भाेज अर्यालओलीबाटार
जब रात हुन्छ धेरै कुरा हुन्छन् ! कुन दिन कुर्ची नै लड्छ अनि सबै जना क्वाँ क्वाँ डाँको छोडेर रुन्छन् । सरकारको जय होस् ! देशको विकास जेसुकै होस् ! बुढो गोरुमा पनि अझै कति ठुलो जोश ।

भोज अर्याल :
मन्त्री परिषदको नियमित बैठक अनियमित तरिकाले बालुवाटारमै बस्यो ! यतिकैमा एक जना मन्त्रीको कानमा कन्सुत्लो पस्यो । मन्त्री हान्निँदै बाथरुममा गए, धेरैबेर उतै विपत्ता पो भए ।
दिउँसोको चर्को घाममा पनि सबै मन्त्री झर्को नमानी आएर कुर्चीमा पधारिएर बसेका थिए । बाह्र बजेको धुपमा रुप कालो बनाउँदै सबै जना खुप चाँडो आएका रहेछन् । के के न पाइएला भनेर ! घैँटो जत्रो भुँडी हल्लाउँदै ।
प्रधानमन्त्री पो बरू अलि ढिलो गरेका रहेछन् । खै यिनी कहाँ अलमलमा परे । कसैले केही मेसै पाएनन् अलिबेर । बा खै ? बा खै ? भनेर सबैजनाले सोधे । भन्दा भन्दै बा त जुमुक्क आइपुगे । जुँगा मुसार्दै, जुत्ता घसार्दै ।
ओली बा अलि लोसे लोसे पाराले हाँस्दै छिरिहाले हलभित्र । मुख मिठो गर्दैथे उनी । के खाँदै हो र हँ बा ? भनेर सोधे सबै जनाले । “साथीहरू भेट्न आउँदा मह उपहार लेएर आउनुभा रहेछ ।” एक चम्चा खाएको नि । अरु बचेको त सबै चम्चाहरूले नै खालान् नि ! गलल ..!
भोलिसम्म त एउटा छिटो पनि रहन्न । गुलियो चाट्दा बुढाले धन्न जिब्रो टोकेनछन् ।
धेरै मिठो रहेछ मह हुन पनि । मह गुलियो चाख्दै भुलियो । धन्नै मिटिङ नै भुलेनन् बरा बुढा मान्छे । तर आएछन् ढिलै भए पनि ।
सबै मन्त्रीहरू उठेर कुप्री परेरै नमस्कार पड्काए । बा हौसिहाले ! हौसिएर रौसिँदै बसि जो हाले । “कुर्चीको कति लोभ हो हुन पनि ! को गएर बस्दो हो र ? शेर्बारदाइको पालो आउन त गोडा बिस्सेक महिना पो छ तो गाँठे !” मन्तरीहरू काने खुसी गर्दै पो रइचन् । भन्दै गर्दा बाले बैठक सुरु अर्न पर्च अब भने ।
बाले मुख्खे सचिपलाई सुइँक्क आँखा सन्काए । सचिप चुइँक्क बोलेनन् । के छन एजेण्डा आजको लागि ? बरा सचिपले तयारै गर्न बिर्सेछन् । हुँदा हुँदा बैठकको लागि चार बुँदा । सबै जना छक्क परे कोही त अक्क न बक्क परे ! यी हाकिमले खै के गरे गरे । बैठक सुरु भयो । घर्यासी कुरा यसो समय मार्ने खेलो गरे !
बाले शुरुमै लोकतन्त्रको कुरा गरे । लोकतन्त्र आइसकेको यसलाई हामी सबै मिलेर खाइसकेको कुरा गरे ! अब छिटै भोकतन्त्र आउने कुरा सुनाए । चराहरूबाट स्वतन्त्रता र छुट तन्त्र सिक्नु पर्ने ! मुसाहरूबाट लुकेरै ठिक लुटतन्त्र सिक्नु पर्ने नत्र पैसामा बिक्नु पर्ने कुरा गरे । सबै जना खुसीले गदगद भएरै मरे ..!
