कृष्ण शर्मा सुमुबाहुन अनि च्याउ
लास्टमा भन्नुपर्दा इच्छा हुनेले बजारमा बिक्री गर्नु राखेको च्याउ खाँदा हुन्छ तर नानाभाँती कुरा अनि अन्धविश्वास पालेर खाँउ खाँउ लाग्दा पनि मुखभरि थुक निकालेर नखाएको राम्रो ।

कृष्ण शर्मा सुमु :
हुनु त समय अविरल बगेको छ । समयसित मानिसको जीवनशैली पनि धेरै अन्तर आएको छ । अब कुरा उखानसित गरौँ बाहुनले च्याउ खाओस् न स्वाद पाओस् भनेर आजको दिनमा जातपात मानेर रुढीबादी कुरा गरे कानुनले पनि समाउँछ कि जस्तो लाग्छ…
हुनु पनि हो पहिला मानिस गाउँमा बस्थे । शहरीकरणको यो ढाँचा थिएन । आज त गाउँमा पनि छेउको घरमा को को छ भनेर छिमेकीलाई सोध्दा छिमेकीलाई थाहा हुँदैन । अब छिमेकीको घरमा के पाक्यो केही थाहा हुँदैन । वैज्ञानिक युगमा हामी छौँ । अब छिमेकी घरमा के पाक्यो त्यो त थाहा छैन भनेपछि यो जातले यो खान्छ त्यो जातले त्यो खान्छ भनेर मैले यहाँ कुनै जातको मैनु चाट नबनाएको वेश होला ।
यो जात त्यो जात भनेर छुटाउने चलनसित पनि मलाई रिस उठ्छ । खासमा नामको पछाडि जो सरनेम लेखिन्छ नि त्यसलाई नै हटाइदिए कसो होला ? म त भन्छु यो सरनेम लेख्नु भन्दा सबैले गोत्र लेख्दा कसो होला । यदि सरनेम नलेखेर यदि गोत्र मात्रै हामीले हाले संसारमा ठुलो जात सानो जात कोही हुँदैन । जब सृष्टिको सिर्जना भएको थियो तब यो सरनेम (जात) थिएन । मानिसको वंशानुक्रम अनुसार पिता पुर्खाको नामसित वंशको गोत्र मात्रै थियो । गोत्र मात्रै लेख्दा यो छुवाछूत जस्तो कुप्रथा हाम्रो समाजबाट हटेर जानेछ । मानिस चेतनशील प्राणी हो । साम्राज्य विस्तारसितै चलाख जातले आफूलाई उच्च स्थानमा राखेर गरीब वा निचावर्गमा देखाउँदा आफैँलाई फाइदा हुने कुरा वा शासण गर्नु सजिलो भएको थियो।मानिस जन्मले होइन कर्मले महान बन्छ । जातलाई बाँधेर यदि वंश बस्छ भने डाक्टरको छोरा पनि कुनै विद्या वा डिग्री नलिकन उ पनि डाक्टर नै हुनु पर्ने होइन र ? मतलब मानिस कर्मले वा विद्याले महान बन्छ । यो मेरो तर्क हो ।
अँ साँच्चै म के भन्दै थिए… घरि झरीच्याउको कुरा गर्छ घरि च्याउको कुरा गर्छ पक्का पनि यो बाहुनलाई च्याउ मन पर्छ होला भनेर नसोच्नु । अब माथि उठाएको शीर्षक आज एकाइसौं शताब्दीमा तर्क सहित नभए बाहुन जातले च्याउ खानु हुन्छ ।
थुप्रै किंवदन्ती कथा छ साँपले आफ्नो जहर सबै भन्दा पहिला च्याउमा प्रयोग गर्छ रे… तब च्याउ विषालु हुन्छ किन भने साँपको जहर त च्याउमा हुन्छ । यदि विषयुक्त च्याउको सेवनले मानिसमा जहर पुग्ने डरले च्याउ खानु हुँदैन भन्ने किंवदन्ती कथामा कति सत्य छ त्यो तपाईंको मानसपटलमा मैले छोडिदिए…
च्याउ ढुँसी (फगंस) एक प्रकारको बिरुवाहरूमा हरितकण नहुने हुनाले यिनीहरूले प्रकाश संश्लेषण क्रिया गर्न सक्तैनन् । यी बिरुवाहरू मृतोपजीवी हुन् । यिनीहरू कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छन् । यहाँ बुझ्नु पर्ने अर्को के कुरा छ भने यो कुहिएको वस्तुबाट उम्रन्छ । यहाँ मैले वैज्ञानिक कुराको अलिकति एक अंश भने…
बाहुनले च्याउ किन खाएन त ? महाभारत कालको एउटा कथा यस्तो रोचक रहेछ जब स्वर्गका राजा इन्द्रले वृत्रासुरसित युद्ध गर्दा स्वर्ग नै हार्नु परेको थियोे । युद्ध हारेपछि इन्द्रले लुकेर आफ्नो प्राण बचाएको थिए । यसरी लामो समय सम्म वृत्रासुरले स्वर्गमा शासन गर्दा भगवानहरूले इन्द्रलाई मित्रता गाँस्नु लगाएका थिए । मित्रताको लामो समयपछि एकदिन समुन्द्रमा पौडी खेल्न भनेर इन्द्रले छल सहित वृत्रासुरलाई लगेका थिए । समुद्रको नुन युक्त पानी अनि बालुवाको अस्त्र (हतियार) बनाएर वृत्रासुरलाई मारेका घटना उल्लेख छ । वृत्रासुर जन्मले बाहुनका छोरा थिए भने कर्मले उनी राक्षस थिए । अस्त्रको प्रयोग गर्दा वृत्रासुरको रगत समुन्द्रको बालुवामा पर्दा त्यहाँबाट च्याउको सिर्जना भएको थियो । जन्मले वृत्रासुर बाहुन भएको कारण बाहुनको रगतबाट च्याउ जन्मेको हुनाले बाहुनले च्याउ नखाएको मान्यता छ ।
‘च्याउ चिसो र ओसिलो ठाउँमा उम्रन्छन्’ यो जीव विज्ञानले भन्छ । यता एउटा प्रश्न आयो समुन्द्र किनार बालुवा नै हुन्छ वा नुन हुन्छ । च्याउ कसरी बालुवामा उम्रे त ?
