साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खैराँती मास्टरका खैराँती कुरा

मास्टर र विद्यार्थीमा सद्भाव छ । स्कुल बाल मैत्री छन् । कुनै सन्देह छैन । पहिले गुरूकुल हुँदा विद्यार्थी दबाबमा थिए । अहिले शिशुकुल छ । विद्यार्थीले चाहेको खान सक्छन् । लगाउन सक्छन् । पूर्ण स्वतन्त्रता छ ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

पुरानो चलन अनुसार धेरै चिज सित्तैमा पाइन्थ्यो । किनबेचको चलन त्यतिसाह्रो थिएन । बिहेका गहना र पोसाक समेत मागेरै निर्वाह हुन्थ्यो । अहिले सित्तैमा केही पाइन्न भन्ने सुनेको छु । आफू परियो पहिलेको मान्छे । अहिलेको कुरा पहिलेका मानिसमा पक्कै लागू हुँदैन होला । त्यसैले सित्तैमा जवाफ पाउने आशाले केही जिज्ञासा राख्ने अनुमति चाहन्छु ।

तपाईं कुरा खानुहुन्छ या कुरा चबाउनु हुन्छ ?
मैले न कसैले कुरा खाएको देखेको छु न चबाएको । त्यसैले अचम्म लाग्छ । मान्छेहरू कसरी खान्छन् कुरा ? कसरी चबाउछन् ? कसरी पचाउछन् ? कसैले भन्छन्, फलानाले कुरा काट्दै हिडेको छ । केले काट्छन् कुरा ? हँसिया, बन्चरो, आरा वा अरु कुनै साधनले काट्दा हुन् ?

खाँटी कुरा गर्नुपर्दा मलाई कुरा ढाट्न आउँदैन । कुरा ढाट्न नजान्ने मान्छेले कसरी काट्नु कुरा ? कसरी चबाउनु ? कुनै उपाय भए बताइदिनुहोला । आभारी हुनेछु ।
आफूलाई अरुका कुरा गर्ने बानी कहिल्यै परेन । आफ्नै कुरा नसकिएर हैरानी छ । मैले कुरा मात्रै गर्न जानेको छैन । काम गर्न पनि जानेको छु । मैले जानेको काम हो कुरा गर्नु । कुरा गर्ने काम गरेवापत जागिरसित भात पाक्ने गरेको छ ।

पेशाका हिसाबले गुरु, अध्यापक, प्राध्यापक, शिक्षक, सर, टिचर, मास्टर आदि अनेक नामले पुकारिने गरेको छु । जुन नामले पुकारिए पनि काम कुरा गर्ने नै हो । कुरै कुरामा भुरालाई भुलाउने । दिन कटाउने । जागिर पकाउने । चार महिनामा चार पैसा बुझेर साहुलाई छकाउने । घरकालाई फकाउने ।
अस्ति भर्खर परीक्षाको नतिजा आयो । थोरै भुराले उच्चस्तरीय जि.पि.ए. ल्याए । धेरै भुराले निम्नस्तरीय एन. जी. ल्याए । धैरै भुराको एन.जी. आएको कुराले चर्चा पायो । एन.जी. आउनुलाई नराम्रो ठानियो । मास्टरको दोष मानियो ।

कुरा गर्‍यो कुरैको दुःख भनेको यहीँ हो । अस्ति भर्खर मैले नै पढाएको केटोले मन्चमा कुर्ली कुर्ली भन्दै थियो -“लास्ट बेन्चमा बसेर पढेको हुनाले मन्त्री भइयो । फस्ट बेन्चमा बसेर पढ्ने सचिवलाई कजाउन पाइयो ।” मेरो विचारमा एन.जी. ल्याउने बच्चाहरू नै यो देशका भविष्य हुन् । राम्रो अङ्क ल्याएर पास हुनेहरू ठूला देश गएर भासिने हुन् । यिनै एन.जी.हरू देशका बलिया खम्बा हुन् । रेमिटान्स पठाउने र देश चलाउने एन.जी. प्रति उपहास गर्नेहरू मूर्ख या धूर्त हुन् ।

