चिरञ्जीवी दाहालमोतीटारेले कविता लेख्न छोडे
मेरो म्यासेजको कुरा सुनेर मोतीटारे दाजु मरिमरि हाँसे । तर पनि उनले भने - “जेसुकै होस् अब कविता लेख्दिन ।” फेसबुकको कविताले रमिता बनाउँछ, बरू तरकारी बिक्री गरे आम्दानी बढाउँछ ।”

चिरञ्जीवी दाहाल :
मोतीटारेको कविता मात्र होइन, उनको कविता वाचन गर्ने शैली र आवाजको पनि प्रशंसक थिएँ । म मात्र होइन उनका प्रशंसकहरू अनगिन्ती थिए । पोहोरसम्म दिनदिनै फेसबुकमा सुन्दर कविता लिएर झुल्किने गरेका मोतीटारे दाजु एकाएक फेसबुकबाट गायव भए । उनी गायव भए वा गायव पारिए, यसको यथार्थ कारण भने कसैलाई पनि थाहा थिएन । कसैले भन्थे, संसद र सरकारमा कवि साहित्यकारको अभाव खट्कियो रे । त्यसैले केही कवि साहित्यकारलाई सँसद सदस्यमा मनोनित गरिँदैछ । त्यसैका लागि कवि मोतीटारेलाई राजधानी झिकाएको हुनुपर्छ । कोही भन्थे उनलाई कविता मन्त्री बनाउने कुरा सुनिएको छ तर यसको औपचारिक पुष्टि हुन भने बाँकी नै थियो ।
कसैले भने यस्तो अनुमान गर्थे, मोतीटारे दाजुले ठूलै सरकारी नियुक्ति पाउँदैछन् । केहीदिन अघि उनी राजदुत हुन लागेको खबर ग्रीष्ममासको डँढेलो फैलिए झै फैलिएको थियो । कसैले उनी खाडी हानिएको कुरा पनि गरे । पछिल्लो पटक उनको निधन भएको हल्ला पनि चलेको थियो। जे होस् मोतीटारे दाजुको अत्तोपत्तो थिएन । मोतीटारे दाजु कसैको सम्पर्कमा पनि थिएनन् । निष्कर्षमा मोतीटारे अनौठो प्रकारले गायब भए ।
जसले जे भने पनि यी सबैका मनगढन्ते अनुमान मात्र रहेछन् । अन्ततः यिनै अनेकथरी हल्लाका बीचमा हिजो बिहान मोतीटारे दाजु एक्कासि देखापरे । उनी सार्वजनिक भएर भेटिएका भने होइनन् । उनलाई मैले मात्र फेला पारेको हुँ । कालिमाटी तरकारी बजारको गेटमा एक बोरा तरकारी सहित आफ्नो गन्तव्यतिर जादै गर्दा अचानक मैले उनलाई फेला पारेको हुँ । उनी बानेश्वर चोकमा तरकारी पसल गरेर बसेका रहेछन् । मलाई आश्चर्य लाग्यो, मोफसलबाट हराएको मान्छे कसरी बानेश्वर पुगे ?
मैले उनी हराउनुको कारण खोतल्ने प्रयास गरेँ । उनले लामो सास तान्दै कविता लेख्न छोड्नुको कहानी बताउदै भने – “गतवर्ष एकदिन बिहान फेसबुकमा एउटा कविता पोस्ट्याएको थिएँ । कविताले एउटा पुरुष पात्रको पीडा बोकेको थियो । घरबार त्यागेर नयाँ संसारको खोजीमा हिँडेकी आफ्नी अर्धाङ्गिनीलाई घर नछोडेको भए हुने थियो, यसरी अलपत्र नपारेको भए हुन्थ्यो । बस्, कविताले यस्तै भाव बोलेको थियो । साँझसम्म केही लाइक र केही सामान्य टिप्पणीहरू आए । सामान्यतः सबैका पोष्टमा यस्तै हुने गर्छ । अर्को दिनबाट पोष्ट बासी हुन्छ । अब, टाँस्ने बितिकै जस्तो जताततै देखिँदैन । सधैँ यसैगरि कुरो सकिन्थ्यो । सकिनु पनि पर्थ्यो तर त्यो कविताको कुरा भने सकिएन । अचानक कविता भाइरल भयो । कविताले गम्भीर रुप लिइसकेको रहेछ ।”
मोतीटारे दाजु आफ्नो राम कहानी बताइरहेका थिए । “साँझपख फेसबुकको मेसेन्जरमा पटका पट्किए जसरी पटट गर्दै शुभचिन्तकहरूका म्यासेज आउन थाल्यो । म्यासेज यति धेरै आयो कि सबै म्यासेज पढ्न कम्तिमा पनि एक दुई दिन समय छुट्याउनु पर्ने हुन्थ्यो । जब म म्यासेज पढ्न लागें, भिरबाट खसे जस्तै भएँ । यो बुढेसकालमा भाउजु त्यसरी नहिँड्नु पर्ने ! दुःख नमान्नु होला दाइ, तपाईंको मात्र होइन, अचेल यस्ता घट्ना धेरैलाई घट्ने गरेको छ । संसार यस्तै हो ।”
अर्को म्यासेजमा लेखेको थियो, “पोइला जानु नै पर्ने थियो त बेलैमा गएको भए पनि हुने नि ! बुढेसकालमा पोइल गएर लोग्नेलाई किन घात गरेको होला ?”
