सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जुलुसेको ऐठन

मान्छेलाई भेडाको भिड बनाउनु साटो सारालाई खाली ठाउँमा म सुन्तला र स्याउ रोपाउँछु । हावामा स्याउ फल्छ सबका बारीमा । यो देशलाई बगैँचा बनाउँछु । सबै जातको फूलबारी हैन, सबै फलफूलको घरबारी बनाउँछु ।

Nepal Telecom ad

रामकुमार पाँडे :

ऐया बजियाले मार्नु मार्‍यो । ढुङ्गा फाले, टायर बाले, मोटरमा मर्तेल हाले, बार ढाले, प्रहरीको लाठी ताने, तिनले लाठो हाने, झन्डै ढाड खुस्केको, बङ्गारा फुस्केको ! नलीखुट्टाको हाड निस्केको । ऐया करड नै भाँचियो कि क्या !

ए बुढी, हेर् त निलडाम ढाड खुस्कने गरी हानेथ्यो । छलेर बँचेँ । हेर् त आयोडक्स दलेर ठिक हुन्छ कि ? मार्नु मार्‍यो बा । ऐया !

खायौ बुढा ! लालाबाला हेर्न छोडी के खान गा’थ्यौ ? हे छौ गाला ? ख्याप्टे भैसक्यौ । अझ ऐय्या भन्छौ ? लाज लाग्दैन ? विन्सित्ती अर्काको बाइक बाल्न, बाटाको बत्तीमा ढुङ्गा फाल्न, सार्वजनिक सम्पत्तिमा आगो झोस्न, कसलाई पोस्न कुकृत्य गरेका हौ ? लौ भन, धन्न बचेछौ । मेरो धर्मले बच्यौ ।

त्यसो नभन् न बुढी । नेताको पछि लागेपछि बडेबडे वनभोज, भतेर र पार्टी खान पाइन्छ । ठुलो मान्छे हुन पाइन्छ । तँ पनि मौका परे मन्त्राणी हुन पाउँछेस् । गहना गुरिया लाउँछेस् । सबतिर भ्याउँछेस् । म त्यसै मरिमेटेर लाग्या छु र ? जम्कोमेनिया लागेपछि जम्प गरेर ठुलाठुला पदमा जम्न त्यसै पाइन्छ । भागबण्डामा त्यसै भ्याइन्छ । कत्राकत्रा मान्छे पोका बोकेर ढोका धाउँछन् । ओहो, टन्क्यो भन्या टन्क्यो । ऐया ! बेला कुबेला टन्कन पो थाल्यो बुढी !

बेलाबेला सन्कन लागेपछि टन्कन कहाँ छोड्छ ? नेताका वरिपरि झिङ्गा भन्केजस्तो बाठा भयौ, लाठा खायौ । बडाबडा बुद्धि हुने सम्राट, कडाकडा बुद्धि हुने प्राज्ञ हुने हो । गधाको बुद्धि हुने प्यादा माथि पुग्ने भएपछि केको भाषण छाट्छौ ? देखेनौ हवाई चप्पल लगाएर हवाई चक्कर लगाउने, भट्टी चाहार्नेले पट्टी स्याहार्ने भएपछि भएन कि देशमा विकास ? भ्रान्तिको क्रान्ति र क्रान्तिको भ्रान्तिले कहाँ पाइन्छ समृद्धिको शान्ति ?

ऐया, मेरो खुट्टाले सिधा टेकेन । तान्नुपर्‍यो बुढी । पसार्दा पनि भएन । मसल सड्केको गएन । यो खुट्टाले टेक्न कहिले सक्ने होला ? अलिअलि घाउचोट लागेकालाई त हेर्न नि आएनन् । ऐया !

हेर बुद्धि । डाक्टर देखाउन छोडी नेता । के देखाउँछौ ती दुईजिब्रेलाई ? यस्ता लाटा ! नेता, नेता । केको नेता ? तिनले तिमीलाई भोट दिन्छन् ? डाक्टर पनि आरक्षणको त के कुरा गर्नु ? योग्यताले हैन, कोटामा परेका पातकीको फेला परेपछि भएन बर्बाद ? ठुलामुला भूमिगत भएझै सात ताल्चाभित्र बसिसके । चोर, डाँका, हत्यारालाई सुरक्षा गरिदिनुपरेपछि के बाँकी भो ? तिनका वरपर बस्ने लाउके, तिनका भार बोक्ने भारदार र तामेल गर्ने ताबेदारले घेरिसके । कसले सुन्छ तिम्रा कुरा । शहीदका सन्तानको देखेनौ बिचल्ली ? बेपत्ताका त झन् मामला नै लापत्ता !

ऐया, ए बुढी ! फर्कन फर्कन भएन । बिछट्ट दुख्यो । लौ न, के गर्ने ?

