चूडामणि रेग्मीदुविधे महाभारत गफ !
फडी लेखक हो, यसैले उसका ठगेर जमौँ र उँभो लागौँ भन्ने उसका भावना उसबाट हराएका छन् । यसै गरी यहाँ शिर ठाडो पारौँ नत्र त भास्सिने भइयो भन्ने भावना फुरेकाले जानेसम्मको कलमे सिपद्वारा यहाँ केही अति भयो ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
महाभारत भ्रष्टाचार ! महाभारत गफ !
आजको जुगमा पनि महाभारतका कुरा प्रशस्त छन् । जान्नेहरू ठुला भ्रष्टाचारलाई ‘महाभारत भ्रष्टाचार’ भन्छन् । गलैंचाकाण्डदेखि पञ्चायतका रकम हडपकाण्डसम्मका ‘महाभारत भ्रष्टाचार’ यहाँ अनगन्ती छन् । भ्रष्टाचार गन्नु र तारा गन्नु एकै भएको छ आज । यस्तो बेलामा गफडीका ‘महाभारत भ्रष्टाचार’ पाठकले न पढी नै साध्य होला, न बुझी नै साध्य होला ! अचेल त्यसैले ‘महाभारत भ्रष्टाचार’ का गफ भए भने त्यस्ता गफलाई सर्वसाधारण दाल-भात जस्तै स्वाभाविक मान्छन्, त्यसैले नै गफडी सुझाउ दिन्छ- हे इमान्दार ठान्नेहरू- इमान्दार हुँ भनी हात नफैलाउनोस् तपाईंको इमान्दारी महाभारत फोहोरले दुर्गन्धमय भइसकेको छ । इमान अब एक प्रकारको आडम्बर भएको छ, इमान एउटा असम्भव जस्तो कुरा भएको छ । इमानदारी स्वाङ मानिन्छ, ढ्वाङ मानिन्छ । यिनै कुराले होला गफडी यदाकदा द्विविधा महामहोपाध्याय बन्छ ऊ इमान्दार बनी इमानमा हिँडोस् वा हिँड्ने सल्लाह देओस् वा युगीन महाभारतको वीर अर्जुन बनी दुवै जेव गरम गरोस् ! जेव गरम भए मात्रै चेस्मा ढल्काउन पाइन्छ, बिल्डिङ पनि ठड्याउन पाइन्छ, कार कुधाउन पाइन्छ- जी, ज्यू, बाट ‘बाबु’ हुन पाइन्छ । ‘साधारण’ बाट ‘विशिष्ट’ वा भी.आई.पी. हुन पाइन्छ । जान्ने-बुझ्नेवाट बुज्रुग हुन पाइन्छ । महाभारतको युधिष्ठिर हुने भए पाताल पुगिने हुनुपर्छ । वीर अर्जुन-घुस्याहा भएर मात्र हुन सकिन्छ, महान् श्रीकृष्णभक्त !
श्रम बगाउनेका कथा-व्यथा
यदा-कदा गफडी यहाँ सुन्छ, श्रम बगाउनेका कथा । यो कपोलकल्पित लाग्ने कथा सुनेर गफडी छक्क पर्छ । यस मरुभूमिमा यस्ता कुरा कताबाट उठ्छन्, त्यसमा पनि गफडी छक्क पर्छ । यहाँ अझ पनि मान्छे छन् श्रमको कदर गर्ने ? समाजसेवीको कदर भएन भनेर समाजविरोधी भई डुक्रिने ठाउँमा श्रमजीवीका कुरा हुनु आकाशकुसुम लाग्छ गफडीलाई । यहाँ मर्नेले मर्नुपर्छ र वाँच्नेले बाँच्न पाउनुपर्छ- गफडीले देखेका कुरा यहाँ बाबुसाहेव हुन सक्नेले नै चस्मा ढल्काएको सुहाउँछ । हे श्रमजीवी ! तिमी सडेर जाऊ, खेर जाऊ, कुनै अवस्थामा तिमी उपल्लो तहमा नपुग । यही नै युगको माग हो । यस्ता कुरा हुँदा गफडी दुविधामा पर्छ र एक मन भन्छ- वास्तवमा, ठगी गफ छाँटी समाजसेवीको पगरी गुती भुँडी फुलाउनका सट्टा श्रम बगाउनु गफडीको भुल हो । अरूको पनि यसो गर्नु भुल हो ।
ठग ! सकेसम्म ठग !
आजको समय भन्छ- आजका मानिसहरू भन्छन्- हे नयाँ जुगका मान्छेहरूहो ! तिमीहरू ठग, बेस्मारी ठग, जेभ भर । चाहे छ दशक लामो साहित्यसेवाको नाममा, वा केही लेख लेख्न जानेका नाममा, चाहे गरेका वा नगरेका नाममा, अथवा पत्रकारिता गरेका नाममा, त्यसबाहेक राजनीति गरी कुरा जोतेका नाममा सर्वप्रथम तिमी ठग । बस, यसैबाट तिम्रो कल्याण हुन्छ । यही भन्छन् आजका ठगहरू । कतिपय प्रबुद्धले टोपी ढल्काएका छन्- राम्ररी ठग्न जानेको कारणवाट । ठग्न नजान्नेहरू ! तल्लो पदमा वा तलका कुर्सीमा सधैँभरि बस । तलका जनतासँगै बस । हे अठगहो, ठग्न जानेकादेखि थिचिएर तिमी सदा तलै पर ।
पातमा पात ! बातमा बात !
माथिका कुरा गफडीलाई पातमा पात भए झै बातमा बात हुँदा फुरे । गफडीले ठग्न नजानेर उसले ऊजस्ता मान्छे ङिच्चिएको र थिचिएको अनुभव गरेको छ, यसैले गफडी आज पनि तथाकथित जमिन्दारीबाट छक्क परेको छ । नफक्रिएको कोपिला जस्तो उसको इमानदारिता त्यसै अलपत्रिएको उसलाई अनुभव हुन्छ । ऊभित्र बसेको उसको ठग्न नसक्ने सोमोपन उदास-उदास छ । गफडी लेखक हो, यसैले उसका ठगेर जमौँ र उँभो लागौँ भन्ने उसका भावना उसबाट हराएका छन् । यसै गरी यहाँ शिर ठाडो पारौँ नत्र त भास्सिने भइयो भन्ने भावना फुरेकाले जानेसम्मको कलमे सिपद्वारा यहाँ केही अति भयो । यतिमै आफ्ना मनमा लागेका सम्पूर्ण कुरा गफडीले पोखिदियो । पातमा पात र बातमा बात भएझै धेरै कुरा गफडी अझ पनि गर्न सक्छ, तर आजलाई यति नै । आगे फेरि ।
०००
युगज्ञान वर्ष ११, अङ्क १८,२०३६
‘गफडीका गफ’ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































