो नि हैन र बुवा ? त्यसैले सापटी, ऐंचोपैंचो चलाउनु राम्रो र सहजताको जीवन हो, भनेर म भन्ने गर्थे । तर उहाँको हरहाल बिमतिनै रहन्थ्यो ।

भन्ने गर्नुहुन्थ्यो- कुरो अन्तर्निभरता र आपसी सहयोगको कुरा हैन बाबू। त्यो त परजीवी र पानीमरुवा कुरा हो । पहिलो कुरा आफू बलियो र सम्वृद्ध हुनुपर्छ, आत्मनिर्भर बन्नुपर्छ । आफ्नो धरातल के हो, कस्तो हो ? त्यस्को आधार पहिल्याउदै यथार्थताको जगमा उभिन सक्नुपर्छ । घरको छतमा भरिएको पानी ट्याङ्कीमा पनि पानीको श्रोत के हो ? कहाँ छ ? कति क्षमता छ ? कति समयमा भर्ने गर्नुपर्छ ? आवश्यक्ता कति हो ? पुगनपुगको अवस्था के छ ? मर्मत सम्भार र सरसफाईको स्थिति, रुटिन के हो ? थाहा पाउनु पर्छ । दिगो विकास सिद्धान्तमा रटेर हुँदैन ।

नियमित भात भान्सा लगायत चाडबाड तिथि श्राद्ध मनाउने, पाहुनापासा पन्छाउने, जोगि, भोगी मन्छाउने, दान दक्षिणा लगाउने लगायतका सारा कुरा बारे विचार गर्नुपर्छ । मान्छेले फगत एकसरो जीवन जिएर मात्र हुदैन नि । त्यसभित्र माया, प्रेम, सद्भावना, सत्कार, इज्जद आमोद जोगाएर जिउने कुरा हुन्छ । बाँच्न त यावत जिवात्माहरू पनि बाँचेकै छन् । गल्लिका भुस्याहा कुकुर, चराचुरुङ्गी पनि बाँचेकै छन् नि । तर मान्छे वास्तविक मान्छे भएर बाँच्न मानविय भावना, कुल धर्म, संस्कार, साँस्कृतिक, धार्मिक, नैतिक आचरणको सीमाभित्र रहेर बाँच्न सक्नुपर्छ । सन्तुलित सम्बन्धका आधारहरू पहिचान गर्न सक्नुपर्छ । “उत्तानो हात हुने भन्दा घोप्टो हात” हुनेकै हैसियत हुँदा ऋृण नखानु, बरू सके अरुलाई लगाउनु ।अरुको आशा नगर्नु, सक्दो अरुलाई गुण लगाउदा सामाजिक अस्तित्वको नेप्से समेत उच्च हुनेगर्छ । अन्यथा जिउनुको अर्थमै अवमूल्यन हुनसक्छ । भन्नुहुन्थ्यो उहाँले…

पछिको गम भन्दा सुरुकै दम राम्रो । ल हेरौँ त ! एउटा सामान्य परिवार चलाउने साधारण लेखपढ भएको मेरो बुवाको दृष्टिकोण, विचार कति दुरदर्शी र विशाल थियो ? आफ्नो गृहस्थ धर्मभित्र नैतिक र सामाजिक धर्मलाई बाँध्नु भएको थियो । उहाँको दिग्दर्शनमा सामाजिक सुरक्षा लगायतका सारा नीति प्रष्ट देखिन्थ्यो । तर राष्ट्र चलाउन जनताले विश्वास दिएका र आफ्नो टाउकोमाथि चढाएर राखेका नेतृत्व तहकाहरूको बुद्धि, विवेकको निम्छरो अवस्थाले हामी सारा तिनछ्क्क हुने अवस्था सृजना भएको छैन र अहिले ?

