सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

षड्यन्त्र

नेताहरू जनताबीच सुकुम्बासी भएर आएका छौँ भन्न हिचकिचाउँछन् किनभने उनीहरूका ठूलाठूला बिल्डिङ जनताले देखेका छन्, उनीहरूका लवाइखवाइ र चिल्ला कार देखेकै छन् । जनता पत्याउन चाहन्न ।

Nepal Telecom ad

भाउपन्थी :

एउटा शब्द अत्युत्तम रूपमा चलिरहेछ आजभोलि । भोलिका कुरा त थाहा छैन तर आजसम्म भने चलिरहेछ । कुनै अपरिचित मानिसलाई अगाडि उभ्याइदिएर ‘लु यो मान्छे को हो चिनिस् त तैलेँ’ भनेर अड्को थापेजस्तो होइन यो प्रचलित शब्द । ज्ञातअज्ञात सबैलाई थाहा छ । शब्द दुष्ट अर्थमा प्रचलनमा छ र पनि राजनीति यसप्रति बढी आसक्त छ । शब्द हो ‘षड्यन्त्र’ यसमा आश्चर्य मान्नुपरेन, सत्ताबाट बहुमतरूपी अक्सिजन नभएर च्युत हुनुपरेपछि जाँदै गर्दा जानेले भन्छ— ‘हामीलाई षड्यन्त्रपूर्वक सत्ताबाट हटाइयो ।’ पहिलो सत्य त यो थियो, जसले हामीलाई षड्यन्त्रपूर्वक सत्ताबाट हटाइयो भनिरहेका थिए उनीहरू पनि षड्यन्त्र गरेर सत्तामा आएका थिए । यो जानिराख्नु पर्ने अर्को पक्ष र सत्य हो, षड्यन्त्र गरेर नहटाएसम्म सत्तामा जुकोझैँ टाँसिएर राज्यकोष चुसिरहने सत्तासीन पार्र्टीका मन्त्री लगायत सम्पूणर्ले सत्ता छाड्ने खतरै देख्दैनन् । षड्यन्त्र एउटा खतरा पनि हो जुन यता हाम्रो देशमा सधैँ सत्तासीनहरूको टाउकोमाथि तरबारझैँ मडराइरहन्छ ।

षड्यन्त्र सहज विधा र विद्या हो । क्या भनियो है ! हेर्नोस् षड्यन्त्र नभई हुँँदैन । राजनीति खर षड्यन्त्र माटो र ढुङ्गाको जस्तो एकअर्कामा आश्रित । सत्ताच्युत भएकै दिन कुर्सी छाडेर जानेले षड्यन्त्र गरेर हामीलाई हटाइयो भनेर सरकारी गाडीमै बसेर डेरा सरेपछि उता आँसु झार्दै कोठाभित्र पसेर धुलो नटकटकाइएको कुर्सीमा बस्न पाएको हुँदैन यता नयाँ सत्तासीनहरूले भन्न थालिहाल्छन्— ‘हामीलाई थाहा छ, हामीमाथि षड्यन्त्र भइरहेछ ।’ सत्ताबाट बाहिरिएका र सत्तामा बस्ने उपव्रmम गरिरहेका बीच एउटा समानता यो देखिन्छ उनीहरू दुवै षड्यन्त्रपीडित र षड्यन्त्रकारी हुन् । बडो गम्भीरतासाथ छिमेकका रिटायर्ड नेताले भने— ‘षड्यन्त्र नभए त राजनीति बामे पनि सर्न सक्दैन, खास गरेर हाम्रो राजनीति ।’ यी रिटायर्ड नेता कति षड्यन्त्रपीडित छन् भन्ने यसबाट थाहा हुन्छ, उनी एक सिद्धहस्त षड्यन्त्रकारी थिए, षड्यन्त्र गर्दागर्दै आफैँ षड्यन्त्र पीडित हुन पुगे । कसले यस्तो षड्यन्त्र गरेर उनीमाथि घात गर्‍यो र उनलाई रिटायर्ड हुने गरायो त्यो अर्को कथाको विषय हो । तर यी निवर्तमान नेता भन्थे— ‘षड्यन्त्र नै राजनीति हो र राजनीतिको धर्म नै षड्यन्त्र हो । जसले षड्यन्त्र गर्न जान्दैन ऊ राजनीतिमा नछिरे हुन्छ ।’

