साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुटेरानन्द आश्रम प्रा.लि.

पुस्तकमा लेखिने छ- “हाम्रा गुरुले फलानालाई यसरी रोग निको पारिदिनुभएको थियो, हाम्रा गुरुको आशिर्वादले फलाना शिष्यले दिनहुँ सुनका टुक्रा फेला पार्थे ।”

Nepal Telecom ad

अमर अधिकारी :

अहिले भारतमा मात्र होइन नेपालमा समेत विभिन्न किसिमका बाबा वा गुरुहरूको आश्रममहरू मजाले चलेका छन् । कम्पनी, उद्योग र अन्य व्यवसायहरू धरासायी हुँदैजाँदा आश्रमहरू भने राम्रै मुनाफामा चलिरहेका छन् । देशमा श्रम गर्ने ठाउँ नपाएपछि विदेशमा हुत्तिनेको सङ्ख्या उल्लेख्य छ भने यहाँ आश्रम चलाएर बस्ने फटाहाहरूको सङ्ख्या पनि त्यत्तिकै छ । यस्ता आश्रमहरूलाई न कानुनको परिधिमा बाँध्न सकिन्छ न त करको दायरामा राख्न सकिन्छ । यस्ता आश्रमहरूले चितवन र नागार्जुनमा सरकारी जमिन हडपेका समाचार पनि पक्कै पढ्नुभयो होला र सुन्नु भयो होला । हालै मात्र बुढानीलकण्ठमा पनि ३३ रोपनी जमिन हडप्ने आश्रम विरुद्ध मुद्दा परेको यही कानले सुनेको हो । क्या आनन्द छ है नौटङ्कीवालाहरूलाई अर्थात् राजनीतिक पार्टीहरूका लागि भोट बैंक बनेका आश्रम तथा धाम आदि आदिका नाइकेहरूलाई !

भारतमा ज्यानमारा अभियोगमा जेलमा बसेका सन्तको नेपालमा ब्यापक प्रचार भइरहेको छ । भारतमै बलात्कारको अभियोगमा जेलमै बसेका बाबाको पनि नेपालमा राम्रै जयजयकार हुँदै आएको पाइन्छ । भारत सरकारले जसको सम्पत्ति नै अवैध ठहर्‍याएको छ उसैलाई नेपाली अन्धभक्तहरूले भगवान मान्दै जयजयकार गर्दैआएका छन्। क्या गजब छ बा कलियुगिन कथित भगवानहरूको चाला ! नेताहरू समेत उनीहरूको पाउमा लम्पसार पर्ने पनि गर्छन् । यति मात्र कहाँ हो र कमरेड नेताहरूले समेत गलामा रुद्राक्ष माला लगाएर विगतमा पाखण्डीहरूसँगै फोटो खिचाएका पनि देखिएकै हुन् । नेता प्लस पाखण्डी बराबर नेताण्डी । नेताण्डीको ताण्डव हेरेर टुलुटुलु बसेका छन् निमुखा जनताहरू । के गर्नु उमेद्वारहरूले चुनावमा रक्सीमासु बाँडिहाल्छन् जनतालाई, भोट त खुरुखुरु झरिहाल्छ पाकेको फल झरे झैँ ।

त्यही भएर तपाइँ मजाले धाराप्रवाह बोल्ने क्षमता छ भने कम्पनी, उद्योग वा ब्यवसाय नखोल्नुस्, घाटामा जानुहुन्छ। नेपालको परिस्थिति ठीक छैन । त्यसैले वनमा गएर सरकारी जमिनमा एउटा कुटी वा आश्रम बनाउनुस् विश्वासिलाहरूलाई सहयोगी नियुक्त गर्नुस् । पहेँला वा गेरुवस्त्र धारण गर्नुस्, चन्दनको बुट्टा निधारमा सजाउनुस्। बिल, लेटरप्याड र रसिदमा माथिल्लो भागमा ॐ लेख्न नछुटाउनुस्, अझ गाईको चित्र भए झन राम्रो । वैदिक सनातन धर्ममा लागेका हिन्दु भक्तहरूलाई तपाईंको आश्रममा तान्नका लागि झुठा र मनगढन्ते विज्ञापन गर्नुस् । फेसबुकले झन सजिलो गराउँछ । वेबसाइटको सट्टा फेसबुकबाट भ्रम छर्नुस्, ल्याण्डलाइनबाट चल्ने फोनबाट होइन मोबाइलबाटै सम्पर्क बढाउनुस्, यस्ता संस्थाहरूमा धनको थुप्रो लगाउनलाई फेसबुक र मोबाइल नम्बर भए पुग्छ ।

एउटा महायज्ञमा ५३ लाख उठेकोमा ४५ हजार पण्डितले नै लगेपछि विवाद भएर वाचक वा पण्डितलाई पक्राउ गरिएको समाचार नआएको होइन । यस्ता यस्ता चरम आर्थिक शोषण गर्ने गुरु वा वाचकलाई ज्ञानी भनिदैन। यी त पैसामुखी अज्ञानी हुन् । यस्ता ढोँग रच्नेहरू देशमा धेरै छन् । त्यसैले अब म पनि सन्त बन्न चाहन्छु । कुनै आश्रमले सम्भोगलाई महत्व दिन्छन् भने कुनैले विवाह नै गर्नुहुँदैन, विवाह भैसकेका दम्पत्ति सँगै सुत्नुहुँदैन भनेर बृहत् प्रचार प्रसारमा लागेका छन् । भारत र नेपालमा आश्रम चलाएर बस्नेहरूलाई ज्यान मार्न छुट छ, बलात्कार गर्न छुट छ, व्यापार गर्न छुट छ, ठगी गर्न छुट छ । नेपालको प्रहरीमा उजुरी गर्न गयो भने पक्राउ गर्ने आधार नै छैन, मुद्दा चलाउने कानुन नै छैन भनेर पन्छिन्छ । त्यसैले म पनि एउटा आश्रम खोल्ने विचारमा छु । आश्रमको नाम रहने छ- लुटेरानन्द आश्रम प्रा.लि.।

