सञ्जय साह मित्रभोजको निम्तो मान्न जाँदा
अलिकति कड्केर पड्केँ - भोजको निम्तोमा पनि बिल दिन लाज लाग्दैन ? विनम्र भावमा भन्यो - ‘भोजको निम्तो’ होटलको नाम हो । तल राम्ररी पढ्नुहोस्, कार्डमै लेखिएको छ नि - ‘उत्कृष्ट मूल्यको स्वाद’ ।

सञ्जय साह मित्र :
भोज भनेपछि मेरो मुखमा पानी आइहाल्छ । जबसम्म त्यो भोज खान्न तबसम्म मुखमा पानी आइरहने ग्रन्थीको मूल बन्द हुँदैन ।
“निम्तोपत्र बोक्नु भो ?” पत्नीको प्रश्नले सम्झेँ, निम्तोपत्रमा लेखिएको कुरा – भुस्याहा र किचकिचेहरूबाट जोगिन अनि चौरासी व्यञ्जन भोगिन गेटबाट फस्न यो कार्ड साथमा हुनु अनिवार्य छ विशिष्ट अतिथिज्यू ।”
नियमानुसार भोज खाएँ । खाएँ त के भन्नु, कोच्नुसम्म कोचेँ । अझै पनि धेरै व्यञ्जन कोच्न बाँकी नै रह्यो । पछुतो लाग्यो – घ्याम्पो जत्रो पेट पनि कहिलेकाहीँ साँघुरो लाग्दो रहेछ । मिल्ने भए कसैको पेट सापटी बोकेर भोजमा आएको भए हुन्थ्यो ।
सयौँ ठाउँमा भोजको वणर्न गर्न सक्ने सामथ्र्य बोकेर निस्कन खोज्दा आयोजकले रोक्यो । पस्दाको बेलाझैँ फेरि खाँदा र फूलमालाले खाँदाखाँद गर्लान्जस्तो लागेको थियो तर निम्तो कार्ड माग्यो । सगर्व बढाएँ । कार्ड फर्काउँदै भोजबिल पनि दियो । भ्याटसहित सात हजार रुपैया थियो ।
अलिकति कड्केर पड्केँ – भोजको निम्तोमा पनि बिल दिन लाज लाग्दैन ?
विनम्र भावमा भन्यो – ‘भोजको निम्तो’ होटलको नाम हो । तल राम्ररी पढ्नुहोस्, कार्डमै लेखिएको छ नि – ‘उत्कृष्ट मूल्यको स्वाद’ । मतलब भोज त खानुहोस् तर मूल्य तिरेर । अझ हामीले अर्को सुविधा पनि थप्दैछौँ – ‘किस्तामा खानुहोस्, एकैचोटि बिल तिनुहोस् ।’
उसको कुरो सुन्ने फुर्सद थिएन । डिजिटल पे गरेर गाली गर्दै निस्केँ ‘यस्तो नराम्रो भोजको त्यत्ति धेरै बिल !’
०००
रौतहट ।
Subscribe
Login
0 Comments
Oldest







































