सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गाईजात्राको मात्रा

सधै गाईजात्रा हेरेर सारङ्गी जस्तो पेट मिचीमिची हाँस्न पाउनु हामी नेपालीको सौभाग्य हो । हामीले बोल्न पाए पुगिहाल्छ, खान लाउन त विदेशीले ऋण दिइहाल्छन् नि । के भो र गणतन्त्र आएकै छ । सबै जना सधै जनता मात्र भइरहनुपर्छ भन्ने छैन क्यारे ।

Nepal Telecom ad

काशीनाथ मिश्रित :

अभिनय गरेको हेरेर र बोलेको सुनेर लिइने मनोरञ्जन जत्तिको पढेर हुँदैन । यो मेरो निजी विचार हो । तपाईं सहमत हुनुहोस् या नहुनुहोस् । गाईजात्रा एउटा त्यस्तो पर्व हो जसमा प्रशस्त मनोरञ्जन हुन्छ, हाँसो ठट्टा हुन्छ र छेडपेच पनि हुन्छ । पात्रहरूले रोल खेलेर जति मनोरञ्जन दिन सक्छन् त्यति हाम्रा थोत्रा कलमले लेखेर कुनै हालतमा सकिँदैन । यो तथ्य सत्य हुँदाहुँदै पनि आजकल भने गाईजात्राको मात्रा बढेकाले अर्थशास्त्रको उपयोगिता ह्रास नियम यस क्षेत्रमा पनि लागु भएको छ । हेर्नुहोस् न गाईजात्राको मात्रा ह्वात्तै बढेर एकबाट तीनसय पैँसठ्ठी पुगेछ । मिठो र महँगो वस्तु त थोरै भए पो महत्त्व बढी हुन्थ्यो र ! जथाभावी भएपछि त्यसको के महत्त्व ? जुम्लामा स्याउले मूल्य नपाए जस्तो हाम्रो संस्कृतिमा गाईजात्राको मूल्य घटेको छ । गाईजात्रा देखाउनेलाई त यो कुरा थाहा हुनुपर्ने हो तर भए जस्तो लाग्दैन ।

पहिले पहिले वर्षमा एक दिन जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा मनाइन्थ्यो । कुन्नि कुन चाहिँ राजाले छोरो मरेर शोक गरेकी रानीलाई मनोरञ्जन दिलाएर भुलाउन लगाएबाट सुरु गरिएको रे । मलाई चार कक्षामा सामाजिक पढाउँदा गुरुबाले भनेका । त्यसपछि यो चलन प्रचलन बन्दै आएको रे ! त्यस दिन राजा महाराजाहरूलाई पनि खिसीट्युरी गर्न छुट दिइन्थ्यो रे ! उतिखेरका राजा बरु कति उदार रहेछन् त ! कम से कम वर्षको एक दिन भए पनि आफ्ना रैतीहरू रमाऊन् भन्ने चाहना राख्दारहेछन् । आजकल भने गाईजात्रा पनि डराई डराई मनाउनु पर्छ । कतै मानहानीको मुद्दा दायर हुने हो कि भन्ने त्रास पाल्नुपर्छ मनमा । प्रशस्त बोल्न लेख्न पाएर के गर्नु, बोलेर र लेखेर मात्र मुखमा माड पस्दोरहेनछ । भुँडी ढड्याउन काम गर्नै पर्दोरहेछ । कामका लागि रोजगारी चाहिँदोरहेछ । रोजगारी घटेको घट्यै छ, जाबो गाईजात्राको मात्रा बढेर के गर्नु ? सधै देखाइने गरेको गाईजात्राले गर्दा दर्शकको सङ्ख्या घटेर पुर्सुङ्गेहरूको सङ्ख्या मात्र बाँकी रहेको छ । खान पुग्ने भए मैले पनि सधै गाईजात्रा हेरिरहन्थेँ ।

