कथावाचकको पक्षमा म बबुरो
कोही पनि वाचक प्रव्राजकको जिन्दगी जिउन वाचक बनेको हुँदैन । शिर मुडाएको सन्यासी पनि होइन वाचक ! उसको पनि जिन्दगी छ, भविष्य छ, अनि उसले गला र कला सित्तैमा लुटाउनु ?
युगल बसेल :
शीर्षकबाटै तपाईंलाई लाग्याे होला – “यो लठुवा कसैको पक्ष वा विपक्षमा लागेर के लछारपाटो लाउन सक्छ र ? जति सिँगौरी खेले पनि गँड्यौलाले समुद्र धमिल्याउने बुता कहाँ राख्छ र ? तातो न छारो !” तपाईंले जति लोप्पा खुवाए पनि, नबक भनेर तामो तुलसी छुवाए पनि म बोल्न छाड्दिनँ ! तित्राको मुखै वैरी भन्ने उखान तपाईंले नबिर्से हुन्छ ।
तपाईं कुर्लनु हुन्छ – कथावाचकले गोरुको प्रिय भोजन मयुर हो भनेर बकबास गरे । तर म भन्छु – यस कथनमा विम्ब र प्रतीकको गुम्फन छ, गहन चिन्तन छ तर तपाईंको बुझाइ अकिञ्चन छ । मयुरको प्वाँखमा अधिक अंश हरियो रङको हुन्छ । ताजा घाँसको रङ पनि हरियो नै हुन्छ भन्ने कुरा जगजाहेर नै छ । तसर्थ गोरुको प्रिय भोजन हरियो रङको घाँस हो, उब्लिएको पित्तले पहेंलो रङको पराल होइन भन्ने कथावाचकको मर्मस्पर्शी आशय हो भन्ने कुरा तपाईंको खोपडीमा घुस्न सक्नुपर्छ । मेरो दाबी के छ भने लक्षणा र व्यञ्जना अर्थ नबुझ्ने खाली अभिधा अर्थ मात्र बुझ्ने हरिलठ्ठक मनुवाहरु वनकालीतिर कथा सुन्न धाउनु नै हुँदैन, जानु नै हुँदैन, कङ्गालीमा पिठो गिलो बनाएर बेइन्साफी गर्नु नै हुँदैन ।
तपाईं अर्को मुद्दा उठाउनुहुन्छ – कथावाचकले निजी सूरक्षाकर्मीको धुइरो किन लगाए ? उनलाई कसबाट ज्यानको खतरा छ ? सुरक्षा, अमनचैनको जिम्मेवारी त राज्यको पो हो, सरकारको पो हो । तर म तपाईंको कुरासित सोह्रै आना असहमत छु । वाचक गौतम बुद्ध त होइनन् नि, जसले अपराधी, दुर्दान्त अङ्गुलीमाललाई मनोपरिष्कार गराएर भिक्षुमा परिणत गरे । यहाँ पाइलापाइलामा अङ्गुलीमाल बग्रेल्ती छन् । तिनीबाट जोगिन रक्षाकवचको खाँचो कथावाचकलाई नपरोस् त ! कथावाचक तपाईंहामीजस्ता आम जनता हुन्, जसलाई आत्मसुरक्षाको चिन्ता लिने अधिकार नै छैन ? कथावाचक औकातहीन याचक कहाँ हो र ! सान सौकात भएन भने केको वाचक ! वाचकका अघिपछि निजी रक्षकको ताँती नभएर साधु फकिरको जमात हुन्छ त ? वाचकलाई अर्घेलो देख्ने तपाईंको तुजुक माफिलायक छैन है भन्ने घोषणा पनि म यहीँ गर्न चाहन्छु । वाचकको रुतवा र जलवा एवम् शोभा देखेर मख्ख पर्नुको साटो आरिस गर्ने बुद्धि तपाईंलाई कसले दियो हँ ? म धक नमानी यस प्रश्नको जवाफ दिन तपाईंलाई चुनौती दिन्छु । आयोजकले चमडीको थैलीमा दमडी हालेर रक्षकलाई सलाम ठोक्न तयार छन् भने तपाईंलाई केको खसखस ? जाँतोलाई भन्दा हातोलाई खसखस भयो भने हातो रस न बसको हुन पुग्छ भन्ने कुरा तपाईंले हेक्का राख्नुहोला ।
अर्को कुरीकुरी तपाईंलाई वाचकको लेनदेनसित छ । कति लाख, यति लाख, असी लाख दिए पाए भनेर उखरमाउलो गर्नुहुन्छ । अरे बाबा ! म फेरि पनि दोहोर्याउँछु – कोही पनि वाचक प्रव्राजकको जिन्दगी जिउन वाचक बनेको हुँदैन । शिर मुडाएको सन्यासी पनि होइन वाचक ! उसको पनि जिन्दगी छ, भविष्य छ, अनि उसले गला र कला सित्तैमा लुटाउनु ? वाचकले कमाउन, लाखका बिटा समाउन र ढुक्कसँग रमाउन पाउनुपर्छ । यो उसको संवैधानिक मौलिक हक हो भन्न म हिचकिचाउन्न, लुजा ! तपाईं कायर हुनुहुन्न भने यस्तो दावी गर्ने यस लेखकविरूद्ध हावी भएर नालिस दायर गर्नुस्, कसले छेकेको छ ?
कथावाचकको विदेशी लवजको पनि तपाईं उछितो काढ्न छाड्नुहुन्न । अब मुग्लानमै पढेर, बढेर, चिलगाडी चढेर घुमन्तेको रूपमा आउनेले विदेशी लवज नबोलेर के मण्डन देउपुरको काँठे लवज बोल्छन् त ? यहाँका शासकले त्यहाँका शासकलाई सत्ता पाउन वा जोगाउन सलाम ठोक्न हुने, नेपालमा जन्मिएका कथावाचकले विदेशी लवज ओँठमा झुन्ड्याउन नहुने ? छ महिना मुग्लान बसेर फर्किएको चाउरे पाराको लाहुरेले त – कोदो साले टुप्पामा फलता हे कि जरामा फलता हे भन्थ्यो रे । लाहुरेले भन्दा कैयौँ गुना बढी समय मुग्लानमा बिताएका भरभराउँदा वाचकले त्यसता लवज बोल्यो त के अनौठो भयो ?
तपाईं कि त कथावाचकको जलवा, रुतवा देखेर मख्ख पर्नुस् कि अमर्षले जलेर मर्नुस् तपाईंको किस्मत वा खिदमतको कुरा हो, मलाई चासो छैन । म त लागेँ फित्कौलीका मटेङ्रा बनाउन र बनेका मटेङ्रा सुमसुमाउन । जय कथावाचक !
०००
सन्धिखर्क तुम्कोट, अर्घाखाँची
रमाईलो नै लाग्यो,,,अझ यो विषम समयमा कथा बाचन गरेर बनाएको मुनाफाचाहि बाढि पिडित,,बेसहारा अनि स्वास्थ शिक्षा मा लगानि गर्न प्रेरित गर्न पर्यो लेखकले।मलाई त लाग्छ आफ्नो घरको गाईको दूध बेचेर बिदेशि रक्सि खाए जस्तो भो अहिलेको बाढि – पहिरो बिचको कोटिहोम।