न बजेटको अनुमान, न त योजना, खर्चको घान ? न लक्ष्य र प्रगतिको खेलो, न त स्वस्थ र गुणस्तरीय प्रतिस्पर्धाको तालमेल ? एक रति समन्वय छैन, आनको तान फरक हुन्छ । साधारण पकेट खर्च देखि विकास बजेट खर्चको तारतम्य, भौतिक र अभौतिक प्रगती र जोहो, के हो ? को हो ? कतै सामञ्जस्य हुदैन त । होस् पनि कसरी ? वास्तविक योजना र खर्च भन्दा हुकुम प्रमाङ्गिका योजना छनोट र अराजनीतिक सेन्सरद्वारा सञ्चालित भूमिगत रिमोटको दवदवाले प्रभावित बेहिसाब विवरण ! अनि “ढुकुरलाई हान्दा कुकुरलाई लागेजस्तो..” हुने भैगो नि । सानो मुखले ठुला कुरा गर्न भएन नि हैन ? यसरी हिजो भन्दा आज कमजोर अवस्था सृजना भएको छ, आज भन्दा भोलिको अवस्था डरलाग्दो हुनेनै भयो । घाँटी हेरि हड्डी निल्नुपर्ने ठाउँमा हड्डी अनुसार घाँटीको आकार बढाउँदै अजिङ्गरलेझैँ एकलौटी निल्ने नीति भएपछि कस्को के लाग्छ ?
“बाबु हीन भएपछि बाल बच्चाले दुःख पाउलान्
कुनाकानी जोगाइदिए पो मकैसम्म चपाउलान्… ! ?”

हाम्रो जमानामा रेडियो खवरले बादलको अवस्थिति हेरेर हचुवा मौसमी भविष्यवाणी गरेजस्तो । पानी पर्ने खवर आउदा घाम लाग्ने, सफा मौसमको खवर आउदा झरी पर्ने गरेको याद आउँछ । र्याङ, ठ्याङ केही नमिल्ने । तर अहिलेको अत्याधुनिक राडार प्रविधि प्रयोगले र्याङ, ठ्याङ मिलेकै छनक आउँछ है, धेरै हदमा मिल्छ नि । हैन ! आधुनिक मौसमी भविष्यवाणी जस्तै बजेटको अनुमान, खर्च तथा श्रोत, साधन परिचालन प्रणालीको अनुमानमा पनि जवर्जस्त सिमानिर्धारण गर्ने, गराउन सक्ने राडार प्रणाली जडान गर्न सके अलि व्यवस्थित हुन्थ्यो कि ? लौन ! आवस्यक पहल थालौँ, बरू कमिसनलाई चाहिने रकम हामी सबैले दामासाहीमा व्यहोर्ने पहल गरौँ ।

एउटा गवाँर डिग्री, पिएचडी क्यै हैन भन्छ, गनिएका डिग्री, पिएचडीहरू पर् र् र् र् र्र ताली ठोक्दै हो मा हो सहि मिलाउछन् । म्युजिकल चेयर्स जस्तै सत्ता स्वार्थका खेलाडीहरूकै ताबेदार, ढोके, हुक्के, बैठके भएर पछि लागेकाछन् । बेमौसमी स्वागत र शुभकामनाका फूलमालाले चाकरी बजाउन र कुनामा बसेर दुनामा डकार्ने चाँजोपाँजो मिलाउदै गरेको देखिन्छ । यस्को परिणाम के ? स्पष्ट छैन र ? गवाँरहरू झन् हौसिँदै उफ्रन्छन् । उही पुरानो धङधङीको आत्मरतिमा चिच्याउने झुण्डलाई हाम्रो कर्म र सारा मर्म जोड्दै के भनेर सम्बोधन गर्ने हो खै ?