ऋषि महर्षिहरू पहिले बाहुन नै हुन्थे । उनीहरू प्राय नै योग वा ध्यानमा बस्थे । कुनै च्याउ वान्ता गराउने खालका हुन्छ । दिसा गराउने र रिङ्गाउने खालको हुन्छन् । कुनै आँखा झिम झिम पार्ने हुन्छ । मुख्य कुरा त्यस समय तकनीकिको आविष्कार भएको थिएन । च्याउले मानिसलाई विभिन्न प्रकारको रोग दिने हुँदा ऋषि महर्षिहरूको ध्यान एकाग्रता नहुने भएको कारणले पनि च्याउ नखाएको मान्यता छ । ध्यानमा बस्दा अचानक दिसा मात्रै आए पनि ध्यान भङ्ग भएन त ?
जे होस मानिस भएपछि एकै जातलाई फाइदा हुने कुरा गरेर अरूलाई मर्नु दिनु भएन ।
च्याउमा हुने फाइदा बारे बुझ्दा च्याउ जातको आधारमा मात्रै राम्रो नभएर यो हरितकण नभएको एउटा ढुँसी हो । तर यसका धेरै अवगुण भए पनि यसको धेरै गुण पनि रहेछ । ब्लड प्रेसर जस्तो बिमारीलाई यसको सेवनले मात्रै पनि नियन्त्रण गर्न मद्दत गरेको पाइन्छ ।
यसमा भिटामिन डी पाइन्छ । यसमा कार्बीहाइडेको मात्रा धेरै हुनाले पेटको धेरै रोग निको पार्छ । यसले कोलेस्ट्रोललाई कम गर्नु मद्दत गर्छ । च्याउले शरीरमा इन्सुलिनको निर्माण गर्छ । यसले सुगर रोग नियन्त्रण गर्छ । यसमा भिटामिन, मिनरल, फाइभर पाइन्छ । यसमा लीन प्रोटिन हुन्छ जसले ओजन घटाउनुमा मद्दत गर्छ । यसमा सोडियम साल्ट हुँदैन यसले मोटाउने वा हृदय रोग जस्तो बिमारी लाग्दैन । यसले खुनमा होमोग्लोबिनलाई सन्तुलित बनाउँछ ।
अब यत्रो गुण भएको च्याउ बाहुनले किन खाएनन् त ? च्याउ सबै जात ,भूगोल तथा वर्गका मानिसले खान मिल्छ । विश्वमा सबैभन्दा बढी च्याउ उत्पादन गर्ने देश चीन हो । भारत वा नेपालको कुरा गर्नु पर्दा १३०० सय प्रजातिको च्याउ यहाँ पाइन्छ तर १०० भन्दा बढी च्याउ विषालु पाइन्छ ।
अब विषालु च्याउ कसरी चिन्नु सकिन्छ त ? खैरो चम्किलो टोपी भएका छाता वा डाँठमा काँडा भएको डाँठमा रिङ भएको च्याउ विषालु हुन्छ ।
विषालु च्याउ कसरी चिन्ने त ? यदि पकाउदा चाँदीको चम्चीले च्याउ चलाउँदा यदि चम्चीको रङ बदलेमा च्याउ विषालु हुने जनमानसको भनाइ छ । यदि चम्चीले रङ बदली नभए खाना योग्य भनेर बुढापाखाले कुरा गरेको पनि सुनेका छौँ ।
यदि कुनै किरा लागेको छ भने पनि च्याउ विषालु छैन भनेर जान्नु सकिन्छ ।
यदि च्याउ पकाउँदा टिमुर, लसुन, निम्बु हालेर पकाउँदा पनि च्याउको विष भाग्छ भनेर कतिले प्रयोग गरेको पनि देखेका छौँ । मशरूमको वैज्ञानिक नाम एगरिकस बिस्पोरस हो।यसरी वैज्ञानिक नाम बाहुनको नाम छैन भनेर पक्का नखाएको होइनन् होला ।
अब कुराको चुरो कुरा गर्दा बाहुन अनि च्याउ माथि यत्रो नानाथरी कुरा गरेता पनि च्याउ विषयमा धेरै अनुसन्धान भएता पनि सबै च्याउ खानु हुँदैन भने पक्षमा म पनि आए।जंगली च्याउ चिनेर मात्रै खाँदा हुन्छ यदि चिन्नु सक्नु भएन भने लोभ गरेर नखाएको राम्रो ।
लास्टमा भन्नुपर्दा इच्छा हुनेले बजारमा बिक्री गर्नु राखेको च्याउ खाँदा हुन्छ तर नानाभाँती कुरा अनि अन्धविश्वास पालेर खाँउ खाँउ लाग्दा पनि मुखभरि थुक निकालेर नखाएको राम्रो ।
अब भन्नु त यत्रो कुरा गरेपछि बाहुनले च्याउ खाँदा हुन्छ कि हुँदैन ?
०००
सिलगढी, भारत ।
Subscribe
Login
0 Comments
Oldest






































