रामप्रसाद पन्थीखैराँती मास्टरका खैराँती कुरा
मास्टर र विद्यार्थीमा सद्भाव छ । स्कुल बाल मैत्री छन् । कुनै सन्देह छैन । पहिले गुरूकुल हुँदा विद्यार्थी दबाबमा थिए । अहिले शिशुकुल छ । विद्यार्थीले चाहेको खान सक्छन् । लगाउन सक्छन् । पूर्ण स्वतन्त्रता छ ।

रामप्रसाद पन्थी :
पुरानो चलन अनुसार धेरै चिज सित्तैमा पाइन्थ्यो । किनबेचको चलन त्यतिसाह्रो थिएन । बिहेका गहना र पोसाक समेत मागेरै निर्वाह हुन्थ्यो । अहिले सित्तैमा केही पाइन्न भन्ने सुनेको छु । आफू परियो पहिलेको मान्छे । अहिलेको कुरा पहिलेका मानिसमा पक्कै लागू हुँदैन होला । त्यसैले सित्तैमा जवाफ पाउने आशाले केही जिज्ञासा राख्ने अनुमति चाहन्छु ।
तपाईं कुरा खानुहुन्छ या कुरा चबाउनु हुन्छ ?
मैले न कसैले कुरा खाएको देखेको छु न चबाएको । त्यसैले अचम्म लाग्छ । मान्छेहरू कसरी खान्छन् कुरा ? कसरी चबाउछन् ? कसरी पचाउछन् ? कसैले भन्छन्, फलानाले कुरा काट्दै हिडेको छ । केले काट्छन् कुरा ? हँसिया, बन्चरो, आरा वा अरु कुनै साधनले काट्दा हुन् ?
खाँटी कुरा गर्नुपर्दा मलाई कुरा ढाट्न आउँदैन । कुरा ढाट्न नजान्ने मान्छेले कसरी काट्नु कुरा ? कसरी चबाउनु ? कुनै उपाय भए बताइदिनुहोला । आभारी हुनेछु ।
आफूलाई अरुका कुरा गर्ने बानी कहिल्यै परेन । आफ्नै कुरा नसकिएर हैरानी छ । मैले कुरा मात्रै गर्न जानेको छैन । काम गर्न पनि जानेको छु । मैले जानेको काम हो कुरा गर्नु । कुरा गर्ने काम गरेवापत जागिरसित भात पाक्ने गरेको छ ।
पेशाका हिसाबले गुरु, अध्यापक, प्राध्यापक, शिक्षक, सर, टिचर, मास्टर आदि अनेक नामले पुकारिने गरेको छु । जुन नामले पुकारिए पनि काम कुरा गर्ने नै हो । कुरै कुरामा भुरालाई भुलाउने । दिन कटाउने । जागिर पकाउने । चार महिनामा चार पैसा बुझेर साहुलाई छकाउने । घरकालाई फकाउने ।
अस्ति भर्खर परीक्षाको नतिजा आयो । थोरै भुराले उच्चस्तरीय जि.पि.ए. ल्याए । धेरै भुराले निम्नस्तरीय एन. जी. ल्याए । धैरै भुराको एन.जी. आएको कुराले चर्चा पायो । एन.जी. आउनुलाई नराम्रो ठानियो । मास्टरको दोष मानियो ।
कुरा गर्यो कुरैको दुःख भनेको यहीँ हो । अस्ति भर्खर मैले नै पढाएको केटोले मन्चमा कुर्ली कुर्ली भन्दै थियो -“लास्ट बेन्चमा बसेर पढेको हुनाले मन्त्री भइयो । फस्ट बेन्चमा बसेर पढ्ने सचिवलाई कजाउन पाइयो ।” मेरो विचारमा एन.जी. ल्याउने बच्चाहरू नै यो देशका भविष्य हुन् । राम्रो अङ्क ल्याएर पास हुनेहरू ठूला देश गएर भासिने हुन् । यिनै एन.जी.हरू देशका बलिया खम्बा हुन् । रेमिटान्स पठाउने र देश चलाउने एन.जी. प्रति उपहास गर्नेहरू मूर्ख या धूर्त हुन् ।
धैरै बच्चाले धेरै अङ्क ल्याए भने देशको भविष्य बिग्रिँदैन ? कसले यहाँ बसेर राजनीति गरिदिन्छ ? कसले सरकार फेरिदिन्छ ? सत्ता फेरबदलको नाटक कसले हेरिदिन्छ ? कुरो बुझ्नु छैन । गुरु पुज्नु छैन । बिनासित्तैमा आरोप लगाउन पाइन्छ ?
