भोजराज रेग्मी ‘मुखाले’रिटायर रमिता : एक झलक
घुर्क्याउने र फुर्क्याउने कार्जेक्रमको कुनै रुटिन नभएकोले पिन्सिन थाप्ने दिन चाहिँ यस्तो पर्यो भने जोईपोइकै झ्वाँक मिसाएर लेगपिससँग अल्लेली सगरमाथाको उचाई सुर्क्यायो बस् ! शीतयुद्ध विराम !

भोजराज रेग्मी ‘मुखाले’ :
जागिरको टायर पन्चर भएर नटालिने भएपछि रिटायर हुँइदोरैछ क्यार ! रिटायर लाइफको रिल घुम्न थालेपछि घरिघरी दिमागमा यस्तो कुरो पनि घुम्न थाल्छ । जागिरभरी घुमिघुमी हरियो बन्सो चरेका र बाक्लो पोषिलो कुँडोफाँडो खाईपाई आएकाहरूचाहिँ रिटायर हुँदा असन्तोकले फायर भएका र जोश अनि होश गुमाई पत्रु बन्दै गएको दृश्य छ्याप्छ्याप्ती देखिएको भए पनि यस्तो महान् कर्म गरेर जग हँसाउने कुकर्म भने मेरो भाग्यमा नलेखिएकोले म पूर्ण सन्तुष्ट छु ।
आफूले अनेक रङ्ग गरेर छोराछोरीलाई जागिरे बनायो, सम्धीका छोराछोरीलाई सजिलो । मैले घोकसेवाको जाँच दिने बेलाँ अन्तरे बाले भन्नू भाको हिजैजस्तो लाग्छ, कत्ती छिट्टै दुई बीस हिउँद- बर्खा काटिएछ, आफ्नै बैँस सन्तानमा साटिएछ । यति बाँकी र उति बाँकी भनेर औँला भाँच्दै र दिन गन्दागन्दै मास्तलको अड्डाले ढड्डा भिँडायो, मातहतको अड्डाले निधारमा अबिर दल्दियो र “बाई” गर्यो । हेर्दाहेर्दै जिन्दगीको एउटा लामो अध्याय फिनिस् !
“अब यसलाई पनि हाम्रै क्लबमा तान्नु पर्छ है दादा !” – चोकको चियापसलमा क्यारेम खेलेर दिन बिताउने र प्रत्येक रात अनेक उपद्रो गर्ने – पाखुरामा ट्याटु खोपेको चुल्ठेमुन्द्रेलाई मेरो बारेमा ब्रिफिङ गरेछ, ल्यान्तेकान्छोले । “पार्टी गर्नु पर्छ है दाइ !” – चार हात परैबाट एक थान नमस्ते झटारो हानेर, स्वास्नीले छोडेको झगडिया बिस्नेले एक दिन बिहानै मुख फोर्यो । त्यति मात्रै कहाँ हो र ! ? बिहे गरेको बीस महिना बीसै दिन भएको सोझो लोग्ने युधिष्ठिरलाई सम्बन्धविच्छेदको मुद्दा हालेकी द्रौपदीले पनि लिपिष्टिक लतपतिएको दाँत ङिच्च देखाएर घुटुक्क थुक निल्दै भन्न भ्याई — “लौ है जेठाजु, यसो अभरबिभर हाम्लाई पनि हेर्नु होला है !” तेस्का बाजे ! इनका मुख फेर्न र अभरबिभर हेर्न पो मलाई सरकारले रिटायर गरेजस्तो कुरो पो गर्छन् त है !
