चूडामणि रेग्मीअनुसन्धान प्रस्तावका गफ !
अकर्तव्यपरायणतारूपी वादलले ढाकेर वातावरण पुरै धमिलिइसक्यो । आज रुस र चिनले मात्र कर्तव्य बिर्सेका छैनन् - आज कर्तव्य ‘तपाईं’ र ‘मैले’ पनि बिर्सिसकेका छौँ ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
चरित्रानुसन्धान
गफडी पनि अनुसन्धानका कुरागरुवा भयो ! भनी खिस्सा छाडी नहाँस्नुहोला । जब यहाँ ‘क’ मात्र चिनेका मन्त्री हुन्छन्, म्याट्रिक पनि मरेर छिरेर यसो गुप्तचरी गरेर भुडी भर्दै, लाइसेन्स हत्याउन सकेका भरमा पातो रङ्गाउने निकै जना ढलीमली गरिखाने पत्रकार हुन्छन्, चाकरीवाज विद्वान् कहलाउँछन्, जुनियर भएर पनि सिनियरभन्दा वडा हुन्छन्, जहाँ सेडा खोली गेडा गन्नेहरू गैंडा गन्छन्, जहाँ पदलोलुपहरू सहजै सोर्सका भरमा प्रमोसन र पुरस्कार पाउँछन् र कुर्सी उडुवाले नै माथिको कुर्सी अँठ्याउन पाउँछन्, जहाँ वन मास्नेको दलाल नै बनमन्त्री हुन्छन्, जहाँ शिक्षा मास्ने नै शिक्षामन्त्री हुन्छन्, जहाँ विकेन्द्रित गर्नेहरू शक्तिकेन्द्रित गर्छन्, जहाँ योग्यता मासिन्छ र विद्वत्ता नासिन्छ, जहाँ पी.एच.डी. लिनेहरूभन्दा पी. एच डी. का विषय हुने विद्वान् तल ठानिन्छन्, जहाँ सृजनाभन्दा तथाकथित खेस्रा अनुसन्धान महान् मानिन्छन्, (जुन अनुसन्धाता यताउतिको मात्र वस्तु सङ्कलन गर्न खप्पिस हुन्छ), जहाँ मूल्याङ्कनले मूललाई थिलिपितिली पार्छ त्यहाँ गफ गरेर नै समय बिताइआएको यो गफडी पनि अनुसन्धानका कुरा गर्छ भने कुनै आठौं आश्चर्य होइन होला भनी कर नजोडी विन्ती गर्छ यो गफडी !
हो आजको गफडीको विषय हो अनुसन्धान गफ । अनि अनुसन्धानका कुरामा पहिलो हो चरित्र ।
गफडी राम, सीता, कृष्ण कंशहरू, लिङ्कन, मार्क्स, गान्धी आदिलाई अघि सार्न चाहन्थ्यो, तर गफडीको एउटा उट्पट्याङ अनुसन्धानकर्ता साथीले रामको नाम लिनासाथ के भन्यो भने ‘हेर् गफडी, तँ साँच्चै गफ गर्छस् र अनुसन्धान पनि गर्छस् भने त्यस्ता क्यारेक्टरलेस देउताको नाम नली !’ (ऊ वास्तवमा उट्पटाङ न थियो । बखान्यो । शिवका कुरा सोध्छस् भने ऊ गँजडी नै हो, (गफडी होइन नि !) सँगडी ! कृष्णका कुरा सोध्छस् भने कति हजार थिए उसका जनानाहरू यसबारे बुझ । इन्द्र त अप्सराहरूवाल नै हो !… गफडीले कान थुन्यो । गुन्यो गफडी ठुलाका कुरा अब अनुसन्धान गर्दैन, अनि उसले नेताहरूका विषयमा अनुसन्धान गर्ने विचार गरी त्यताको अनुसन्धान सुरु गर्नासाथ एउटा साथीले सुझाउ बक्यो ‘नेतृत्व अथवा राजनीति तब सुरु हुन्छ, जव चरित्रको चरमसीमामा पतन हुन्छ ।’ यसपछि यो प्रकारले अनुसन्धान का कुरा गर्न र अनुसन्धान गर्न पनि मन लागेन गफडीलाई ।
कूट र फुटानुसन्धान
