भाउपन्थीसमयले देखाउला
समयले देखाउला भन्ने उत्तर नेताहरूले बढी प्रयोग गर्छन् तर खेदको विषय यो छ, तिनको समयले कहिल्यै सकारात्मक परिणाम देखाएको पाइएको छैन— सत्ता परिवर्तन हुँदासम्म ।

भाउपन्थी :
ऊ चियापसलबाट फुत्त बाहिर निस्क्यो र बाटो हिँड्दै गरेको अथवा चियाका लागि चियापसलभित्र छिर्ने विचार लिएको व्यक्तिलाई सोध्यो । सलाई सोधियो उसको नाम मानौँ कुमार हो, उसले होमा टाउको हल्लायो । नाम परिवर्तन जरुरी छ । कारण छद्म कुमार नामधारी व्यक्ति यो नै रहेछ जसले सरकारमाथि अनेक व्यङ्ग्य लेखेर नङ्ग्याउने गरेको छ यद्यपि नग्नता अश्लीलता हो भने सरकारका सन्दर्भमा त सत्तामा जो आए पनि नाङ्गिएकै हुन्छन् भने नङ्ग्याइरहुन जरुरी छैन । । त्यहाँ अश्लीलता नै श्लीलता हो । माने नाङ्गाहरू नै सरकारमा जान्छन् भनेपछि सत्तामा नाङ्गिएर सरमाउनुको कुनै सन्दर्भ नै रहँदैन । कुमार नामक व्यङ्ग्यकारले यो बुझेको छ तर उसलाई डर यो भयो, ‘तपाईं व्यङ्ग्यकार हो’ भनेर किटानीसाथ प्रश्न गर्नेले ‘हो’ भन्ने जवाफ पाएमा झम्टेर मुक्का ठोकिहाल्ने पो हो कि भन्ने डर थियो । कारण यो थियो समाचार आइरहेकै थिए, सरकारमा भएको पार्टीले करोडौँ रकम आफ्ना कार्यकर्तालाई हसुर्न बाँडेको छ । तिनै भत्ता खानेमध्ये यो पनि एक जना हो कि ? हाम्रो पार्टीका नेतालाई व्यङ्ग्य गर्ने भनेर कुटपिट सुरु गर्यो भने ? अर्कातिर भूकम्पपीडित, अग्निपीडित र बाढीपीडितहरू भोकैप्यासै खुला आकाशमुनि गर्मी, बर्खा र जाडोको दिन बिताउन बाध्य थिए ।
त कुमार नामक व्यङ्ग्यकार चियापसलभित्र छिर्यो । जति कडा व्यङ्ग्य प्रहार गरे पनि संस्कारैले चाम्रा र नाङ्गा सत्तासीनहरूलाई लज्जाबोध हुने हैन भनेपछि यो एउटा कार्यकर्ता पनि तिनैमध्येको होला । यसले धेरै गरे मलाई एकदुई वचनवाण हानेर छाडिदेला, किनभने चियापसलभित्र दुईचार ग्राहक अरू पनि थिए, तिनका अगाडि आक्रमणको सम्भावना थिएन । त्यसैले कुमार नामक व्यङ्ग्यकारको मनमा चिया पसलभित्र छिर्ने आँट आएको थियो । चियापसलभित्र उल्टै त्यही ‘तपाईं व्यङ्ग्यकार हो’ भन्ने व्यक्तिले चिया अफर गर्यो । तर बसेपछि सोध्यो, ‘तपाईंले व्यङ्ग्य कहिलेदेखि लेख्न थाल्नुभएको हो ?’ यो भने स्पष्ट र शिष्ट प्रश्न थियो जसलाई अन्तर्वार्ताका लागि सोधिएको भन्न सकिन्थ्यो । के यो अन्तर्वार्ता हो ? एक गिलाँस चियामा पूरै व्यङ्ग्यको इतिहास जान्ने प्रयास ? इतिहासको कुरा पछि तर अहिले उसकै लागि मात्र प्रश्न थियो— ‘तपाईंले व्यङ्ग्य लेख्न थालेको कति भो ?’ कुमार नामक व्यङ्ग्यकारले भन्यो— ‘भयो यस्तै दुई अढाई दशक ।’ सोध्ने मानिस छक्क पर्यो । कुमार नामक व्यङ्ग्यकारले सोच्यो, यसले मेरो बारे प्रशन गरेर कुनै अद्भूत तथ्य फेला पारेछ तर प्रश्न त सामान्य नै थियो तर यसरी आँखा विस्फारित पार्ने किन ? चिया आयो र पहिलो सुर्को तानियो ।
