साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सलह-त्रासदी र मेराे देश

नजिकिँदा-नजिकिँदै सलहहरू आफ्नै टाउकाको वरिपरि मडारिन आइपुगेको चाल पाएर म अत्तालिन्छु कहालिन्छु र मुटुभरि सलह-सन्त्रास बोकेर थुरथुर कामिरहन्छु ।

Nepal Telecom ad

मोहनराज शर्मा :

अचेल सधैँ म उही र एउटै सपना देख्छु । सपना के भने म कुनै ठूलो शहरको व्यस्त सडकका माझमा उभिएको छु । म बीचसडकबाट कि वार कि पार जान चाहन्छु तर मेरा दुवै आँखा टम्म बन्द छन् । खोल्न भरमग्दूर गर्दा पनि ती मरेकाटे उध्रिँदैनन् । म आत्तिन्छु, कहालिन्छु र मुटुभरि कुनै द्रूत गतिको गाडीले घातक ठक्कर दिई आफूलाई धूलोपीठो पार्ने सन्त्रास बोकेर थुरथुर कामिरहन्छु ।

रिट्टो नबिराई यही सपना दिनका दिन देख्दा देख्दा म हायलकायल भएको छु । सपनाको एकरसताले उब्जाएको वाकवाके खिन्नता बोकेर म आफ्ना परम मित्र डा. धनञ्जयप्रसाद कस्केलीकहाँ पुग्छु । उनी मनोवैज्ञानिक स्वप्नका धुरन्धर ज्ञाता हुन् । म आफ्नो सपना बेलिबिस्तार लगाएर उनलाई सुनाउँछु र उनको उत्तरको प्रतीक्षा आतुर भावले गर्छु ।

सपना सुनेर मेरा विद्वान् मित्रले दुवै हातका दसै नङ्ग्रा खियाएर आफ्नो खुइलिएको तालु कन्याउँछन् र ठसठस कन्दै दराजबाट पुस्तकको ठूलो ठेली झिकेर पल्टाउँछन् । उनी केही बेर यो पाना र त्यो पानामा छापिएका शब्दब्रह्मसँग पौँठाजोरी खेल्छन् अनि गर्वोन्नत टाउको झन् बढी उचालेर रहस्यपूर्ण पाराले मतिर हेर्छन् र बोल्नलाई ठूलो हाब्रो खोल्छन् ।

डा. – तिम्रो सपना चानचुने सपना होइन, मोराश । आजसम्मको सकल मनोवैज्ञानिक सोधखोजको निचोड के हो भने यस्तो सपना देख्ने व्यक्ति छिट्टै नै नेत्रहीन हुन्छ ।

म – ककककके ?

डा. – त्यसरी नडराऊ न, अलिकति होश राखे पुग्छ भन्या ।

म – होश त अलिकति होइन धेरै पनि राखौँला रे, तर कहाँकहाँ पो होश राख्नु ।

डा. – तिम्रो सपनाअनुसार तिमीले सर्वप्रथम बस, मिनिबस, ट्याम्पो आदिमा आउँदाजाँदा सारै होश पुर्‍याउनु पर्छ है ।

म – किन ?

डा – अचेल यस महानगरका अनाथ सडकहरू भ्वाङ परेर ठूलठूला खाडलका अटूट श्रृङ्खलामा परिणत भएका छन् । मित्र, यस्ता भ्वाङ-प्वाले सडकमा पीड खेल्दै मच्चिएर गुड्ने वाहनहरू कहीँ पनि पल्टिन सक्छन् र तिम्रा आँखा ब्यालुन झै प्याट्ट फुटेर तिमी अन्धा हुन सक्छौ ।

म – त्यो त हो, अचेल बाटाघाटाको सारै बिजोग छ ।

डा – अनि अचेल यस महानगरमा जुलुस र प्रदर्शनको बाढी आएको छ, तिनबाट पनि जोगिन ।

म – तिनबाट मेरा आँखालाई के खतरा ?

