गोपीचन्द्र कार्कीतपाईं कसरी मन्त्री हुनु भयो ?
छेपारो बन्न खोइ जान्नु भएकै छैन चाकरी चुपलुसी योग्यता पुगेकै छैन गुट, उपगुट, खोेइ बनाउनु भयो तैपनि तपाईं मन्त्री कसरी बन्नु भयो ?

गोपीचन्द्र कार्की :
काण्डै काण्डमा मुछिनु भएको छैन
विवादै विवादमा झेलिनु भएको छैन
अरवौं हसुरेर न करोड चढाउनु भयो
तैपनि तपाईं कसरी मन्त्री हुनु भयो ?
जेल, कालकोठरी भोग्नु भएकै छैन
ठेक्काको रकम जग्गामा हाल्नु भएकै छैन
हत्या, अपहरण, न जिउँदै जलाउनु भयो
तैपनि तपाईं कसरी मन्त्री हुनु भयो ?
धम्की, फिरौती, गुण्डागर्दी गरेकै छैन
मानव बेचविखन, हतियार केही छैन
विचौलिया माफिया, तस्कर न साथी भयो
तैपनि तपाईं कसरी मन्त्री हुनु भयो ?
दिउँसै कर्मचारी थुन्ने कुट्ने गरेकै छैन
ठर्रा खाएर दिँउसै हल्लिनु भएकै छैन
अर्वौँ कुम्ल्याएर न करोडमा छुट्नु भयो
तैपनि तपाइँ कसरी मन्त्री हुनु भयो ?
सहयोगीसँग लहसिनु भएकै छैन
परस्त्रीका पछि पछि लाग्नु भएकै छैन
गाह्रो चढेर न झ्यालबाट छिर्नु भयो
तैपनि तपाईं कसरी मन्त्री हुनु भयो ?
छेपारो बन्न खोइ जान्नु भएकै छैन
चाकरी चुपलुसी योग्यता पुगेकै छैन
गुट, उपगुट, खोइ बनाउनु भयो
तैपनि तपाईं मन्त्री कसरी बन्नु भयो ?
०००
तीनथाना, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































