साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्राको मात्रा

सधै गाईजात्रा हेरेर सारङ्गी जस्तो पेट मिचीमिची हाँस्न पाउनु हामी नेपालीको सौभाग्य हो । हामीले बोल्न पाए पुगिहाल्छ, खान लाउन त विदेशीले ऋण दिइहाल्छन् नि । के भो र गणतन्त्र आएकै छ । सबै जना सधै जनता मात्र भइरहनुपर्छ भन्ने छैन क्यारे ।

Nepal Telecom ad

काशीनाथ मिश्रित :

अभिनय गरेको हेरेर र बोलेको सुनेर लिइने मनोरञ्जन जत्तिको पढेर हुँदैन । यो मेरो निजी विचार हो । तपाईं सहमत हुनुहोस् या नहुनुहोस् । गाईजात्रा एउटा त्यस्तो पर्व हो जसमा प्रशस्त मनोरञ्जन हुन्छ, हाँसो ठट्टा हुन्छ र छेडपेच पनि हुन्छ । पात्रहरूले रोल खेलेर जति मनोरञ्जन दिन सक्छन् त्यति हाम्रा थोत्रा कलमले लेखेर कुनै हालतमा सकिँदैन । यो तथ्य सत्य हुँदाहुँदै पनि आजकल भने गाईजात्राको मात्रा बढेकाले अर्थशास्त्रको उपयोगिता ह्रास नियम यस क्षेत्रमा पनि लागु भएको छ । हेर्नुहोस् न गाईजात्राको मात्रा ह्वात्तै बढेर एकबाट तीनसय पैँसठ्ठी पुगेछ । मिठो र महँगो वस्तु त थोरै भए पो महत्त्व बढी हुन्थ्यो र ! जथाभावी भएपछि त्यसको के महत्त्व ? जुम्लामा स्याउले मूल्य नपाए जस्तो हाम्रो संस्कृतिमा गाईजात्राको मूल्य घटेको छ । गाईजात्रा देखाउनेलाई त यो कुरा थाहा हुनुपर्ने हो तर भए जस्तो लाग्दैन ।

पहिले पहिले वर्षमा एक दिन जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा मनाइन्थ्यो । कुन्नि कुन चाहिँ राजाले छोरो मरेर शोक गरेकी रानीलाई मनोरञ्जन दिलाएर भुलाउन लगाएबाट सुरु गरिएको रे । मलाई चार कक्षामा सामाजिक पढाउँदा गुरुबाले भनेका । त्यसपछि यो चलन प्रचलन बन्दै आएको रे ! त्यस दिन राजा महाराजाहरूलाई पनि खिसीट्युरी गर्न छुट दिइन्थ्यो रे ! उतिखेरका राजा बरु कति उदार रहेछन् त ! कम से कम वर्षको एक दिन भए पनि आफ्ना रैतीहरू रमाऊन् भन्ने चाहना राख्दारहेछन् । आजकल भने गाईजात्रा पनि डराई डराई मनाउनु पर्छ । कतै मानहानीको मुद्दा दायर हुने हो कि भन्ने त्रास पाल्नुपर्छ मनमा । प्रशस्त बोल्न लेख्न पाएर के गर्नु, बोलेर र लेखेर मात्र मुखमा माड पस्दोरहेनछ । भुँडी ढड्याउन काम गर्नै पर्दोरहेछ । कामका लागि रोजगारी चाहिँदोरहेछ । रोजगारी घटेको घट्यै छ, जाबो गाईजात्राको मात्रा बढेर के गर्नु ? सधै देखाइने गरेको गाईजात्राले गर्दा दर्शकको सङ्ख्या घटेर पुर्सुङ्गेहरूको सङ्ख्या मात्र बाँकी रहेको छ । खान पुग्ने भए मैले पनि सधै गाईजात्रा हेरिरहन्थेँ ।

हाम्रोतिर पुर्सुङ्गेलाई घाँडे भन्ने चलन छ । शायद गाईजात्रामा गाई बनेर नाच्नेको गोठालो बनेर नाच्दा पिँध नभएको थोत्रो ठेकी झुन्ड्याएर गाई दुहुने अभिनय गर्ने भएर पो हो कि! जेहोस् घाँडेले भरपूर मनोरञ्जन दिन्छ गाईले भन्दा । ससाना बालबच्चाको त सातोपुत्लो नै उड्छ । राक्षसको थुतुनो भएको खप्पर भिरेर अर्धनग्न अवस्थामा पाडाका आन्द्रा र भाङ्ग्रे पहिरनमा मकैका पोस्कर भिरेर गाईका वरिपरि उट्पट्याङ् गर्दै दर्शकहरूलाई हँसाउनु घाँडेहरूको मुख्य काम हुन्छ । यसबाट मान्छेलाई पेट मिचीमिची हाँस्न बाध्य बनाउँछ । न कुनै नेताको क्यारिकेचर गर्नुपर्छ न कसैलाई तथानाम बोलेर सराप्नु नै पर्छ । यस्तो पवित्र गाईजात्रालाई आजकल किन हो किन तल्लो स्तरमा झरेर आधुनिक महाराजहरूलाई गालीगलौज गर्नमा मात्र सीमित गराइएको छ ।

हुन त जमाना फेरियो साहिली भने झैँ जुगले चोला फेरेर कृत्रिमतालाई नै वास्तविकता मान्नुपर्ने बाध्यता बनाइदिएपछि कसको बाबुको के लाग्नु र ! जथाभावी खोल्न र बोल्न पाइने युटुबे भिडियोहरूले टुङ्गो न बुङ्गोका कमेडी देखाएर मान्छेको दिमाग चाटिरहेका हुन्छन् । बोलेर नसकिने ठाउँमा लेखेर के सकिनु ।