डा. – के खतरा होइन ठूलै खतरा छ । सुन मित्र, यस्ता जुलुस र प्रदर्शनको सुरक्षाका लागि पुलिसले प्रायः बाध्य भएर भीडमा लठ्ठी प्रहार गर्नु पर्छ, अश्रुग्याँस छाड्नु पर्छ अथवा केही चक्र गोली नै पनि चलाउनु पर्छ र दुर्भाग्यले कुनै एउटा गोलीको तारो तिम्रै आँखा पनि बन्न सक्छ ।

म – ठीक भन्यौ, अचेल यस्ता गतिविधि र दुर्घटना निकै नै बढेका छन् ।

डा.- मित्र, अब अन्तिम र सबैभन्दा गम्भीर कुरो सुन । भर्खर भर्खरको समाचार हो, यहाँको चर्को प्रदूषणले वातावरणमा आँखा फोर्ने सूक्ष्म जीवाणु पैदा गरिसकेको छ । यी मापाका जीवाणुहरूबाट जोगाउन सक्यो भने तिम्रा आँखा सुरक्षित रहनेछन् अन्यथा यो ढल्किँदो उमेरमा अन्धो भएर सारै दुःख पाउनेछौ ।

मित्रवरका कुरा सुनेर म जति आतङ्कित हुन्छु त्यति प्रभावित चाहिँ हुँदिन । उनले प्रतिपादन गरेको स्वप्नमीमांसालाई मेरो चित्तले पटक्कै खाएको छैन । उनको भविष्यवाणी पेटीमा बस्ने सुगे ज्योतिषीको सतही भविष्यवाणी हो भन्ने लागेर लगत्तै म अर्का परम मित्र प्रो. रणवीर अहङ्कारीकहाँ पुग्छु । उनी कम्प्युटरीय मनोविज्ञानका देश-विदेशमा कहलिएका विद्वान् हुन् । मेरो सपना सुनेर उनी तत्परताका साथ कम्प्युटर थिच्न र घुमाउन थाल्छन् । केही बेर कम्प्युटरको पर्दामा अनेक अनेक तथ्याङ्क र तालिकाहरू देखिने र मेटिने क्रम चल्छ । अन्त्यमा जटिल खालको एउटा तालिकामा निकै बेर घोरिएपछि उनी चिम्सा आँखाहरू मतिर फर्काउँछन् र बोल्ने उपक्रम गर्छन् ।

प्रो. – मित्र मोराश, मेरो कम्प्युटर-विश्लेषणले तिम्रा मनमा कुनै ठूलो अनिष्ट हुन्छ भन्ने डर पसेको बताउँछ । यस्तो डरले छिटै निकास पाउनु पर्छ, नत्र तिमी बहुलाउँछौ ।

म – अनिष्टको डर अरे । अहँ, मेरो मनमा त्यस खालको कुनै डरसर छैन ।

प्रो. – यो हुनै सक्तैन, मेरो कम्प्युटर विश्लेषण झूठो हुनै सक्तैन । नढाँटी भन त, कतै तिमीलाई श्रीमती पोइल जान्छिन् कि भन्ने डरले गाँजेको छ कि ?

म – गाउँले ढाँचाकी ती बिचरी प्राचीन प्राणीलाई कुन आँखा फुटेकाले मनको बैठकमा सजाउन रोज्ला र उनी पोइल जालिन् । अहँ, मलाई यो डर पटक्कै छैन ।

प्रो – त्यसो भए तिमीलाई, आफू मर्छु कि भन्ने डर छ होला, कसो ?

म – के भनौं, म त तलबले नधान्ने महंगीबाट चिथोरिएर दिनदिनै मर्दै छु । मित्र, अचेल मृत्यु त जीवनको सामान्य प्रक्रिया भइसकेको छ, त्यससँग के डर ?