रिटायर लाइफ शुरु गरेको पनि झन्नै बर्ख दिनै पुग्न लागेछ । शुरुका अलिकबार बूढीको होटेलमा फर्माइस गरिगरी घिच्ने र बूढीकै लजमा एक जुवा घाम लागुन्जेल घुर्ने काम बाहेक अरु केही लछार्पाटो लाउने लण्ठो गरिएन । एकतिहाई तरुनी बुढीको पुच्छर समातेर अलिबार मस्ती गरेपछी दुईचारटा मन्दिर चहार्ने चक्करमा लागियो र एकैचोटि दुइटैको साङ्गे गरियो ।
यसो घोरिन्छु – यो दुइदिनको जिन्दगीमा के के चाहिँ गरिएन होला ! हाम्रा भैरवबाजेले उहिल्यै महापुरुषको सङ्गत गर्नुभन्दा अघि तामेल गरेका कार्यहरूका अतिरिक्त काम पनि गरियो । कुरकुरे बैँसका बेलाँ बाँसका बोटमा छँडुलीहरूको नामसँग पानको पात कोरेर ढुकुरे छाती फुलाइएन कि ! जागिरमा घरबेटीकी छोरीचेलीसँग रसरंग गरेर बिहे गर्छु भन्दै काज र सरुवाको छलाङ मार्दै छलेर आफ्नै कानका भुत्ला फुलुञ्जेली झुलाइएनकि ! यसै गरीगरी डेढ दिनजस्तो त बिताइसकियो अब जाबो आधा त पुसको घामजस्तो फुस्सै जानसक्छ । त्यसैले अब बाँकी आधाबारको जुनीमा अर्काले देख्ने गरी अथवा भनौँ ईर्ष्याले जल्ने गरी केही न केही काम त गर्नै पर्ने भो !
गर्ने त गर्ने तर केचाहिँ गर्ने ! तीन दिन तीन रात भृकुटी खुम्च्याएर, मुड्कीमाथि चिउँडो अड्याएर घण्टौँसम्म घोत्लिँदा त भएन, भएन; नेताचोककी जूनकिरीको जाँडुटेरामा पसेर जून अस्ताउने बेलासम्म जोखाना हेर्दा हेराउँदा पनि कुनै आइडियाको टुसो उम्रेन ।
“हन, बौलाउनु भो कि क्या हो बुढा ? जतिखेरै पनि झोक्राएको झोक्राएकै देख्छु त । तपाईंको अचेलवली बिहान- बेलुकाको रुटिन पनि गडबड हुन थालेको छ । कि तपाईंको मति बिग्रियो कि ग्रहदशा । अब खुरुक्कन मेरो रुटिन अन्सार चल्नुस र हनुमान चालिसा पाठ गर्ने गर्नुस् । “मकैज्योतिषीकि जन्तरी छोरीको उर्दी जारी भो ।” (कुरैकुरामा बरालिएर बिर्सिन भने सुसुराकी सुपुत्री जन्तरीको बारेमा पनि केही कथाकुथुङ्ग्री पस्किउँला ।)
अनि के रे ! अन्तिममा “नत्र भने … ” भन्न खोज्दैथी क्यार, मैले वर्तमनदेखिको बल निकालेर गोलभेँडे आँखाले ताकेँ- “त्यो मोराको नाम नलिई है मेरो अघि, मेरो पहिलेकी गर्लफ्रेन उडाउने पनि त्यही हनुमाने बजिया हो ।” मनपेटमा थिग्रेर बसेको गुह्य इगो फुत्त बाहिर निस्की त हाल्यो । अब भएन के आपत् !
“के रे, के रे ? फेरि भन त !” – सासूकी सानीकान्छी सुपुत्रीको म्याक्सीको नेप्से ह्वात्तै उकालो लाग्यो । अब भएन त आपद् ! अदुआको केजाती अप्रेसनमा परेको रिकुटे कारिन्दाको भन्दा पनि बेहाल अवस्था भो मेरो । उनको यो बाइफाले बानी नानीदेखिकै रैछ भन्ने “क्लु” चैँ कुनै “गुडनाइट” मा उनकै मुखबाट नखुस्क्या भए ऐले यो बेलाँ तुरुक्क सु आउनेरैछ । धन्न ! बाल बाल बाँचे भन्नुपर्यो ।
रिटायर रमिताको इन्टर्मिसनपछि मलाई नै मियो बनाएर मेरा गोरु दिनहरू घुमाउन थाली पौनेबूढीले ।
“कमोडमा फलस गर्न आज पनि बिर्सेको ?”