धैरै बच्चाले धेरै अङ्क ल्याए भने देशको भविष्य बिग्रिँदैन ? कसले यहाँ बसेर राजनीति गरिदिन्छ ? कसले सरकार फेरिदिन्छ ? सत्ता फेरबदलको नाटक कसले हेरिदिन्छ ? कुरो बुझ्नु छैन । गुरु पुज्नु छैन । बिनासित्तैमा आरोप लगाउन पाइन्छ ?

गणतन्त्रको गफ मात्रै गर्ने हो कि पञ्चायत कालको शिक्षा ऐन पनि फेर्न पर्ने हो ? स्थायी, अस्थायी, राहत, पिसिएफ, निजी, सट्टा, काज, लियन… सत्रथरिका मास्टर कसले बनायो ? गुरूकुल, गोन्पा र मदरसा भनेर कसले लडायो ? कसले सडायो ? धार्मिक शिक्षाका नाममा अतिवाद कसले पढायो ?

मैले धेरै कुरा बुझ्दिन हजुर । खैराँती मास्टर न परियो ।दुईजिब्रे सर्प देखेको थिएँ । दुईजिब्रे मान्छे पनि हुँदा रहेछन् । एउटा जिब्राले मास्टरले राजनीति गर्न पाइँदैन भन्छ । अर्को जिब्राले गाउँमा पार्टी बचाइदिनुपर्‍यो भन्छ । पेशागत सङ्घ, सङ्गठनका नाममा राजनीतिको बिल्ला भिराउँछ अनि भन्छ – “मास्टर तिमीले राजनीति नगर ।”

अस्ति एउटा फिस्टे महाजले हुकुम गरिबक्सियो – “एकपटक मास्टरीमा छिरेपछि जिन्दगीभर खान पाइँदैन । पटक पटक परीक्षा दिनुपर्छ । फेल हुनेहरू अवकाश हुनुपर्छ ।”
फिस्टे महाराजलाई सुझाव छ । “महाराज ! ६० वर्षे उमेर हदभन्दा बढी चाहेर पनि कसैले मास्टरी गर्न सक्दैन । सेवा प्रवेशका पनि सीमा छन् । शैक्षिक योग्यता चाहिन्छ । सरूवा, बढुवाका सर्त सिमाना छन् ।

महाराजलाई जस्तो सेवा सुविधा कहाँ छ र ? हजुरलाई मान्छे काटेको र ढाँट्न, छल्न जानेको योग्यता भए काफी छ । उमेर जति ढल्किँदै गयो उति जुझारु होइबक्सिन्छ । पातलो सिँगान र आची आए उपचारका लागि विदेश पुगिसिन्छ । जनताले जिताए पनि पास हराए पनि पास । ऐन, कानुन, विधान, संविधान हजुरकै हातमा छ । हजुरलाई प्रकृतिले चिनेको छ । त्यसैले त प्राय : पहिराले पुर्दैन । नदीले बगाउँदैन । भूकम्पले च्याप्दैन । विमानले खसाल्दैन । हजुर भनेपछि महामारी पनि चारकोस परै भाग्छ । हैजा होस् या कोरोना डरले थर्कमान हुन्छ ।

रिसानी माफ होस् । खैराँती मास्टरको खैराँती सल्लाह छ । जतिसुकै नराम्री भए पनि आमा साट्न पाइँदैन । न त किन्न पाइन्छ । त्यसैले सक्छौ भने गुरूलाई सम्मान गर । अपमान नगर । सुविधा देऊ । द्विविधा नदेऊ । नियमले बाँध । रिसिबी नसाँध । हामीलाई सत्रतिर मुख फर्किएका सत्रथरि मास्टर हुनु छैन । न कसैको मतियार हुनुछ । न झोले हुनुछ । हामी टिचर हुन चाहन्छौ फट्टीचर होइन । गुरु भएर बाँच्न देऊ । गोरू बनाएर नजोताऊ । भोक र शोक दिएर नसताऊ । गुरूलाई गुरूकै रूपमा रहन देऊ । सक्छौ भने खैराँती मास्टर नबनाऊ ।

