युगल बसेलफौज थरीथरीका
ताली पिट्ने बानी नानीदेखिकै भएकोले के कुरामा ताली पिट्ने र के कुरामा नपिट्ने भन्ने कुराको छ्यानब्यान गर्नेतर्फ नलागी फौज खाली ताली पिट्नतिरै तम्सन्छ ।

युगल बसेल :
फौज भन्नासाथ तपाईंले पहिलेको नेपाली शाही सेना, उहिलेको गैह्र नेपाली खाई सेना वा अहिलेको अन्तर्राष्ट्रिय नेपाली अघाई सेना भन्ने नबुझ्नुहोला र फौज भनेको पल्टन हो भनेर भनेर पनि दिमागलाई पल्टनबाजी नखुवाउनुहोला । यदि त्यस्तो कसैले अर्थबोध गर्छ भने उसको गिदी लिदीमा रूपान्तरण भयो कि भनेर डाक्टर वैद्य डाक्ने वा तिनीहरू भएतिर भाग्ने मुसिबत वा सङ्कट आउन सक्छ । बरु फौजको गोस्वारा अर्थ भनेको लक्ष्य, उद्देश्य, कार्यशैली र विचार शैलीमा धेरै अंशमा समानता भएको जमात हो भन्ने झन्जावातले खुल्दुलीलाई तपाईंले शान्त बात गराउनुहोला अनि मलाई शीर्षक नै बेतुकको छ भन्ने बात पनि नलगाउनुहोहला ।
बिरालो सेतो होस् वा कालो होस्, मुसा मार्न सक्ने हुनुपर्छ भनेजस्तै फौज तारे होस् वा माले होस्, शङ्खे होस् वा घन्टे होस्, तर मार्ने सामर्थ्य चाहिँ त्यसमा हुनैपर्छ नत्र त्यो फौज फौजमा गनिन्न । यसै मर्मलाई बुझेर हरेक फौजले तर मार्ने सिद्धान्तलाई मूलमन्त्रको रुपमा अङ्गालेका हुन्छन् ।
मेरो दसौँली बिन्ती के छ भने फौज त देशको सीमा रक्षा गर्ने जमात पो हो त भन्ने नबुझिदिनुहोला । मैले बयान गर्न तम्सिएका फौजहरूचाहिँ सीमारक्षक होइनन् बरु देश नामको किमाका भक्षक हुन् ।
रक्षक भएको स्वाङ पार्दै मुलुकलाई थिलोथिलो पारी यसको किमा बनाएर क्वाप्लक्क खाने अभिष्टि पालेकाहरूको ताँतीलाई यहाँनेर विवेच्य फौजको रुपमा बुझिदिनुहोला । फेरि बन्दुकको नालबाट गोली बर्साउने फौजलाई यस वर्णानुक्रममा समेटिएको छैन बरु नालको साटो नाकमुनिको प्वालबाट बोली रुपी गोली झार्ने फौजको विवेचना यहाँ गरिँदैछ ।
विवेच्य फौजभित्रका एकाइहरू एकै प्रकारका होलान्, सङ्गठित होलान् र दुस्मनको फौजलाई रणभूमिमा मात दिन हात उज्याइरहेका होलान् भन्ने सोचाइ तपाईं राख्नुहुन्छ भने त्यो सर्वथा गलत हो। फौजभित्रका एकाइमा कोही सुरे कोही पाँडे हुन्छन् र त त्यहाँ पनि अन्तर्द्वन्द्व हुन्छ, हानथाप हुन्छ, दाउपेच हुन्छ र कहिलेकाहीँ त अन्तर्घात समेत हुन्छ। यिनै आन्तरिक तत्त्वहरूले गर्दा कसैलाई माथैमाथ र कसैलाई पुर्पुरोमा हात हुने अवस्था आउँछ ।
अब लागौँ फौजको बान्कीको बयानतिर ।
पहिलो बान्की हो ‘उग्रचण्ड फौज’ ।
यो जमात ज्यादै मापाको हुन्छ अर्थात् आगो खाएर अँगार निकाल्ने खालको हुन्छ । आफूसित विमति राख्नेको तिथिमिति इति गराइदिन हातपात गर्ने मात्र होइन गलाकाटसम्मको हर्कत गर्नु यस किसिमका फौजको मूल प्रवृत्ति हो ।