गणतन्त्रको गफ मात्रै गर्ने हो कि पञ्चायत कालको शिक्षा ऐन पनि फेर्न पर्ने हो ? स्थायी, अस्थायी, राहत, पिसिएफ, निजी, सट्टा, काज, लियन… सत्रथरिका मास्टर कसले बनायो ? गुरूकुल, गोन्पा र मदरसा भनेर कसले लडायो ? कसले सडायो ? धार्मिक शिक्षाका नाममा अतिवाद कसले पढायो ?
मैले धेरै कुरा बुझ्दिन हजुर । खैराँती मास्टर न परियो ।दुईजिब्रे सर्प देखेको थिएँ । दुईजिब्रे मान्छे पनि हुँदा रहेछन् । एउटा जिब्राले मास्टरले राजनीति गर्न पाइँदैन भन्छ । अर्को जिब्राले गाउँमा पार्टी बचाइदिनुपर्यो भन्छ । पेशागत सङ्घ, सङ्गठनका नाममा राजनीतिको बिल्ला भिराउँछ अनि भन्छ – “मास्टर तिमीले राजनीति नगर ।”
अस्ति एउटा फिस्टे महाजले हुकुम गरिबक्सियो – “एकपटक मास्टरीमा छिरेपछि जिन्दगीभर खान पाइँदैन । पटक पटक परीक्षा दिनुपर्छ । फेल हुनेहरू अवकाश हुनुपर्छ ।”
फिस्टे महाराजलाई सुझाव छ । “महाराज ! ६० वर्षे उमेर हदभन्दा बढी चाहेर पनि कसैले मास्टरी गर्न सक्दैन । सेवा प्रवेशका पनि सीमा छन् । शैक्षिक योग्यता चाहिन्छ । सरूवा, बढुवाका सर्त सिमाना छन् ।
महाराजलाई जस्तो सेवा सुविधा कहाँ छ र ? हजुरलाई मान्छे काटेको र ढाँट्न, छल्न जानेको योग्यता भए काफी छ । उमेर जति ढल्किँदै गयो उति जुझारु होइबक्सिन्छ । पातलो सिँगान र आची आए उपचारका लागि विदेश पुगिसिन्छ । जनताले जिताए पनि पास हराए पनि पास । ऐन, कानुन, विधान, संविधान हजुरकै हातमा छ । हजुरलाई प्रकृतिले चिनेको छ । त्यसैले त प्राय : पहिराले पुर्दैन । नदीले बगाउँदैन । भूकम्पले च्याप्दैन । विमानले खसाल्दैन । हजुर भनेपछि महामारी पनि चारकोस परै भाग्छ । हैजा होस् या कोरोना डरले थर्कमान हुन्छ ।
रिसानी माफ होस् । खैराँती मास्टरको खैराँती सल्लाह छ । जतिसुकै नराम्री भए पनि आमा साट्न पाइँदैन । न त किन्न पाइन्छ । त्यसैले सक्छौ भने गुरूलाई सम्मान गर । अपमान नगर । सुविधा देऊ । द्विविधा नदेऊ । नियमले बाँध । रिसिबी नसाँध । हामीलाई सत्रतिर मुख फर्किएका सत्रथरि मास्टर हुनु छैन । न कसैको मतियार हुनुछ । न झोले हुनुछ । हामी टिचर हुन चाहन्छौ फट्टीचर होइन । गुरु भएर बाँच्न देऊ । गोरू बनाएर नजोताऊ । भोक र शोक दिएर नसताऊ । गुरूलाई गुरूकै रूपमा रहन देऊ । सक्छौ भने खैराँती मास्टर नबनाऊ ।
यसो पनि त हुन सक्छ; बालकृष्ण समले भनेझैँ –
“जान्ने जाँच लिनेभन्दा पनि जाँच दिने भयो
आफ्नो अयोग्यता आई आफैँलाई ठुँगिरह्यो ।”
