सुरेश राईमेरो नाम बिगार्नेहरूको नाममा
मलाई पनि एक जना त्यस्तै अछुत मानिने परिवारको एउटा केटोको नामले पनि जिस्किएर बोलाउँथे साथीभाइहरू जुन नाम खुलाउन म किन्चित वान्छनीय ठान्दिनँ ।

सुरेश राई :
मजाले सजिलै उच्चारण गर्न सकिने सामान्य खालको नाम छ मेरो, सुरेश यानि सु, रे, श । सुरेश अर्थात देवताहरूको राजा । हजुरबुबाले राखिदिनु भएको यही नाम बोकेर जीवनका थुप्रै वसन्तहरू पछाडि छाड्दै आजसम्म दालभात खाइरहेको छु । घरमा बोलाउने बेलामा यो नामले बिरलै ठाउँ पायो होला । किनभने म आमाको ‘जेठा’, पिताश्रीको ‘ओइ’, दिदीहरूको ‘ओइ भाइ’ र भाइबहिनीको ‘दाइ’ भएँ । हुन त विलियम शेक्सपियरले नाममा के छ र ! भनिसकेका छन् । यद्यपि नाममा त्यस्तो केही भए वा नभए पनि एउटा विशेष आत्मीयता भने जरुर हुन्छ । त्यसैले त आफ्नो नाम भत्कियो भने मनमा पनि ख्यास्स सानो पहिरो जान त गइहाल्छ नि !
म पढेको निम्न माध्यमिक विद्यालयमा पुरानो अंग्रेजीको शिक्षक फेरिएर एक नयाँ युवक शिक्षक भएर आए । यिनले निकै मेहनतसाथ हामीलाई पढाए जसले गर्दा हामी जम्मैको अङ्ग्रेजी ज्ञान पहिलेकोभन्दा राम्राे हुँदै गयो । मेरो त निकै नै सुध्रिन गयो र म कक्षा प्रथम पनि भइहालेँ । मलाई ती शिक्षक अत्यन्तै स्नेही लाग्थे । तर उनले मेरो नाम बिगारिदिन्थे ‘सुएश’ । साथीहरूले नि फलानो सरले त भन्नुभाको नि भन्दै मलाई ओइ सुएश भनेर जिस्काउन थाले । ती शिक्षकको जिब्रोमा मेरो नाम उच्चारण गर्दा ‘र’ किन गायब थियो मैले बुझिनँ । जबकी अरुबेला भने उनलाई ‘र’ उच्चारणमा कुनै समस्या थिएन । यसरी मेरो नाम सुएश पनि हुन गएको थियो कुनैबेला ।
केही बालसखाहरू थिए जसलाई हक थियो मलाई आदर गरिरहनु नपर्ने । उनीहरू मलाई नामको अन्तिम वर्णमा एकार लगाएर बोलाउन सक्ने अधिकार सम्पन्न थिए । मलाई सुरेशे भन्थे । तर तिनै लँगौटिया यारहरू मध्ये केही थिए जो छिटोछिटो बोल्थे र मलाई सुर्शे भन्थे । सुर्शे शब्दैले मलाई चिढ्याउँथ्यो । म तिनीहरूलाई पुक्क पुक्क गाला पारेर रिसाएर हेर्थे मात्रै ।
एकजना मलाई अत्यन्तै माया गर्ने फुपू हुनुहुन्छ । उहाँको बोलीचाली व्यबहार सबै असल मात्र होइन अनुकरणीय लाग्छ । खासगरी आजको शहर बजारमा जहाँ मानिसहरू बोल्नलाई पैसा तिर्नु र हाँस्नलाई किड्नी दान गर्नु पर्छ जस्तो गर्छन् । लामा लामा गफहरूको बीचमा जब उहाँ ‘त्यै त सुरश… हो नि सुरश… ’ भन्नु हुन्छ, मलाई ज्यादै असहज लाग्छ । उहाँको बोलीमा पूर्वेली टोन आउँछ । पूर्वेली लवजमै उहाँ ‘र’ लाई लामो तानेर मलाई सुरश भन्नु हुन्छ । त्यो मेरो नामको रसँगै छुटेको ह्रस्व उकार मैले उहाँलाई कहिल्यै सिकाइनँ । आउने जीवनमा पनि सिकाउनेवाला छैन ।