अरूले नभने पनि यिनीहरू आफूलाई पराक्रमी, शुर, वीर हौँ भनेर दाबी गर्छन् । अचम्म के छ भने यिनीहरूको दाबीको पुष्टिको निम्ति चुनौती दिने हिम्मत आजसम्म कसैले गरेकै छैन ।
यिनीहरूको बास कहिले वनतिर र कहिले शहरतिर हुन्छ । वन गए वन छोड्न नमान्ने, सहर पसे शहरबाट निस्कन नमान्ने यिनीहरूको दोस्रो प्रवृत्ति हो ।
यस फौजका सेनापति चलायमान विद्यामा आफूलाई अब्बल छु भनेर दाबी गर्ने जबरजणन्ड बेहाल हुन् । नाइकेका पछि लाइतेहरू उद्दण्ड हुने भएकाले तिनलाई काबुमा राख्न नाइके जबर्जन्डलाई पनि हम्मेहम्मे पर्छ। यसको जन्म कहिले भयो र इतिहास के हो भन्ने कुरा सबै पाठकको मगजमा झलझली याद रहेकोले त्यसको चर्चा गर्न यहाँ आवश्यक ठानिएन । यस फौजको मुख्य चुनौती भनेको सुध्रिने कि सिद्धिने भन्ने छ । यस चुनौतीको सामना गर्नका लागि फौजले कस्तो रणनीति लिन्छ, त्यो भविष्यले देखाउने नै छ ।
दोस्रो प्रकारको फौज हो, भाटभट्यान मण्डल । भाटगिरीमा सिद्धहस्त भएकोले यस पल्टनको यो नाम जुरेको हो । भजन र स्तुति गायनमा यिनीहरू यति मग्न हुन्छन् कि शक्तिमानको तलुवामा तालु रगड्दा रगड्दै फौजी सिपाहीका रौँ नै खर्लप्पै खुइलिएका हुन्छन् । खुइलिएको तालु यिनीहरूको विशेष चिनारी हो । यस फौजको मुख्य उद्देश्य शक्तिमा हुनेको भजन र स्तुति गाउनु र त्यस बापत इनाम र बक्सिस हडप्नु हो ।
आफ्नो औकातले नभेट्ने खालको समेत शक्ति अभ्यास गर्न यो फौज सारै लालायित हुन्छ र शक्ति हत्याएर अभ्यास गर्न सफल समेत हुन्छ। हुँदै नभएका गुणहरूको गान गर्नु र तिलजति गुणलाई तिलस्मी ढङ्गले ताडको वृक्षजत्तिकै अग्लो बनाउनु यिनीहरूको बायाँ हातको खेल हो। यस फौजको उद्घाटन भकभके, बकबके र चकचके चुसुवा त्रयले एकैसाथ गरेका थिए । उद्घाटन भाषणमा चुसुवा त्रयले यस फौजको वृत्ति विकासको लागि आफूहरू असिना खाएर हुन्छ कि पसिना सुकाएर हुन्छ निरन्तर लागिरहने वचनबद्धता जनाएका थिए । अरु सबै वाचा कसम भुटीभसम पारे पनि यस वादालाई भने उनीहरूले काइदासाथ फाइदा लिँदै पूरा गर्दै आएका छन् र राम्रो जस पनि कमाउँदै आएका छन् ।
तेस्रो ढाँचाको फौज हो चुक्लीचण्डाल । खानपान, सुतान, जागराम सबै बिर्सिएर मरिहत्ते गर्दै अरुको कान भर्नु यस फौजको लक्ष्य हो । यो साइँदुवा फौजको विशेषता कस्तो हुन्छ भने नङ र मासुलाई समेत आफ्नो प्रचण्ड कलाले छिन्नभिन्न पारिदिन सक्छ । यस्तो ल्याकत राख्ने यस फौजले आफ्ना प्रतिद्वन्द्वीका सुकर्महरूलाई बङ्गाएर कुकर्मको जलप लगाइदिन सक्छ । छद्म रूप र भेष बनाउने कलामा पनि यो फौज निकै माहिर हुन्छ । प्रतिस्पर्धीलाई चुक्ली शक्तिको बलले तीनचित पारेर आफ्नो विजयी झण्डा फहराउने विद्यामा यो फौज पारङ्गत हुन्छ । ऐरे गैरे नत्थु खैरेले यस फौजसितको समरमा विजय हासिल गर्न सक्छ भनेर कसैले नचिताए हुन्छ । यो सत्यकथन थाहा हुँदाहुँदै पनि कुनै कुनै फौजले हुंकार गर्दै ललकार दिन अघि सर्छन् र छिट्टै पछारिएर सजिलै धुलो पनि चाट्छन् ।