हाम्रोतिर पुर्सुङ्गेलाई घाँडे भन्ने चलन छ । शायद गाईजात्रामा गाई बनेर नाच्नेको गोठालो बनेर नाच्दा पिँध नभएको थोत्रो ठेकी झुन्ड्याएर गाई दुहुने अभिनय गर्ने भएर पो हो कि! जेहोस् घाँडेले भरपूर मनोरञ्जन दिन्छ गाईले भन्दा । ससाना बालबच्चाको त सातोपुत्लो नै उड्छ । राक्षसको थुतुनो भएको खप्पर भिरेर अर्धनग्न अवस्थामा पाडाका आन्द्रा र भाङ्ग्रे पहिरनमा मकैका पोस्कर भिरेर गाईका वरिपरि उट्पट्याङ् गर्दै दर्शकहरूलाई हँसाउनु घाँडेहरूको मुख्य काम हुन्छ । यसबाट मान्छेलाई पेट मिचीमिची हाँस्न बाध्य बनाउँछ । न कुनै नेताको क्यारिकेचर गर्नुपर्छ न कसैलाई तथानाम बोलेर सराप्नु नै पर्छ । यस्तो पवित्र गाईजात्रालाई आजकल किन हो किन तल्लो स्तरमा झरेर आधुनिक महाराजहरूलाई गालीगलौज गर्नमा मात्र सीमित गराइएको छ ।

हुन त जमाना फेरियो साहिली भने झैँ जुगले चोला फेरेर कृत्रिमतालाई नै वास्तविकता मान्नुपर्ने बाध्यता बनाइदिएपछि कसको बाबुको के लाग्नु र ! जथाभावी खोल्न र बोल्न पाइने युटुबे भिडियोहरूले टुङ्गो न बुङ्गोका कमेडी देखाएर मान्छेको दिमाग चाटिरहेका हुन्छन् । बोलेर नसकिने ठाउँमा लेखेर के सकिनु ।

कहाँ म लम्फुदासले उहिलेका कुरा पो गरिरहेछु । अहिले त गणतन्त्र पो आइसक्यो क्यारे ! पञ्चायती व्यवस्थातिरका कुरा गरेर के फाइदा हँ ? त्यो व्यवस्थामा पो वर्षको एक दिन गाईजात्रा हुन्थ्यो । अहिले बोल्न लेख्न पाइने यस्तो गणतान्त्रिक समयमा दिनदिनै गाईजात्रा देखाए पनि कसैले रोकटोक गर्न मिल्दैन नि त ! यो कुरा त मैले भुसुक्कै बिर्सेँछु क्या । फेरि राजा पनि त हटिसकेर गणतन्त्र आइसकेको छ नि । राजा बस्ने गद्दीमा प्रजा नै बस्न पाएपछि, निरङ्कुशता नै नभएपछि किन एक दिनलाई मात्र गाईजात्रा घोषणा गर्नु भनेर दिनदिनै गाईजात्रा देखाउने छुट पाइएको होला । यो लम्फु मगजले यस्तै ठान्यो । गल्ती भएको भए माफ पाउँ है ।

