
चुकुल नलगाएपछि !
चुकुल नलगाई नहुने अवस्था भनेकै पापाचार, भ्रष्टाचार र अत्याचारमा हो जसलाई चलाउने चालक भनेकै राजनीतिका लाउकेहरू हुन् । गाउँ गाउँका झुपडी र झुत्रा लुगामा बसेकाहरूलाई चुकलको आवश्यकता छैन ।

ह्यारी ८० :
झ्याल ढोका आदि नखोलिने पार्न भित्रपट्टिबाट जडेर लगाइने साधन नै चुकुल हो । यसलाई प्वाल परेका ठाउँमा टाल्न ठोकिने काठको टेक्रो, प्वाल टाल्ने वस्तु वा ठिँड्को भनेर कोशकारले पारिभाषित गरे पनि ढोका वा झ्याललाई बाहिरबाट कसैले खोल्न नसकिने गरी गरिएको छेस्किन नै चुकुल हो भन्न सकिन्छ । भन्ने नै हो भने ढोकामा लगाउने आग्लो वा गजबारको बिँडो थाम्ने साधन नै चुकुल हो । तर हिजोआज आग्लोलाई विस्तारै विस्थापित गर्दै गएकाले आग्लोको सौता जस्तो भएको छ चुकुल । विकासका फाइल सदर भएर जान लागेपछि एउटा न एउटा बाहनामा फाइल चुकुल लगाउने हाकिम सा’पको चुरो बुझेपछि तैँ चुप मै चुप हुने बानी नै ंचुकुल संस्कार हो । कार्यालयमा चुकुल लगाउने कि खुस्कने भन्ने कुरा राजनीतिमा भर पर्दछ । चुकल खुस्कँदा सरकार खुस्कने गर्दछ । प्रधानमन्त्री, मन्त्री, न्यायमूर्तिदेखि सकल दर्जाका सबैको पद खुस्कँदो रहेछ चुकुल खुस्केपछि ।
पहिले पहिले जो लाउँछ चुक्ली उही जान्छ फुक्ली भन्थे, अब त कि लगाउ चुकुल नत्र पाउँदैनौ कि कसो ? हालीमुहाली चलाउँदै आएका मै हुँ भन्ने सिंहले पनि राम्रोसँग चुकुल नलगाउँदा चपरीमुनिको बास भएको छ । चुकुल नलगाउँदा दुर्गममा सरुवा हुने कर्मचारीलाई सोध्नुहोस् न चुकुलको महत्त्व ।
होइन, चुकुल नभए जतिसुकै बलशाली छ भने पनि ढोका खुल्दो रहेछ । चुकुल वास्तवमै सुरक्षाका लागि कोसेढुङ्गो सावित भएको छ । देशको सिमानामा चुकुल लगाउन सकेको भए आज मेरो देशको माटो कति बग्यो भनेर सोध्नुपर्ने थिएन । चुकुल कस्न नसक्ता आज देशका सीमास्तम्भ वृद्ध मान्छेका फुक्लेका दाँतझैँ बनेका छन् । आज चुच्चे नक्सा हसिनाको हाँसोझैँ भएको छ भन्दै थिए फतुरे काका । चुकुल नभए पनि पिर भए पनि खुस्कला कि भन्ने चिन्ता ।
चुकुलको आविष्कार कसले गरे त्यसको इतिहास खोतलखातल गर्न त सकिएको छैन तर पनि चुकुलको प्रयोग अत्यधिक छ । छेस्किन नलगाउने समाजले कुनै पनि कुरा गोप्य राख्लान् भन्ने लाग्दैन । चुकुल लगाएपछिका गरिने सत्कर्म सबै सुरक्षित हुने छन् । त्यसैले चुकुल सभ्यता र संस्कृतिको संरक्षणको माध्यम हो । अर्कातिर चुकुलको भर नहुँदा कतिको अस्मिता लुटिएको छ । कति सामान चोरिएको, लुटिएको र असुरक्षित भएको छ । देशमा धेरै कोष स्थापना भएका छन् तर चुकुल गतिला नभएकाले सबका सब रित्तिँदै गएको छनक मिलेको छ । राज्यको ढुकुटीमा बडा राजाका स्थानमा छोटा राजाको बिगबिगी बढ्दा मकैबारीमा बाँदर पसेको जस्तो भएको छ ।
बोलीचाली, पहिरन, खानपान, संस्कार सम्बन्धमा गतिलो चुकुल लगाउन नसक्ता जताततै चुकुल खुस्केको देखिन्छ । जातीयतामा ठिमाहा चुकुल खुस्केको छ । गुम्दै गएको छ पहिचान । धर्मको घुलन तथा अन्तर्घुलनले समाज सर्बत बन्न पुगेको छ । परिवर्तन स्वाभाविक भए पनि अस्वाभाविक परिवर्तनले संरचना भत्कँदै जाँदा आदर्श चुकुलले मौलिक संस्कृतिलाई टेको दिन नसक्ने भएको प्रस्टै छ । पूरा दाम तिरेर पनि मक्किएको चुकुलको प्रयोगले ऐतिहासिक धरोहर बिस्तारै खण्डहर बन्दै गएको आभास सबैलाई भएको छ । चुकुलको छनोट र यसलाई सही ठाउँमा लगाउने राष्ट्रिय कालीगढको अभावले आज देशमा धेरै कुरा खुस्कँदै गएको छनक मिलेको छ । आशैआशले चुकुलको भर परी बस्दा बस्दा आज हामी ऋणं कृत्वा घृतं पिवेत्कै अवस्थामा पुगेका छौँ ।
आज चुकलको खोजी छ : छाडा गीतमा, छाडा टिकटकमा, छाडा युट्युबमा, छाडा इन्स्टाग्राममा, छाडा संस्कार र संस्कृतिमा । चुकुल नलगाई नहुने अवस्था भनेकै पापाचार, भ्रष्टाचार र अत्याचारमा हो जसलाई चलाउने चालक भनेकै राजनीतिका लाउकेहरू हुन् । गाउँ गाउँका झुपडी र झुत्रा लुगामा बसेकाहरूलाई चुकलको आवश्यकता छैन । जनतालाई जोतेर खान पल्केकाको गौँडो थुन्ने प्रयोजनका लागि झ्याल र ढोकामा चुकुुलको आवश्यकता छ र माग पनि छ ।
०००
गोकर्णेश्वर- ५, काठमाडौँ
२०८१ साल भाद्र १५ गते शनिबार
Subscribe
Login
0 Comments
Oldest