यस पल्टनको इतिहास मानव सभ्यताजत्तिकै लामो छ । मानव समाजको गठन भएदेखि नै ठमठम गर्दै यो फौज उभिएको हो ।
यस फौजको उद्घाटन कसले गर्ने भन्ने बारेमा ठूलो तँछाडमछाड भएकोले उद्घाटन गर्न तम्सिएका प्रतिद्वन्दी बीच कसैले पनि उद्घाटन नगर्ने भन्ने सहमति कायम गर्ने परिस्थिति आइलाग्यो । त्यसैले यस पल्टनको शिलालेखको अनावरण हुन पनि बाँकी नै छ । उद्घाटन नभएको भए पनि यसको वैधतामा प्रश्न नउठाउने भन्ने पनि फौजका नाइकेहरू बीच सहमति भएको छ। त्यसैले यो फौज जमजमाएर हतकण्डा अपनाउँदै र तिकडमबाजी मचाउँदै युद्धकार्यमा बाजी मार्न सफल हुँदै आएको छ ।
मैले बखानमा छुटाउनै नहुने अर्को पल्टन चाहिँ कैँचीमार फौज हो । धेरै वर्ष पहिले धेरैबाट चिनिएको, मस्तैबाट किनिएको कैँचीमार चुरोट तन्काएकाले यस फौजको नाम कैँचीमार रहेको होला भन्ने गलत अन्दाज लगाउन जोसुकैलाई पनि मनाही छ । तपाईं हाम्रा विश्वास र भरोसाको सम्बन्धसूत्रमा कैँची चलाएर खुत्रुक्कै पार्ने भएकाले यस पल्टनको नाम कैँचीमार राखिएको हो भन्ने भनाइ न्वारान गर्ने नर्कवासी पुरेतको आत्माको रहेको छ ।
यस पल्टनका हरेक सदस्यको खल्तीमा धारिलो कैँची हुने गर्दछ । कैँची यति धारिला हुन्छन् कि जस्तोसुकै बलियो सम्बन्धको कडी वा सूत्रलाई यिनले बगरेले खसी छिनालेझैँ छर्लम्मै छिनालिदिने बुता राख्छन् ।
कोखामा वा पेटमा दाँत हुने फौज र कैँचीमार पल्टनका सदस्य बीच के कस्तो तालमेल छ भन्नुहोला, यिनीहरूबीचको तालमेल निकै घनिष्ठ र बलिष्ट छ । नेतृत्वको लागि गिद्धे नजर लगाउँदै पल्टनहरू घरी घरी जुट्ने र घरी घरी फुट्ने खालको बेजोड तालमेल हुन्छ ।
कैँचीमार पल्टनले विश्वास वा भरोसा धुजाधुजा पार्दा तपाईंको गिदी कति टनक टनक गर्छ भनेर मापन गर्ने यन्त्र अझै बनिनसकेकाले आविष्कार केन्द्रका महावीर पुनसमक्ष यो यन्त्र बनाउनु आवश्यक छ भन्ने मेरो सन्देशमूलक आह्वाहन तपाईं पाठकले पुर्याइदिनुहोला ।
झन् अर्को फौज हो, छेपारे फौज । छेपारोलेझैँ रङ्ग फेरिरहने भएकोले यस फौजको नाम छेपारे रहन गएको हो भन्ने धुरन्दार इतिहासकारको भनाइ रहेको छ । मौसमअनुसार वा स्थिति परिस्थितिअनुसार खर्लप्पै आफ्नो स्वाभाविक प्राकृतिक रङ्ग फेरेर आफ्नो चिनारीको नामनिशान नै धुजाधुजा पार्न यो पल्टन सिद्धहस्त हुन्छ, माहिर हुन्छ ।
