साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोकट गुरु उट्पटानन्द उवाच

मानिस आफूले गरेको कर्म कुकुर्ममा किन ईश्वरलाई साक्षी राख्दछ ? आफूलाई मासु खान मन लागेर कुल देवताले बलि मागे भन्दछौ । हे भगवान ! मेरो फलानो काम गरिदेऊ म तिमीलाई.... चढाउँछु भनेर सर्त राख्दछौँ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥ ४.७॥
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥ ४.८

आदरणीय भक्तजनहरू ! मेरा परम्पूज्य आराध्यदेव श्रीकृष्णले महाभारत युद्धको बेला अर्जुनलाई दिनुभएको सन्देश हो यो । प्रभुले भन्नुभएको छ – “अधर्म हावी हुँदा साधुहरूको रक्षा र दुष्टहरूको नाश गर्न अर्थात् धर्मस्थापनाका लागि अवतार लिन्छु ।”

आदरणीय आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरू ! मैले आज तपाईंहरू समक्ष बताउनै पर्ने हुन्छ । भगवान श्रीकृष्णले आफ्नो प्रतिनिधिका रूपमा मलाई यहाँ पठाउनु भएको हो । भगवानले भन्नुभएको छ – “बाबू उट्पटानन्द ! पृथ्वीमा मानिसहरू धर्मका नाममा काटकाट गर्न थाले । फरक धर्म सम्प्रदायमा विवाद हुनु त स्वभाविक मानिन्थ्यो बाबु । यहाँ त सनातन हिन्दुवादीहरूले गोरुजात्रा देखाए । त्यसमाथि भागवतको मर्मज्ञ मान्ने स्वघोषित प्रभु महाराज, बाबा अनि माताहरूले मेरो बदनाम नै गरे । त्यसैले मेरो बाबु ! भागवतको तत्वज्ञान तिमीले दिलाऊ । दिग्भ्रमित मेरा भक्त, ग्वाला अनि गोपिनीहरूलाई मेरो तर्फबाट ज्ञानमृत पिलाऊ ।”

आदरणीय भक्तजनहरू ! म त केवल प्रभुको दास हूँ । प्रभुको आज्ञा पालन गर्नु मेरो दायित्व हो । प्रभुको प्रतिनिधि पात्र भएका नाताले मैले भन्दैछु । ध्यानपूर्वक सुन्नुहोला । सुन्ने मात्रै होइन मनमा गुन्नुहोला । व्यवहारमा पनि तुन्नुहोला ।

आदरणीय भक्तजनहरू ! आफूलाई वैदिक सनातनी दाबी गर्दै भागवतको गलत व्याख्या गर्ने अबुझ, अज्ञानी, पाखण्डीहरूको पछि लाग्दा आफैलाई धोका हुन्छ । सत्य र तत्वज्ञान प्राप्त नगर्दा त्यो बोका हुन्छ । यहाँ धेरैले आफूलाई पिता वा माताका नाममा धर्मको ठेक्कापट्टा गरेर रोटी सेकाइरहेका छन् । यहाँ यस्तै स्वघोषित पिता माताहरूको जगजगी र बिगबिगी छ । यस्ता पिताहरूलाई फिताले कस्नुपर्छ । माताहरूलाई पाताले बाध्नुपर्छ । हावाजस्ता बाबाहरूलाई ढावाको ताबामा नपोल्दासम्म सत्य खुल्दैन ।

आदरणीय भक्तजनहरू ! तपाईंको सन्त स्वामी फोकट गुरु उट्पटानन्दको आग्रह छ । नक्कली महाराजहरूको नौटङ्कीले गर्दा नै आज सनातन वैदिक धर्म आज धर्मराउँदै गएको छ । सन्त महात्माहरूलाई धनको लालच हुन्छ ? सन्न्यासको अर्थ को हो ? किन लिप्त सन्न्यासी महाराजहरू सम्पत्तिमा ? बरू सन्न्यासी छोडेर महाराज मात्रै भन्दा राम्रो । महाराजहरू त ऐश ,आराम र पराक्रममा लागिरहन्छन् । योगी सन्तहरूले महाराजको लालसा राखेपछि राज्य सत्तामै आइदिए जाती हुन्थ्यो । देश अध्यात्ममय हुन्थ्यो । रामराज्य नै भएपछि व्यभिचारले किन छुन्थ्यो ? त्यसैले उट्पटानन्दले आफूलाई सन्त स्वामी भन्न रूचाउँछ ।

बोलो मुरली मनोहर कि ?
जय !

महाराजका रूपमा प्रकट भएका कलियुगे प्रभु, महाप्रभुहरूले रचाएका लीलाहरूको वणर्न हज्जार जिब्रा भएका शेषनागले पनि गर्न सक्दैनन् । म बबुरो फोकट गुरूले यस्ता कुरा गर्नु भनेको जुरेली चरीले बाँसको टुप्पो नुगाउनु जस्तै हो । मैले यस्ता चटकहरू जानेको छैन । जानेको छु केवल भक्तबत्सल भगवानप्रति सप्रेम भक्ति । प्रेमबिनाको भक्ति केवल चाकडी हुन्छ । त्यसैले भक्तिमा प्रेम हुनुपर्छ । प्रेममा त्याग र समर्पण ।

बोलो राधेश्याम कि ?
जय !