प्रो – त्यसो भए तिमीलाई मित्र, धर्नासर्नाका कार्यक्रममा मुछेर नोकरीबाट निकाल्ने त होइनन् भन्ने डर छ कि ?

म – तिमीलाई थाहा छ, म एउटा स्वतन्त्रवादी हुँ र म छेकथुनमा पटक्कै विश्वास राख्तिन भन्ने ।

प्रो – तब त पक्कै तिमीलाई चुनाउमा आफ्नो दल हार्छ भन्ने लागेको होला ।

म – मैरो कुनै दल छैन ।

प्रो – किन ?

म – किनभने यस मुलुकमा नेपाली मनाउँदाको दल अझै गठित भएको छैन र सौभाग्यले म नेपाली हुँ ।

प्रो – के मतलब ?

म – मतलब के भने दल हुने वित्तिकै मानिसहरू नेका हुन्छन्, एमाले हुन्छन्, राप्रपा हुन्छन् अथवा नेमकिपा हुन्छन् तर नेपाली चाहिं हुँदैनन् । मेरा लागि दल र राजनीतिको कुरो अवाञ्छित प्रसङ्ग हो । यही अवाञ्छित घुम्तीमा आएर कुराले बिसाउन खोजेपछि म मित्रसँग विदा लिन्छु र घरतिर लाग्छु । मेरो सपनाको उचित व्याख्या प्रो. अहङ्कारीले पनि गर्न सकेनन् भन्ने तुस मेरा मनमा छ । उनको त्यो कम्प्युटर-विश्लेषणको ठस्सा त सानासाना पिउसाहरूले खेल्ने भिडियोगेमा जस्तै मामुली खेलबाड मात्र हो भन्ने मलाई लागेको छ ।

त्यहाँबाट थाकेर-पाकेर म घर पुग्छु । सरकार ढलेझै फेरि एउटा सूर्य ढल्छ । फेरि साँझ पर्छ । फेरि रात हुन्छ । फेरि म निदाउँछु । फेरि सपनाको माकुरो आउँछ र स्वप्नजाल बुन्न थाल्छ । कस्तो अचम्म यस पटक म उही साबिक सपना देख्तिन, बरू सपनाभित्र उही सपनाको अर्थ देख्छु ।

सपना चालू छ र म देख्तै छु एकादेशमा एउटा ठूलो आकाश छ । त्यस ठूलो आकाशमुनि लाम्चो आकारको एउटा सानो आकाश सर्र ओर्लन्छ । हेर्दा हेर्दै सानो आकाशलाई सलहहरूको बाक्लै बथानले डम्म ढाक्छ । कस्तो उदेक, सलहहरूको मुख मान्छे बान्कीको छ र तिनले हातहातमा सूर्य, वृक्ष, हलो आदि नाना चिह्न- अङ्कित झण्डा बोकेका छन् । पक्कै पनि ती सामान्य होइनन् विशिष्ट सलह हुन् र एकजुट भएर आक्रमणको भयङ्कर मुद्रामा वेगसाथ तल-तल ओर्लंदै छन्, मेरो देशको हरियोपरियो चपाउन, मेरो देशको ढुङ्गामाटो बुक्याउन र मेरो देशको खोलानाला सखाप पार्न । म भयातुर भएर आँखा चिम्लन्छु र सलह-त्रासदीले ल्याउने महाविनाश देख्न नपरोस् भनेर दुवै आँखा टम्म टाल्छु । नजिकिँदा-नजिकिँदै सलहहरू आफ्नै टाउकाको वरिपरि मडारिन आइपुगेको चाल पाएर म अत्तालिन्छ कहालिन्छु र मुटुभरि सलह-सन्त्रास बोकेर थुरथुर कामिरहन्छु ।

व्युझेपछि मलाई लाग्छ, यति त्रासद सपना देख्नुभन्दा त आँखा नै फुट्नु बेस हो ।

०००
‘आधुनिक नेपाली हास्यव्यङ्ग्य’ (२०६०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x