अब राजा नभएकाले हामी सबै जनता । ती जनतामध्ये अलिक टाँठाबाठा चाहिँ नेता । अरु तपाईं-हामी जस्ता भने न उता न यता ! त्यसैले राजाको कुर्चीमा बस्न पाउने चाहिँ नेता । नेता पनि कोही काला कोही सेता । जे भए पनि कुर्चीबाट खुस्किनेबित्तिकै ती पनि जनता । कि कसो ? तपाईं नै भन्नुहोस् । नत्र कुर्चीमा छउन्जेल जनता भन्ने शब्दको उच्चारण पनि नगर्नेले किन कुर्ची फुत्किनेबित्तिकै अब जनताछेउ जान्छौँ भनेर गाईजात्रा देखाउनुपर्थ्यो र ? त्यसैले अहिले राजाको कुर्चीमा बस्नेले पनि गाईजात्रा देखाउन पाइने व्यवस्था भएको हो । त्यत्तिकै गणतन्त्र त भनिएको हैन नि । अचम्म लाग्दो कुरो यही हो क्या ! कुर्चीमा पुग्नासाथ जनताको ज नजान्नेले जब कुर्ची फुत्किन्छ तब जनतासँग ज्यूहजुर गर्न थाल्नुपर्छ । जब कुर्चीमा फुत्त चढ्ने चौका दाउ पर्छ तब जाबा जनता बिर्से पनि हुन्छ । पछिको कुरा भन्न सकिएन, अहिलेसम्म त बाजे बराजुका पालादेखि सुनेको र हाम्रै पालामा भोगेको पनि यस्तै हो । बरु कुर्चीका लागि तँछाडमछाड गरेर भव्य गाईजात्रा देखाएको कुरा सोह्रै आना साँचो हो ।

यस्तो रहस्यमय कुरा म लम्फुदासलाई कहाँ थाहा हुन्थ्यो र तल्लारे माइलाले नभनेको भए । अस्ति आएर मलाई उनले भने, ‘ए, भाइ ! हिँड गाईजात्रा हेर्न जाउँ।‘ म परेँ सोझो मान्छे भने, होइन भोलि मात्र जनैपूर्णिमा हो । गाईजात्रा त पर्सि हैन र ?’ उनले हातमा समातेर तान्दै भने, ‘हत्तेरी कस्तो मान्छे! पत्याउँदै नपत्याउने । हिँड न म तिमीलाई गाईजात्रा देखाइदिन्छु क्या ।‘ अनि लागेँ उनका पछिपछि । बानेश्वर पुगेपछि उनले संसद भवन देखाउँदै भने, ‘लौ हेर ! ऊ त्यहीँ हो तीनसय पैँसठ्ठी दिन गाईजात्रा हुने ठाउँ ! यस ठाउँमा जनैपूर्णिमाको भोलिपल्ट मात्र हैन कन्धनी औँसीको अघिल्लो दिन पनि गाईजात्रा लाग्छ, लँगौटीअष्टमीकै दिन पनि गाईजात्रा लाग्छ, के कुरा गर्छौ तिमी ?’ म त जिल्लै !!

सधै गाईजात्रा हेरेर सारङ्गी जस्तो पेट मिचीमिची हाँस्न पाउनु हामी नेपालीको सौभाग्य हो । हामीले बोल्न पाए पुगिहाल्छ, खान लाउन त विदेशीले ऋण दिइहाल्छन् नि । के भो र गणतन्त्र आएकै छ । सबै जना सधै जनता मात्र भइरहनुपर्छ भन्ने छैन क्यारे । तपाईं पनि नेता बन्नुहोस् न त गाईजात्रा देखाउन पाइहाल्नुहुन्छ । जनताले देखाएको गाईजात्रा त कसले पो हेर्लान् र । एक दिन न एक दिन त्यो कुर्चीमा जाने पालो तपाईंको पनि कसो नाआउला गाँठे !
जय गाईजात्रा !

०००
२०८१ भदौ २ गते
गुल्मी ।

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उखानको बखान : भुक्ने कुकुरले टोक्दैन

उखानको बखान : भुक्ने...

काशीनाथ मिश्रित
सत्ता पल्टाइयो

सत्ता पल्टाइयो

काशीनाथ मिश्रित
फेरि असार आयो !

फेरि असार आयो !

काशीनाथ मिश्रित
के थालियो ?

के थालियो ?

काशीनाथ मिश्रित
उत्तरआधुनिक दशैँं

उत्तरआधुनिक दशैँं

रामप्रसाद पन्थी
ङिच्चपुराण

ङिच्चपुराण

रमेश समर्थन
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
0
Would love your thoughts, please comment.x
()
x