साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब शुद्ध जहर पनि छैन !

जब आकाशमा कालो मेघ देखिन्छ, पूर्वी बतास चल्न थाल्छ र वनप्रान्तमा मुजुर नाच्न थाल्छ अनि व्यापारी दाजुको मन पनि अब अन्नको मूल्य बढ्नेछ र एकको चार हुनेछ भनेर नाच्न थाल्छ ।

Nepal Telecom ad
हरिशङ्कर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
केही व्यक्तिहरू काल नआएर मात्र बाँच्छन् अनि यदि यस्तो कुनै दुःखी मानिसले सङ्खिया (एक प्रकारको विष) खाएर काललाई ‘हे देव ! केही घण्टामै आएर सबै कुरो झिलिमिली पारिदिनुहोला ।’ भनेर निमन्त्रणा नै दिए भने पनि कालले मेरो पूजा शुद्ध सङ्खियाले गरेनौ भनेर नराम्रो  मान्छ र ठुस्किन्छ । यी पुँजीवादीहरूले त बाँच्नु त मुस्किल गरेकै छन् मर्न पनि दिँदैनन्, असतीहरू !
सङ्खियामा मिसावटको कुरो संसद्मा उठाइयो र समाचारमा छापियो, ‘सङ्खिया खाएर सुतेको अमुक दुःखी परिवार बिहानै नवजीवन लिएर जागेको छ किनभने व्यापारी दाजुले सङ्खियामा पनि मिसावट गरेका थिए ।’ हामीकहाँ व्यापारी दाजुहरूले राष्ट्रनिर्माण र जनकल्याणमा योगदान गरेका छैनन् भनेर कसले भन्न सक्छ ? ए हजुर, तिनले त सरासर काललाई पनि परास्त गरिरहेका छन् ।
तर आपत अब ती कसम खानेहरूलाई पो हुने भयो जसले कुरैकुरामा भनिदिन्थे, ‘बाबु, आफूसित त विष खानलाई एक पैसो पनि छैन ।’ म भन्छु, यदि तपाईंसित एक पैसा भए पनि तपाईंले विष पाउनुहुन्छ पो कहाँ ?
यो बेइमानीको कुराले नै मलाई दिक्क पार्छ तर व्यापारी दाजुलाई यो कुरो आमाको दूधको घुड्कोसँगै  खुवाइएको हुन्छ । अर्जुनले द्रौपदी (सुभद्रा) लाई रातिको समयमा चक्रव्यूहभञ्जनका बारेमा सुनाएको हुनाले अभिमन्युले माताको गर्भबाटै चक्रव्यूह तोड्न सिकेका थिए । यदि क्षत्रियले आफ्नी पत्नीसित युद्धका कुरा गर्न सक्छ भने व्यापारीले आफ्नी पत्नीलाई चिनीमा कति हड्डी मिसाउने भनेर के सुनाउन्न होला र ? अवश्य यस्तो हुन्छ होला, त्यसैले त सबै ‘पुत्रराम’ हरूले बच्चैदेखि मिसावट गर्न सिकेका हुन्छन् । ए हजुर, मयुरको चल्लालाई नाच्न सिकाउन के कुनै डान्समास्टर खटिएको हुन्छ र ? कोइलीको चल्लाले ‘कुहू’ गर्न कुन सङ्गीत विद्यालयबाट सिकेको हुन्छ ?
