मोहनराज शर्मानेपाली हास्यव्यङ्ग्य साहित्यको समकालीन प्रवृत्ति र भावी दिशा
हास्य र व्यङ्ग्यलाई छुट्टै र स्वतन्त्र विधाका रूपमा स्थापित गर्ने व्यर्थ प्रयासको परित्याग गर्ने र यिनलाई साहित्यका दुई शक्तिशाली प्रभावका रूपमा हुर्काउने। संस्कृत काव्यशास्त्रमा पनि हास्यलाई नवरसमध्ये एउटा रस मानेर प्रभावकै रूपमा स्थापित गरिएको ।

मोहनराज शर्मा :
साहित्यका केही विशिष्ट प्रभावहरू छन् जसमध्ये एउटा विशिष्ट प्रभाव हास्य हो वर्ग विशिष्ट प्रभाव व्यङ्ग्य हो। यी दुवैले रचनामा दुःखद होइन सुखद प्रभावको निरंता गर्छन् । यसको तात्पर्य हास्यव्यङ्ग्यले समाज तथा जीवनका दुःखद यथार्थलाई इरे-वताउने काम गर्दैनन् भन्ने होइन । यसको तात्पर्य के हो भने यिनले यथार्थको मुखद वा जुन पक्षलाई अंगाले पनि अन्ततः यी हर्ष उत्पन्न गर्ने खालका हुन्छन् । अन्ततः हर्षद हुने भएकाले यिनमा रञ्जकताको प्रधानता हुन्छ र परिणाममा रचना सुखद नावको सञ्चार गर्ने सिर्जना बन्न पुग्छ ।
हास्य र व्यङ्ग्य मूलतः दुई भिन्न कुरा हुन् । त्यसैले यी दुवैको मुख्य विषय र उदेश्य पनि भिन्नभिन्न हुन्छ । हास्यको विषय र उद्देश्य मुख्यतः अभिहस्य हो भने व्ययङ्ग्यकाे विषय र उद्देश्य मुख्यतः उपहास हो। हास्यले हाँसोको माध्यमबाट र व्यङ्ग्यले छेडपेच वा उपहासका माध्यमबाट सुधारको प्रयोजन पूरा गर्छ। दुवैले सुधारवादी पूर्ति समान रूपमा गरे तापनि हास्यमा अपेक्षाकृत स्थूलता र व्यङ्ग्यमा अपेक्षाकृत सूक्ष्मता हुन्छ। हास्यले कफ, वायु र पित्तजनित विकारको अनुकरण गरेर आफ्नो अन्तिम साध्य हाँसाेको सिद्धि गर्छ भने व्यङ्ग्यले मानवीय दुर्वलताहरूमा कटाक्षपात गरेर उपहासको सिर्जना गर्छ।
दुवैमा भिन्नता रहे तापनि दुवै परस्परव्यापी समेत हुन्छन् । दुवैमा धेरथोर कटाक्ष, भर्त्सना, हाँसो, उपहास आदिको उपयोग हुने हुँदा परस्परव्यापिता देखिएको हो । यस परस्परव्यापिताका कारण कतिपय अवसरमा हास्य र व्यङ्ग्यका बीच विभेद गर्न गाहो पर्छ तर सूक्ष्मतासाथ हेरेर हाँसो साध्य भएको रचनालाई हास्यका रूपमा र हाँसो साधन भएको रचनालाई व्यङ्ग्यका रूपमा छुट्टयाउन सकिन्छ ।
नेपालीमा निकै समयदेखि वर्तमानसम्म पनि हास्य र व्यङ्ग्यलाई संयुक्त गरेर एउटैमा परिगणन गर्ने चलन चलेको छ। यसको तात्पर्य जुन रचनाको परिगणना वा वर्गीकरण हास्यव्यङ्ग्य भनेर गरिन्छ त्यो रचना वस्तुतः हास्य हो वा व्यङ्ग्य हो भनेर छुट्टयाउने झाेंज गरिदैन। फलस्वरूप हास्य नभएको रचनालाई पनि हास्यव्यङ्ग्यको टीको लाग्छ। यो सुविधावादी दृष्टिकोण र व्यवहार हो। यस सुविधावादी प्रवृत्तिले गर्दा
रचनाको वास्तविक पहिचान हास्य वा व्यङ्ग्य के हो भनेर नीरक्षीर विवेक गर्ने सामर्थ र शक्ति वर्तमानमा झन् क्षीण हुँदै गएको छ।
