नन्दलाल आचार्यविपरीत धार
गाउँ/शहर पस्नुस्; स्थायी घरजम गर्नुस् । आयस्रोत बढाउनुस् । आधुनिक जीवनशैली अपनाउनुस् । यसो भन्दाभन्दै मेरो मुख दुखिसक्यो । तपाईंहरूको कानमा बतास पसे पो !

नन्दलाल आचार्य :
“नेपाल खुशीले झुमेको क्षणमा तपैँको अनुहारमा खै आभा ?”
मेरो प्रश्न भुईँमा पर्न नपाई उनले प्याच्चै भने; “कागलाई बेल पाक्यो हर्ष न विस्मात् ।”
“दोस्रो संविधानसभाले दिएको कोसेली भत्ताको रूपमा कुपुकुपु खान पाउनुभएको छ । तापनि असन्तुष्टि छाद्नुहुन्छ ?” मैले सोधेको दोस्रो प्रश्नको उत्तर खोज्न उनी आफ्नो छाप्रामा छिरे ।
बिरामी पत्नीको ललाट छामे । नाडी विचार गरे । जिउँदै रहिछ भन्ने ठम्याउन सके । पर्तिर भोकतिर्खाले निस्लोट छोराको छाती छामेँ । चार चम्चा माड पियाए । छोराले आँखा खोल्यो । उनी ढुक्क भएर बाहिर निस्के ।
“माफ गर्नुस्, म अभावको तमासा हेर्दै थिएँ ।” उनले यति भने ।
समावेशी शिक्षा लागू छ उनीहरूकै बालबालिका शिक्षाको उज्यालोबाट बन्चित छन् । जनही सरकारले भत्ता दिन्छ । कसैले लिन्छन्; कोही कता हुन्छन् । जङ्गल मासियो, काठ पाउँदैनन् । उनीहरूले अपनाएको पेशा धरापमा छ । घुमन्ते जाती बनेर परिचय थेगिरहेछन् ।
“गाउँ/शहर पस्नुस्; स्थायी घरजम गर्नुस् । आयस्रोत बढाउनुस् । आधुनिक जीवनशैली अपनाउनुस् । यसो भन्दाभन्दै मेरो मुख दुखिसक्यो । तपाईंहरूको कानमा बतास पसे पो !” मैले सानो मन बनाएर कुराको पोयो खोलेँ ।
भ्रम र आडम्बरी जीवनशैली मान्य छैन भन्दै उनले तुरुन्तै जवाफ फर्काए; “पहिले तपाईंहरू वन पस्नुस् अनि हामी गाउँ/शहर पसौँला ।”
०००
एनेलकुटी, सिरहा ।
Subscribe
Login
0 Comments
Oldest










































