साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पच्चीसवटा किताबको फोन

एसो सोचेँ मैले गर्ने सक्ने के छ त । डाडुमा पानी तताएर मर्ने वा डेक्चीको पोखरीमा हाम फाल्ने । ती विकल्प पनि त्यति सुन्दर लागेनन् । मै सिद्धिएँ भने त माफी कसले मागिदिने ।

Nepal Telecom ad

नारायण भट्टराई :

हालसालै मैले केही महान् व्यक्तित्वहरूसँग भलाकुसारी गर्ने मौका पाएँ । मलाई खासमा दुई जना वरिष्ठ साहित्यकारहरूले फोन गरिसिनु भएको थियो । तर म मूर्खले दुवै जनालाई चिनेको रैनछु । उहाँहरूले मलाई फोन गर्दा आफ्नो नाम भनिसिनु भएन, काम मात्र बताइसिनु भयो । कानमा आवाज ठोकिने बित्तिकै कामको कुरा गर्ने मूर्ख को रैछ भनेर मलाई झनक्क नभएको पनि होइन । परिचय सरिचय छैन । नाम थाहा छैन । सिधै कामको कुरा गर्ने । त्यसमा पनि यो अमेरिकामा परिचयको चोरी गरेर मान्छेलाई लुट्नेहरूको बिगबिगी छ । त्यो जान्दा जान्दै कसरी खुकुलोसँग आफ्नो कुरा खोल्ने । एक मनले भन्यो थर्काउँ तर मैले मन थामेँ ।

जति नै रिस उठे पनि नयाँ मान्छेको अगाडि पोखिहाल्नु भएन । पुरानै मान्छेको अगाडि पनि रिस पोख्नु बुद्धिमानी होइन । फेरि बा बारम्बार भन्ने गर्थे कुकुरले खुट्टो टोक्यो भनेर कुकुरको खुट्टो टोक्न जाने होइन, बुद्ध बन्ने प्रयास गरेस् । नामसम्म पनि थाहा नपाएको मान्छेलाई आफ्नो बारेमा जानकारी कसरी दिनु भनेर मैले उहाँहरूले सोधेका प्रश्नको सिधा जवाफ दिन सकिनँ । मलाई फोन गर्ने मध्ये पहिलो वरिष्ठ महानुभावसँग भएको कुराकानीको प्रत्यक्ष प्रसारण तल प्रस्तुत गरेको छु । त्यसभन्दा पहिले मेरो थोरै रोइलो पोखेँ । सिदा मात्र कुरा गर्छु भनेर गफ हान्ने गरेको भए पनि बाध्यताबस केहि कुराको मुन्टो बटारेर राखेको छु । मैले केवल हामी बाँचेको समाजको सिको मात्र गरेको हुँ ।

म : हेलो, नमस्कार ! म नारायण भट्टराई । हजुर को बोल्नु भयो होला ?
उहाँ : तपाईं अन्तर्राष्ट्रिय कुराफाती नेपाली महासङ्घ (अखुनेम) को पूणर्कालीन सदस्य हो ?
म : होइन हजुर ।
उहाँ : तपाईंका साथी त होलान् नि ।
म : थाहा छैन हजुर ।
उहाँ : म अखुनेमको उप उठेको छु । तपाईंले सहयोग गर्नुपर्‍यो । म तपाईंलाई माथि उचाली दिन्छु ।

उहाँले त्यति भनेपछि मेरो टुप्पी चरक्क गर्‍यो । मैले उँभोतिर पुलुक्क हेरेँ । केहि देखिनँ । फेरि फोनतर्फ ध्यान दिएँ र उहाँलाई प्रतिप्रश्न गरेँ ।

म : हुन त हुन्थ्यो हजुर तर मैले हजुरलाई चिन्नै सकिनँ नि ? पहिले परिचय गर्न पाए हुने थियो ?
उहाँ : म साहित्यमा लागेको चार दशक भयो । मेरा पच्चीस वटा किताब छन् । म नेपालमा पढाउने काम गर्थेँ । अमेरिका आएको २० वर्ष भयो । म बोस्वर्थमा बस्छु । तपाईं न्युयोर्कतिर होला होइन ? त्यतातिरका मान्छेहरूलाई भन्नु होला म उठेको छु भनेर ।
म : होइन हजुर म त सान फ्रान्सिस्को बस्छु ।
उहाँ : ए, जहाँ बसे पनि के भयो र ? त्यतातिर पनि होलान् नि । तपाईं अब माथि आउनु पर्छ ।

