साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परीक्षा पास गर्ने धूनमा

योगीको वचन कहीँ झूटो हुन सक्छ ? भतिजोले मेरो रोलनम्बरै भुलेछ कि क्या हो ? धैर्य लिएर म अखबारमा नम्बर खोज्न थालेँ । तर साँच्चीकै मेरो नम्बर थिएन ।

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

म एउटा कर्तव्यनिष्ठ एवं मेहनती विद्यार्थी हूँ । तसर्थ मेरो एउटा मात्र धून छ- हाइस्कूल पास गर्ने । तपाईं सम्झनुहोला यो सालदेखि अथवा पोहोरदेखि । नभए तीन-चार वर्षदेखि नै । तर होइन, यो मेरो धून पूरा सात वर्षदेखिको हो । सात वर्षको अवधि त निश्चय पनि लामो हो, तर मेरो छोटो चक्कर पूरा भएन । यसको लागि कति ठक्कर खानुपर्‍यो, कति घागडान बबन्डर सहनुपर्‍यो । तर यो लरतरो एवं हिम्मत हार्ने ज्यान होइन । कर्तव्यपथमा जुटेको मर्दलाई ‘फेल’ र ‘रेस्टिकेट’ जस्ता शब्दले कहाँ डिगाउन सक्छ ? तसर्थ ममाथि हाँस्ने नाचे हो, मबाट बरू प्रेरणा लेओ । म लौह पुरुष हूँ । म जस्तै मान्छे ऐतिहासिक महापुरुष हुन्छ बुझ्यौ ? यसपटक पनि परीक्षा दिएको छु- परीक्षाफल मात्रै निस्कन देओ त ?

मनमा हिम्मत र हौसला त छ, तर कुन्नि किन कहिलेकाहीं आफूलाई एकदम असहाय पाउँछु । मैले क क न न गराएकै केटाेले मलाई विज्ञान र जोमेट्री रटाउँछ । कहिलेकाहीँ पाठ छुटेछ भने छडी उठाएर ’हात थाप’ त भन्दैन, तर उसको गाली र घुर्कीले मलाई रिङ्गटा लाग्छ । मैसँग पढेको साथी आज मेरो प्रधानाध्यापक छ । कुनै जमानामा मेरो लिडरसिपको अगाडि आफ्नो पुच्छर हल्लाउन ऊ बाध्य हुन्थ्यो । तर आज स्थिति कति विपरीत छ ? उसलाई पचास हात परै देखे पनि पहिलेदेखि नै ‘नमस्कार’ को मुद्रामा उभिनुपर्‍यो या त धक र लाजले मुन्टो बटारेर लुसुक्क कुनातिर लाग्नुप-याे। उसले पनि कहिले अफिसमा बोलाई शिक्षक-स्टाफकै सामु फट्कारेर एवं कहिले रेस्टिकेटको धम्की दिएर पुरानो बदला पूरा गरेको छ । के गर्ने ? म लाचार थिएँ, किनभने मसँग हाइस्कूलको सर्टिफिकेट पनि थिएन । यसर्थ यसको प्राप्तिको लागि म जे गर्न पनि तत्पर थिएँ ।

देवीदेवतामा सबभन्दा कठोर हृदयकी यदि कुनै छन् भने ती हुन् सरस्वती । जे जति आराधना गरे पनि नपग्लने । तब त अबीर एवं चन्दन- अक्षताले उनको तस्वीर नचिनिने हुँदासम्म पूजा गर्दा पनि दयाभाव देखाउँदिनन् । के मागेको छु र, हाइस्कूलको एउटा जाबो सर्टिफिकेट बाहेक ? सत्ते, मेरो कर्म फुटेको, नत्र मैले गरेजत्तिकै पूजा अर्को व्यक्तिले गरेको भए साक्षात् दर्शन पाउँथ्यो । मैले सरस्वतीको दर्शन त पाइनँ, तर एउटा आधुनिक योगीको दर्शन भने अवश्य पाएँ । जीवनको उँच-नीच सम्झाएर उनी भन्न थाले- ‘हेर बाबु । यस युगको सबभन्दा ठूलो तागत हो पैसा । पैसाको मोहमा को डुब्दैन ? तसर्थ मेरो युक्ति मान्याै भने अवश्य मुक्ति पाउने छौ ।’ अनि ठूलो रहस्य फलाक्न लागेझै गरी आफूनेरै बोलाएर खासखुसे स्वरमा भने- ‘दश-दशका नोट पाएर कुन परीक्षक खुशी नहोला ? पैसाको मारमा ठूलो सार छ बाबु ।’