हामीमा कागजी ज्ञान बाहेक व्यावहारिक अनुभव छैन । यसरी उद्यमशिलताको ल्याकत छैन, भएन त समस्या ? उ बेलाको सामाजिक, भूगोल, इतिहास, नैतिक, व्यावसायिक शिक्षा शून्य हुने अवस्था भइसके पछि कसरी हुने व्यवहारिक ज्ञान, कसरी बढ्छ उद्यमशिलता ? कसरी उँचो हुन्छ नैतिकता सद्भावनाका लगाव ? किन बुझ्ने स्वाभिमान ? कताबाट पर्गेल्ने अभिमान ? अनि घरैदेखि भाषा, धर्म, साहित्य, सङ्गीत, कला, नैतिक शिक्षाका ल्याकतमा पूर्ण विराम लगाउने वातावरण भएपछि र आयातित दास मनोवृत्तिको शिक्षा पद्धतिमा हो मा हो गर्दै ल्याप्चे लगाउदा सारा प्रवृत्ति, आवृत्ति क्षय र भ्रष्ट हुँदैन त ?

सक्नेजति विदेश पलायन भयो, त्यहाँको हेर्‍यो, यहाँको कुरा काट्यो ! अमेरिका, युरोपको कुरा गर्‍यो, आफ्नो देशको भुगोल थाहा छैन । नेपोलियन र हिटलरका कुरा गर्‍यो, पृथ्वीनारायण, बलभद्रको ईतिहास बिर्सियो । ह्युमर, दाँतेका कुरा गर्‍यो, देवकोटा, लेखनाथ बिर्सियो । महङ्गा प्रविधि बारे कुरा गर्‍यो, स्थानिय श्रोत, साधनको पहिचान भुल्यो । एभोकार्डो, ड्र्यागन फ्रुटको कुरा गर्दा आफ्नो स्याउ, नास्पाती, बिर्सियो…! हावा, पानी, माटो सुहाउँदो, बिउ, प्रविधि, श्रोत, साधनको पहिचान र उपयोग गर्न नसकेपछि के को उत्पादन अभिवृद्धि ? के को दिगो विकास ? कोदोको बिउ रोपेपछि धान फल्छ र ? सबैले आफ्नो चुलो, दैलो सफा गर्दै गए पो समाज सफा हुने हो । अरुलाई दोष दिएर मात्र पनि हुँदैन नि । हामीमा त्यो सचेतना मर्दै गएको अवस्थाले वास्तवमै क्षयको खतरा र संवेदनशीलताको ज्वरो चढ्दै गएको देखिन्छ ।

यस्तो कुरा छोडिदिउ, आफ्नै कुरा गरौँ ल ?
एक आपसी भेटमा हामी आफ्ना छोराछोरी विदेश तिर पढ्दैछ्न् भन्दा गर्व गर्छौँ । उनिहरूले खेतवारी पाखो समेत कुल्चेका छैनन्,भन्दा दङ्ग पर्छौ । सय किलोको फलाम उचाल्ने खेलाडी छोरोले एउटा ग्यासको सिलिन्डर बोक्यो भने उस्को इज्जत जान्छ भनेझैँ गर्छौँ । दाल, भात, तरकारी पकाउन समेत नजान्ने पुल्पुलाएर पालेकी छोरीप्रति गर्व गर्छौँ । गैरजिम्मेवार परिपाटीको कुरागर्दा हामिले आफ्नो सन्तानलाई उभिएको धरातल चिनाउन बिर्सिसकेका छौँ ।

सही लगानीका साधन बेगर उत्पादन खोज्छौँ । आफ्नै स्वभाव छैन, प्रभाव खोज्छौँ । मनमा भाव र काममा लगाव छैन, दोश्रो उत्तरदायी भएको हेर्न खोज्छौँ । आफ्नो योग्यता, क्षमता छैन, अरुको अक्षमता केलाउने गर्छौँ । त्यस्तो पारा सुहाउँछ ? दिमाग खाली छ, व्यवहार जाली छ, फोकटको हालिमुहाली चलाउन खोजेर हुन्छ ? करोडको लागानिमा लाखको नाफा खोजी गर्ने हो, हजारको लगानिमा त सयको प्रतिफल पो आउने हो । यहाँ त बिना लगानी, बिना मेहनत रातारात करोडौंको खेलो गर्न खोज्ने महाशयहरू भएपछि व्यभिचार र विकृति भित्रिनु सामान्य हुन्छ । हाम्रै पराधिन विचार र व्यवहारको टेको बारे पुनर्विचार गर्ने पो हो कि ?

