हरिशंकर परसाईंअब शुद्ध जहर पनि छैन !
जब आकाशमा कालो मेघ देखिन्छ, पूर्वी बतास चल्न थाल्छ र वनप्रान्तमा मुजुर नाच्न थाल्छ अनि व्यापारी दाजुको मन पनि अब अन्नको मूल्य बढ्नेछ र एकको चार हुनेछ भनेर नाच्न थाल्छ ।

हरिशङ्कर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
केही व्यक्तिहरू काल नआएर मात्र बाँच्छन् अनि यदि यस्तो कुनै दुःखी मानिसले सङ्खिया (एक प्रकारको विष) खाएर काललाई ‘हे देव ! केही घण्टामै आएर सबै कुरो झिलिमिली पारिदिनुहोला ।’ भनेर निमन्त्रणा नै दिए भने पनि कालले मेरो पूजा शुद्ध सङ्खियाले गरेनौ भनेर नराम्रो मान्छ र ठुस्किन्छ । यी पुँजीवादीहरूले त बाँच्नु त मुस्किल गरेकै छन् मर्न पनि दिँदैनन्, असतीहरू !सङ्खियामा मिसावटको कुरो संसद्मा उठाइयो र समाचारमा छापियो, ‘सङ्खिया खाएर सुतेको अमुक दुःखी परिवार बिहानै नवजीवन लिएर जागेको छ किनभने व्यापारी दाजुले सङ्खियामा पनि मिसावट गरेका थिए ।’ हामीकहाँ व्यापारी दाजुहरूले राष्ट्रनिर्माण र जनकल्याणमा योगदान गरेका छैनन् भनेर कसले भन्न सक्छ ? ए हजुर, तिनले त सरासर काललाई पनि परास्त गरिरहेका छन् ।
तर आपत अब ती कसम खानेहरूलाई पो हुने भयो जसले कुरैकुरामा भनिदिन्थे, ‘बाबु, आफूसित त विष खानलाई एक पैसो पनि छैन ।’ म भन्छु, यदि तपाईंसित एक पैसा भए पनि तपाईंले विष पाउनुहुन्छ पो कहाँ ?
यो बेइमानीको कुराले नै मलाई दिक्क पार्छ तर व्यापारी दाजुलाई यो कुरो आमाको दूधको घुड्कोसँगै खुवाइएको हुन्छ । अर्जुनले द्रौपदी (सुभद्रा) लाई रातिको समयमा चक्रव्यूहभञ्जनका बारेमा सुनाएको हुनाले अभिमन्युले माताको गर्भबाटै चक्रव्यूह तोड्न सिकेका थिए । यदि क्षत्रियले आफ्नी पत्नीसित युद्धका कुरा गर्न सक्छ भने व्यापारीले आफ्नी पत्नीलाई चिनीमा कति हड्डी मिसाउने भनेर के सुनाउन्न होला र ? अवश्य यस्तो हुन्छ होला, त्यसैले त सबै ‘पुत्रराम’ हरूले बच्चैदेखि मिसावट गर्न सिकेका हुन्छन् । ए हजुर, मयुरको चल्लालाई नाच्न सिकाउन के कुनै डान्समास्टर खटिएको हुन्छ र ? कोइलीको चल्लाले ‘कुहू’ गर्न कुन सङ्गीत विद्यालयबाट सिकेको हुन्छ ?
