माणिकरत्न शाक्यश्रीमती हिस्स
होइन, बियर नखोली गम्भीर भएर के कोर्न लाग्नु भएको ! श्रीमानको ताल देखेर श्रीमतीले भनी । लोग्नेले श्रीमतीलाई सम्झाउँदै भन्छ- यो बियर फिर्ता लैजाउ । अब हाम्रो खाना मसिनो चामल हैन, आधा कुरूवा पिठोमा दुई कुरूवा पानी हाल्नुपर्छ बुझ्यौ बूढी ।

माणिकरत्न शाक्य :
कार्यालयबाट घर छिरेसँगै खुशी हुँदै लोग्नेले श्रीमतीलाई अह्राउँदै भने- आज एकदम स्पेशल खाना खाने है, लौ यो लिउँ एक किलो मासु । आधा किलो अहिले बनाउ, आधा किलो भरे भातसँग सप्य्राक सप्य्राक । वियर पनि लेउ ! मेरो फूर्तिफार्ती देखेर विचरा श्रीमती ट्वाल्ल परेर हेरिरही । मेरो अनौठो ताल देखेर मनमनै कल्पनामन डुब्दै, मनमा के के बुन्दै थिइ होला – के भाको यो बुढालाई आज ?
हैन, छिटो नगरी के ट्वाल्ल परिरहेकी, कहिल्यै नदेखे जस्तो । तैँले यो सामान के गरि ल्याएको होला भन्ठानिस् होली होइन ? वैशाखदेखि हाम्रो तलव बढ्यो क्या ! त्यसैको उपलक्ष्यमा यस्सो रमाईलो गरूँ भनेर पो ! उनको शङ्का निवारण गर्दै लोग्नेले पोल खोलिदिएँ ।
अब भने बल्ल श्रीमतीको मुहार हँसियो देखियो । उनीले हाँस्दै भनीहाली- तपाईंको तलव बढ्ने म चैं हिस्स हुने त हो नि ! एउटै साडी लाएर बसेकी दईवर्ष भैसक्यो, कहिल्यै किनिदिने होइन ? श्रीमतीको दुखेसो सुन्ने बित्तिकै भन्यो- ल ल यसपाली पक्का । तलव बढ्या बेला तँलाई एउटा जापानिज साडी किनिदिन्छु, म छउन्जेल तँलाई के को पीर ! श्रीमतीले- चुनावमा दिने आश्वासन जस्तो होला नि, म त मान्नेवाला छैन नि ! फेरि चुलो हड्ताल गर्न र कालापट्टी बाँधेर धर्ना दिन नपरोस् नि, बेलैमा भन्द्या छु क्यारे ! धम्क्याउने पारामा भन्दै गइन् । लोग्नेले फकाउँदै भने- तिमीले यस्तो हर्कत नगर ! दशैँमा ससुराली जाँदा किनिदिउँला पक्का भो, अनि ताइ न तुइँका कुरा नगर । हामी जस्तो आधा तलवमा काम गर्छु भन्नू त कता हो कता, उल्टै धर्ना दिनृ कुरा पो गर्छे बा ४४४ ! धर्नाको कुरा सुन्ने बित्तिकै लोग्नेको पारो तार्यो र झोक्किँदै भने- यस्ता धर्नाको कुरा गर्नेहरूलाई कसरी निलम्बनमा पार्नुपर्छ मैले पनि जान्या छु, अनि देख्लिस् । त्यसपछिको अन्तिम विकल्प भनेको छोडपत्र हो बुझिस् !
लोग्नेको कडा कुरा सुनेर वित्यास पार्ने भो भन्ने सम्झेर श्रीमतीले हँ…, हँ… मात्र गरिन् । रिसाएको लोग्नेलाई काबुमा ल्याउन श्रीमतीले हाँस्दै भनिन्- तपाईंले के भन्नुहुन्छ भनेर यस्सो ठट्टा पो गरेकी त, पारो तताई हाल्नु पर्छ त ! मन चोरेको पनि थाहा नपाउने कस्तो बुद्धु लोग्ने हो । लोग्नेले मुख खोल्दै भने- मैले पनि त्यसै गर्या त हो नि ! दुवै हाँस्दै मासु लिएर खुरुखुरु भान्छा कोठातिर लागे । मासु पकाउन सामग्री के छ छैन हेरेर श्रीमतीलाई सुनाउँदै लोग्ने मसला किन्न पसलतिर लागे । चाकडीको भाषामा श्रीमतीले बोल्दै भनिन्- हस् सरकार ! छिटो ल्याउनोस् है !
साहुजी एक लिटर तेल र एक पाकेट मसला दिनोस् त ? भने बमोजिमको सामान लिएपछि सय रूपैयाँको नोट साहुजीलाई दिए । साहुजीले भने- बाबू ! पैसा पुगेन ? हिजो यत्ति नै लाँदा त त्यत्ति नै थियो त ! आज किन ? खरिदकर्ताले सोध्यो ? साहुले भन्यो- बाबू ! सरकारले कर्मचारीको तलव बढायो, यता सामानको भाउ बढ्यो त्यसैले ! पच्चीस रूपैयाँ पुगेन है ! म बजारको भाउ सुनेर छक्क परेँ । मैले सामान फिर्ता दिँदै भने- साहुजी ! तपाईंको सामान राख्नुस्, मेरो पैसा फिर्ता दिनुस् !
म चकित र थकित हुँदै घर फर्कें । घर पस्ने बित्तिकै दिक्दार हुँदै श्रीमतीलाई भने- आज मासु पोलेर खाने, तेल सेल ल्याइनँ है ! श्रीमती फेरि ट्वाल्ल परिन् । तिनी तेल र मसलाको पखाईमा थिइन् ।
म हिसाब गर्न थाले । बढ तलब यत्ति …. बढ महङ्गी यत्ति…. वचत यत्ति… श्रीमतीलाई लुगा यत्ति… चामल, दाल यत्ति… आलु, प्याज, साग यत्ति । साँच्चै पहिलेको भन्दा अहिलेको तलबको कार्यशक्ति आधा भएछ । सरकारले हाम्रो माग त पूरा गरिदियो, तर के गर्नु हातमा लाग्यो यामानको गोलो ।
होइन, बियर नखोली गम्भीर भएर के कोर्न लाग्नु भएको ! श्रीमानको ताल देखेर श्रीमतीले भनिन् । लोग्नेले श्रीमतीलाई सम्झाउँदै भन्छ- यो बियर फिर्ता लैजाउ । अब हाम्रो खाना मसिनो चामल हैन, आधा कुरूवा पिठोमा दुई कुरूवा पानी हाल्नुपर्छ बुझ्यौ बूढी ।
लोग्नेको कुरा सुनेर श्रीमती ताजुव मान्दै भन्छिन्- के हुन्छ यो बुढोलाई छिनका छिनमै । लोग्नेले भन्यो- बूढी ! बजारको भाउ आकाशिँदै बढेको त पत्तै भएनछ नि ! यो सबै त्यसैको करामत हो क्या ।
श्रीमती आफ्नो सपना यसपालि पनि चकनाचुर भएकोमा हिस्स परिरहिन् ।
०००
चाबहिल, सरस्वतीनगर
Subscribe
Login
0 Comments
Oldest







