यस पल्टनका संस्थापक नाइकेले यो कला उहिलेका छिपाहरू (कपडा रङ्गाउने पेसाकर्मी) बाट एक डोका स्वणर् सिक्का गुरु दक्षिणाको रूपमा दिने प्रलोभन देखाएर सिकेका र सिकाइपश्चात् रात गयो बात गयो भनेझैँ गरेर सिक्काको साटो धोक्राका धोक्रा धोकाका पोका दक्षिणाको रूपमा दिएका थिए भन्ने तथ्य प्रसिद्ध अनुसन्धानकर्ता गुमनाम (परिवर्तित नाम) ले आफ्नो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेका छन् । आफ्नो रङ बरोबर बदलिरहनु र अरुलाई पनि रङ फेर्न उक्साउनु यस पल्टनको मुख्य जिम्मेवारी हो भन्ने कुरा प्राप्त अभिलेखले पुष्टि गरेका छन् ।
यस बखानमा समेटिएको अर्को फौज हो सन्डमुसन्ड। फौजका प्रत्येक सिपाही भूसतिघ्रे हुनुपर्ने सर्त विधानमै समेटेर यस फौजको जन्म भएको हो । उम्मेदवार लास्ट बेन्चर हो कि फर्स्ट बेन्चर हो भन्ने कुरा भर्ना छनौटको मापदण्डमा पर्दैन वा भनौ यसले माने राख्दैन ।
सन्डमुसन्ड फौजको खास विशेषता के हो भने खुसीले दिए मौका छोपेर नदिए सङ्गीन घोपेर आफ्नो इरादा यसले पूरा गरी छाड्छ । जसरी पनि आफ्नो इरादा पूरा गर्ने सिद्धान्त यस फौजको धर्मगीता हो। झोलेहरूसित बसेर झोल घुड्क्याउने, चोलेहरूलाई ठाउँ कुठाउँ भेटेर जोर जुलुमका साथ चिथोर्ने वा सुटुक्याउने र सँगसँगै आलो मासु कुटुक्याउने यस फौजको मूल ध्येय हो । यिनीहरूले झ्यालखानाको र पाइखानाको यात्रा उत्तिकै परिमाणमा गर्ने गर्छन्। १२ वर्ष ढुङ्ग्रामा राखेर सोझ्याउन खोजे पनि यस फौजको पुच्छर बाङ्गाको बाङ्गै रहेको कुरा प्रयोगशालामा गरिएको एक प्रयोगले पुष्टि गरेको छ ।
थपडी फौज । यो पल्टन अलि शान्त र सौम्य खालको हुन्छ । रणमैदानमै खट्ने, डट्ने र लड्ने खुबी यस पल्टनमा हुन्न । बरु रणभूमिमा विजित र पराजित जोसुकैको पुरुषार्थ वा कापुरुषार्थ बापत ताली वा थपडी बजाउनु यस पल्टनको मुख्य उद्देश्य हो भनेर लम्बेतानको विधानमै उल्लेख गरिएको छ । ठुलाबडाले पुस्तक विमोचन गर्दा होस् वा मलमूत्र मोचन गर्दा होस्, सिँ सिँ गर्दा होस् वा हिँ हिँ गर्दा होस्, चोरीचकारी गर्दा होस् वा परस्त्री गमनका लागि पर्खाल चढ्दा होस्, सुनका ढेलाको तस्करी गर्दा होस् वा उनन्सत्तरी करोडको डिमान्ड गर्दा होस्, परमार्थी काण्डमा होस् वा शरणार्थी काण्डमा होस् वा कन्डम काण्डमै किन नहोस् हत्केलाका रेखा घिसिउन्जेल ,मेटिउन्जेल थपडी मार्ने आफ्नो कर्तव्य पूरा गर्न यो फौज कहिल्यै चुक्दैन । यहाँसम्म कि बुढी रमितामा लागेको बेला स्यालले कुखुरा टप्कायो भने पनि पल्टनियाँ ताली पिट्न अग्रसर भइहाल्छ । ताली पिट्ने बानी नानीदेखिकै भएकोले के कुरामा ताली पिट्ने र के कुरामा नपिट्ने भन्ने कुराको छ्यानब्यान गर्नेतर्फ नलागी फौज खाली ताली पिट्नतिरै तम्सन्छ ।
किर्लिङ किर्लिङ फौज