‘दुईअढाई दशक भनेको लामै समय हो । तर प्रसङ्ग मिलेकाले म एउटा प्रश्न गरूँ, तपाईं त राजनीतिमाथि व्यङ्ग्य लेख्नुहुन्छ, के तपाईंले गरेका व्यङ्ग्यले कुनै परिवर्तन ल्यायो ?’ कुमार नामक व्यङ्ग्यकारले अर्को सानो सुर्को तान्यो चियाको । व्यङ्ग्यकारले चिया फारु गरेर पिइरहेको थियो मानौँ उसले व्यङग्य लेखनमा कम शब्दले बढी व्यङ्ग्यात्मकता उत्पन्न गर्न चाहिरहेछ । तै व्यङ्ग्यकार सोच्न बाध्य भयो । प्रश्नकर्ता कुनै राजनीतिपीडित देखिएन । निकै फुर्तिलो र फ्रेस देखिन्थ्यो । गाउँमा खाइखेलेको लोकल भालेभैmँ । कुमार नामक व्यङ्ग्यकारलाई झ्वाट्टै दिन सकिने जबाफ त सुझेको हो तर त्यो जवाफले सबैलाई एउटै टाङोले सोरेभैmँ हुने थियो— ‘माने परिवर्तन के हुनु, एउटा भएको झिनो लाजसरमको धरो पनि फालेर नाच्न थालेका छन् राजनीतिका हर्ताकर्ता यद्यपि भनिन्छ सबै नीतिको मूलनीति राजनीति हो । अफसोस, यस नीतिलाई नै दूषित र भ्रष्ट पारिएको छ ।’ तर यो उत्तरले कोही पनि चोखा छैनन् भन्ने अर्थ लाग्थ्यो र केही बचेखुचेका जो सज्जन र इमानदार तर पीडित थिए तिनलाई अझ निराश र पीडित तुल्याउने थियो ।
कुमार नामक व्यङ्ग्यकारले अलि अस्पष्ट तवरमा भन्यो, ‘खै के भनूँ ?’ उसले उत्तरमा भन्न चाहेको थियो, ‘व्यङ्ग्य कुनै जादुको छडी होइन ।’ तर अर्को उत्तर कुनै छ कि भनेर चियापसलको कुनाकाप्चातिर दृष्टि दौडायो । सोध्ने व्यक्ति हाँस्यो, ‘लेखनमा जति तपाईं मौखिाकमा स्पष्ट र निर्भीक देखिनुभएन ।’ कुमार नामक व्यङ्ग्यकार आवेशमा आउनै खाजेको थियो तर बिहान देउथान अगाडि उभिएर हात जोेडेर गरेको ‘आवेशमा नआऊँ रिस नगरूँ’ भन्ने प्रार्थना सम्झियो । अनि शान्त भएर बस्यो । उसले भन्न चाहेको थियो, व्यङ्ग्य एक किसिमको क्राेध पनि हो, विकृति र विसङ्गतिहरूप्रति । उसले आवेश निल्नलाई चियाको ठूलै घुटेको पियो । ‘तर म एउटा कुरा भन्न चाहन्छु,’ व्यक्ति भनिरहेको थियो, उसको अन्तर्विचारहरू राम्ररी पढ्न सकेझैँ, ‘बिहानबिहान मन्दिर-देवालयहरूका देउताहरूको दर्शन गरेर सुखशान्तिको प्रार्थना-याचना गर्न छाडेर तपाईं किन व्यङ्ग्यतिर लाग्नुभो ? यस्तो तितो कामले मानिसलाई रोगी तुल्याउँछ । मनभित्र आवेश उत्पन्न गर्छ, आगोले झैँ पोल्छ, अन्याय, उत्पीडन, भ्रष्टाचार त राजनीतिको स्वधर्म भइसकेको छ भने व्यङ्ग्य लेखेर कति नै पो सुधार होला र ?’