के गर्ने भनौँ अब ? लट्ठी टेकेर नुन मर्तेल लेर आऊ अनि नुनपानीले सेकिदिउँला, लाठोले सेकेको ठाउँमा । नचाहिने ढुङ्गामुढा गर्‍यो । पुलिसको फेला पर्‍यो । जनताको घरमा ऐना फोर्‍यौँ । बस बाल्यौँ । अब देखाइहाल्यौ । बुद्धि भा’को भए त जागिर र ज्यालाकै काममा लागिहाल्थ्यौ । तिम्लाई नै सब चिज चाहिया छ ।

ऐया, कस्तो टन्क्यो बुढी ! मैले के गर्नु ? तँ पनि मलाई मात्रै गाली गरिराख्छेस् । भ्रष्टाचारीकी श्रीमतीले गहना झम्काउँदा केही भन्दिनस् । आफै प्रशंसा गर्छस् । श्रीमती हुनु त यस्ताको पो भन्छेस् । बिहे क्या झम्काएर गरे, घरमा नभाको केही छैन क्या दामी मालले भरे, घर क्या चम्काएर बनाए, अन्धाधुन्ध खर्च गरेर देश परदेश घुमाए, होटलमा हप्तैपिच्छे खान गए, हाम्रो त पुर्पुरोमै छैन । यस्तै भनिस् बुढी । तिनले कहाँबाट ल्याए, कसरी खाए, कहिले सोधिस् ? तिनको जस्तो सोख गर्ने हो भने त नेताको पछि कुनै पर्छ । नभए चोरीचकारी गर्नुपर्छ। लौ न क्या, दुख्यो !

अहह गर्‍यौ बुढा । तिनका त पुर्खादेखि दुःखजिलो गरेर कति पछि सम्पत्ति जोरेको, के ती सबैले हुन् र चोरेको ? नयाँ नेताले चाहिँ लुटान गर्दै सोरेको !

बुझै बुढी, बुझै । हिजो हात्तीछापे चप्पल लगाएर डुल्नेले हात्तीका हजार हजार चाङ कहाँ पाए ? तिनको स्रोत के हो ? बुझेकी छस् बुढी ?

गर्नेले उद्यम गरेर, बाख्राले टाट्नु भरेर, फलफूल खेती गरेर पनि भकारी भरेर राखेका छन् । जान्नेले मरेको मुसोलाई उपियाँले छोडेर उफ्रेझैँ म्यानपावर पुगेर सातसमुद्र तदा पनि तिम्रो ज्ञान खुलेन बुद्धिको बिर्को कहिले खुल्ने ? घैँटोमा घाम कहिले लाग्ने ? भनौँ भने तिनको घैँटो फुटिसकेको छ । नेताको पछाडि लाग्नेले के पाए ? लोपुवा खाए । पटकपटक फकाउँदा, झुक्याउँदा पनि तिम्रा आँखा खुलेनन् ? लाठो नखाए के खाने ? बाठो भएकोमा साँढेको पछाडि स्याल दगुरेजस्तो गरेर के पाइन्छ बुढा ?

ए बुढी, दुख्यो भन्या । साह्रै दुख्यो । लौ न के गर्ने ? घाउ तात्यो । ऐया !! असत्ती नेताले हामीलाई विच्कायो, आफूले कच्कायो । सुशासन गरेर देखाइदिन्छु भन्थे । देखाए । आफू बनेर हाम्लाई देखाए । अरूको सवारीसाधन तोडफोड, आफ्नो नयाँ नयाँ जोड । मसाल जुलुस बत्ती नभा ठाउँमा गरे हुन्थ्यो । आक्रमण भ्रष्टाचारको अखाडा, विदेशी बोतल । सहमति भन्छन्, असहमतिमा सहमति गर्छन्, बेसोमती दुर्मतिहरू । यही तालले देश बन्छ ? के पाए जनताले र पछि लाग्छौ साँढेको पछि स्याल भएर ? हेर, जुलुसमा घोक्रो सुकाएर आयौ । क्रान्ति भन्दै भ्रान्तिको कति गीत गायौ ? न पानी, न बिजुली पायौ । घर उडाएर डेरामा जस्तो मागेर पानी खायौ । नेताले जुस खाए । नेताको नियुक्ति पाउनेले घुस खाए । तिमीजस्ता जनता भएर त नेता खुस छन् ।

