अशोककुमार शिवापाउनु खानु नास्ती पगरी गुथ्यो पाँच गज
नृत्यको प्रकृति अनुसार ठाउको पनि केही महत्व होला तर पनि टेडो आँगनले केही असर पुर्याउँदैन भन्ने चाहिँ पक्का हो । एक त आँगन भन्ने बित्तिकै त्यस्तो सानो हुँदैन नै । राम्ररी नृत्य गर्न जान्नेले खाटमै पनि भाती पुर्याएर नाच्छन् र दर्शक सन्तुष्ट पार्छन् ।

अशोककुमार शिवा :
यो पगरी भन्ने चिज पनि अचम्मकै हुँदोरहेछ । पाउँदा नि गाह्रो, नपाउँदा नि गाह्रो । ठूला काम गरेर ठूला पगरी लगाउनेहरूले पगरीको भार कसरी सजिलै बोक्दा हुन् ? कुनै कुनै पगरी त व्यहोर्नु यति धेरै गाह्रो हुने रहेछ कि के भन्नु ? टाउकोले थाम्नै नसक्ने ।
हैन फेरि लाएको खाएको पाएको केही भए त असली पगरी होस् कि आरोपित पगरी होस जसरी पनि व्यहोरिन्थ्यो नि । “पाउनुखानु नास्ती पगरी गुँथ्यो पाँच गज ।” नून नूनिलो हुन्छ, चिनी गुलियो हुन्छ, मह गुलियो हुन्छ अनि घ्यु मिठो हुन्छ सबैले सुनेका छन् र खानेले स्वाद पनि पाएका छन् । खाली सुनेको तर नचाखेकोले कसरी स्वाद पाउछ र ? चिनी र मह नखानेलाई चिनी मह चोर आरोप लाग्यो भने के हुन्छ ?
घिउ हेर्दै त्यसै खाउँखाउँ लाग्ने हुन्छ र मीठो पनि हुन्छ तर मिठो हुन्छ भनेर धेरै खायो भने त अर्को उखपात पो मच्चिन्छ त उस्तै परे परमधाम पुग्न बेर लाग्दैन । चिनी, मह र घ्युको सामिप्यतामा रहनेले ती चिजहरू खान्छन् नै भन्ने केही ग्यारेन्टी हुन्न ! ऊ आफुले नखाई कनै कुनै आरोप लाग्छ भने उसले कसरी सहन सक्छ । बेफ्वाँकमा पाइएको पगरी चाहिएन त भनिन्छ तर फलानोले यस्तो पगरी गुँथ्यो रे भनेर बजारमा व्यापक हल्ला भयो भने त नलगाएको पगरी पनि स्तम्भ बनेर रहन सक्छ ।
मानिसले कतिपय राम्रो चिताएर गरेको काम अथवा व्यवहारले पनि कहिले काही वक्र रेखा समाउन सक्दोरहेछ । यस्तो वक्ररेखीय पगरीले थिच्दा त झनै श्वासप्रश्वास नै रोकिएला झै पो हुन्छ त । “नक्कलीलाई भगाई लग्यो झिल्केले झिल्केलाई तालपर्यो तिमी हामी सोझालाई व्यर्थैमा गालपर्यो” बोलको लोकगितलाई व्याख्या विश्लेषण नगरी सुनेर मात्रै बसे केही अर्थ लाग्दैन तर त्यसको खास मर्मलाई विचार गर्दा गाउँकी नक्कली मैयाँ सधैँ वरपरको दाइभाइसँग वरपर हिँडीरहँदी रहिछे । सधैँ तिनैको वरिपरी रहिरहँदी रहिछे । एकदिन पल्लो गाउँको झिल्केले ललाइफकाई भगाइदिएछ । अब पर्यो बित्यास ति सोझासाझा दाइभाइलाई । नक्कलीको बाआमा अनि सन्तानले जहिल्यै तिनै गाउले सोझा दाइभाइहरू माथि वक्रदृष्टि लगाएर नाना आरोप लगाउँदा रहेछन् । यस्तै पिरलो परेपछिको पीडा निस्केको हुनुपर्छ गीतमा ।
नक्कली आफ्नै परिवार र सहपाठीहरूलाई समेत छलेर पल्लो गाउले झिल्केसँग लहस्सिँदिरहिछ क्यार ? के थाहा ति बबुराहरूलाई । उनीहरू चाहिँ आफ्नी गाउँघरकी चेलीबेटी भनेर मरिमेट्ने तर अन्तिममा दोष व्यहोर्ने हैट, यस्तो नि कहीँ हुन्छ ? फेरि झिल्केले लगेकै हो नक्कली झिल्केसँग भागेकी हो कि होइन के थाहा ऊ कतै अल्मलिएर अल्झिएकी पो हो कि ? यसको अध्ययन नगरी कस्को काम हो कसरी थाहा हुन्छ ?
“तिमी हामी भनेपछि हुरुक्क तिनी हुन्थिन् रे दुईचार दिन कतै गए सम्झिसम्झी रुन्थिन् रे” । होला नि त साथीभाइको न्यास्रो त लागिहाल्छ नि । हुरुक्क हुनु र सम्झेर रुनु कुनै अनौठो हो र ? नेताहरू कमिसन कता पाइन्छ कति पाइन्छ भनेर र्याल काड्दै चार तिर लप्लपाए जस्तो हो र ? यही कमिसन नै पनि र्याल काड्नेले भेट्नु अघि अर्कैले चट्काई दियो भने विचरा र्याल काड्नेको दौरा भिजेको दागले इज्जतको बबण्डर पार्छ ।
“खेल खेलाडीका माल मदारीका” यो अर्को गज्जबको उखान खेलाडी खेल्यो खेल्यो माल बटुल्ने बेला मदारीको कन्तुरोमा । बिचरा बादर साङ्लामा जकडिएर नाचेर खेल देखाउँछ पैसा बटुल्ने चटकी मदारी । बिचरा बाँदरले खान पनि पेटभरि पाएको होला नहोला तर खेल देखाउन भने अलिकति पनि कन्जुस्याई गर्न पाउँदैन ।
“नाच्न नजान्ने आगन टेडो” कहिलेकाहीँ नाच्न नजान्नेहरूले आगनलाई दोष दिएर उम्किन खोज्छन् । जवकी नाच्नलाई आँगनको आकार प्रकार सानोठूलोसँग कुनै सरोकार हुँदैन । आफू नाच्नु जान्नु छैन आँगनलाई किन दोष दिने होला ? हो कहिलेकाहीँ नृत्यको प्रकृति अनुसार ठाउको पनि केही महत्व होला तर पनि टेडो आँगनले केही असर पुर्याउँदैन भन्ने चाहिँ पक्का हो । एक त आँगन भन्ने बित्तिकै त्यस्तो सानो हुँदैन नै । राम्ररी नृत्य गर्न जान्नेले खाटमै पनि भाती पुर्याएर नाच्छन् र दर्शक सन्तुष्ट पार्छन् ।
यस्तो नचाहिने पगरी गुथ्नु भन्दा नगुँथेकै जाति हैन र ? सबैले बुझ्नु र अरुलाई समेत बुझाउनु पर्ने कुरा हो नि यो कि कसो ?
पुनश्चः “पाउनुखानु नास्ती पगरी गुथ्यो पाचगज” ।
०००
गल्कोपाखा, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest








