आदरणीय भक्तजनहरू ! भगवानले कर्म गर फलको आशा नगर भन्नुभएको छ । यहाँ कर्म नगरी फलको आशा राखिन्छ । भागवत पुराण सप्ताह ज्ञान महायज्ञ सुरूवात नगर्दै यति उठाउने भनी लक्ष्य निर्धारण गरिन्छ । धेरै धन दिने दानवीर भनिन्छ । कसैले दान दिन्छ भने त्यो लिनुपर्छ तर दानको धन असल वा खराब कर्म गरेर आर्जन गरेको हो ? महत्व यसले राख्दछ । खराब कर्मबाट आर्जन गरेको धन दान लिदा त्यस्तो दान लिने पनि पापको उत्तिकै भागिदार हुन्छ । अझ रोचक प्रसङ्ग के छ भने दायाँ हातले दान दिदा बायाँ हातले पत्तो पाउनु हुँदैन । दान दिएपछि सो कुरा बिर्सिनु पर्छ । यहाँ त बिर्सिएला भनेर कदर पत्र भिराइन्छ । क्यामेराभित्र छिराइन्छ ।

आदरणीय भक्तजनहरू ! कसैको निन्दा गर्नु पाप हो । तर कसैले समाजमा अफवाह फैलाएको छ भने त्यसलाई सुधार गर्न तर्कसङ्गत तरिकाले आफ्ना कुरा राख्नु निन्दा होइन । यसर्थ मैले राखेका बिचारहरू निन्दाका रूपमा लिनुहुने छैन ।

बोलो भक्तवत्सल भगवानको !
जय !

प्रिय भक्तजनहरू ! आफूलाई वैदिक सनातनी भन्नेहरू र इस्कोनप्रति आस्था राख्नेहरू बीच विवाद भएको पनि मलाई थाहा छ । भगवान श्रीहरिले कसैप्रति द्वेष र घृणा नगर्न भन्नुभएको छ । इस्कोनको गीतामा यशुको नाम देखियो भनेर हलचल मच्चियो । नाम किन देखियो र कुन सन्दर्भमा लेखियो अनुसन्धान गरौँ । दुवै हिन्दुवादीहरू एकआपसमा यदुवंशी बनेर लड्दा सत्यानाश आफ्नै होला ।

आदरणीय भक्तजनहरू ! विगत केही दिन यता कथित स्वामी महाराजहरूको दोहोरी साँझ हेर्ने गरेको छु । एकले अर्कोलाई खुइलाएको नाङ्गो नाँच हेरको छु । थला पर्ने गरी डडाल्नु भाँचेको पनि हेरेको छु । हुनत ः वैदिक सनातन धर्ममा तेत्तीस कोटी देवताको चर्चा छ । तेत्तीस कोटी देवताका तेत्तीस कोटी सम्प्रदाय र तेत्तीस कोटी भक्तजन हुनु अस्वभाविक भएन । अस्वभाविक के छ भने एकथरी सन्तहरू अर्कोथरीलाई भुत्ल्याने अभियानमा छन् ।

आदरणीय भक्तजनहरू ! कोटीहोम महायज्ञ उत्तरायणमा गर्नु पर्छ । शुभ साइतमा पूर्वाङ्ग गरी अग्नि जुराएर गर्नुपर्छ भनेको सुनियो । शुभ साइतमा गरिएन भनेको पनि सुनियो ।एकथरीले ठगहरूको धन्दा भने । अर्कोथरीले पाखण्डी भने । सर्वसाधारण ट्वाँ परे । म त भन्छु यसरी एक आपसमा हिलो छ्यापेर रोपाइँ नगर । दाइँ नहाल । विरोधको आगो नबाल । जे गर्छौ विधि सम्मत गर । शास्त्र अनुसार गर । शास्त्रलाई वादी प्रतिवादीका वकिलले जस्तो कमाई खाने भाँडो नबनाऊ । शास्त्रले “वसुधैव कुटुम्बकम्” भनेको छ । तिमीले आऊ बसम् जसले सक्छ कुटम् ठोकम् किन गर्दछौँ ?
आदरणीय भक्तजनहरू ! मानिस आफूले गरेको कर्म कुकुर्ममा किन ईश्वरलाई साक्षी राख्दछ ? आफूलाई मासु खान मन लागेर कुल देवताले बलि मागे भन्दछौ । हे भगवान ! मेरो फलानो काम गरिदेऊ म तिमीलाई…. चढाउँछु भनेर सर्त राख्दछौँ। ईश्वरालाई घुस खुवाउन खोज्ने मानिस सत्य, धर्म र निष्ठामा रहन्छ भनेर कसका कुरा कसरी पत्याउने ?

हे प्यारा भक्तजनहरू ! दानको महिमा शास्त्रहरू पनि गरिएकै छु । दानका विषयमा अभिमान गर्दा बलि राजाको कुन नियती भएथ्यो ? सबैले जानेकै विषय हो । दान गच्छे अनुसार गरौँ तर अभिमान नगरौँ । यज्ञ आयोजकहरूले प्राप्त दानको सदुपयोग गरौँ । व्यक्तिगत विलासितामा खर्च गरेर पापको भागिदार नबनौँ । गेरू वस्त्र धारण गरेर नरकको बाटो नरोजौँ ।
इतिश्री सन्त स्वामी फोकट गुरु उट्पटानन्द उवाच कथा सामाप्तम् ।

०००
२०८१।०४।१८
रेसुङ्गा नगरपालिका २ छापटोला, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x