हास्यव्यङ्ग्यलाई एउटैमा व्यवहार गर्ने सुविधावादी चलनले नेपालीमा गीत प्रभाव पारिसकेको छ। यसका कारण रचनाबाट हास्य शनैः शनैः निख्रेर गई त्यसकाे मरुभूमिकरण भइसकेको छ। वर्तमानमा हास्य पूरै उपेक्षित देखिनु यसैको परिणाम हाे। यसले हास्य प्रजातिलाई मृत्युन्मुखी तुल्याएको छ भने व्यङ्ग्य प्रजातिलाई पनि अधमावस्थातिर ठेलेको छ। आज व्यङ्ग्य अतिशय व्यक्तिवादी भएर व्यक्तिगत गाली र निन्दाको धारिलो खुँडा बन्दै जानु व्यङ्ग्यकै टाक्सिँदो स्थितिको प्रमाण हो।
नेपालीमा हास्यव्यङ्ग्यलाई छुट्टै र स्वतन्त्र विधा मान्ने धारणा पनि रहिआएको छ। यो भ्रान्त धारणा हो र यसले वर्तमानमा झन् बढी प्रश्रय पाएको देखिन्छ । हास्यव्यङ्ग्य एक विधा नभएर अधिविधात्मक हुन्छ । नेपालीमा कविता, नाटक, आख्यान र निबन्ध गरी मूल विधाहरू चार वटा मात्र छन् । अधिविधात्मक चाहिँ त्यो हो जो यिनै मूल विधामध्ये कुनै एक वा सबैको बुई चढेर मात्र हिँड्न सक्छ। हास्यव्यङ्ग्य विद्या नभएर अधिविधात्मक भएकाले यसबाट निबन्धत्व वा आख्यानता वा नाटकत्व वा कवित्व झिकिदिँदा यो आश्रयविहीन भएर लड्छ । हास्यव्यङ्ग्यले कविता, नाटक, आख्यान वा निबन्ध भएर मात्र अस्तित्व प्राप्त गर्ने हुँदा यसको स्वतन्त्र संरचना हुँदैन। हास्यव्यङ्ग्य छुट्टै विधा नहुनु विश्व साहित्यकै यथार्थ हो, हास्यव्यङ्ग्य लेखकको मान मर्यादा वा प्रतिष्ठाको सवाल होइन । छुट्टै विधा नभए तापनि हास्यव्यङ्ग्यकार समेत उत्तिकै महान् सर्जक हुन सक्छ जति कुनै निर्धारित विधाको लेखक हुन्छ। हास्यव्यङ्ग्यकार भएकाले नै चार्ली च्याप्लिनको गणना विश्वका सर्वश्रेष्ठ सर्जकहरूमा गरिन्छ ।
हास्यव्यङ्ग्य सबैले रुचाउने रचना हो। नेपालमा पनि अधिकांशले यस्तो रचना पढ्न रुचाउँछन् । यो हास्यव्यङ्ग्यको एउटा बलियो र थप पक्ष हो। यहाँ के हेक्का राख्न आवश्यक छ भने हास्यव्यङ्ग्य पनि त्यति खेर मात्र रुचिकर हुन सक्छ जब त्यो ग्राह्य हुन्छ। ग्राह्य नभएर गर्हणीय हुँदा रुचि लिने प्रश्न नै उठ्दैन । वर्तमान हास्यव्यङ्ग्यका संरचनामा निरन्तर बढ्दो हास्यको उपेक्षाभाव, व्यङ्ग्यको वैयक्तिक गालीनिन्दामा रूपान्तरण, नारास्तरीय विरूपण र अकलात्मकताले यसलाई अग्राह्य तुल्याउँदै लगेको छ। यसको तात्पर्य नेपालीमा ग्राह्य एवं कलात्मक लेखक छैनन् भन्ने होइन। हास्यव्यङ्ग्यका गम्भीर लेखकहरू पनि छन्, तर तिनको सङ्ख्या स्वल्प र स्फीत लेखकहरूको सङ्ख्या बढी भएकाले हास्यव्यङ्ग्यको सामान्य प्रवृत्ति र स्तर क्षयोन्मुखी तथा मुमुर्षु बन्दै गएको छ ।
