सारी लाइदेऊ न नारी
शङ्का लाग्दैमा मेरो लङ्का जलाउन नतम्सनुहोला । बरु सम्भावना छ भने यी पंक्ति मैले नै लेखाएको हुँ भनेर सारी व्यापारीसित शुभलाभका लागि मोलतोल गर्नुहोला, रकम धुत्नु होला ।
युगल बसेल :
यो शीर्षक सुनिन् वा पढिन् भने मेरी दयालु श्रीमती तीन बित्ता उफ्रने छिन् र एक दनक मेरो घुच्चुकमा दिँदै कुर्लने छिन् – “तिमीलाई फुले बूढा, जडौरीको टिसर्ट लगाएर धुरी खुइलिएको बूढो साँढेझैँ लखर लखर गल्ली गल्लीमा हिंड्दा मैले “बूढो ,लाइदेउ न भोटो ” भनेर कहिले कहिलै भनिनँ । तिमीले भने सारी लाइदेऊ नारी भन्ने राग अलाप्ने ?”
त्यति सुनेपछि अस्पतालको शरण लिन चरण लम्काउनु नपरोस् भनेर लुते बिरालो भई लुरुक्क लाचार मुस्कान फ्याँक्दै उनका आँखाबाट ओझेल पर्नुबाहेक मेरा लागि उपाय नास्ति । त्यति थाहा हुँदाहुँदै पनि छाती थन्काएर कलम फन्काउँदै यी पंक्ति कोर्न उद्यत हुने म लठुवा लेखुवाको बहादुरीलाई पाठकले छड्के सलाम गर्नुहुनेछ भन्ने धृष्टतायुक्त आशा त म राख्दिनँ तर थोरैधेरै स्याबासीको भिख माग्न भने पछि पर्दिनँ।
मेरी आमाको पुस्तासम्मका नारीलाई कसैले सारी लाइदेऊ भनेर कर गर्न वा आव्हान गर्न परेन । छिटको गुन्यु र टोपरेलको चोलो लगाएर आमा, बज्यै, जिजु बजैहररूले मेलापात गरे भने मखमली चोली र फाइबरको सारी लगाएर राम रमिता भरे, पर्व उत्सवहरूमा ढल्किए ।
सारीको महिमा कति गारत थियो भन्ने कुरा भनेर भनि नसक्नु र लेखेर लेखी नसक्नु छ। ´चोली दिउँला मखमली सारी दिउँला फाइबर, मै हुँ कान्छी रेलको ड्राइभर` भनेर युवाहररूले युवतीप्रति चासो राख्दै पासो थाप्थे।
आफू अलि कुर्कुरे बैंसको उमेरमा पुगेपछि सारीसित सरोकार राख्ने गीत सुन्दा काउकुती लाग्न थालेको थियो। ´जान्नँ म त तरकारी बारीमा, हिलो लाग्छ नाइलनको सारीमा` भन्ने गीत नुवाठेहरूले सुरिलो भाकामा फलाक्दा आफू झुसिलकीराजस्तो भए पनि पुतलीजस्ती युवती बुट्टे सारी लगाएर नजिकै बसी मलाई जिल्ल पारिराखेकी छिन् कि जस्तो भान हुन्थ्यो । अहिले त तरकारी फल्ने बारीलाई कि घरैघरका धुरीले ढाकिसके कि बाँझिनाले बुकी छापिइसके । आफू पनि साठी काटेकाले लाटीलाई पनि चियाउन नहुने वयमा पुगियो ।
मैले कलेजमा पढ्ने बेलासम्म पनि सारीको खुमारी घटेको थिएन । हामीलाई पढाउने एकजना महिला प्राध्यापकसँग भकारीभरि सारी छन् र उहाँले महिनाभरि नै कुनै सारी दोहोर्याएर पहिरनु पर्दैन। उहाँको सवारी हरेक दिन फरक सारीमा हुन्छ भन्ने अनुसन्धान एकजना मेरा विवेकशील विश्लेषक सहपाठीले गर्ने गर्थे ।
अब त गीत पनि सारीको ठाउँमा अर्कै पोसाकका गुञ्जिन थाले। ‘मैले पनि पाटियाला कुर्ता सिलाउँछु’ भन्दै राम्राराम्रा पारी भएका सारीलाई खोलापारि तारी कुर्ता सुरुवाल, लहँगा, वान पिस र टाइट पाइन्टमै सजिन युवती पुस्ता उद्यत छन् ।
सारीलाई नारीको बन्धनकारी वा प्रगतिकी तगारी भनेर कसले ठहर गर्यो कुन्नि भन्ने गथासो मनमा खेलाउँदै र थरथराउँदै सारी प्रेमीले दिल भारी बनाइराखेका छन्।
‘झन् तल झार्यो झन् माथि सर्छ, हाइ मेरो फरिया’ भन्ने गीत सुनेर हो कि आजको पुस्तालाई सारीको फन्कोले नेलको झल्को दिन थालेको छ। सारी लगाएर संग्राम जितिन्न भन्ने अवधारणा बलियो हुँदै गएको छ । गर्दागर्दै अब छोरी नौ दस वर्षकी भएपछि रजोवती नहुँदै पूर्वी नेपाली भागमा गरिने गुन्युचोलीको रिवाज स्विमिङ कस्टमको रस्मले लिने हो कि भन्ने अड्कलबाजी डेडअक्कलीहरूले गर्न थालेका छन्।
´केको चोली सारी, अब त नारी पुरुष बराबरी` भनेर महिलाहरू रन्किँदै र फन्किँदै ´कहाँको सारी लाउँला, बरु पाँसुलाहरूमा टिपिक्क जिन पाइन्ट टाँसुला` भन्ने कुरामा सर्वसम्मत भइसकेका छन् । गणतन्त्र ल्याउन गनपर्यन्त समातेर मोर्चामा डटेका नारीको रोजाइलाई होच्याई वा बाधा पहुँचाई अर्घेलो हुने हिम्मत कसको ?
