सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ऐनाभित्र चलखेल

गुदी भएकालाई ऐनामै हेर्ने हो भने ऐनाबाट टाढा राखी ऐना नै हेर्नुपर्छ । अरूलाई यस्तो र उस्तो भन्नुभन्दा आफ्नै अनुहार आफ्नै ऐनामा हेर्ने बुद्धि कहिले फिर्ने होला खै ?

Nepal Telecom ad

ह्यारी- ८० :

तँ रोए जस्तो गर् म कुटे जस्तो गर्छु भन्ने विषयको सेटिङ नमिलेरै होला दण्ड दिने र पाउनुपर्नेबिच कलह चलिरहेको धेरै भयो । हुन पनि हो केही हुन्छ कि भनेर टाउको फेरियो तर गिदी फेरिएन, ऐना हेरियो तर अनुहार फेरिएन किनकि ऐनै फेरिएन । टाउको फेरिएको भए गिदी फेरिन्थ्यो । गिदी फेरिएको भए ऐना फेरिन्थ्यो र पो रैतीले ऐना हेर्दा आफू देख्थे । बल्ल ऐना फेरियो तर अवस्था फेरिएन । धेर न थोर जहीँ न तहीँ उही न त्यहीँ कुरा मिलेको छ । हिजोको अनुहार आज पनि उही ऐनामा उस्तै उस्तै देखिइरहेको छ भन्दा नपत्याउनुपर्ने कारण नै छैन । सत्यले शक्तिको र शक्तिले सत्यको पराजयका लागि जुगौँदेखि द्वन्द्व गरिरहेका छन् । शीर्षासनमा बस्ने मान्छेले र सीमामा बगेको नदीले जे गरे पनि हुन्छ भनेको शक्तिको आड भएरै त हो नि ।

ऐनाले भ्रममा पारेको जुगौँ भइसक्दा पनि हामी ऐनाकै विश्वास गर्दछौँ र सत्यकै वकालत गर्छौँ । यी सब देख्ने र देखाउनेकै खेला हो भन्न सकिन्छ । आखिर जतिसुकै छिपाए पनि सिसाको अपारदर्शी बनाइने तत्त्व सिसाको पछाडिको पारोको चर्चा कहिल्यै भएको पाइन्न । फारसीमा बोलिने आइना नै ऐना हो र ऐना नै दर्पण हो । फ्रेमभित्रको ऐनामा अनगिन्ती अनुहार देखिए तर सधैँ अनुहारले रूपरङ्ग परिवर्तन गर्दै गयो । कसैलाई पट्यारलाग्दो भए पनि नभए पनि ऐना ऐना नै हो । उही प्रतिबिम्ब देखाइरहन्छ । हुन त अति सूक्ष्म रूपमा नियाल्ने हो भने अघिको अनुहार अहिले बदलिइसकेको हुन्छ तर ऐना उही अनुहारको भ्रम छरिरहन्छ सत्तारूढे आकृतिझैँ । यो नै दृष्टिभ्रम हो ।

अझ भनौँ ऐनाको घरमा बसेर आफ्नो र अरूको अनुहार नछुट्याउने अवस्था अन्धकारले सिर्जना गर्दछ न कि अरू कुराले । आफ्नो अनुहारको बोक्रा ऐनामा हेरेर अर्काको अन्धालोचना वा अन्धसमर्थन गर्ने व्यवहार कहीँ छ भने त्यो मृगमरिचिका हो । शिशमहलमा बसेर अरूलाई ढुङ्गा हान्ने प्रवृत्तिको विकासले मनमैयाँ र ऐनाको करामत आँकलन गर्न सकिन्छ । दुलाहा दुलहीलाई सोह्र शृङ्गार गरिदिएपछि कस्तो भइएछ भनी हेर्न कसलाई खुल्दुली जाग्दैन होला र ? तर ऐना र त्यसमा पर्ने प्रकाशको ख्याल गर्न नसक्ने हो भने ऐनाबाट सत्तारूढेले स्वच्छ र भ्रष्टाचाररहित मुद्राबाहेक केही देख्तो रहेनछ ।