यस फौजको नाम एउटा ध्वनी विशेषको आधारमा रहन गएको हो र यो नवफौजमध्येको एक हो । यस फौजमा भर्ना हुन उमेर तन्नेरी र जिब्रो फतौरी हुनु जरुरी छ । यसको उद्देश्य हुइयाँ चलाएर अनुयायीहरूलाई चाहेको दिशातिर पैयाँ खेलाउनु हो । कदम चालले काम चल्दै चल्दैन बरु फर्द चाल जरुरी पर्न सक्छ । घोडा कुदाइका यी चालसितको अनभिज्ञताबाटबाट विज्ञतातिर लम्कने मौका पनि बोनसको रूपमा यस फौजमा भर्ना भएपछि सिपाहीलाई मिल्छ ।
साँझबिहानको परेड खेल्ने समय सङ्केत गर्न खास किसिमको ध्वनियन्त्रबाट ‘किर्लिङ किर्लिङ’ को आवाज निकालिने भएकाले नै यस फौजको नाम किर्लिङ किर्लिङ नै रहन गएको हो भन्ने भनाइ नामकरण शास्त्रवेत्ताहरूको छ ।
यस फौजको सेनापति पदमा टपरटुइयाँ लामकाने विराजमान छन् । यी सेनापतिबाट तयार पारिएको पाखण्ड विद्याको विशद व्याख्या गरिएको शोध ग्रन्थ हिस्स विद्यालयबाट चालू शैक्षिक सत्रमै स्वीकृत भएकाले उनको नामको पछाडि पाखण्ड विशारद भन्ने फुँदो जोसुकैले पनि जोड्नुपर्छ नत्र दम्के कारबाही गरिनेछ भन्ने धम्के उर्दी लामकाने काजीले जारी गरेका छन् ।
नाना ढाँचाका सय थरी बाजाको हजार थरी तालमा परेड खेल्ने विभिन्न ढाँचाका फौजहरू हाम्रो मुलुकमा छन् । तीमध्ये केहीको मात्रै आज यहाँ बखान गरियो । सबै फौजको पत्रपत्र केलाउने हो भने एउटा ठुलै ग्रन्थ तयार हुन सक्छ भन्ने ठम्याइ आफूलाई कलमबाज पल्टनको वरिष्ठ सिपाही हुँ भन्दै छाती ठोक्ने यस मामुली लेखुवाको छ ।
०००
तुम्कोट, सन्धिखर्क-१, अर्घाखाँची











































घुरेर हेर्ने, खित्का ओकल्दै ङिच्च दाँत देखाउने शब्द छनाेट र वाक्य गठनकाे तालमेलबाट सिर्जित भावले काे काे मरिच बन्नेहुन् भन्नै परेन । लेख्न बस्दा दिमागमा के सल्बलाउँदाे रछ हेर्न मन लागेकाे छ । पाहा पछारिए जसरी विकृतिका बादसाह पछार्ने भाषा शैली लेख्ने कलम चाहिँ कहाँ पाईँदाे रछ । अनि दिमाखलाई कुन मस्काेले माझेर टिलिक्क पार्न सकेकाे । के ले ताछ्दा भाव यति तिखाे हुने हाे । जड्दा पान खाएभन्दा बढ्ता रिङ्ग्यायाेत । अब सुकमेल फ्लेवरमा मिठा पातमा तीनसय साठी मिसिएकाे स्वाद चाहिएकाे छ । शुभकामना !
धन्यवाद सहृदयी शान्ति सर, आफ्नो कलात्मक प्रतिक्रियाबाट ऊर्जा थपिदिनु भएकोमा।
यो व्यंग्य जताबाट र जति घुमाएर प्रश्न सोधे पनि सेकेन्ड डिभिजन आउने गरी पढियो । मन चित्त लगाएर पढ्न पाएको बसेल सरको यो दोस्रो सिर्जना होला । रमाइलो लाग्यो भनौं कि मज्जा लाग्यो भनौं । लाग्न चै दुवै लाग्यो ।
राजनीतिक विषयवस्तुलाई रुचाउनु हुँदोरहेछ ।
विजया दशमी २०८१ ले बसेल सरलाई हामीले पेट दुख्ने गरी हाँस्न पुग्ने रचना सिर्जना गर्ने ऊर्जा थपिदेओस्; अझ सिर्जनशील बनाओस् : हार्दिक शुभकामना ।
हार्दिक आभार