केही दिनपहिला म एउटा औषधीपसलमा बसेको थिएँ । एकजना सज्जन आए । एउटा औषधी मागे र भने, ‘ब्रिटिस प्याकिङ चाहिन्छ ।’ इन्डियन प्याकिङ चाहिन्न ? भनेर मैले जिज्ञासा राख्दा मलाई यस्तो भनियो, ‘यो औषधी बन्ने इङ्ग्ल्यान्डमै हो । त्यहाँबाट सिसीमा र ठुल्ठुला भाँडाहरूमा भरेर आउँछ जसलाई बम्बई र कलकत्ताका कम्पनीहरूले फेरि भरेर प्याक गर्छन् । यो अपेक्षाकृत निकै सस्तो हुन्छ । तर ग्राहकले महङ्गो औषधी खोज्छ भने त्यो केवल प्याकिङका निम्ति । स्पष्ट छ, जुन माल हामी दिँदै छौं त्यो शुद्ध हुन्छ भनेर विश्वास जगाउने शक्ति छ उनीहरूमा । तर त्यही माल यदि बम्बईमा प्याकिङ गरिएको छ भने उनीहरूले त्यसमा पानी मिसाएका हुन्छन् भन्ने  विश्वास पनि उत्तिकै दृढ छ । तर जब म सोच्न थाल्छु हाम्रो राष्ट्रिय चरित्र कस्तो रहेछ भने हाम्रो प्याकिङमा कसैलाई विश्वास नहुने भनेर म लाजले भुतुक्क हुन्छु ।
अनि केही वर्षपहिले कुनै पत्रिकामा पढेको थिएँ, ‘एउटा इटालियन चर्मकार इङ्ग्ल्यान्डमा चौबाटामा जुत्ता मरमत गर्ने पसल खोलेर बसेका थिए । इटायलियन चर्मकारलाई राम्रो मानिन्छ अनि ती चर्मकारको परिवार त निकै राम्रो काम गर्ने भनेर निकै प्रसिद्ध थियो । एक दिन एउटा लेखक त्यस पसलमा रोकिए अनि जुत्ताको मरमत गराए । ढिला भइरहेको देखेर उनले भने, ‘बाबु, अलि छिटो गर न ! किन यति बेर गर्दै छौ ?’ यसमा चर्मकारले भने, ‘महाशय, मैले एउटा राम्रो परम्पराको निर्वाह गर्नु छ ।’
विदेशहरूमा सबै कुरो राम्रैराम्रो हुन्छ भने हाम्रो देशमा सबै कुरो नराम्रै नराम्रो भनेर अब रूढीवादीहरूले मात्र भन्छन् । तर हामीकहाँ यदि गाउँको शुद्ध घिउ शहरको व्यापारीकहाँ आयो र त्यसै बेला ग्राहकले साहूलाई त्यो घिउ आफ्ना लागि जोखिदिन भन्या भने साहूले भन्नेछ, ‘पर्खनुस् है एकछिन । यसमा बदमको तेल मिसाउन दिनुस् । मैले एउटा महान् परम्पराको निर्वाह गर्नु छ ।’
हाम्रा व्यापारीको नीति तथा दर्शन छुट्टै छ । कुनै वस्तुलाई देख्नासाथ उसले सबैभन्दा पहिले त्यसमा कति अनुपातसम्मको बेइमानी गर्न सकिन्छ भन्ने सोच्न थाल्छ । हाम्रो दूधमा अरारोट, घिउमा बोसो, चिनीमा हड्डी, औषधीमा पानी त कर्तव्य नै ठानेर मिसाइन्छ । गएको कुनै वर्ष अस्ट्रेलियाले हामीकहाँबाट केही सामान किनेको थियो भन्ने सुनेको थिएँ । सुरुमा नमुना त राम्रो पठाएछन् तर पछि सामान पठाउँदा भने मिसावट गरिएको । ‘जिप स्क्यान्डल’ र ‘जौ स्क्यान्डल’ कैयौँ दिनसम्म संसद्मा विवादको विषय बनेका थिए ।
मलाई त के लाग्छ भने व्यापारी दाजुको सौन्दर्यबोध पनि हाम्रोभन्दा भिन्दै छ । यो मेरा अगाडि राम र सीताको अत्यन्त सुन्दर चित्र भएको पात्रो झुन्डिएको छ । तर राम र सीताको ठिक निधारमा ठिक बिचमा नराम्रा अक्षरमा उसको पसलको विज्ञापन छापिएको छ । सौन्दर्यलाई नछोइयोस् भन्ने उसलाई स्वीकार्य नै छैन । उसले बगैंचाका गुलाफका राम्रा राम्रा फूलहरूलाई हेरेर यिनको गुलकन्द कस्तो बन्ला भनेर हिसाब गर्न थाल्छ । जब आकाशमा कालो मेघ देखिन्छ, पूर्वी बतास चल्न थाल्छ र वनप्रान्तमा मुजुर नाच्न थाल्छ अनि व्यापारी दाजुको मन पनि अब अन्नको मूल्य बढ्नेछ र एकको चार हुनेछ भनेर नाच्न थाल्छ । उषाको अरुण सौन्दर्यमा पनि ऊ लौ अब दिनभरिका लागि चोरी हुनबाट बचियो भनेर मुग्ध हुन्छ ।
०००
यो लेख हिन्दीका सुप्रसिद्ध व्यङ्ग्यकार हरिशंकर परसाईको कृति परसाई रचनावली भाग ४मा प्रकाशित ‘अब शुद्ध जहर भी नहीँ’ बाट अनुवाद गरिएको हो । -अनुवादक
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x