केही दिनपहिला म एउटा औषधीपसलमा बसेको थिएँ । एकजना सज्जन आए । एउटा औषधी मागे र भने, ‘ब्रिटिस प्याकिङ चाहिन्छ ।’ इन्डियन प्याकिङ चाहिन्न ? भनेर मैले जिज्ञासा राख्दा मलाई यस्तो भनियो, ‘यो औषधी बन्ने इङ्ग्ल्यान्डमै हो । त्यहाँबाट सिसीमा र ठुल्ठुला भाँडाहरूमा भरेर आउँछ जसलाई बम्बई र कलकत्ताका कम्पनीहरूले फेरि भरेर प्याक गर्छन् । यो अपेक्षाकृत निकै सस्तो हुन्छ । तर ग्राहकले महङ्गो औषधी खोज्छ भने त्यो केवल प्याकिङका निम्ति । स्पष्ट छ, जुन माल हामी दिँदै छौं त्यो शुद्ध हुन्छ भनेर विश्वास जगाउने शक्ति छ उनीहरूमा । तर त्यही माल यदि बम्बईमा प्याकिङ गरिएको छ भने उनीहरूले त्यसमा पानी मिसाएका हुन्छन् भन्ने विश्वास पनि उत्तिकै दृढ छ । तर जब म सोच्न थाल्छु हाम्रो राष्ट्रिय चरित्र कस्तो रहेछ भने हाम्रो प्याकिङमा कसैलाई विश्वास नहुने भनेर म लाजले भुतुक्क हुन्छु ।
अनि केही वर्षपहिले कुनै पत्रिकामा पढेको थिएँ, ‘एउटा इटालियन चर्मकार इङ्ग्ल्यान्डमा चौबाटामा जुत्ता मरमत गर्ने पसल खोलेर बसेका थिए । इटायलियन चर्मकारलाई राम्रो मानिन्छ अनि ती चर्मकारको परिवार त निकै राम्रो काम गर्ने भनेर निकै प्रसिद्ध थियो । एक दिन एउटा लेखक त्यस पसलमा रोकिए अनि जुत्ताको मरमत गराए । ढिला भइरहेको देखेर उनले भने, ‘बाबु, अलि छिटो गर न ! किन यति बेर गर्दै छौ ?’ यसमा चर्मकारले भने, ‘महाशय, मैले एउटा राम्रो परम्पराको निर्वाह गर्नु छ ।’
विदेशहरूमा सबै कुरो राम्रैराम्रो हुन्छ भने हाम्रो देशमा सबै कुरो नराम्रै नराम्रो भनेर अब रूढीवादीहरूले मात्र भन्छन् । तर हामीकहाँ यदि गाउँको शुद्ध घिउ शहरको व्यापारीकहाँ आयो र त्यसै बेला ग्राहकले साहूलाई त्यो घिउ आफ्ना लागि जोखिदिन भन्या भने साहूले भन्नेछ, ‘पर्खनुस् है एकछिन । यसमा बदमको तेल मिसाउन दिनुस् । मैले एउटा महान् परम्पराको निर्वाह गर्नु छ ।’
हाम्रा व्यापारीको नीति तथा दर्शन छुट्टै छ । कुनै वस्तुलाई देख्नासाथ उसले सबैभन्दा पहिले त्यसमा कति अनुपातसम्मको बेइमानी गर्न सकिन्छ भन्ने सोच्न थाल्छ । हाम्रो दूधमा अरारोट, घिउमा बोसो, चिनीमा हड्डी, औषधीमा पानी त कर्तव्य नै ठानेर मिसाइन्छ । गएको कुनै वर्ष अस्ट्रेलियाले हामीकहाँबाट केही सामान किनेको थियो भन्ने सुनेको थिएँ । सुरुमा नमुना त राम्रो पठाएछन् तर पछि सामान पठाउँदा भने मिसावट गरिएको । ‘जिप स्क्यान्डल’ र ‘जौ स्क्यान्डल’ कैयौँ दिनसम्म संसद्मा विवादको विषय बनेका थिए ।
मलाई त के लाग्छ भने व्यापारी दाजुको सौन्दर्यबोध पनि हाम्रोभन्दा भिन्दै छ । यो मेरा अगाडि राम र सीताको अत्यन्त सुन्दर चित्र भएको पात्रो झुन्डिएको छ । तर राम र सीताको ठिक निधारमा ठिक बिचमा नराम्रा अक्षरमा उसको पसलको विज्ञापन छापिएको छ । सौन्दर्यलाई नछोइयोस् भन्ने उसलाई स्वीकार्य नै छैन । उसले बगैंचाका गुलाफका राम्रा राम्रा फूलहरूलाई हेरेर यिनको गुलकन्द कस्तो बन्ला भनेर हिसाब गर्न थाल्छ । जब आकाशमा कालो मेघ देखिन्छ, पूर्वी बतास चल्न थाल्छ र वनप्रान्तमा मुजुर नाच्न थाल्छ अनि व्यापारी दाजुको मन पनि अब अन्नको मूल्य बढ्नेछ र एकको चार हुनेछ भनेर नाच्न थाल्छ । उषाको अरुण सौन्दर्यमा पनि ऊ लौ अब दिनभरिका लागि चोरी हुनबाट बचियो भनेर मुग्ध हुन्छ ।
०००
यो लेख हिन्दीका सुप्रसिद्ध व्यङ्ग्यकार हरिशंकर परसाईको कृति परसाई रचनावली भाग ४मा प्रकाशित ‘अब शुद्ध जहर भी नहीँ’ बाट अनुवाद गरिएको हो । -अनुवादक
Subscribe
Login
0 Comments
Oldest






