सोच्नुहोला कि आजको लेखमा नेतृत्वलाई त्यति गाली गरिएन । आफैं बेकुफ भएपछि अरुलाई गाली गर्नै परेन नि । ०४६ को परिवर्तन पछि के के न गर्लान् भनेर काँधमा बोकेर पठाएका प्रतिनिधिहरू पटकौं राष्ट्रको हितमा अनुत्तीर्ण भैसकेका छन्, अझै एन क्यु लागिसक्दा पनि हामी उनैलाई टाउकोमा चढाइ रहेकाछौं । १४५९ दिन धारे हात लाउछौं, फेरि एक दिन समर्पणको ल्याप्चे लगाउदै निकम्मा जुनि बिताउने चाहमै रणभुलमा परेपछि उनैलाई के को धारे हात ? लाज पनि लजाउने अवस्था भएको छ ।

भाग्यमा रातो मसिले कोरेर ल्याएका रे छन् त । हात्तीले नै फूलमाला लाएर अभिषेक गरिदिएका नभराजलाई स्वतः मान्नुपर्ने हाम्रो नियति भएन र ? मुसाले बिरालो, बाख्राले बाघको संरक्षण पत्याएपछि हुने यस्तै हो, कोदो रोपेर धान फल्छ र ? उधारो बजेटमा नुनिलो भान्सा स्याहार्न खोज्ने, पराइसँग मारेको माछा उधारो लिएर जिब्रोको स्वाद फेर्न खोज्ने सोचमै मख्ख पर्नु बबुरो चिन्ता हैन र..?
बुझ्नु पर्‍यो,
‘नुन’ सरोकार नहुन सक्छ, सुनको लाप्सा समाउनेलाई
जुनको दरोकार नहुन सक्छ, खोपिमानै रमाउनेलाई
जुवाको अड्डा जमाउनेलाई महत्व हुन्न मर्यादा, आखिर
खर्चको सरोकार नहुन सक्छ, ‘सर्प’ पाल्दै कमाउनेलाई ।

अझै नबुझे,
सम्पूर्ण सुतिखाने र लुटिखाने खान्दानियाहरूलाई अभिवादन गरौँ भन्न चाहन्छु म त । बाँकी यहाँहरूको विचार ! लाल सलाम ! जय नेपाल !! सबैको जय होस् !!!
अस्तु…!!!

०००
आलापोट, काठमाडौं ।

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Rehit Saiju
Rehit Saiju
1 month ago

गजब लाग्यो । धारिलो व्यङ्ग्यले भरिएको उत्कृष्ट निबन्ध । हार्दिक बधाई ।

gautam bhandari
gautam bhandari
1 month ago

gautam

gautam bhandari
gautam bhandari
1 month ago

अति सुन्दर मनन् योग्य यथार्थ बादि र समसामयिक विषय मा आधारित। हजुरको लेखन सैल यसैगरि बढदै जाओस। समाजलाई यस्तै विधा हरू मार्फत सजग गराउँदै जानु भएकोमा हजुरलाई धरै धरै धन्यबाद। हामि सबै कोजय होस्।

kumar khadka
kumar khadka
1 month ago
Nepal Telecom ad
टाउकाको मूल्य (२)

टाउकाको मूल्य (२)

कुमार खड्का
रहरको दर

रहरको दर

कुमार खड्का
होसियार !

होसियार !

कुमार खड्का
टाउकाको मूल्य

टाउकाको मूल्य

कुमार खड्का
टेलिफोन

टेलिफोन

हरिशंकर परसाईं
आकस्मिक बैठक

आकस्मिक बैठक

भाेज अर्याल
चस्मा

चस्मा

लाेकेन्द्रबहादुर चन्द
गाँड

गाँड

तिलक राई
4
0
Would love your thoughts, please comment.x
()
x