हैन ए बुढी ! दुखेको घाउमा किन नुनचुक दल्ने ? म सद्दे भएपछि तिनलाई सार्वजनिक स्थलमै समाएर तान्छु र तोरीको फूल देख्ने गरेर मुक्का हान्छु । थप्पड हान्छु । यार, झन् टन्कन थाल्यो । ऐया बाबा । अब त जुलुसमा गयो कि प्राण गयो भने हुन्छ । टायर बाल्नेलाई फायर गरेपछि के गर्नु ? झोंकमा मैले त मोटरै बालेँ । आपको न बापको । आगो घरमै फालेँ । भनेपछि हालत नाजुक हुने भो । देश चन्ना र आफू पनि बनिएला भनेर नारा लाइयो । तर आफू परमधाम हुँदा सहिदका सन्तानले कुनै शुभकामना नपाएझै भैयो । आफ्नो गाला मात्र हैन, यी लालाबाला सेप्रिने नै भए । शहीद पनि दल दलका । न देशका, न घरका, न घाटका । सास छउन्जेल लाउने लडौटी छैन, लासमा झण्डा ओढाए । कहाँ हाँस्ने, कहाँ रुने पत्तो छैन । मसानमा दड परे । यिनले गर्नु नगर्नु गरे, देश बनाउने कुरामा खेलबाड गरे । अब त जुलुस जाँदै जान्नँ ।

लाज लाग्दैन बुढा जुलुसमा जान्नँ भन्न ? जुलुसमा नगै शुभ काम कसरी होला ? सोझो औँलाले घिउ आउने छाँट छैन । तर नेताको जुलुस हैन । जनताकोमा जाऊ । मलाई पनि बोलाऊ । नारा जनताको बनाऊ । बिजुली नभए टुकी दे । राम्रो नेपाल फिर्ता दे । ग्यासको माग पूरा गर् । भोको पेट भातले भर् । भागबन्डा मुर्दावाद । मनपरी गरेकोमा पाउलास् स्वाद । भ्रष्टाचार हटाहटा । घुस लिनेलाई भाटाभाटा । अराष्ट्रियलाई ठोक्छौँ ठोक्छौँ । योग्य नेता बोक्छौँ बोक्छौँ ।

एएए बुढी ! चक्र्यो, हदै भो । नारा छोड् । ध्यान यता दे भन्या । ऐया !

के मोड्नु तिमीलाई मुडिसके । ए ए ए तल्तिर पत्रकार आएछ, तिम्रो इन्टरभ्यौ लिन । ल भन, के भन्छौ ? ए ए के भन्नु बुढी ? हामी तातो भात दिन सक्दैनौँ । भातभतेर पाउने ठाउँमा जाऊ, भोजभतेर खाऊ भनी दे । म त मन्त्री मात्र हैन, प्रधानमन्त्री नै बनाए पनि… ऐया । लौ न मुटु हल्लिन थाल्यो । ऐया, ए बुढी ! ऐया भन्या ।

कति ऐया ऐया भनि’रा । तिम्रो पनि मुटु हल्लिन्छ र ? ढुङ्गाजस्तो मन । जनताको ढाडमा भाटा बर्साउँदा तिम्रा नेता भासन गर्दै थिए । अनि अनुशासन देखाउनु भो भन्छन् । तिनको स्वार्थमा मरिमेट्यो । देशका लागि गर्‍यो, अब देशले गर्छ पो भन्छन् । देशका कहाँ छन् कर्मचारी ? कोही कुन पार्टीका, कोही कुन पार्टीका । आफ्नो सरकार भएकोमा त ठुलो भाग खाउँला भन्यो । त्यसमा पनि भागबन्डा । डन्डा खानेले कहिले पाउँछन् अन्डा ?

हो बुढी ! ऐया आत्था… । के भो के भो । कार्यकर्ताकै यो हाल ? कुन बेलामा हेर्न आउँछन् र चेपारो धस्दै बस्छन् । आफूलाई अति भयो । यो घाउ मात्र दुख्या हो र ? मन पनि दुख्या छ । काम छन्जेल भाँडो, काम सकिए ठाँडो । आम हड्ताल भनेर ज्याला मजदुरी पनि गर्न दिएनन् । भुत्रो गर्छन् तिन्ते । आफूचाहिँ बातानुकूलित कोठामा बात मारेर बस्ने । ..सि..मा ठास्ने । हामीलाई झोस्ने रहेछ । गद्दारी नगरी भारदारी कहाँ ? कहीँ नभाका कहीँका । के हो सत्ता कब्जा भन्दै भत्ता कब्जा गर्‍यो । गुलेलीदेखि गुच्चाका मट्याङ्ग्रा फाल्न र हान्न लगाए डाँगाले । घुँडा टेकाउने आफै। घुस र पन्जा खाई टाउकाले टेक्न पुगे । सहमति भन्दाभन्दै दुर्मतिले देशलाई दुर्गतिमा पुर्‍याए । अझै नयाँ ढङ्गको हड्ताल । नयाँ ढङ्ग नै गर्ने भए नेता जति मैदानमा जाऊन् अनि जनताले ढुङ्गा हान्दा कस्तो हुन्छ बुझ्लाऊ, ऐया बुढी !

