रामप्रसाद पन्थीफोकट गुरु उट्पटानन्द उवाच
मानिस आफूले गरेको कर्म कुकुर्ममा किन ईश्वरलाई साक्षी राख्दछ ? आफूलाई मासु खान मन लागेर कुल देवताले बलि मागे भन्दछौ । हे भगवान ! मेरो फलानो काम गरिदेऊ म तिमीलाई.... चढाउँछु भनेर सर्त राख्दछौँ।

रामप्रसाद पन्थी :
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥ ४.७॥
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥ ४.८
आदरणीय भक्तजनहरू ! मेरा परम्पूज्य आराध्यदेव श्रीकृष्णले महाभारत युद्धको बेला अर्जुनलाई दिनुभएको सन्देश हो यो । प्रभुले भन्नुभएको छ – “अधर्म हावी हुँदा साधुहरूको रक्षा र दुष्टहरूको नाश गर्न अर्थात् धर्मस्थापनाका लागि अवतार लिन्छु ।”
आदरणीय आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरू ! मैले आज तपाईंहरू समक्ष बताउनै पर्ने हुन्छ । भगवान श्रीकृष्णले आफ्नो प्रतिनिधिका रूपमा मलाई यहाँ पठाउनु भएको हो । भगवानले भन्नुभएको छ – “बाबू उट्पटानन्द ! पृथ्वीमा मानिसहरू धर्मका नाममा काटकाट गर्न थाले । फरक धर्म सम्प्रदायमा विवाद हुनु त स्वभाविक मानिन्थ्यो बाबु । यहाँ त सनातन हिन्दुवादीहरूले गोरुजात्रा देखाए । त्यसमाथि भागवतको मर्मज्ञ मान्ने स्वघोषित प्रभु महाराज, बाबा अनि माताहरूले मेरो बदनाम नै गरे । त्यसैले मेरो बाबु ! भागवतको तत्वज्ञान तिमीले दिलाऊ । दिग्भ्रमित मेरा भक्त, ग्वाला अनि गोपिनीहरूलाई मेरो तर्फबाट ज्ञानमृत पिलाऊ ।”
आदरणीय भक्तजनहरू ! म त केवल प्रभुको दास हूँ । प्रभुको आज्ञा पालन गर्नु मेरो दायित्व हो । प्रभुको प्रतिनिधि पात्र भएका नाताले मैले भन्दैछु । ध्यानपूर्वक सुन्नुहोला । सुन्ने मात्रै होइन मनमा गुन्नुहोला । व्यवहारमा पनि तुन्नुहोला ।
आदरणीय भक्तजनहरू ! आफूलाई वैदिक सनातनी दाबी गर्दै भागवतको गलत व्याख्या गर्ने अबुझ, अज्ञानी, पाखण्डीहरूको पछि लाग्दा आफैलाई धोका हुन्छ । सत्य र तत्वज्ञान प्राप्त नगर्दा त्यो बोका हुन्छ । यहाँ धेरैले आफूलाई पिता वा माताका नाममा धर्मको ठेक्कापट्टा गरेर रोटी सेकाइरहेका छन् । यहाँ यस्तै स्वघोषित पिता माताहरूको जगजगी र बिगबिगी छ । यस्ता पिताहरूलाई फिताले कस्नुपर्छ । माताहरूलाई पाताले बाध्नुपर्छ । हावाजस्ता बाबाहरूलाई ढावाको ताबामा नपोल्दासम्म सत्य खुल्दैन ।
आदरणीय भक्तजनहरू ! तपाईंको सन्त स्वामी फोकट गुरु उट्पटानन्दको आग्रह छ । नक्कली महाराजहरूको नौटङ्कीले गर्दा नै आज सनातन वैदिक धर्म आज धर्मराउँदै गएको छ । सन्त महात्माहरूलाई धनको लालच हुन्छ ? सन्न्यासको अर्थ को हो ? किन लिप्त सन्न्यासी महाराजहरू सम्पत्तिमा ? बरू सन्न्यासी छोडेर महाराज मात्रै भन्दा राम्रो । महाराजहरू त ऐश ,आराम र पराक्रममा लागिरहन्छन् । योगी सन्तहरूले महाराजको लालसा राखेपछि राज्य सत्तामै आइदिए जाती हुन्थ्यो । देश अध्यात्ममय हुन्थ्यो । रामराज्य नै भएपछि व्यभिचारले किन छुन्थ्यो ? त्यसैले उट्पटानन्दले आफूलाई सन्त स्वामी भन्न रूचाउँछ ।
बोलो मुरली मनोहर कि ?
जय !
महाराजका रूपमा प्रकट भएका कलियुगे प्रभु, महाप्रभुहरूले रचाएका लीलाहरूको वणर्न हज्जार जिब्रा भएका शेषनागले पनि गर्न सक्दैनन् । म बबुरो फोकट गुरूले यस्ता कुरा गर्नु भनेको जुरेली चरीले बाँसको टुप्पो नुगाउनु जस्तै हो । मैले यस्ता चटकहरू जानेको छैन । जानेको छु केवल भक्तबत्सल भगवानप्रति सप्रेम भक्ति । प्रेमबिनाको भक्ति केवल चाकडी हुन्छ । त्यसैले भक्तिमा प्रेम हुनुपर्छ । प्रेममा त्याग र समर्पण ।
बोलो राधेश्याम कि ?
जय !