कहाँ म लम्फुदासले उहिलेका कुरा पो गरिरहेछु । अहिले त गणतन्त्र पो आइसक्यो क्यारे ! पञ्चायती व्यवस्थातिरका कुरा गरेर के फाइदा हँ ? त्यो व्यवस्थामा पो वर्षको एक दिन गाईजात्रा हुन्थ्यो । अहिले बोल्न लेख्न पाइने यस्तो गणतान्त्रिक समयमा दिनदिनै गाईजात्रा देखाए पनि कसैले रोकटोक गर्न मिल्दैन नि त ! यो कुरा त मैले भुसुक्कै बिर्सेँछु क्या । फेरि राजा पनि त हटिसकेर गणतन्त्र आइसकेको छ नि । राजा बस्ने गद्दीमा प्रजा नै बस्न पाएपछि, निरङ्कुशता नै नभएपछि किन एक दिनलाई मात्र गाईजात्रा घोषणा गर्नु भनेर दिनदिनै गाईजात्रा देखाउने छुट पाइएको होला । यो लम्फु मगजले यस्तै ठान्यो । गल्ती भएको भए माफ पाउँ है ।

अब राजा नभएकाले हामी सबै जनता । ती जनतामध्ये अलिक टाँठाबाठा चाहिँ नेता । अरु तपाईं-हामी जस्ता भने न उता न यता ! त्यसैले राजाको कुर्चीमा बस्न पाउने चाहिँ नेता । नेता पनि कोही काला कोही सेता । जे भए पनि कुर्चीबाट खुस्किनेबित्तिकै ती पनि जनता । कि कसो ? तपाईं नै भन्नुहोस् । नत्र कुर्चीमा छउन्जेल जनता भन्ने शब्दको उच्चारण पनि नगर्नेले किन कुर्ची फुत्किनेबित्तिकै अब जनताछेउ जान्छौँ भनेर गाईजात्रा देखाउनुपर्थ्यो र ? त्यसैले अहिले राजाको कुर्चीमा बस्नेले पनि गाईजात्रा देखाउन पाइने व्यवस्था भएको हो । त्यत्तिकै गणतन्त्र त भनिएको हैन नि । अचम्म लाग्दो कुरो यही हो क्या ! कुर्चीमा पुग्नासाथ जनताको ज नजान्नेले जब कुर्ची फुत्किन्छ तब जनतासँग ज्यूहजुर गर्न थाल्नुपर्छ । जब कुर्चीमा फुत्त चढ्ने चौका दाउ पर्छ तब जाबा जनता बिर्से पनि हुन्छ । पछिको कुरा भन्न सकिएन, अहिलेसम्म त बाजे बराजुका पालादेखि सुनेको र हाम्रै पालामा भोगेको पनि यस्तै हो । बरु कुर्चीका लागि तँछाडमछाड गरेर भव्य गाईजात्रा देखाएको कुरा सोह्रै आना साँचो हो ।

यस्तो रहस्यमय कुरा म लम्फुदासलाई कहाँ थाहा हुन्थ्यो र तल्लारे माइलाले नभनेको भए । अस्ति आएर मलाई उनले भने, ‘ए, भाइ ! हिँड गाईजात्रा हेर्न जाउँ।‘ म परेँ सोझो मान्छे भने, होइन भोलि मात्र जनैपूर्णिमा हो । गाईजात्रा त पर्सि हैन र ?’ उनले हातमा समातेर तान्दै भने, ‘हत्तेरी कस्तो मान्छे! पत्याउँदै नपत्याउने । हिँड न म तिमीलाई गाईजात्रा देखाइदिन्छु क्या ।‘ अनि लागेँ उनका पछिपछि । बानेश्वर पुगेपछि उनले संसद भवन देखाउँदै भने, ‘लौ हेर ! ऊ त्यहीँ हो तीनसय पैँसठ्ठी दिन गाईजात्रा हुने ठाउँ ! यस ठाउँमा जनैपूर्णिमाको भोलिपल्ट मात्र हैन कन्धनी औँसीको अघिल्लो दिन पनि गाईजात्रा लाग्छ, लँगौटीअष्टमीकै दिन पनि गाईजात्रा लाग्छ, के कुरा गर्छौ तिमी ?’ म त जिल्लै !!

सधै गाईजात्रा हेरेर सारङ्गी जस्तो पेट मिचीमिची हाँस्न पाउनु हामी नेपालीको सौभाग्य हो । हामीले बोल्न पाए पुगिहाल्छ, खान लाउन त विदेशीले ऋण दिइहाल्छन् नि । के भो र गणतन्त्र आएकै छ । सबै जना सधै जनता मात्र भइरहनुपर्छ भन्ने छैन क्यारे । तपाईं पनि नेता बन्नुहोस् न त गाईजात्रा देखाउन पाइहाल्नुहुन्छ । जनताले देखाएको गाईजात्रा त कसले पो हेर्लान् र । एक दिन न एक दिन त्यो कुर्चीमा जाने पालो तपाईंको पनि कसो नाआउला गाँठे !
जय गाईजात्रा !

०००
२०८१ भदौ २ गते
गुल्मी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
आफै बोक्सी आफै धामी

आफै बोक्सी आफै धामी

काशीनाथ मिश्रित
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x