एकजनाले लेखेका थिए “तपाईंका रचना देख्दैमा मलाई शङ्का लागेको थियो । तपाईंकी श्रीमती एकदिन पक्कै हिँड्छिन भन्ने मैले उहिल्यै अनुमान गरिसकेको थिएँ ।”
अझै अर्को एकजना शुभचिन्तकको म्यासेज देखेपछि मलाई भाउन्न भयो । लेखेको थियो “बुढो, बुढीको मर्का पनि त बुझ्नु पर्छ नि !”
यतिमात्र होइन कति म्यासेजमा लेखिएका शब्द तिमीसँग भन्न सक्दिनँ भाइ ! यतिसम्म भए त ठिकै थियो । श्रीमतीले म्यासेज हेर्न भ्याइछ ! भन्दै थिई,
“फेसबुकमा म पोइल गएको हल्ला चलायौ होइन ? ठिकै छ, यो उमेरमा पोइल त कसरी जान सकिएला र ? मलाई देख्न नसक्ने भए एउटा ज्यान हो त्यागी दिन्छु ।”
श्रीमती रिसाएर आगो भई । उसलाई सम्झाउन निकै प्रयास गर्नु पर्यो । अब चुप लागेर बसौँ भनेँ, त्यस कविताले बोले जस्तै मेरी अर्धाङ्गिनीले मलाई छोडेर गएको समाचार पुष्टि भएको मानिने थियो । होइन उत्तर दिँदै जाने हो भने कतिजनालाई दिएर सक्नु ? त्यसैले मैले अर्को तेस्रो बाटो रोजेँ । भोलिपल्ट बुढाबुढी एकै ठाउँमा बसेको तस्वीर राखेर अर्को कविता पोष्ट्याएँ र त्यसै दिनदेखि कविता लेखन र फेसबुकबाट बिदा लिएँ ।
लाग्यो, कविता राजनीति भएको भए केही थिएन । आखिर कविता भनेको कविता हो । कवितामा आफ्नो मात्र पीडा पोखिएको हुँदैन । कविता आत्मकथा पनि होइन, जहाँ श्रीमती पोइल गएको र श्रीमानले हात छोडेर घाइते बनाएको कुरा नढाँटी लेखिएको होस् । त्यसैले कविता लेख्न मन मरेर आयो र मैले कविता लेख्न छोडेँ । म किन र कसरी कविता लेखौँ ? पुस्तक निकालौँ, त्यो हाम्रो वसमा छैन । लेखेर कापीमा राखौँ भने के कामका लागि राख्नु ! त्यसैले लेखेजति कविता फेसबुकका भित्तामा टाँस्ने गरेको थिएँ । त्यसदिन जब यो घट्ना घट्यो मैले कविता र फेसबुकबाट बिदा लिएँ ।”
ह्या, मोतीटारे दाजु पनि ! यति जाबो कुरामा पनि कविता लेख्न छोड्ने हो ? यस्ता घट्ना तपाईंलाई मात्र हो र, धेरै मान्छेलाई घट्छन् । मान्छेलाई बानी परिसकेको छ र त अधिकांश मान्छे फेसबुके क्रियाकलापलाई सामान्य मान्छन् ।
यस्ता घट्ना मेरा त कति घटेका छन कति ! पोहोर दसैँताका मैले एउटा “म मरेँ” शिर्षकको कविता लेख्दा एकजना शुभचिन्तकले कस्तो मेसेज लेखे थाहा छ ?
“तिमीलाई लेखेको कुरा मलाई के थाहा ?” उनले भने ।
मेरो म्यासेजमा लेखिएको थियो “राम्रो कविता लेख्नु हुन्थ्यो । ज्या, तपाईं कहिले बितेको ? मैले त आज पो थाहा पाएँ । हार्दिक श्रद्धाञ्जली छ !”
मेरो म्यासेजको कुरा सुनेर मोतीटारे दाजु मरिमरि हाँसे । तर पनि उनले भने – “जेसुकै होस् अब कविता लेख्दिन ।” फेसबुकको कविताले रमिता बनाउँछ, बरू तरकारी बिक्री गरे आम्दानी बढाउँछ ।”
मोतीटारेले किन कविता लेख्न छोडे मैले यही रहस्य जान्नु थियो, आखिर थाहा भयो । लाग्यो म पनि अब कविता लेख्दिनँ, मोतीटारे दाजुको पथ अङ्गाल्ने छु । सोच्दैछु मोतीटारे दाजुले जस्तै तरकारी बिजनेश गरौँ या दह्रो कमाइ हुने राजनीति नामको बिजनेश ?
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