साडीमा सहजता छ, शालीनता छ, शिष्टता छ, सुन्दरता छ भनेर जतिसुकै सारीप्रेमीले फलाके पनि, बखान गरे पनि वा वकालत गरे पनि अथवा बगावत गरे पनि आखिरमा थकावटले उसलाई थलिनै पर्छ। काग जति कराए पनि पिना सुक्दै नै जाने हो । गुन्युचोलीमा नेपालीको पहिचान छ भनेर गलफती गरौं वा संस्कृति मासिने, विकृति टाँसिने नौबत आयो भनेर खुराफाती गरौँ त्यो बेमौसमी राग मात्रै साबित हुन्छ ।
अब त सारीमा सजिएका नारी भेट्नका लागि तीज, बिहे बटुलो, पूजापाठमा टुकी लिएर टुप्लिकिनुपर्नेछ। असी नाघेर समाधि लिन तमतयार नारीसमेत ´नो सारी` भनेर राँके जुलुसमा धक्दै र लौरो टेक्दै नारा घन्काउन तम्सिने हुन् कि भन्ने आशंका पनि पलाउन थालेको छ। सारीको खातिरदारी गर्दै यसको पक्षमा कुरा उठाउनेहरूका नौनारी गल्दै गएका छन्।
सारी चोलीको गरिमालाई, महिमालाई चुली कसरी चढाउने भन्ने चिन्तन वा गन्थनमन्थन कतै छैन । बरु अमुक नायिकाको ड्रेसअप मनपर्यो, त्यस ड्रेसमा जिउ हुलिहालौं भन्ने अठोट बलियो हुँदै गएको छ।
नौबत यस्तो आएको छ कि नयाँ पुस्तामा सारी पहिरिने कलाको काबिलियत नै छैन। सारी सोमर्नका लागि सानका साथ खेताला डाकिन्छ । विशेष अवसरमा त परनिर्भर हुँदै ब्युटी पार्लरकी क्युटी गर्ललाई मोटो रकम बुझाएर कजाउनैपर्ने अवस्था छ। हुन त परनिर्भरता हाम्रो नियति नै भइसक्यो। राजनीति, रासनपानी, रोजमर्राका कुराकानी यानिकि हावापानीबाहेक सबै थरी कुरामा हामी परनिर्भर हुँदै गएका छौँ । त्यसैले अचम्म मान्नुपर्ने अवस्था पनि छैन।
अन्तर्राष्ट्रिय ख्याति कमाएका नारीहरू मेरी क्युरी, सिरिमाओ बन्दरानायके, आङसाङ सुकी, तस्लीमा नसरिन, बेनजिर भुट्टो, एन्जेला मार्केल, मार्गरेट थ्याचर, हिलारी क्लिन्टन, मदर टेरेसा, पर्ल एस बक, सेख हसिना वाजेदहरूले आफ्नो परम्परागत पोसाकलाई सुली चढाएर चुलीमा पुगेका हुन् कि आफ्नै परिधानमा सजिएर अग्रगमन गरेका हुन् भन्ने खुल्दुली मेरो दिमागमा बिजुलीझैँ कुद्नाले हालैकी बङ्गलादेशी हसिनाको पसिना ममा सरेजस्तो भएको छ तापनि अनुसन्धान गरेर विद्यावारिधि हासिल गरी सलाम खाने आँट हिम्मत भने जुटाउन सकेको छैन। यो सुनौलो मौका म सारी विरोधीलाई नै सुम्पिन चाहन्छु।
रूपवती, रूपखती,मानवती, बेइज्जती, निन्द्य, वन्द्य, चञ्चली, मनछली, नक्कली, अग्ली, पुड्की, दुब्ली, मोटी, थसुल्ली, कल्सौँदी, गोरी, काली नेप्टी, चेप्टी, हाँडीघोप्टी, मुखाली, छुरमुखी, हँसिली घुसघुसी, फत्यौरी, कुरौटी, बझौटी, लज्जावती, नखर्माउली, कुप्री, ओथारे, अल्छी, जुकी, पौरखी, जाँगरिली, लाछी पत्यारिली, धोकावाली, विदुषी, मूढी, मनकारी, दानी