सुरुमै नयाँ पार्टीको निन्दा गरे बाले ! उनीहरू खन्चुवा भएको कुरा गरे ! तर आफूहरू त महा खन्चुवा भएको पनि स्विकार गरे ! सुन्नेहरू पनि तिनछक पो परे ..!
सरकारको आयुको बारेमा नि कुरा भयो । बरा बाले यसो फेरो लगाएर औला भाँचे ! दुइ वर्षे न परियो आफू । मन्त्रीले ढाडस दिए । बाबा कुरा यसो छ नि ! पालो कुरेर ढुकेका सेर्बार दाइ नि उमेर कटेका मुन्छे छन् ! के थाहा उनी तलबितल पो हुनिहुन् कि ! हजुरकै तालुमा आलु पो फल्न नि के बेर हुन्चर है । बा मुसुमुसु हाँसे ! के होला र हजुर तेसो त । “मै पो खुस्किन्छु कि पहिल्यै नै !” सबै जना गललल हाँसे … !
कुरै कुरामा अलि धेरै कुरा चलिरहे ! रवि र छविको कुरा पनि भयो । बाले सोधिहाले । साँच्चै त्यो केटो कहाँ गयो ? सबै मन्त्री मरिमरि हाँसे ..! वाम एकताको कुरा गरे एक जना काम नपाएका मान्छेले । वामहरू कोइ कता हुन नहुने खामहरूको मात्र हुने कुरा दोहोर्याए बाबैले ! जो भएकै पनि छ । हुने नै छ । भोको स्याल पर्चण्ड घाममै जङ्गलमै रुने छ ..!
बाले जवाफ फर्काएनन् मात्रै थर्काए पनि ! एकछिनमा कुरै पनि तर्काए !
राधिका र म घुम्न निस्केका बिहान ! बाटोमा कुकुरले धन्न टोकेन ! मलाई पनि कुकुरलाई नै टोक्न मन लाग्यो ! कुकुरको पुरै टोक्दिन्थे होला कुकुरै कहाँ भाग्यो भाग्यो । मन्त्रीहरू मरिमरि हाँसे ..! हा हा हा हा ..!
एक जना मन्त्री बोलिहाले । “बा हजुरले किन बालुवाटारमै राखेको हो र यो बैठक ?” बा ले जवाफ देलान भन्दा त बिचरा मन्त्रीको सातै लेलान् झैं गरे । सिंहदरबारमा धेरै स्यालहरू भएको आफूलाइ खुबै ख्याल रहेको कुरा गरे । उनले त बालुवाटारबाटै शासन चलाउने अरे । बुढा बा खोक्लान् झैं गरे ! मन्त्री रिसाएर ठोक्लान् झैँ गरे । अरु सबै जिल्लाराम परे ! के के गरे गरे ।
बा ले आफूले फेसबुक खुबै चलाउने कुरा गरे । फेसबुकबाटै देशै चलाउने अरे । सबै मन्त्रीलाई यो कुरा भने ! कुरै सुनेर बरा मन्त्री त ठस ठस कन्ने… । अरु सबै गफ गर्दै दशैँ आउने दिन गन्ने ..! बाले थन्थनाउँदै के के भने भने । बालाई सत्ताकै पिर ! बाँकी सबैलाई भत्ताकै पिर । अरुको नसके पनि मन्त्रीको भत्ता बढाउनु पर्ने कुरा भयो । बरा ओल्बाको त सातो पो गयो कुरै सुनेर ।
बाले भट्टाउन थाले । ए भन भन भाइ हो ! भैलो खेल्न घरमा आऊ । कति भत्ता चाहियो ..? यो तिहारमा मेरै घरमाआऊ ! खान सकेको जति लात्तले पेलेरै खाऊ ! तिमीहरू सबै मेरा अगाडि चल्ला हौ ! म तिमेरुको माउ ! सबैजना भनिरहन्छन् मलाई ओली बाउ । अब नथापे हुन्छ कसैले कुर्चीको दाउ । सबै जना गलल हाँसिरहे … !