आदरणीय भक्तजनहरू ! भगवानले कर्म गर फलको आशा नगर भन्नुभएको छ । यहाँ कर्म नगरी फलको आशा राखिन्छ । भागवत पुराण सप्ताह ज्ञान महायज्ञ सुरूवात नगर्दै यति उठाउने भनी लक्ष्य निर्धारण गरिन्छ । धेरै धन दिने दानवीर भनिन्छ । कसैले दान दिन्छ भने त्यो लिनुपर्छ तर दानको धन असल वा खराब कर्म गरेर आर्जन गरेको हो ? महत्व यसले राख्दछ । खराब कर्मबाट आर्जन गरेको धन दान लिदा त्यस्तो दान लिने पनि पापको उत्तिकै भागिदार हुन्छ । अझ रोचक प्रसङ्ग के छ भने दायाँ हातले दान दिदा बायाँ हातले पत्तो पाउनु हुँदैन । दान दिएपछि सो कुरा बिर्सिनु पर्छ । यहाँ त बिर्सिएला भनेर कदर पत्र भिराइन्छ । क्यामेराभित्र छिराइन्छ ।
आदरणीय भक्तजनहरू ! कसैको निन्दा गर्नु पाप हो । तर कसैले समाजमा अफवाह फैलाएको छ भने त्यसलाई सुधार गर्न तर्कसङ्गत तरिकाले आफ्ना कुरा राख्नु निन्दा होइन । यसर्थ मैले राखेका बिचारहरू निन्दाका रूपमा लिनुहुने छैन ।
बोलो भक्तवत्सल भगवानको !
जय !
प्रिय भक्तजनहरू ! आफूलाई वैदिक सनातनी भन्नेहरू र इस्कोनप्रति आस्था राख्नेहरू बीच विवाद भएको पनि मलाई थाहा छ । भगवान श्रीहरिले कसैप्रति द्वेष र घृणा नगर्न भन्नुभएको छ । इस्कोनको गीतामा यशुको नाम देखियो भनेर हलचल मच्चियो । नाम किन देखियो र कुन सन्दर्भमा लेखियो अनुसन्धान गरौँ । दुवै हिन्दुवादीहरू एकआपसमा यदुवंशी बनेर लड्दा सत्यानाश आफ्नै होला ।
आदरणीय भक्तजनहरू ! विगत केही दिन यता कथित स्वामी महाराजहरूको दोहोरी साँझ हेर्ने गरेको छु । एकले अर्कोलाई खुइलाएको नाङ्गो नाँच हेरको छु । थला पर्ने गरी डडाल्नु भाँचेको पनि हेरेको छु । हुनत ः वैदिक सनातन धर्ममा तेत्तीस कोटी देवताको चर्चा छ । तेत्तीस कोटी देवताका तेत्तीस कोटी सम्प्रदाय र तेत्तीस कोटी भक्तजन हुनु अस्वभाविक भएन । अस्वभाविक के छ भने एकथरी सन्तहरू अर्कोथरीलाई भुत्ल्याने अभियानमा छन् ।
आदरणीय भक्तजनहरू ! कोटीहोम महायज्ञ उत्तरायणमा गर्नु पर्छ । शुभ साइतमा पूर्वाङ्ग गरी अग्नि जुराएर गर्नुपर्छ भनेको सुनियो । शुभ साइतमा गरिएन भनेको पनि सुनियो ।एकथरीले ठगहरूको धन्दा भने । अर्कोथरीले पाखण्डी भने । सर्वसाधारण ट्वाँ परे । म त भन्छु यसरी एक आपसमा हिलो छ्यापेर रोपाइँ नगर । दाइँ नहाल । विरोधको आगो नबाल । जे गर्छौ विधि सम्मत गर । शास्त्र अनुसार गर । शास्त्रलाई वादी प्रतिवादीका वकिलले जस्तो कमाई खाने भाँडो नबनाऊ । शास्त्रले “वसुधैव कुटुम्बकम्” भनेको छ । तिमीले आऊ बसम् जसले सक्छ कुटम् ठोकम् किन गर्दछौँ ?
आदरणीय भक्तजनहरू ! मानिस आफूले गरेको कर्म कुकुर्ममा किन ईश्वरलाई साक्षी राख्दछ ? आफूलाई मासु खान मन लागेर कुल देवताले बलि मागे भन्दछौ । हे भगवान ! मेरो फलानो काम गरिदेऊ म तिमीलाई…. चढाउँछु भनेर सर्त राख्दछौँ। ईश्वरालाई घुस खुवाउन खोज्ने मानिस सत्य, धर्म र निष्ठामा रहन्छ भनेर कसका कुरा कसरी पत्याउने ?
हे प्यारा भक्तजनहरू ! दानको महिमा शास्त्रहरू पनि गरिएकै छु । दानका विषयमा अभिमान गर्दा बलि राजाको कुन नियती भएथ्यो ? सबैले जानेकै विषय हो । दान गच्छे अनुसार गरौँ तर अभिमान नगरौँ । यज्ञ आयोजकहरूले प्राप्त दानको सदुपयोग गरौँ । व्यक्तिगत विलासितामा खर्च गरेर पापको भागिदार नबनौँ । गेरू वस्त्र धारण गरेर नरकको बाटो नरोजौँ ।
इतिश्री सन्त स्वामी फोकट गुरु उट्पटानन्द उवाच कथा सामाप्तम् ।
०००
२०८१।०४।१८
रेसुङ्गा नगरपालिका २ छापटोला, गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