व्यक्ति कुनै पण्डालभित्र प्रवचन दिन बसेको सन्तमहन्त जस्तो देखियो । तर सोचेर ल्याउँदा कुमार नामक व्यङ्ग्यकार त्यस व्यक्तिको भनाइमा एकछिन अलमलियो । वास्तवमा व्यङग्य लेखेर हुने के ? हुने त आखिर त्यही हो— राजनीतिले जे चाहन्छ । तर एउटा प्रयास जारी छ । अथवा एउटा आवाज जसले मधुरै भए पनि अन्याका विरुद्ध मानिसको विवेक जीवित छ भन्ने जनाउ दिन्छ । यसै सन्तुष्टिलाई लिएर कुमार नामक व्यङ्ग्यकारले गिलाँसको बाँकी चिया तुर्यो । ‘चिया सेलायो कि ?’ उसले गिलासको जम्मै चिया तुरेको देखेर व्यक्तिले सोध्यो । ‘सेलाएको व्यङ्ग्य प्रभावकारी हुन्न ।’ व्यक्ति अलिकति हाँस्यो र भन्यो, ‘हैन म गर्छु आग्राका कुरा तपाई सुन्नुहुन्छ गाग्राका कुरा । तैपनि कुरा उद्धरणयोग्य छ ।’ ‘कुरा हाम्रा उद्धरणयमोग्य हुँदैनन् मित्र, ती राजनेताका हुन्छन् जसले मुखले सही कुरा गरिहाले पनि कामले मुलुकैलाई लज्जित तुल्याइरहेका हुन्छन् ।’ व्यक्तिले पनि कति कुरा काटिरहनु भनेझैँ गरेर भनिदियो, ‘राजनीतिबाट आजित आइयो । गरौँ भने कहीँ नपुगिने तर नगरी पनि नहुने । नेताहरू नभई पनि नहुने भएका नेताहरू कहिल्यै नसुध्रिने ।’ सुध्रिने कुनकुन कुरामा हो त्यसको फेहरिस्त व्यक्तिले प्रस्तुत गरेन । एकदुइटा भए पो !
‘अहिले तपाईंलाई आरामै छ ?’ कुशलक्षेमका लागि औपचारिकता राख्न व्यक्तिले सोेधेको थियो । कुमार नामक व्यङ्ग्यकार हाँस्यो र भन्यो, ‘यो औपचारिकता किन पूरा गर्नुपर्यो मित्र । चिया खुवाइसक्नुभयो । केही प्रश्न पनि गर्नु नै भयो, तिनको उत्तर ठिकसँग पाउनुभएन । त्यो मेरो कमजोरी हो तर व्यङ्र्ग्यकार शारीरिक रूपमा कमजोर भए पनि मानसिक रूपमा कमजोर हुँदेन । कारण जे होस्, केही शक्ति त होला साँच्चो र खरो कुरा गर्ने व्यङ्ग्यमा । तर यो नठान्नुहोला म एकदम खरो र साँचो बोल्ने व्यक्ति हुँ ।’ व्यक्तिले एकछिन सोचको मुद्रा बनायो, भन्यो, ‘व्यङ्ग्य लेखेर इमानदार हुन सकिन्छ ? अर्को थप म यो भन्न चाहन्छु, इमानदार व्यक्तिले नै खरो व्यङ्ग्य लेख्न सक्छ वा व्यङ्ग्य लेखेजस्तो आचरण त्यो व्यङ्ग्य लेख्ने व्यक्तिको हुन्छ ?’
‘अब यो कुराको जबाफ मसँग छैन,’ कुमार नामक व्यङ्ग्यकारले भन्यो र प्रब्नले कुर्सीबाट खेद्न लागिए जुरुक्क उठ्यो, ‘यो त समयले देखाउला ।’ अनि निस्किहाल्यो । समयले देखाउला भन्ने उत्तर यस्तो थियो कि हरेक समय व्य्ग्यकारको पछिपछि लागेर उसको व्रिmयाकलाप उसको बोलीवचन र व्यवहारको चियो गर्नु पर्यो कि उसले लेखेको व्यङ्ग्यलाई नै पढेर चित्त बुझाउनु पर्यो । चित्त नबुझेमा सम्पादकलाई चिठी लेखेर मन्तव्य प्रकट गर्नुपर्यो । तर कुमार नामक व्यङ्ग्यकार यस मानेमा सन्तुष्ट थियो, ‘त्यो समयले देखाउला’ भन्ने उत्तर दिएर उसले राजनीति गरेको छ । किनभने समयले देखाउला भन्ने उत्तर नेताहरूले बढी प्रयोग गर्छन् तर खेदको विषय यो छ, तिनको समयले कहिल्यै सकारात्मक परिणाम देखाएको पाइएको छैन— सत्ता परिवर्तन हुँदासम्म । तर झन् गहिरो खेदको विषय यो छ, सत्ता परिवर्तनपछि आउने अर्को नेताले पनि यही नै भन्छ— ‘त्यो त समयले देखाउला ।’ समयले देखाएको कुन नेताले देख्ने गर्यो र ? प्रश्न यही छ । त्यही सोच्दै व्यङ्यकार मुसुक्क हाँस्यो— आफ्नो उत्तर पनि त्यही भएकोमा— ‘त्यो त समयले देखाउला ।’
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