समकालीन नेपाली हास्यव्यङ्ग्यको परिदृश्यलाई हेर्दा वर्तमानमा कतिपय हास्यव्यङ्ग्यकारहरू सृजनारत रहेका छन् । यस क्षेत्रमा अहिले बालमुकुन्द देव पाण्डे, चूडामणि रेग्मी, श्रीधर खनाल, रामकुमार पाण्डे, सूर्यबहादुर पिवा, तेजेश्वरबाबु ग्वङ्ग
चाेलेश्वर शर्मा, राजेन्द्र सुवेदी, हरि वन्दी, मुकुन्द आचार्य, भाउपन्थी, मोहनराज शर्मा, विमल निभा, राजव आदि उत्तिकै सीप र खीपका साथ सिर्जनारत रहेका देखा पर्छन् । नरेन्दराज पौडेल, हरिगोविन्द लुईटेल, उत्तमकृष्ण मजगैयाँ, मुन पौडेल, भीष्म उप्रेती, नन्दू परिश्रमी, होम सुवेदी, जयराम शर्मा, विश्व शाक्य, विष्णु प्रभात, वमबहादुर जिताली, अर्जुनप्रसाद पराजुली, चट्याङ मास्टर, नरनाथ लुईटेल आदिले समेत यसलाई हुर्काउने प्रयास गरेका छन् ।
समकालीन नेपाली हास्यव्यङ्ग्यकारको उपर्युक्त सूची अत्यन्त छोटो हो। यस सूचीकाे तात्पर्य नेपालीमा अन्य हास्यव्यङ्ग्यकार छैनन् भन्ने अथवा तिनीहरू सूचीमा समावेशयोग्य छैनन् भन्ने कदापि होइन। यहाँ स्थानाभाव वा समयाभावका कारण मात्र समावेश नगरिएको हो। यस छोटो सूचीलाई हेर्दा पनि के देखिन्छ भने नेपाली हास्यव्यङ्ग्यको फाँटमा महाकाव्य, खण्डकाव्य, उपन्यास र नाटक जस्ता ठूला रचनाहरूको त्यति सिर्जना गरिएको छैन। सामान्यतः आजका जुनसुकै रचनामा पनि व्यङ्ग्यले स्थान पाएको देखिए तापनि हास्यप्रधान व्यङ्ग्यको अथवा व्यङ्ग्यप्रधान हास्यको उस्तो निर्मिति नभएको देखा पर्छ। साथै अझै पनि यस क्षेत्रमा प्रभावशाली महिला सर्जकको पदार्पण हुन सकेको छैन ।
साहित्य कलात्मक सन्देश र सौन्दर्यात्मक मूल्यको अविरल प्रभाव हो। यसले आफ्नो प्रवाहको पथ स्वयं खोज्छ, बदल्छ, भत्काउँछ। कहिलेकाहीं मार्गमा तेर्सिएका केही विघ्नवाधाले साहित्यको प्रवाहमा गत्यवरोध पनि ल्याउने गर्छन्। यस्तै गत्यवरोधबाट उभ्याउन अथवा साहित्य कुनै गत्यवरोधमा नअल्झोस् भनेर मार्ग स्पष्टयाउन दिशाबोधको आवश्यकता पर्छ।
समकालीन नेपाली हास्यव्यङ्ग्य पनि अहिले गत्यवरोधको स्थितिमा छ। यसलाई गत्यवरोधबाट उकास्न र यसको भावी कार्यदिशा निर्धारण गर्न सहायक हुने केही सङ्केतहरू तल बुँदाको रूपमा दिइएको छ :
१. हास्य भए पनि वा व्यङ्ग्य भए पनि दुवैलाई मिसाएर हचुवा तवरमा हास्यव्यङ्ग्य नभन्ने। हास्य भए हास्य रचनाका रूपमा र व्यङ्ग्य भए व्यङ्ग्य रचनाका रूपमा निर्धारण गर्ने। कुनै रचनामा हास्य र व्यङ्ग्य दुवैको उपस्थिति छ भने प्रधानताका आधारमा हास्यप्रधान रचनालाई हास्यमा र व्यङ्ग्यप्रधान रचनालाई व्यङ्ग्यमा वर्गीकृत गर्ने ।
२ हास्यप्रतिको लेखकीय उपेक्षा वा उदासीनता हटाउँदै जाने। हास्यलाई केवल मनोविनोदात्मक खालको निम्नस्तरीय सिर्जना नमानी उदात्तताको प्रादुर्भाव गर्ने सुधारवादी संरचनाका रूपमा हेर्ने। व्यङ्ग्यका तुलनामा हास्य पक्कै पनि स्थूल हुन्छ तर यो प्रहसन, प्रहेलिका, गफ आदि जति स्थूल, हलुका र क्षणिक पनि हुँदैन । यसले दिने मनोरञ्जन तनावबाट मुक्त गर्न सक्ने र हर्षद हुनुपर्ने, अनि मात्र यो निम्नस्तरीय नभई उच्चस्तरीय हुन सक्ने ।