“बेलाबेलाँ दाह्री त काट्नु नि हौ !”
“हैन, त्यो झुसे चिउँडो ताछेर, चिल्याएर के गरुँला भन्ने छ हँ ?”
“सुगरको ओखती खाको ?”
“अब भोलिदेखि राति नै उठेर कुद्ने नि, बोसो बढेर चोसो देखिइसक्यो ।”
“हेर हेर सुद्धी ! कम्मरमा गम्छा बेरेर धुइँपताल खोज्ने ?”
“कसले गरेको होला फोन, उठाउनु नि हौ !”
“फेसबुकाँ अन्टसन्ट कुरा पोस्ट्याएर के जात्रा गरेको हौ हाइकुकारज्यू ?”
मेरी मैच्याङ्ले दिन नबिराइकन मसँग सिँगौरी खेल्दाका केही नमूना मात्रै यहाँ राखेको हुँ । सप्पै बिस्कुन लाएर साध्ये पनि छैन सरकारी कोटेरोको गुँडमा गौँथलीलाई भित्र्याएको भोलिपल्टदेखि रिटायर भएको तीन महिनासम्म — सियो लाएरै बोल्ने मान्छे मेरो बजारभाउ घटेको चाल पाएर होला, “हजुर” र “… सियो” त हराउँदासम्म चित्त बुझाएकै थिएँ । हुँदाहुँदा न्यूनतम् “तपाईं” पनि बेपत्ता भयो र पो मन भरङ्ग भो त ! नोकरीनिवृत्तिको साइडिफेक्ट सम्झेर मन सम्हाल्नुबाहेक उजुरबाजुर गर्ने कुनै अड्डा अखडा ऐलेसम्म खडा भएको देखे सुनेको छैन । तपाईंले कतै देख्नु भएको छ भने बेलैमा भन्नुहोला । उचित पारितोषिकस्वरूप एक छाक गलगिद्ध मीठापान खुवाउने छु ।
मेरो रिटायर लाइफको प्रथम अध्यायको बीट मार्ने गौँडोसम्म आइपुगेपछी “अचेल के गर्दैछस् त तँ” भनेर पक्कै पनि तपाईंले सोध्न सक्नु हुनेछ । हेर्नुस्, घोप्टेजुगको नेप्टे जमाना हो यो । यो जमानाको अम्लीय वर्षाले मलाई पनि निथ्रुक्कै भिजाएको छ । पखेटा लागेका तन्नेरी ब्याजहरू आआफ्ना चेपागाँडा च्यापेर चारचौरास छरिए । बाँकी रहेका दुई थान साँउ बूढाबुढी । एकले अर्कोलाई घुर्क्यायो, एउटाले अर्कीलाई फुर्क्यायो । घुर्क्याउने र फुर्क्याउने कार्जेक्रमको कुनै रुटिन नभएकोले पिन्सिन थाप्ने दिन चाहिँ यस्तो पर्यो भने जोईपोइकै झ्वाँक मिसाएर लेगपिससँग अल्लेली सगरमाथाको उचाई सुर्क्यायो बस् ! शीतयुद्ध विराम ! अल्लिबारलाई हाईसन्चो !
ईतिश्री जिन्दगी पुराणे रिटायर महात्मे बर्खामासे प्रथम अध्याय समाप्तम् !!
०००
पेप्सीकोला, काठमाडौं







































मुखलेको उपनाम त लेखाले पो हुनुपर्ने, कति राम्रो र्याउकी खुराक पस्केका र्याउँकि खुराक पस्केका रेग्मी दाइले 😉
हास्यव्यंग्यको खास्सा ठेगाना थाहा भयो । अब खोजेरै पढिन्छ ।