यसो पनि त हुन सक्छ; बालकृष्ण समले भनेझैँ –
“जान्ने जाँच लिनेभन्दा पनि जाँच दिने भयो
आफ्नो अयोग्यता आई आफैँलाई ठुँगिरह्यो ।”

जान्ने भएर अरुको जाँच लिन खोज्दा आफ्नो अयोग्यताले ठुँगेको प्रलाप त होइन यो । मास्टरलाई खैराँती ठान्नेहरूको शैक्षिक योग्यता कति छ कुन्नि ? कानुनका ज्ञाता र संविधानका मर्मज्ञहरूको योग्यता ओैँठाछापमा विद्यावारिधी छ कि ? अनुसन्धानकर्ताको जिम्मा लगाउने मन छ ।

मास्टरलाई खैराँती कसले बनायो ? समीक्षा गरौँ । कसैलाई लाइसेन्स हुनै पर्ने ! कसैलाई नभए पनि हुने । बडो विचित्रको नियम छ । लाइसेन्स हुँदैमा योग्य र नहुँदैमा अयोग्य भइन्छ ? तालिम आवश्यक कि अनावश्यक ? आवश्यक छ भने तालिम कक्षाकोठासम्म किन पुग्दैन ? तालिमका सम्बन्धमा एउटा प्रसङ्ग जोड्न मन लाग्यो । पञ्चायत कालमा प्रहरीलाई तालिमका क्रममा हुलदङ्गा नियन्त्रण गर्न घुँडामुनि गोली हान्न सिकाइएछ । हुलदङ्गा हुँदा प्रहरीले गोली हान्यो । गोली लाग्यो घरमाथि झ्यालमा बसेको मान्छेलाई । प्रहरीले जवाफ दियो –
“आाफू त हजुर तालिम प्राप्त टेर्निङ पास । तल्तिर हानेँ मास्तिर लास ।”
यस्तै पो भयो कि खैराँती मास्टरको तालिम ?

कसैले मास्टर भएर मास्टरकै बिल्ला हान्ने भन्नुहोला । कामका आधारमा हामी मास्टर पनि तीनथरिका अवश्य छौँ । पहिलोथरि दत्तचित्त मास्टर जो आफ्नो काम दत्तचित्तका साथ गर्छाैँ । कर्तव्य र दायित्वबोध आफै गर्छाैँ । दोस्राथरि चित्त मास्टर जो चित्त बुझे मात्रै काम गर्छाैँ। चित्त नबुझे मास्टरी काम कहिले जाला घाम गर्छाैँ। कहिले चार बज्ला र ? भनेर कुलेलाम ठोक्न पचासपटक घडी हेर्छाैँ । तेस्राथरी पित्तचित्त मास्टर जसको चित्तमै कमलपित्त भएको हुन्छ । कामभन्दा कुरा बढी गर्छाैँ । आफ्नो आङका भैँसी देख्दैनौँ अरूका भुसना केलाउछौँ ।

खैराँती मास्टर न परियो । एकोहोरो मास्टरीले मात्रै खान पुग्दैन । जग्गा दलाली हामीले नै गर्नुपर्छ । सेयर बजार भ्याउनै पर्‍यो । जीवनबिमा गरिदिनै पर्‍यो । लमी नबने युवायुवतीको घरबार नहोला भन्ने पिर । खेतीकिसानीमा पनि समय दिनैपर्‍यो । गाउँको राजनीति धान्नै पर्ने छ । समाजका उपभोक्ता समितिहरूमा नबसी हुँदैन । सामाजिक सञ्जालमा नछाए भाइरल भइन्न । समय निकालेर ट्युसन कोचिङमा जानै पर्ने छ । हेलेमेट भिरेर दसतिर दर्गनु पर्छ । चुनाव गराउनु पर्ने हामीले नै । जिताउने जिम्मा पनि हाम्रै । जनगणनामा हामी नै खट्नुपर्ने ! कताकता मात्रै भ्याउने हो हामीले ? यति व्यस्त बनाइदिने अनि पढाएनन् भनेर मात्रै हुन्छ ? पढाउने काम मात्रै भए त पढाइहाल्थ्यौँ नि !