निवर्तमान नेताको यस्तो कडा स्थापना सुनेर छरछिमेक त्रस्त भए । क्रान्ति नै पो आइहाल्ने हो कि भन्ने त्रास । कारण षड्यन्त्रलाई चिर्न उनले ‘षड्यन्त्र’ नामक नयाँ पार्टी खोल्ने गहन विचार लिएका छन् कि भन्ने समाजमा आशङ्का थियो । पार्टीको नाम नै षड्यन्त्र राखिएपछि त्यसका विरुद्ध कसले षड्यन्त्र गर्ने ? तर अड्चन यो थियो, निर्वाचन आयोगले त्यो नाम स्वीकार गर्ला कि नगर्ला ? यो प्रवल समस्या थियो तापनि निवर्तमान नेताले भने— ‘अहिलेलाई त्यस्तो केही विचार गरिएको छैन । तपाईंहरू ढुक्क भएर बस्नुहोस् ।’ ढुक्क भएर बस्ने सम्भावना क्षीण थियो । राजनीतिमा षड्यन्त्र नभए नुन नभएको तरकारीजस्तो खल्लो हुने भइदिने हुनाले निवर्तमान नेताको कुरा पत्याउन गाह्रो भइरहेको थियो । तैपनि उनले खुइलिँदै गएको तालु मसार्दै भने— ‘अहिलेलाई आफैँ षड्यन्कारीहरूको चपेटामा परेर घर न घाटको भइएको छ भने यो षड्यन्त्रका विरुद्ध के गर्न सकिन्छ भनेर म सोच्दै छु ।’

ती निवर्तमान नेता को थिए ? त्यसको भेउ अहिले नखोल्दामै ठीक छ । गफको बीचमा उपस्थित भइदिएका मात्र हुन् ती । मानिस यिनै हुन् ती नेता भनेर ठ्याक्कै औँलो सोझ्याएर देखाउन नसकिए पनि हिजोआजको राजनीतिमा यस्ता निवर्तमान नेता गफको स्वादका लागि सितनका रूपमा खडा गरिएका पात्र मात्र हुने गर्छन् । तर निवर्तमान नेता वरिष्ठ थिए र षड्यन्त्रकारी पनि थिए । उनकै षड्यन्त्रले कति नेता बीचैमा पार्टी छाडेर घरवासमा जान बाध्य भएका थिए । उनलाई यसै कारण धेरैले चलाउँदैनथे । डर थियो, कतै तिनको षड्यन्त्रको सिकार आपूm पनि हुन नपरोस् । त, कुरो यहीँबाट पुनः सुरु गर्न सकिन्छ, षड्यन्त्र एउटा डरलाग्दो कार्यपद्धति पनि हो । नेता जनतालाई षड्यन्त्रमा पारेर भोट तान्थे भने पार्टीपार्टीबीच षड्यन्त्र गरेर सत्ता हत्याउँथेँ ।

यो षड्यन्त्र आयो त कहाँबाट ? शब्द पर्गेल्न सक्ने खुबी भएकाहरूले संस्कृतबाट यसरी आएको हो यो यो शब्द भन्लान् तर यो त यताको राजनीतिको संस्कृति नै हो । षड्यन्त्रको संस्कृति । यसमा छेडपेच गर्ने कुरो हुँदैन, कस्तो भने जुन दलले जुन दललाई पछारेर आपूm सत्तामा जान चाहेको हो उसले छेडपेचको भाषा बोल्दैन । उसले गम्भीर भएर गरुको बोलीमा भन्ने गर्छ— ‘मुलुकलाई बचाउन हामीले षड्यन्त्र गर्न जरुरी भयो त्यसैले नयाँ गठबन्धन गरियो । सत्ताप्राप्ति मात्र हाम्रो उद्देश्य होइन अपितु हाम्रा नेता उपनेताहरूले पार्टीभित्र दबाब दिइरहेका थिए, सरकारमा हामी जानु पर्छ । सरकारमा गएर सत्ताभोग गर्नु पर्छ । यसैमा मुलुकको हित छ ।’ यसरी षड्यन्त्रको सूत्रपात हुने गर्थ्याे । जुन दलले सरकारमा बसेको साबिक दललाई बाहिर्‍याउँथ्यो उसले मुलुकको हित सर्वोपरि राखेर काम गर्ने गोलमालका कुरा गर्थ्याे। ऊ सत्तासीन भएपछि मुलुक नयाँ तरिकाले अधोगतितिर जाकिने हो यसमा शङ्का थिएन । तर षड्यन्त्रमूलक तरिकाले सत्तामा जानु सबै दलको अभीष्ट रहन्थ्यो । यस कारण यो भन्न सकिन्छ षड्यन्त्र राजनीतिको मसला हो जसले राजनीतिको स्वाद बढाउँछ । जुन दल सरकारबाट बाहिरिन्छ उसले बाहिरिएको दिनदेखि नै जिभ्रो उधाउन थाल्छ, नयाँ तरिकाले षड्यन्त्र सोच्छ, षड्यन्त्र खान्छ, षड्यन्त्र ओछ्याउँछ, षड्यन्त्र ओढ्छ, षड्यन्त्र हिँड्छ र षड्यन्त्र बोल्छ । मुखले रामराम बगलीमा छुरा— यस्तो कुरो ऊ बहुतै गम्भीर भएर पालन गर्छ । उसको एउटै रटना हुन्छ— ‘हामीमाथि षड्यन्त्र भएको हो ।’ यो सुन्दासुन्दा षड्यन्त्र शब्द आफैँ पनि डराउन थाल्छ, आफ्नो जन्मलाई धिक्कार्न थाल्छ । यो शब्द त एटम बम जसतो भएछ ।