योगीको यही वाक्य नै मेरो मूलमन्त्र बन्यो । तसर्थ यसपटक मैले हरेक पेपरको उत्तर-पुस्तिकाभित्र आलपिनद्वारा दश-दशका ताजा नोट गाँसेको छु । मलाई पक्का विश्वास छ यसपल्ट मेरो नाउँ प्रथममा नआए द्वितीयमा फरकै छैन । द्वितीय पनि नभए तृतीय त कतै न जा । किनभने दश रुपियाँ भन्नु कम होइन । परीक्षकज्यूको लागि कमसेकम दुई-चार दिनको लागि तरकारी त अवश्य नै पुग्नेछ । अनि दुई-चार नम्बर थप्न उनको हात किन काम्थ्यो ? म फुरुङ्ग परेँ । किन सरस्वतीको पूजा चाहियो ? किन टुप्पी बाँधेर पढ्नुप-याे ? सुन भए त दुःखको घुन लाग्ने नै रहेनछ । यो बुद्धि अगाडि नै नआएकोमा मलाई पश्चात्ताप भएर आयो ।

अगाडि नै कम सास्ती खाएको छैन यो ज्यानले सर्टिफिकेटको लागि । ससुराले पनि कम लछारेका हुन् त ! हाइस्कूलसमेत पास गर्न नसक्ने कस्तो नामर्द ज्वाइँ । भोलि घर टुक्रिँदा साडे एक बिघा खेत पनि त टुक्रेला ! अनि के गरी पाल्छौ मेरी छोरीलाई ? स्वास्नी पनि उस्तै । मसँग नबोल्ने किरिया समेत हालेकी । अर्थात् म पास नहुँदासम्म दुवैको मेल नहुने रे । उसको र मेरो दूरी दिनदिनै बढ्दैछ एवं दुवैको बीचमा लक्ष्मणरेखा खिचिएको छ । तर त्यसको तापभन्दा मेरो अन्तरको ताप बढी छ । जसैजसै रात छिप्पिँदै जान्छ म जलेर खरानी बन्दै जान्छु । तर बिहानको उज्यालोमा पत्नीको एकै नजर ममाथि पर्यो भने म पुनः जीवित हुन्छु । यसरी नै म रोजै मर्ने एवं रोजै जीवित हुने गर्छु ।

मलाई त सर्टिफिकेट चाहिएको छ- त्यो चाहे एसएलसीको होस् चाहे प्रवेशिका परीक्षाको । अथवा भारतको कुनै बोर्डको भए पनि हुन्छ । तसर्थ यसको लागि धेरै दाउ फेरेँ मैले । हाम्रो देशको मात्र होइन यसको लागि कुनैकुनै वर्ष भारतको पनि मजा लिएको छु । एकपल्टको कुरो हो हामी चार पाँचजना मित्रहरू मिलेर भारतको एउटा क्षेत्रमा (ठाउँको नाम बिर्सेछु) परीक्षाको फार्म भरेका थियौँ । परीक्षाको पूर्व तयारीको लागि परीक्षा भन्दा छ-सात महीना अगाडि नै जाने निधो भो । भारतेलीहरू शुद्ध घ्यू र मह भन्दा भुतुक्क हुन्छन् रे भन्ने सुनेको थिएँ तसर्थ पहाडको फन्को मारेर भए पनि व्यवस्था मिलाएँ । ट्रेनबाट ठाउँमा पुगेकै साँझ कोसेली बोकेर प्रधानाध्यापकको घरमै पुगेँ । आदिदेखि अन्त्यसम्म आफ्नो व्यथाको गाँठो उनीछेउ खोल्दा उनी दयाद्र भएछन् । मलाई पूर्णआश्वासन दिएर बिदा गरे । अब म सफल हुनुमा केको शङ्का ? परीक्षाहलमा निस्फिक्रीसँग नक्कल गरे हुन्छ । कसले के भन्ने । प्रधानाध्यापक स्वयं मेरै थिए । कसैले चाईंचुइँ गर्‍यो भने नगलहत्याए के । प्रधानाध्यापकले मेरो पक्ष अवश्य लिनेछन् । उनको जिब्रोबाट महको स्वाद र घ्यूको वास्ना अवश्य बोल्नेछ ।

लामो प्रतीक्षापछि परीक्षा शुरु भो । पहिलेकै दिनको कुरो हो। कति सरल प्रश्न ? सबै नक्कलहरू फँसेका थिए । म खुशीको उत्तेजनाले काम्दै पहिलो प्रश्नको उत्तर लेख्न आँटेको थिएँ एउटाले मेरो हात टप्प समात्यो । को रहेछ भनेर हेरेको त दानव जस्तो मोटो अङारे मास्टर ठूला-ठूला आँखा लिएर उभिएको । म पनि जुरुक्क उठेँ । उसको भन्दा पनि ठूला आँखा पारेर घुर्केँ- ‘क्या हो ?’
आफ्नो भाषामा गर्जेर उसले भन्यो- ‘उल्टै चोरले थानेदारलाई धम्काउँछ ?’
म पनि गर्जे- ‘त्यसै मह र घ्यू ख्वाएको छैन बुझिस् ?’
‘कसलाई ख्वाइस् ? तेरो बाबुलाई ?’- ऊ करायो ।
‘सुस्तरी बोल्, त्यो तेरो पनि बाबु हो’ मैले भनेँ ।