खैराँती मास्टरका खैराँती स्कुल पनि सुविधासम्पन्न छँदै छन् । गर्मीयाममा जाडोको डर छैन । हपहपी पोल्ने टिनका छाना भएपछि के को दुःख ? वर्खायाममा कक्षाकोठा नै स्विमिङ् पुल बन्छन् । हिउँदमा बेन्च बालेर हात सेकाउन पाइएको छ । राज्यले खुला दिसामुक्त क्षेत्र घोषणा गरेकै छ । यसो जङ्गलतिर गयो । खुला ठाउँ हेर्‍यो दिसापिसाब मुक्त गर्‍यो । टन्टै साफ । किन चाहियो शौचालय ? खैराँती स्कुलहरूमा यस्ता सुविधाहरू मनग्य छन् जसको यहाँ वणर्न गरिसाध्ये छैन ।

दरबन्दीका हिसाबले हेर्दा पाँच सातजना मास्टरले पालो बाँडेर पाँच सातजना विद्यार्थीको निगरानी गरेकै छौँ । पहुँचका आधारमा हाम्रा मान्छे मास्टर भएकै छन् । अत्तर छर्केर स्कुल गएकै छन् । अतिरिक्त क्रियाकलाप भएकै छन् । नपत्याए टिकटक हेरे हुन्छ । ढाँट्न छल्न विद्यार्थी फरवार्ड भएकै छन् । अनुशासन र नैतिकताका कुरा गरिसाध्ये छैन । कहिलेकाहीँ टिम नपुग्दा मास्टरसित तास खेलिदिन्छन् । गाँजा तानिदिन्छन् । सुर्ती माडिदिन्छन् । टुच्च सोलमारी तानिदिन्छन् ।

मास्टर र विद्यार्थीमा सद्भाव छ । स्कुल बाल मैत्री छन् । कुनै सन्देह छैन । पहिले गुरूकुल हुँदा विद्यार्थी दबाबमा थिए । अहिले शिशुकुल छ । विद्यार्थीले चाहेको खान सक्छन् । लगाउन सक्छन् । पूर्ण स्वतन्त्रता छ । हामीले युग सापेक्ष गुणस्तरीय शिक्षा दिएकै छौँ । हाम्रो शिक्षामा गुणस्तरीयता नभएको भए विश्व बजारमा यति ठूलो जनशक्ति खपत हुँदैनथ्यो ।

खैराँती मास्टरलाई तलब लगायतका सेवा सुविधा पर्याप्त छ । दुईचार हजारले पनि महिना बितेकै छ । बिमार पर्दा चिन्ता छैन । कालले खैराँती मास्टरलाई चिनेकै छ । खान लगाउन दुःख छैन । बजारमा गच्छे अनुसारका खाना र नाना पर्याप्त छन् । खैराँती मास्टरको खैराँती कुराले महाभारतको रूप लेला । यत्तिकैमा बिट मार्ने अनुमति चाहन्छु । हस्त धन्यवाद ।
जय खैराँती मास्टर ।

०००
२०८१ श्रावण १२
रेसुङ्गा नगरपालिका २, छापटोला गुल्मी

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bashudeva Ghimire
Bashudeva Ghimire
1 year ago

Best

Ramprasad panthi
Ramprasad panthi
1 year ago

धन्यवाद सर

ram prasad panthi
ram prasad panthi
1 year ago

धन्यवाद सर

Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
3
0
Would love your thoughts, please comment.x
()
x