जान्ने भएर अरुको जाँच लिन खोज्दा आफ्नो अयोग्यताले ठुँगेको प्रलाप त होइन यो । मास्टरलाई खैराँती ठान्नेहरूको शैक्षिक योग्यता कति छ कुन्नि ? कानुनका ज्ञाता र संविधानका मर्मज्ञहरूको योग्यता ओैँठाछापमा विद्यावारिधी छ कि ? अनुसन्धानकर्ताको जिम्मा लगाउने मन छ ।
मास्टरलाई खैराँती कसले बनायो ? समीक्षा गरौँ । कसैलाई लाइसेन्स हुनै पर्ने ! कसैलाई नभए पनि हुने । बडो विचित्रको नियम छ । लाइसेन्स हुँदैमा योग्य र नहुँदैमा अयोग्य भइन्छ ? तालिम आवश्यक कि अनावश्यक ? आवश्यक छ भने तालिम कक्षाकोठासम्म किन पुग्दैन ? तालिमका सम्बन्धमा एउटा प्रसङ्ग जोड्न मन लाग्यो । पञ्चायत कालमा प्रहरीलाई तालिमका क्रममा हुलदङ्गा नियन्त्रण गर्न घुँडामुनि गोली हान्न सिकाइएछ । हुलदङ्गा हुँदा प्रहरीले गोली हान्यो । गोली लाग्यो घरमाथि झ्यालमा बसेको मान्छेलाई । प्रहरीले जवाफ दियो –
“आाफू त हजुर तालिम प्राप्त टेर्निङ पास । तल्तिर हानेँ मास्तिर लास ।”
यस्तै पो भयो कि खैराँती मास्टरको तालिम ?
कसैले मास्टर भएर मास्टरकै बिल्ला हान्ने भन्नुहोला । कामका आधारमा हामी मास्टर पनि तीनथरिका अवश्य छौँ । पहिलोथरि दत्तचित्त मास्टर जो आफ्नो काम दत्तचित्तका साथ गर्छाैँ । कर्तव्य र दायित्वबोध आफै गर्छाैँ । दोस्राथरि चित्त मास्टर जो चित्त बुझे मात्रै काम गर्छाैँ। चित्त नबुझे मास्टरी काम कहिले जाला घाम गर्छाैँ। कहिले चार बज्ला र ? भनेर कुलेलाम ठोक्न पचासपटक घडी हेर्छाैँ । तेस्राथरी पित्तचित्त मास्टर जसको चित्तमै कमलपित्त भएको हुन्छ । कामभन्दा कुरा बढी गर्छाैँ । आफ्नो आङका भैँसी देख्दैनौँ अरूका भुसना केलाउछौँ ।
खैराँती मास्टर न परियो । एकोहोरो मास्टरीले मात्रै खान पुग्दैन । जग्गा दलाली हामीले नै गर्नुपर्छ । सेयर बजार भ्याउनै पर्यो । जीवनबिमा गरिदिनै पर्यो । लमी नबने युवायुवतीको घरबार नहोला भन्ने पिर । खेतीकिसानीमा पनि समय दिनैपर्यो । गाउँको राजनीति धान्नै पर्ने छ । समाजका उपभोक्ता समितिहरूमा नबसी हुँदैन । सामाजिक सञ्जालमा नछाए भाइरल भइन्न । समय निकालेर ट्युसन कोचिङमा जानै पर्ने छ । हेलेमेट भिरेर दसतिर दर्गनु पर्छ । चुनाव गराउनु पर्ने हामीले नै । जिताउने जिम्मा पनि हाम्रै । जनगणनामा हामी नै खट्नुपर्ने ! कताकता मात्रै भ्याउने हो हामीले ? यति व्यस्त बनाइदिने अनि पढाएनन् भनेर मात्रै हुन्छ ? पढाउने काम मात्रै भए त पढाइहाल्थ्यौँ नि !
