जेन काइजेनसम्पादकलाई गाली
अरु जे जे तान् तर यो मोबाइल चै अबदेखि तानिस् भनेँ तँ काठालाई ठहरै पार्दिन्छु । त्यसपछि त्यो कुरा घरमा आउला र सर्वस्वहरण होला भनेर दिनमा चैन छैन, रातमा निद छैन ।

जेन काइजेन :
सम्पादकज्यू,
तपाईंहरू सारै क्षुद्र मानव प्रजातिको नजाति उपप्रजातिमा पर्नु हुँदोरहेछ । तपाईंहरू तथा तपाईंहरूका मातहतका पत्रकार नामक प्यूसाहरूको त के कुरा गर्नु ? कुरो गर्यो कुरैको दुःख । बिचरा बूढा प्रधानमन्त्री यसो जहाजबाट ओर्लेका मात्र थिए, झपक्क झिँगाले सडेको आँप छोपेजस्तो बूढालाई छोपि त हाले । पुराना मान्छे हुन् क्या बूढा पनि ‘म भैसी दुहुन गा हो र’ भनेर सातो खाइदिएछन् । त्यसपछि ठेट्नाहरू आ-आफ्ना टाट्नामा फर्केर बाको खिल्ली उडाउँदैछन् । देशमा यत्रो बितण्डा छ, प्रम बालाई कत्रो चिन्ता छ । त्यहि चिन्ताले गर्दा बोल्न पर्ने कुरो पनि उल्टापाल्टो भयो । मूर्खहरू कुरा नबुझेर बाले कुरा नबुझेको पनि भन्छन् भन्न त ।
त्यहि सम्पादक प्रजातिको पनि अझ बाङ्गो उपजातिको एकजना सम्पादक छन् । लामा लामा घोप्टे जुँगा र घोप्टे घोप्टे बेहोरा भएका । नामै जुँगे काजी । शुरुमा तिनले तपाईंलाईं शुरु शुरुमा मेला पर्बमा तन्नेरीले तरुनी फकाए झैँ गर्छन् । अनेकथरी कुरा गरेर जालमा पार्छन् । त्यसपछि आलिका डिलमा बसेर फित्कौलीमा मट्याङ्रा राखेर ताक्न र तर्साउन थाल्छन् । अझ अटेर गरिरह्यो भने त टुङ् कि टुङ् कन्पारो ताकेर फित्कौली हान्ने, कन्सिरी तान्ने, हुक्काकाे नलीले हान्ने पनि धम्की दिने रहेछन् ।
तिनै जुँगेकाजीका जिलेबी गफमा परेर मेरो झण्डै घरबार नउठेको । जुँगेको हास्यव्यङ्ग्य पुनरुत्थान दशक भन्ने जुन महत्वाकाङ्क्षा छ त्यसलाई मलजल गरौँ न त भन्ने लागेर गुरु थापी त हालियो । अब जुँगे गुरुले अनलाइन फित्कौली त थियो थियो, पत्रिका पनि जगाए । हो, यो त गजबै भयो भन्ने लाग्दै थियो, गुरुले यूट्युब च्यानलै खोलेको उद्घोष गरे । ‘ए, बुढा पनि निकै स्वादे पो रछन्’ भन्ने लाग्यो । खासमा छुच्चा भए नि निकै रसिक रहेछन् जुँगे काजी जस्तो लाग्यो । अनि एकदिन अचानक बूढाको फोन आयो । घरका बालबच्चालाई चुप लाग्ने इशारा गरेँ । टिभीको तारै झड्कालेर चुडाइदिएँ । टिभीमा मस्त गृहिणीको आँखे धम्कीलाई बेवास्ता गरेर अदब स्वरमा बोलें जुँगेसँग । उनले तुरुन्त तीन दिनमा खित्कौली यूट्युब च्यानलका लागि २५ जना सब्सक्राइबर बनाउने निर्देशन दिए । मैले हुन्छ हजुर भनी त हालें । त्यसपछि, त्यति बोलेपछि मेरा दूरदिन शुरु भएका हुन् साच्चै भन्नु नै पर्दा ।
जुँगे संबाद सकिनासाथ टिभी खोल्ने प्रयत्न भयो । हतारमा तार तान्दा पुरानो दूरदर्शन यन्त्रको बोसे आन्द्रो नै बाहिर निस्केको रहेछ । मेरा सम्पूर्ण प्रयत्नहरू असफल भए । टिभि बनेन । भात पाकेन । बाँकि के के भो किन सबैथोक सुनाएर जग हसाउनु ? घरेलु घटना मत्थर हुन पाएकै थिएन, जुँगेको मेसेज आयो । ‘खोइ कति भए च्यानल सब्स्क्राइबर ? यहाँ म सबै थाहा पाउँछु नि ।