३. हास्य र व्यङ्ग्य दुवै विचारपूर्ण हुनुपर्ने, अविचारित खालको हुन नहुने। निर्दाेष हास्य एवं व्यङ्ग्यको रचना विचारपूर्ण हुने र सदोष हास्य एवं व्यङ्ग्यको रचना अविचारित हुने । हास्यव्यङ्ग्यको उद्देश्य कसैलाई चोट पुऱ्याउने नभई खाेट पखाल्ने हुनुपर्ने ।
४. रचनामा हास्य वा व्यङ्ग्यको प्रयोग टुक्रे तत्त्वका रूपमा नगरी सम्पूर्ण तत्त्वश रूपमा गर्नुपर्ने । यिनलाई रचनाका बीचबीचमा मात्र पाइने तत्त्वका रूपमा होइन सम्पूर्ण रचनामा ओतप्रोत रहने तत्त्वका रूपमा प्रतिष्ठित गर्नुपर्ने ।
५. हास्य तथा व्यङ्ग्यका निम्ति निबन्ध, कथा, एकाङ्की, फुटकर कविता आदि लघुकाय विधाहरू बढी उपयुक्त भए तापनि उपन्यास, महाकाव्य, खण्डकाव्य, नाटक जस्ता बृहद्काय कृतिको निर्माणतर्फ पनि विचार पुऱ्याउनुपर्ने। यसबाट हास्य र व्यङ्ग्य लेखनको क्षेत्र व्यापक हुने, सामर्थ्य देखिने र गम्भीर महत्त्व पनि प्रकट हुने ।
६. हास्य र व्यङ्ग्यलाई छुट्टै र स्वतन्त्र विधाका रूपमा स्थापित गर्ने व्यर्थ प्रयासको परित्याग गर्ने र यिनलाई साहित्यका दुई शक्तिशाली प्रभावका रूपमा हुर्काउने। संस्कृत काव्यशास्त्रमा पनि हास्यलाई नवरसमध्ये एउटा रस मानेर प्रभावकै रूपमा स्थापित गरिएको । हास्य र व्यङ्ग्य अधिविधात्मक भएकाले यिनको सुहाउँदो समायोजन साहित्यका चार मूल विधा कविता, नाटक, आख्यानर निबन्धअन्तर्गत गर्ने ।
७. व्यङ्ग्यलाई व्यक्तिगत गालीनिन्दाको साधन बनाउने प्रवृत्ति तत्काल त्याग्नुपर्ने। यसले गर्दा व्यङ्ग्यरचना निरन्तर नाराबाजी र अकला बन्दै गएको। यो व्यक्तिगत नभएर प्रवृत्तिगत हुनुपर्ने र साथै कोरा निन्दात्मक नभएर सुधारात्मक हुनुपर्ने।
८. यसले समसामयिक यथार्थका रूपमा रहेका सामाजिक एवं मानवीय विसङ्गति, विकृति, अपचलन आदिका नयाँ-नयाँ पाटाको खोजी र उद्घाटन गर्नुपर्ने। यसबाट विषयका रूपमा नयाँ-नयाँ क्षेत्रको अन्वेषण हुनुपर्ने ।
९. हास्य र व्यङ्ग्यको भाषा विशिष्ट हुन्छ । विशिष्ट प्रभावको रचना गर्नुपर्ने हुँदा विशिष्ट भाषा चाहिने। हास्य र व्यङ्ग्यको सिर्जनाका निम्ति विशिष्ट भाषाको निर्माण ‘प्रयुक्ति विचलन’द्वारा गर्न सकिने। प्रयुक्ति विचलन भनेको एउटा विषयका लागि अर्का विषयका शब्दावलीको प्रयोग गर्नु हो।
माथि प्रस्तुत गरिएका बुँदाहरू केही सङ्केत मात्र हुन्, यिनमा थपथाप र गम्भीर छलफल आवश्यक छ ।
०००
हास्यव्यङ्ग्य विमर्श (२०७०)
Subscribe
Login
0 Comments
Oldest







