चर्केको ऐ्नाबाट कुच्चेको, भत्केको, चर्केको, फुटेको, कुच्चिएको, टुक्रेको, धसिएको एकाकार, त्रिभुजाकार, आयाताकार, वृत्ताकार, निराकार आयामका मुखाकृति देखिन्छन् । यी सबै हाम्रा हलीका दर्पण हुन् । सायदै वेदव्यासको बिम्ब ऐनाव्यासलाई थाह हुने नै छ । मकैका घोगा भाँचेजस्तो नाकको डाँडी भाँच्नुपर्ने भ्रष्टले जुहारतजडित आलमारीका ऐनामा हेर्दा सबैलाई कि भ्रष्ट देख्छ कि चोखै रहेको प्रस्ट देख्छ । फाइल लुकाएको ऐनाबाट देख्ता देख्तै कृष्णले मथुरामा राज गर्ने कंसलाई व्यवहार गरेझैँ गर्दै जानुपर्छ । सिधा हेर्दा केही नदेखिने यो फतुरे काकाको ऐनामा कर्मचारीले सेटिङ मिलाएझैँ मिलाउँदा तीन त्रिलोक चौध भुवन देखिन्छ बा !

अवैध संरचनामा वैधताको लेप लगाउने योजनाविद्देखि समानुपातिकबाट निधारमा ट्यास्स नातो टाँसेर दज्र्यानी पाएका कुमार कुमारीहरूको हालीमुहालीलाई बबुरा रैती चर्केको ऐनामा हेर्न बाध्य भएका छन् । उड्नेदेखि गुड्नेसम्मका थोत्रामोत्रा वाहनलाई घुयँेत्राले बेर्ने कारण सेटिङमा सोहोरेर खानेहरूको बिगबिगीले नै हो । अर्काको आश मार्न र लास ओसार्न पल्केकाले अरूको सास पनि जोगाउनुपर्छ भन्ने चेत भएको खाउडो कहिल्यै पनि ऐनामा हेर्न सकेनन् । आफ्नो वैध तर अर्काको अवैध देख्ने रहस्यमयी त्यो ऐनामा जमेको धुलोले कहिल्यै मुलासनेलाई भ्रमबाट मुक्त राख्न सकेन ।

जुन घुम्तीबाट चियाए पनि त्यही रानु माहुरीरूपी कुर्सीमा टाँसिएर बसेका भाले मौरीले कर्मी मौरीबाट जोहो गरिएको मह खाइरहे, चाखिरहे । ऐनामा यिनै दृश्य नियालिरहेका केही सिकारी अच्छिउँ बच्छिउँहरूले मौका पाउनासाथ घार चुसेर थोत्रो बनाउँदा पनि ऐना कहिल्यै फेरिएन रूप उही देखाइरह्यो । हेर्नेको आँखामा फुलो परेपछि ऐनामा देश दुखेको देखेर ऐना नै सुम्सुम्याएर बस्ने अझ भनौँ परावर्तित आकृतिलाई भ्रममा झम्टेर ऐना चकनाचुर बनाउँदै घाइतेलाई त्रिशूलीमा कहिलेसम्म खोजिरहने हँ ?

ऐनामा आरोपीलाई देख्ने हो कि सोझालाई देख्ने हो अब ऐनाको भ्रम चिर्नुपर्छ । अब ऐनाले टाउको छान्नुपर्छ । गुदी भएकालाई ऐनामै हेर्ने हो भने ऐनाबाट टाढा राखी ऐना नै हेर्नुपर्छ । अरूलाई यस्तो र उस्तो भन्नुभन्दा आफ्नै अनुहार आफ्नै ऐनामा हेर्ने बुद्धि कहिले फिर्ने होला खै ? अस्तु !

०००
गोकर्णेश्वर- ५, काठमाडौँ
२०८१ साल श्रावण १९ गते शनिबार ।

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टेलिफोन

टेलिफोन

हरिशंकर परसाईं
आकस्मिक बैठक

आकस्मिक बैठक

भाेज अर्याल
चस्मा

चस्मा

लाेकेन्द्रबहादुर चन्द
गाँड

गाँड

तिलक राई
0
Would love your thoughts, please comment.x
()
x