बैठक अन्त्यतिर आउँदै थियो । बरा बाले केही मेसो पाएनन् । के भनेर टुङ्गाउने होला । एक जनाले सोधे फेरि मेलम्चीको पानी कहिले आउँछ । बाले भने मेलम्चीको त खै कहिले आउँछ ? “आकाशको पानी रातितिर आउँछ होला । बादल पनि लागेको छ ।” फेरि सोधे अर्को मन्त्रीले । किन आउँदैन पानी ? बाले भने । मेरो बुद्धिमै बादल लागेको देख्नु हुन्न र !
हाँसे सबै मरिमरि ..!
एक मन्त्रीले सोधिन्, लाजै पो हुनि भो चौरासीमा भोट माग्न जान पनि हेर्नुन बा !
कामै देखाउन सकिएन ! बाले भने काम गरेर नदेखाए अरु देखाउनु न !! बाच्छोले के कपडा लाएर लाज ढाकेको छ र ! मन्त्रीको बोली नै बन्द । बाको मुस्कान मन्द मन्द ! सबै गललल… !
फेरि बालुवाटारको नामै बदल्ने कुरा भयो ! बाले सुझाव बटुले । एक जनाले भने यहाँ बालुवा नै छैन नाम मिलेन हटाएर जाम् । के नाम ठिक हुन्छ त फेरि ? टार हुनै पर्छ, किनकि काम र कुरा टार्ने ठाउँ न परो यो । एक मन्त्रीले भने हलुवाटार राखौँ न ! किन हजुर ..! चिया हलुवा पनि खान पाइन्छ नि यहाँ । त्यसै कारण । बा खित्का छोडेर हाँसे.. !
अर्को व्यक्ति बोले फेरि । यो ठाउँमा कुर्ची सत्ता र भत्ताको मोल मोलाई पनि हुन्छ । तोलाई पनि हुन्छ । बरु मलुवाटार राखौँ न हजुर नाम । सबैले हाँसेरै पेट मिचे, एक जनाले झुक्काएरै एक किल्लिक खिचे ! यो पनि पारित हुन सकेन बैठकमा ।
अन्तमा एक जनाले खाँटी कुरा सुझाए । नामको लागि ! बाले कान ठाडा पारेरै सुने लौन लौ भनिहाल्नुस् त के हो त्यो ! उनी अलिबेर रोकिए झैँ गरे ! भित्तैमा ठोकिए झैँ गरे ! कुरोको चुरो खोले बल्ल बोले । नाम तओलीबाटार हुन पर्च ! बाको बसाइँ नै यतै हो !
सबैले होमा हो मिलाए । सहमति मात्र हैन कि पारितै पो गरे । बा त तिन छक पो परे ! के भयो एकाएक यो ! मेरो त शानै पो कहाँबाट कहाँ गयो । लौ अब सबै कुरा भयो । छिटो छिटो गरेर घर जान पर्यो ! मन्त्री परिषदले बडा ठुलो काम गर्यो ।
साँझै हुन थालेकोले ओली बा बासतिर लागे !
अरु सबै मन्त्री त कहाँ भागे भागे… । जब रात हुन्छ धेरै कुरा हुन्छन् ! कुन दिन कुर्ची नै लड्छ अनि सबै जना क्वाँ क्वाँ डाँको छोडेर रुन्छन् । सरकारको जय होस् ! देशको विकास जेसुकै होस् ! बुढो गोरुमा पनि अझै कति ठुलो जोश । यस्तो सरकार त कसैलाई पनि बेहोर्न नपरोस् … !
०००
क्यानाडा










































मुन्तरीले मुनितिरकै कुरा गरेछन्, हैन?😉😀