गफडीको अर्को अनुसन्धानको विषय ‘कूट र फुट’ हो । गफडीलाई सम्झना आयो- एक जना भारतीय नेताले भनेका कुरा । कुनै वेला उनले भनेका थिए, ’चिनसँग मैत्री गर्दा नेहरूले राजनीतिक ढङ्गले मात्र गरे, तर तिब्बतलाई चिनको अङ्ग मानी कूटनीतिक दृष्टिमा उनी पुरा असफल भए । नेहरु तिब्बतमा त असफल-सफल जे भए-भए तर उनको कूटनीति उनकी छोरी प्रधानमन्त्री नभए भारत फुट्ने भएछ । (एक महान् अनुसन्धानको नमुना । भारेभुरे अनुसन्धानका नमुना हुन् । यहाँ अञ्चल प्रशासनहरू कूट र फुट गरी-गरी सिमेन्ट ब्ल्याक गराई गोजी टम्म पार्छन् । विद्यार्थीलाई झुटा आश्वासन दिन्छन्, अनि तिनले सक्कली कुरा बुझे भने विद्यार्थी-विद्यार्थीमा कूट गरी फूट हाल्छन् अनि जसरी हुन्छ लडाउने, भिडाउने काम गर्छन् । यहाँका अन्य कूट कुरा के हुन् भने जमिन्दारहरू फुट पारी-पारी प्रधानपञ्च हुनु-मास्तिर चढ्नु । व्यापारीका कूटनीति फुटनीति हुन्- धानको भाउ अहिले घटाउने स्थिति पार्नु, असार- साउनतिर गएर मालामाल हुने वातावरण बनाउनु । यसका लागि प्रशस्त कूटनीति हुन्छन्- तिनमा एक हो नीतिनिर्धारण नै नगर्ने । गोजी भर्न पल्किएका ठुलाबडाहरू कूट र फूटनीतिमै विश्वास गर्छन् । यस्ता विषयमा गजवका अनुसन्धान गर्ने हो भने गहिरा कुरा पत्ता लाग्छन् भन्छ गफडी !
अनुशासनानुसन्धान
अनुशासनबिना समाज लथालिङ्ग हुन्छ । गफडी देख्छ- यस विषयमा पनि अनुसन्धान हुनुपर्छ । अचेल छात्र किन अनुशासनमा छैनन् ? भन्ने प्रश्न गर्दा पढाउने शिक्षक नै अनुशासनमा छैनन् । ती शिक्षक किन अनुशासनमा छैनन् भन्दा शिक्षा- क्षेत्रका हाकिम नै अनुशासन उल्लङ्घन हुने काम गर्छन् । प्रत्येक भन्छन् ‘माथिकाबाट अनुशासन पालन भएन ।’ यस अनुशासनलाई प्रशासनतिर खोजी-मेली गर्दा यता त झन् गिरेकै पाइन्छ । सबतिर गडबडीका कारणमा प्रमुख हुन्- चरित्रपतनता, अनुशासनहीनता अनि गोजी भर्नका लागि कूटफुटनीतिता ।
पातमा पात ! बातमा बात !
काठमाडौं बसेर आएको मान्छे निकै प्रसन्न देखिन्छ र ऊ आफूलाई निकै महत्वपूर्ण ठान्छ । काठमाडौं खाएर आएको साथी पनि साथीसँग पातमा पात भए झै बातमा बात हुँदा गफडी भन्दैछ, ‘तातो’ नभएर ‘चिसो’ हुन्छ । यो चिसोपन पनि अनुसन्धेय नै छ । आज एक साथीले अर्को साथी बिर्सिसक्यो । आज एक नागरिकले अर्को नागरिकसँग गर्ने कर्तव्य खाइसक्यो । आज सम्प्रदायले बिर्सिसक्यो, जातिगत कर्तव्य । आज कूट र फुटले पनि बिताइसक्यो सम्पूर्ण कर्तव्य । अकर्तव्यपरायणतारूपी वादलले ढाकेर वातावरण पुरै धमिलिइसक्यो । आज रुस र चिनले मात्र कर्तव्य बिर्सेका छैनन् – आज कर्तव्य ‘तपाईं’ र ‘मैले’ पनि बिर्सिसकेका छौँ । आज नैतिक ह्रास ज्यादै अनुसन्धेय भइसकेको छ । गफडीको विचारमा ‘अनुसन्धान’ ‘आफू’ बाटै र ‘ठुलाबडा’ बाटै सुरु भएर तलतिर हुनुपर्छ । आजको प्रस्ताव यत्ति नै । अरु फेरि ।
०००
युगज्ञान वर्ष ११, अङ्क १९, २०३६
‘गफडीका गफ’ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