मैले सोचेको थिएँ, बनाएँ २५ भन्दिन्छु ग्वाँच बूढालाई भनेर । बूढा यता नौलो डिजिटल दुनियामा पनि खल्ली रहेछन् । आखिरमा साँचो कुरै बकिदिए ।
‘हेर्नोस् सम्पादकज्यू, तपाईं सर्वज्ञानी, सर्वज्ञाता, भुत-भविष्य-वर्तमान फलाक्न सक्ने झाँक्री । तपाईंलाई थाहै छ यहाँ गाउँ शहर रित्ता छन् । मर्दा मर्दानी हरू दूरदेशमा रोजगारी गर्न गएका छन् । घरमा दुधे नानीका आमा, हजुरआमा, हजुरबा, भुराभरी र असक्त मात्र बाँकी छन् । अर्काका घरमा बेला कुबेला छिर्न पनि पो हुँदैन त । बुझ्नु भो नि कुरो ?’ यति भनेर मैले लामो सास तानेँ । बूढालाई आज चैँ माटो ख्वाएँ भन्ने मनमा आयो ।
तर आबुई ! आफूले सोचेजस्तो किन हुन्थ्यो । कोइला चपाएर आगो छाद्ने जादुगर बूढासँग किन सकिन्थ्यो । उनले तुरुन्त जुक्ति सुझाए । ‘हेर भाइ, तिमी खुरुक्क जाऊ छिमेकमा । त्यहाँ उपस्थित जनहरू मोबाइलमा ब्यस्त हुनेछन् । केहि बेर बस । भलाकुसारी गर । सन्चो बिसन्चो सोध। अनि पानी माग । मोबाइल त्यता कतै छोडेर ती भला मानुसहरू पानी लिन गएका बखतमा मोबाइलमा झम्टा हान र खित्कौलीमा लाइक सब्स्क्राइब गरिहाल । अर्थात अलि जान पहिचानका मान्छेको त हातबाट मोबाइल खोसेरै त्यसो गर्दा नि हुन्छ ।’
नाइँ भन्ने ठाउँ नै राखेनन् बुढाले । जान्ने सुन्ने, जुँगा सेतै फुलाएका, अनुभवले खारिएका मान्छेले भनेको कुरामा तर्क बितर्क गर्ने ठाउँ नै रहेन । अनि मैले गमेँ अब कहाँबाट यो कामको श्री गणेश गरौँ त भनेर । यसो हेर्दा तल्लाघरकी छिमेकी सोल्टिनी मोबाइलमै देखें र सर्र गएर छेउको कुर्सीमा बसेँ । सधैँ बोलिबस्ने चिनाजानाकै मान्छे भनेर फुत्त मोबाइल तानेको मात्र के थिएँ, नौ ग्रह जुधेर आए । सोल्टिनीले जानेको जति फलाकिन् र नाकैमा औँलो ठड्याउँदै भनिन् – अरु जे जे समाए पनि समा तर यो मोबाइल चै अबदेखि तानिस् भनेँ तँ काठालाई ठहरै पार्दिन्छु । त्यसपछि त्यो कुरा घरमा आउला र सर्वस्वहरण होला भनेर दिनमा चैन छैन, रातमा निद छैन ।
पर्धानमन्त्रीलाई त भुङ्रामा पार्न सक्ने यी पत्रकार जातिका मान्छे त्यति निका लागेनन् है मलाई । धन्न मेरो त दशा चार डोका गाली र एक दुई मुड्कीमै टरो । भगमान् कस्ता कस्ता पनि मान्छे यो धरतीमा बनाका छौ नि तिमीले !
(नोटः यहाँ कसैको मानहानी गर्न खोजिएको हैन । यो सत्य घटना हो । घटनामा उल्लेखित पात्रहरू तथा अन्य विवरणहरू मिल्न गएमा मिठो संयोग मात्र हुनेछ । मानहानीको मुद्दा खेप्ने ल्याकत ममा छैन ।
पुनस्चः माथि पत्रको शुरुमा श्रीमान सम्पादकज्यूको सट्टामा ओय सम्पादक भन्न मन लागे पनि भन्न नसकेको मात्र हो ।)
०००
झापा








































बिचरा कत्ति सोझा हाम्रा दादा .. खुच्चिङ भनौँ झन् रिसाउला भन्ने डर नभनौं आफ्नो यहाँ हाँसोले दाँत फुक्लेला भन्ने पिर… अनि कि मोबाइल तान्नु को साटो चो*** तु*** तान्नु भनेकी होलिन् अन्त .. धन्न धूलो पिठो पारेनन् । ल दादा ज्यान जोगाऔं अभियानमा लाग्नु होला …🤗🤩😁🙏🙏
गुप्तबासमा छु। अग्यात ठाउबाट बोल्दैछु🤣