म फेरि अलमलमा परेँ । उहाँले भनेको माथि कता होला भनेर ।
म : हुन त हुन्थ्यो हजुर, अनि यो अखुनेमको सदश्य हुन चाहिँ के गर्नुपर्ला ।
उहाँ : १५० डलर तिर्नु पर्छ ।
म : कसरी तिर्नु पर्छ ? अनि त्यो तिरेर सदस्य भएपछि हामीले हाम्रो साहित्यिक उन्नयनको लागि के के सुविधाहरू पाउन सक्छौँ ?
उहाँ : मसँग अहिले त्यसको लागि समय छैन । मैले संसार भरका मानिसलाई फोन गर्नु छ । तपाईं यसो गर्नुस् । मेरो फेसबुक मेसेन्जरमा मेरो फोन नम्बर माग्नुस्, अनि मलाई फोन गरिरख्नुस् । म फुर्सद भएको बेला तपाईंलाई बताउने छु । तर मलाई फोन गर्न नछोड्नू ।

यति भनेर उहाँले फोन राख्नु भयो । उहाँलाई सोध्न मन थियो “अर्को पटक अध्यक्ष उठ्ने मन त होला नि” तर उहाँको परिचयको रापले म यति खग्रास भएँ कि तुरुन्त प्रश्न सोध्ने उर्जा नै बाँकी रहेन ।

पहिलो महानुभावले किन फोन गर्नु भएको रहेछ भन्ने त बुझिहाल्नु भयो होला । अब जाउँ दोश्रो वरिष्ठ साहित्यकारको फोनतर्फ त्यसको पनि प्रत्यक्ष प्रसारण तल प्रस्तुत गरेको छु ।

उहाँ : तपाईं कहाँ बस्ने हो ? (नयाँ नम्बरबाट फोन आएको हुनाले म अलमलमा परेँ ।)
म : हजुर, नमस्कार ।
उहाँ : तपाईं क्यालिफोर्निया बस्ने हो ?
म : हजुर । पहिले को बोल्नु भएको भन्नुस् न अनि म बताउँन सक्छु । चिनजान नै छैन ।
उहाँ : ए, म फलानो साहित्यिक संस्थाको अध्यक्ष ।
म : ए, हजुर, अब चिनेँ ।
उहाँ : तपाईं पुरस्कार घोषणा हुन बाँकी रहेको कविता प्रतियोगितामा प्रतियोगी कविता सुनाउन छानिनु भएको छ । मलाई तपाईं बस्ने राज्य थाहा नभएर सोधेको । कार्यक्रममा हाम्रो भेट हुनेछ ।
म : ए, हजुर, जानकारीको लागि धन्यवाद ।

मेरो पहिलो कलर, किताब नै किताबले पुरिएको, देवकोटाकै हाराहरी पुगिसकेका साहित्यकारको बोली सुनेर नै नाम ठम्याउन सक्नु पर्नेमा त्यो गर्न नसक्नु मेरो ठूलो मूर्खता थियो । कवि हुँ भन्ने बीस वटा किताब लेखिसकेको कविलाई नचिन्ने ? थुइक्क मेरो सुद्धि । त्यसमा पनि अमेरिका बस्ने साहित्यकार नेताले चुनावको बेला म जस्तो कनिस्ट कोर्कारे कविलाई भोटमा सहयोग गरे बापत माथि तानिदिने वचन दिन फोन गर्नु भएको थियो । त्यस्तो सुवर्ण आका जस्तो अवसरलाई टिपेर लपक्क चाट्न छोडेर म अनेक प्रश्नमा पड्किनु मेरो ठूलो पाखण्डीपन थियो जस्तो लाग्यो । मैले जीवनमा पाइने दुर्लभ अवसरलाई गुमाएँ जस्तो लाग्यो । पहिलो त मैले उहाँलाई चिन्नु पर्थ्याे अथवा लुरुलुरु उहाँका महावाणीका पछि लाग्नु पर्थ्याे ।