खैराँती मास्टरका खैराँती स्कुल पनि सुविधासम्पन्न छँदै छन् । गर्मीयाममा जाडोको डर छैन । हपहपी पोल्ने टिनका छाना भएपछि के को दुःख ? वर्खायाममा कक्षाकोठा नै स्विमिङ् पुल बन्छन् । हिउँदमा बेन्च बालेर हात सेकाउन पाइएको छ । राज्यले खुला दिसामुक्त क्षेत्र घोषणा गरेकै छ । यसो जङ्गलतिर गयो । खुला ठाउँ हेर्यो दिसापिसाब मुक्त गर्यो । टन्टै साफ । किन चाहियो शौचालय ? खैराँती स्कुलहरूमा यस्ता सुविधाहरू मनग्य छन् जसको यहाँ वणर्न गरिसाध्ये छैन ।
दरबन्दीका हिसाबले हेर्दा पाँच सातजना मास्टरले पालो बाँडेर पाँच सातजना विद्यार्थीको निगरानी गरेकै छौँ । पहुँचका आधारमा हाम्रा मान्छे मास्टर भएकै छन् । अत्तर छर्केर स्कुल गएकै छन् । अतिरिक्त क्रियाकलाप भएकै छन् । नपत्याए टिकटक हेरे हुन्छ । ढाँट्न छल्न विद्यार्थी फरवार्ड भएकै छन् । अनुशासन र नैतिकताका कुरा गरिसाध्ये छैन । कहिलेकाहीँ टिम नपुग्दा मास्टरसित तास खेलिदिन्छन् । गाँजा तानिदिन्छन् । सुर्ती माडिदिन्छन् । टुच्च सोलमारी तानिदिन्छन् ।
मास्टर र विद्यार्थीमा सद्भाव छ । स्कुल बाल मैत्री छन् । कुनै सन्देह छैन । पहिले गुरूकुल हुँदा विद्यार्थी दबाबमा थिए । अहिले शिशुकुल छ । विद्यार्थीले चाहेको खान सक्छन् । लगाउन सक्छन् । पूर्ण स्वतन्त्रता छ । हामीले युग सापेक्ष गुणस्तरीय शिक्षा दिएकै छौँ । हाम्रो शिक्षामा गुणस्तरीयता नभएको भए विश्व बजारमा यति ठूलो जनशक्ति खपत हुँदैनथ्यो ।
खैराँती मास्टरलाई तलब लगायतका सेवा सुविधा पर्याप्त छ । दुईचार हजारले पनि महिना बितेकै छ । बिमार पर्दा चिन्ता छैन । कालले खैराँती मास्टरलाई चिनेकै छ । खान लगाउन दुःख छैन । बजारमा गच्छे अनुसारका खाना र नाना पर्याप्त छन् । खैराँती मास्टरको खैराँती कुराले महाभारतको रूप लेला । यत्तिकैमा बिट मार्ने अनुमति चाहन्छु । हस्त धन्यवाद ।
जय खैराँती मास्टर ।
०००
२०८१ श्रावण १२
रेसुङ्गा नगरपालिका २, छापटोला गुल्मी









































Best
धन्यवाद सर
धन्यवाद सर