‘म कोहीसित पनि डराउन्नँ । म मात्र के, कर्तव्यपालन गर्ने कोही पनि डराउँदैन बुझिस् ?’- उसले घुर्की सुनायो । मलाई हाँसो लाग्यो । यसको गिदी त खुस्केन ? यस जमानामा पनि कर्तव्यको कुरा गर्छ । भनेँ- ‘यो ध्वाँस ममाथि नदेखा – आफ्नो बाटो हेर् ।’

तर उसले मलाई छोडेन । हात पक्डेर झट्कार्‍यो । डेस्क हल्लेकोले मसीको भाँडो उफ्रेर आफ्नो आँसु मेरै उत्तर-पुस्तिकामा पोख्न थाल्यो । मेरो स्वप्नमहल हल्लन थालेको सहनै सकिएन त्यही मसीको भाँडोले उसको पुर्पुरोमा हिर्काएँ । त्यो ‘महाभीम’ ले मलाई एउटै हातले उठाएर भूइँमा थचार्‍यो एवं थाल्यो धनुले कपास धुनेझै धुन्न । खैर…, यो वर्ष पनि बिग्रियाे  किनभने त्यो ‘महाभीम’ ले ज्यानै लिने धम्की दिएकोले त्यसै रात झोली-तुम्मडीसहित रेल चढ्न करै लाग्यो ।

भन्नु कत्ति भने सर्टिफिकेटको लागि आफ्नो अपमान भएको छ, भुक्तमान भएको छ । झन्डै झन्डै ज्यानै गुल्टन खोजेको छ । तर त्यसपछि पनि प्रयास छोडेको होइन । नेपालमा रेस्टिकेट भए भारत एवं भारतमा रेस्टिकेट भए नेपाल गरेकै छु । परीक्षाहलमा सीटमुनि पुस्तक वा नोट कापी च्याप्ने मात्र हैन अरूको देखासिकी भुत्ते छुरी, कटारी पनि राख्ने गरेको छु । तर धन्य भाग्य । कुनै फाइदा भएन । कुनै उपायले पनि म सफल हुन सकिनँ । बजारमा सर्टिफिकेटहरू बिक्छन् रे भन्ने सुनेर त्यहाँ पनि धाएँ, तर अखबारमा नक्कली सर्टिफिकेटहरू धमाधम पक्डिएको खबर पढ्दा आँट मरेर गयो ।

यसपल्ट पनि परीक्षा दिएको छु । तर फेल हुने त कुरै भएन किनभने योगीको महामन्त्र- ‘पैसाको मारमा ठूलो सार छ बाबु ।’ स्वयंसिद्ध छँदै छ । नोटको चोटले परीक्षकज्यूको भावना पग्लने नै छ ।

म बिहानैदेखि पूजामा व्यस्त छु, किनभने आज रिजल्ट निक्लने रे । मेरो किस्मतको फैसला हुने दिन । बल्ल तल्ल आठ बजे अखबार आइपुग्यो । मैले हेरिनँ भतिजोले हेर्‍यो । मेरा कान ‘पास’ शब्द सुन्ने आसले ‘रेडी’ थिए । तर भतिजोले सबैले सुन्ने गरी चर्को स्वरमा भन्यो- ‘फेल ! खै, नम्बरै छैन ।’ मैले पत्याइनँ । योगीको वचन कहीँ झूटो हुन सक्छ ? भतिजोले मेरो रोलनम्बरै भुलेछ कि क्या हो ? धैर्य लिएर म अखबारमा नम्बर खोज्न थालेँ । तर साँच्चीकै मेरो नम्बर थिएन । स्वास्नी रुँदै कोठामा गई । मेरो मन पनि रुमलिएर आएकोले म पनि आफ्नो कोठातिर लागेँ । माथिल्लो तलामा आइसकेपछि तल मेरो भतिजोको साथसाथै अरु एक-दुईजनाको हाँसो स्पष्ट सुनेँ । यस हाँसोमा कुन्नि कुन शक्ति थियो – मेरो रुवाइ टक्क अड्यो । मलाई बहुलाउन मन लाग्यो । घरै थर्काउने गरी चिच्याएँ- ‘म फेरि परीक्षाको फार्म भर्छु… !’

०००
‘धरोधर्म हजुर’ (२०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
0
Would love your thoughts, please comment.x
()
x