खासमा उहाँहरूले “मलाई जसले पनि चिनिहाल्छ किन नाम भनिहाल्नु” भन्ने ठान्नु भएको हुन सक्छ । उहाँहरूले त्यो पूर्वानुमान गर्नु, आफ्नो नाम सर्वव्यापक छ भन्ठान्नु पनि अस्वाभाविक होइन किनकी कसैले ठूलो मान्छे भनिदियोस् भनेर महँगो समय खर्चेर किन पर्खिने जब आफूले आफैँलाई वरिष्ठ मानेर वरिष्ठ हुइन्छ भने । जमाना अनुसार चल्नु पर्‍यो । तर समयको लय समाएर त्यसले सुझाएको भाकामा सुर मिलाउन नसक्नु मेरो नै कमजोरी थियो ।

खासमा आफूलाई आफू भन्दा साना लाग्ने मान्छेहरूलाई आफ्नो परिचय दिनु आफूले आफ्नै मान घटाउनु हो । ठूलो भएपछि त मुखिया पाराले हात हल्लाउँदै पो हिँड्ने हो कहाँ चानचुने मान्छेसँग हात मिलाउने हो । जसले जे भने पनि अर्नाको जस्तो टर्रो बोलीमा “ठिक छ, ठिक छ” पो भन्ने हो कहाँ सुधामा जस्तो सरल हुने हो र ? ती सबै कुरा मैले तुरुन्त बुझ्न सकिनँ । अझै पनि राम्रोसँग बुझेको छु जस्तो लाग्दैन । भन्दै नभनिएको कुरा बुझे जस्तो गर्न नसकेकोमा म लज्जित छु ।

मेरो दोश्रो कलरलाई लागेको हुन सक्छ यो चानचुने मान्छेलाई किन आफ्नो परिचय दिने । त्यो पनि सही हो । त्यत्रो विश्वव्यापी कविता महोत्सवमा कविता सुनाउने अवसर जो उहाँले दिँदै हुनुहुन्थ्यो । त्यस्तो सभामा त खासमा मैले डलर तिरेर कविता सुनाउन जानु पर्ने हो जसरी कतिपय कविता प्रतियोगितामा कविहरू सर्टलिस्टेड हुन्छन्, आयोजकलाई चन्दा दिन्छन् अनि पुरस्कृत हुन्छन् । मैले भन्नु पर्थ्यो “हजुर यो अनुकम्पाको ऋण म कसरी असुल गरौँ ।”

त्यो फोन कुराकानी पछि अहिलेसम्म मलाई लागेको पछुतो भनेको मैले उहाँलाई चिन्न नसक्नु हो । दुइ कोरी भन्दा बढी किताब लेखेको महाकविलाई म मुलाले नचिन्ने । त्यत्रो अजङ्गको व्यक्तित्वलाई म नाथेले परिचय सोध्ने आँट गर्ने । त्यो मेरो पहिलो ठूलो भुल थियो । अर्को चाहिँ म नाथेसँग भोट मागेर उहाँले ममाथि गरिसिएको अनुकम्पामा कृतकृत्य हुनुको सट्टा उहाँलाई प्रतिप्रश्न गरेर उहाँ जस्ता मान्छेको अमूल्य समयलाई सस्तो बनाइदिने हर्कत गर्नु पनि मेरो अक्षम्य अपराध थियो ।

दिन बित्तै जाँदा मलाई लाग्यो त्यो भूलको प्रायश्चित गर्नको लागि भए पनि मैले केही गर्नै पर्छ । यसो सोचेँ मैले गर्ने सक्ने के छ त ? डाडुमा पानी तताएर मर्ने वा डेक्चीको पोखरीमा हाम फाल्ने । ती विकल्प पनि त्यति सुन्दर लागेनन् । मै सिद्धिएँ भने त माफी कसले मागिदिने । त्यसैले मैले निधो गरेँ सार्वजानिक रूपमा माफी माग्ने । त्यही भएर मैले यो लेख लेख्ने निधो गरेँ । अनि उहाँका किताब र उहाँले मलाई गरिसिएको फोनको सम्मान गर्न शीर्षक नै राखिदिएँ – पच्चीस वटा किताबको फोन । अब त उहाँहरूले मलाई कसो माफ नगरिसेला । भुइँसोरी हजुर, माफी पाउँ !

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x