खायौ बुढा भुँडे भाग ! युज एन्ड थ्रो गरेको थाहा छैन बो ? भाटाको खाटा अझै बसेको छैन । रामधुलाइ एउटा नेतालाई भा’को छैन । हाम्रो हाल हेरी तिनको बुद्धि अझै आ’को छैन । जनवादी भन्नेमा हाम्रा यी प्रतिवादी भए । अझै सशक्त कार्यक्रम रे । गोरुको जुधाइमा बाछाको मिचाइ भो । बखान गाथ्यौ खाइहाल्यौ । जुलुसपछि भोजको मोज भन्थ्यौ, उल्टै हाम्लाई बोझ भयो । ट्यापेको हुलमा स्याउले भएर गाथ्यौ । बुद्धिको बिर्को कहिले खुल्छ ?

हो नि बुढी ! दमन, निरङ्कुश, सामन्त, बर्बरता भन्दै कति झुक्याए । कतिपल्ट जुलुस जाने ठुलो भाग खानेले कहिलेसम्म आफ्नालाई पोस्ने, झाँस्ने लाठोमुङ्ग्रो देखाएर लठिमुङ्ग्रे तालले प्रजातन्त्र आउँछ ? बन्दुकले सम्पत्तिको सन्दुक उडायौ । भाइभाइ भाँड्यौ । माथि पुगेर टाङ अड्यायौ । तर हाम्रो शुभकामना कहाँ अघि बढायौ ? तिनका पछि लागेर त यो ख्याप्टे गाला, अब हाडछाला पनि बाँकी हुन्न ।

लौ खा बुढा विज्ञप्ति । घाइतेको शीघ्र स्वास्थ्यलाभ सुनिहाल्यौ । बरू मरेको भए तिम्लाई झन्डा ओढाउँथे । शहीद भत्ता त पाउँथ्यौ । केटाकेटीले पढ्न पाउँथे सित्तैमा । शहीद भनेर लोकगीत गाउँथे । सत्तामा पुगे भत्तापास गर्थे । लाटागाँडाले त्यसको आस गर्थे । अचकल्टामा पर्‍यो बुढा, अचकल्टामा । जेलमा परेको भए सिद्धान्त बखान्न पाउँथ्यौ । बिरामीको कसले गर्छ उपचार !

लौ न बुढी, लडीबुडी खेल्दा पनि टन्केको टन्केकै छ । टाउको सुम्सुम्याए निको हुन्छ कि ? ए ! ए ! ए ! सारा टाउको झन्झनायो । ए बुढी, मेरो आँखामा तोरीको फूल फुल्यो ।

ए है, समय गएको पत्तै भएन । टाउकामा सूर्यमुखी फूल फुल्यो । सारा उज्यालो देखियो । मेरो बुद्धिको बिर्को खुल्यो । ल सुन् बुढी, अब म नेतालाई बाटो देखाउँछु । बाटोमा नहिँड्ने लाटो भएकोमा आफै तिनको खेदो खन्दै आफै अभिनेता बन्दै, केके गर्छु अब हेर् न । मान्छेलाई भेडाको भिड बनाउनु साटो सारालाई खाली ठाउँमा म सुन्तला र स्याउ रोपाउँछु । हावामा स्याउ फल्छ सबका बारीमा । यो देशलाई बगैँचा बनाउँछु । सबै जातको फूलबारी हैन, सबै फलफूलको घरबारी बनाउँछु । अनि भेट्लाऊ केरा । घुस खानेलाई जेल लाने, जाली फटाहालाई पागलखाना ! जान्नेसुन्नेलाई ठाउँमा राख्ने । दलको दलाल हैन, देशको काम गर्ने अनि विकासको निकास खुलिहाल्छ । अनि खान्छ्यौ बुढी, स्वादसँग विकासको फल । अनि सबले हेर चमत्कार । बल्ल टाउको टन्कन, चर्कन, पिँडौला फर्कन बन्द भो । वर्कन फर्कन सकिने भो । मेरो ऐठन पूरा निको नभै न शान्ति, न समृद्धि, न निकास, न विकास। कि कसो ?

०००
ललितपुर
‘समकालीन साहित्य’ (२०७६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्रम्पकाे टरटर

ट्रम्पकाे टरटर

शेषराज भट्टराई
कुर्सीरसायन

कुर्सीरसायन

इन्दिरा चापागाईं
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
आधा सत्य आधा भ्रम- १५

आधा सत्य आधा भ्रम-...

अर्जुन दाहाल (क)
वीभत्स भाष्य

वीभत्स भाष्य

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x