किरन्टोकी, सोमती, दुर्मती, पवित्र, शिष्ट, उच्छिष्ट जोसुकैलाई सुहाउने, न साँगुरो न धोक्रे हुने, न जिउ कस्ने, न जिउमा हुरेल्दा वा फुकाल्दा पसिना खस्ने, अत्यन्त उपयोगी र सरल पोसाक सारीलाई मन पारी पारी लाउनुपर्नेमा भैँसीलाई सिङको भारी नभए पनि घरबारकी महिषी (पटरानी)ले किन सारीलाई गह्रौँ भारी ठहर्र्याई पर सारी बस्नुपरेको होला, र पराईका पोसाक वर पारी किन भकारी भर्नुपरेको होला भन्ने कुरा मजस्ता हरिलठ्ठक अल्प गिदीवालाले खोज अनुसन्धान गर्न सकेका छैनन् ।
नजिकका तीर्थलाई हेला गरी पराईका धाम धाएर घाम ताप्ने बानी परेका हामी पराईप्रेमीलाई बराल्न वैदेशिक गुप्त शक्तिको पक्कापक्की हात छ भन्ने म निर्धोको ठहर छ। विदेशी शक्तिसँग बगावत गर्ने क्रममा कप्तान किन्लक र उसका २४०० सानवाहन जस्ता वैदेशिक शक्तिलाई धोबी धुलाई गर्दै वि.सं.१८२४ मा सिन्धुलीगढीबाट धपाएको र तिनलाई कालापानी पुर्याउने सुरा हाम्रै पुर्खाका गोर्खाली हुन् भन्ने ऐतिहासिक प्रसङ्ग कोट्याऊँ भने मेरा बाजेले घिउभात खाए मेरा हात सुँघ सुँघ भनेर बेसुरको राग गाएको, धाक लाएको वा हर्रो नपाउने जोगी जाइफलको भोगी हुन हतपताएको खतबात लाग्न सक्छ । त्यसैले मैले मुख खोल्न सकेको छैनँ । मुख खोल्न नसके पनि घस्रीपस्री कलममा मसी घोल्न भने छोडेको छैनँ ।
मलाई उर्लापात शङ्का के लागिरहेको छ भने गाडी नपुगेका ठाउँमा पुगेका मारवाडीको साडीको व्यापार प्रवर्द्धन गरेर धनका बिटा समाउन पो यो सारीवादी नकाबधारी धुन्धकारी लेखुवा अक्ष र कोर्दै अगुवा भएको हो कि भन्ने शङ्काले ग्रसित भएका यो लेख पढैयालाई मेरो लङ्का जलाउन दुरुत्साहित पो पार्ने हो कि ? मेरो दसौँली बिन्ती के छ भने शङ्का लाग्दैमा मेरो लङ्का जलाउन नतम्सनुहोला । बरु सम्भावना छ भने यी पंक्ति मैले नै लेखाएको हुँ भनेर सारी व्यापारीसित शुभलाभका लागि मोलतोल गर्नुहोला, रकम धुत्नु होला। मलाई मात्र मसीको मोल दिए पुग्छ,धुतेको धन अरू सबै आफै कुम्ल्याउनुहोला। मसीको मूल्य निर्धारण गर्दा यी अक्षरहरू सुन पगालेर बनाइएको असाध्यै महँगो स्याहीले लेखिएका हुन् भन्ने हेक्का राख्न भने नबिर्सनुहोला ।
पुछारमा मेरो विवेचनापछिको निष्कर्ष, निचोड र याचना यही छ – सांस्कृतिक पहिचान जोगाउने, स्वाभिमानमा रमाउने, पराई चलनलाई पन्छाउने तयारीका लागि सारी पहिरिनु जरुरी छ । त्यसैले म आह्वान गर्छु – सारी लाइदेऊ न नारी ।
०००
तुम्कोट, सन्धिखर्क-१, अर्घाखाँची
सान्दर्भिक लेख।राम्रो लाग्यो।
दौरा शुरवाल र कोट लगाएर लेख्नु पर्यो नी दौरा शुरवारको महत्व !!हाम्राबाका कछाड र भोटा बासंगै हराएजस्तो भाछ यिनलाई कहिलेकाही त संझनुन हो दाजु ,🙏😍