यति गरेपछि सबैले मेरो जयजयकार गर्नेछन् । मेरो आश्रममा आएर जय गुरुदेव ! भन्दै मेरो पाउमा पर्नेछन् मलाई भेटी चढाइ नै रहनेछन् । मलाई फूलपाती चढाउने छन् । घरमै बनाएर ल्याएको ताजा र मीठो मीठो भोजन गराउने छन् । मैले हडपेको सरकारी जग्गा बिस्तारै मेरो आश्रमको हुनेछ, आश्रम नै मेरो हुनेछ । अन्धभक्तहरू मेरा सेवक र नोकर हुनेछन्, म महाराज, बाबा वा स्वामी बन्नेछु । मेरो प्रचार प्रसार गर्नका लागि सञ्चार माध्यमलाई किन्ने क्षमता हुनेछ । पछि गएर म मरे पनि मेरै मन्दिर निर्माण हुनेछ, ठाउँठाउँमा मेरै मूर्ति बन्नेछन् । त्यति गरेपछि विगतमा मैले जतिसुकै अपराध गरेको भए तापनि ती सबै ढाकिनेछन् अर्थात् छायाँमा पर्नेछन् । मेरा अन्धभक्तहरूले विगतका मेरा अपराधहरूतिर ध्यान दिनेछैनन् । किनकि म आश्रमको सञ्चालक भएपछि मलाई कसैले पनि औँला ठडाउनेछैनन्, उनीहरू डराउनेछन् ।

मैले आफ्नो आश्रमको बबाहिरपट्टि नाटकीय ढङ्गबाट भित्ताहरूमा देवी देवताका फोटोहरू टाँस्न लगाउने छु । जसले गर्दा मेरो आश्रममा अन्धभक्तहरूलाई म भगवानसँगै छु भन्ने भ्रम हुनेछ । तर भित्र भने धन्दा अर्कै हुनेछ । शहरका चोकचोकहरूमा मेरो फोटोसहितका आकर्षक खालका ब्यानरहरू टाँग्न लगाउनेछु । मेरो सानिध्यमा आएर मेरो भक्ति गर्नुहोस्, तपाईंको घरमा सुखशान्ति हुनेछ, कहिल्यै पनि कुनै पनि रोग लाग्ने छैन । घरमा धनवर्षा हुनेछ, तपाईंको सन्तानले परीक्षा नै नदिई उत्कृष्ट अङ्क प्राप्त गर्नेछन् । राम्रो नोकरी पाउनेछन्, सुयोग्य वर-वधु पाउनेछन् भन्ने नाराहरू उल्लेख हुनेछन् ती ब्यानरहरूमा । कुरा नबुझ्नेले मलाई पाखण्डी वा ढोँगी भन्लान् तर अन्धभक्तहरूलाई मैले ब्रेनवास गराइसकेको हुनेछ । यति गरेपछि उनीहरूले मलाई नै पुजा गर्नेछन्, मेरो गुणगान गाउने छन् । उनीहरू पशुपतिमा जानेछैनन् कृष्णमन्दिरमा जाने छैनन् सरस्वती मन्दिरमा जानेछैनन् । गणेशथानमा जान जरुरत पर्ने छैन, किन कि ती सबै देवीदेवताको संयुक्त रुप म नै हुँ भनेर ती अन्धभक्तहरूलाई मेरा दलालहरू मार्फत् भन्नलगाउने छु ।

मान्छेहरू मीठो बोलीमा भुल्छन्, अर्थात् लठ्ठ पर्छन् र मेरो आश्रमलाई आफ्नो श्रीसम्पत्तिसमेत सुम्पन पनि बेर लगाउँदैनन् । अन्धभक्तहरूको सङ्ख्या बढाउनका लागि मसँग सम्बन्धित भ्रमात्मक पुस्तक र पत्रिकाहरू पनि प्रकाशन हुँदै जानेछन् । पुस्तकमा लेखिने छ- “हाम्रा गुरुले फलानालाई यसरी रोग निको पारिदिनुभएको थियो, हाम्रा गुरुको आशिर्वादले फलाना शिष्यले दिनहुँ सुनका टुक्रा फेला पार्थे ।” मेरो मृत्युपछि मैले मेरो छोराहरूलाई मेरो जिम्मेवारी सुम्पने छु । मैले शुरु गरेका धन्दाहरूले छोरानाति र तत्पश्चातका सन्तानहरूले अगाल्नेछन् । किनकि आश्रम चलाउने काम एउटा उद्योग चलाउनुभन्दा सजिलो छ । सुन चाँदी नगद लगायतका धन असिना झैँ बररर झर्नेछ । शिष्यहरूको तन-मन-धन मतर्फ आकर्षित हुनेछ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x