तर यस्तो एक दिन आउँछ, जसले षड्यन्त्र गरेर जुन दललाई सत्ताबाट लज्जित हुने गरी हटाएको थियो उही फेरि सत्तामा जान्छ र हटाइएको दल चिच्च्याउन कराउन थाल्छ— ‘मुलुक षड्यन्त्रको दलदलमा फसेको छ । हामी मुलुकको हित सोच्नेलाई षड्यन्त्रपूर्वक हटाइएको छ । यसको प्रतिशोध लिएरै छाडिनेछ ।’ प्रतिशोध भनेर डराइहाल्नुपर्ने खण्ड हाल देखिएको छैन । बन्दुक, खुँडाखुकुरी लिएर प्रतिशोधमा निस्कन दलहरूले कम गरेका छन् । बन्दको आश्वानसम्म हुन सक्छ । नाराजुलुस चल्न सक्छ । सडक जाम गर्न सक्छन् । तर त्यो पनि कार्यकर्ताहरूबीच पसारिएको आलस्यले नेताहरू नाराजुलुस, बन्द, सडकजामको आह्वान गर्न हच्किरहेका देखिन्छन् । जनता पनि मौन छ । दलले यो सडक बन्द गरेको छ भने ऊ चुपचाप अर्को सडकबाट आफ्नो गन्तव्यतिर लाग्छ । जुलुस निकाल्यो मानिसहरू जोस देखाएर हिँड्न रुचि राख्दैनन् । सभामा मान्छेहरू नेताले घाँटी सुकाएर चिच्च्याउँदै गरेको भाषण सुन्छन् तर उता मोबाइलमा पनि गफ दिइरहेका हुन्छन् । कुरा उही हो, भाषण उही हो— ‘हामीलाई सत्तामा बस्न दिइएन, षड्यन्त्र गरियो । हामी जनताबीच आएका छौँ ।’ नेताहरू जनताबीच सुकुम्बासी भएर आएका छौँ भन्न हिचकिचाउँछन् किनभने उनीहरूका ठूलाठूला बिल्डिङ जनताले देखेका छन्, उनीहरूका लवाइखवाइ र चिल्ला कार देखेकै छन् । जनता पत्याउन चाहन्न । नेताहरू परिवर्तन भन्छन्, विकास भन्छन्, सुशासन भन्छन् त्यो सबै ल्याउन जनताले ज्यानको बाजी लगाएर साथ दिएकै थिए । तर भयो त के ? नेताकै लागि, तिनकै सन्तानका लागि, तिनकै आसेपासेका लागि र तिनकै कार्यकर्ताका लागि परिवर्तन ल्याएजस्तो भएको छ । अब तिनबाट यो एउटा कुरो गरिरहिएको छ— ‘ठूलै षड्यन्त्र छ मुलुकमा । हामीमाथि भएको षड्यन्त्रले मुलुकको भविष्य खतरामा छ !’ त्यो खतरा त जो सत्तामा गए पनि छ ।

जनता षड्यन्त्रको भेलले कसकसलाई बगाएर लैजान्छ हेरिरहेछ ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x