आर्म्ड पुलिस फोर्स ( एपीएफ) मा मेरा एक जना नजिकका काका अफिसर हुनुहुन्छ सुदेश राई । उहाँको नाम सुदेश हो भने मेरो नाम सुरेश हो । उहाँ र म दुबैलाई चिन्ने हाम्रा केही साझा आफन्तजनहरूले मलाई पनि बेलाबेला सुदेश भनिदिन्छन् । सुरेश र सुदेश दुई अलग अलग व्यक्तिवाचक नामहरू हुन् जो हाम्रो नेपाली समाजमा प्रचलित छ, ठीकै छ । तर म चाहिँ सुरेश नै हुँ भनेर भन्न समेत पाएको छैन मैले र यो त्यतिकै चलिरहेछ ।
एक दिन प्रेमिका निकै प्रशन्न मुद्रामा थिई । मप्रति बडो लाडप्यार दर्शाइ रहेकी थिई । मेरा गालाका छालाहरू तान्दै त्यही शब्द ओकल्न लागी जसको मलाई भय थियो । उसको मुखाकृति र हाउभाउ बुझेर तुरुन्तै उसलाई रोक्न खोज्दै भन्दै थिएँ ‘डन्ट यू डेयर कल मी..’
उसले प्वाक्कै बोलिपठाइ हाली ‘सुरु!’ । मैले उसलाई झर्कँदै मलाई जेसुकै भनेर बोलाऊ तर ‘सुरु’ नभन भनेँ । इट साउन्डस् रिडिक्युलस् ! आइ एम नट् सुरु, आइ एम सुरेश ।
नाम बिगार्नेहरूको शृङ्खलाले दक्षिण कोरिया पुगेपछि हद पार गर्यो । दक्षिण कोरियामा सुरेश नाम ‘सुरेशु’ भयो । कोरियनहरू गुड्ने बसलाई उकार लाएर ‘बसु’ भन्छन् । यसै बमोजिम ‘सुरेशु’ भएको हुनुपर्छ भन्ने मेरो आशङ्का छ । घाँटीघाँटी त तब आयो जब सुरेशु पनि बिग्रेर हुरेशु भयो । निकै पछि थाहा पाएँ अलिक पुराना पुस्ताका कोरियनहरू हिमालयलाई सिमालय पनि भन्दछन् । हो यही नियमानुसार सुरेशु भत्केर हुरेशु भएको हुनु पर्छ भन्ने मेरो ठम्याइ छ ।
नाम बिगार्नेहरूको शृङ्खलामा सबैभन्दा अन्तिममा त्यस्तो निकृष्ट सामाजिक दुर्व्यवहारको सम्झना हुन्छ जसमा कुनै कथित् तल्लो जातिको मान्छेको नाम कसैलाई दिइन्छ । सुमन शर्मा नाम भएको मान्छेलाई जिस्क्याउने वा होच्याउने नाम ‘ध्वाँसे’ दिइएको हुन सक्छ जसमा ध्वाँसे कुनै कपडा सिलाउने दर्जीको छोरो होस् । पहिले पहिले गाउँघरमा त्यसरी कुनै सानो जातको मान्छेको नाम लाइदिएर बोलाउने जिस्क्याउने कार्य निकै हुन्थ्यो । मलाई पनि एक जना त्यस्तै अछुत मानिने परिवारको एउटा केटोको नामले पनि जिस्किएर बोलाउँथे साथीभाइहरू जुन नाम खुलाउन म किन्चित वान्छनीय ठान्दिनँ ।
०००
बाम्राङ, खोटाङ
Subscribe
Login
0 Comments
Oldest







































