
मिश्रको मिस्रीलाई राम राम
हाँस्नु नै मानिस हुनुको प्रमाण हो भने हँसाउनु महामानव भित्र हुने महानताको सिर्जना गर्नु हो । हाँस्नु हँसाउनु भनेको यस्तै महानता बाँड्नु हो । हाँस्ने हँसाउने काम जारी रहोस् ।

रामकुमार पाँडे :
कुनै मित्रको भाइ/भतिजो हैन, कुनै मिश्र भीरवाट खस्न लागेको सुन्दा साथ मेरो मुखवाट एकै पल्ट “राम राम” निस्कियो । आफुले अर्थोक गर्न सक्ने कुरो पनि त केही थिएन । मान्छेहरू भाइ भतिजो र भान्जोलाई तारतम्य मिलाएर सके टेवुल माथि वाटै नसके टेवुलमुनिबाट लिन पाउँने ठाउँमा पुर्याउँछन् । यहाँ भने आफसे आफ हाँस्य व्यङ्ग्यमा हाम फालेको देख्दा म तिन छक्क परेँ । कसैले घचेटेको वा आफैं घचेटिएको भन्ने कुरो अनुसन्धान अन्तर्गत पर्ने भए पनि सत्य कुरा के हो भने मिश्रजी महमा परेको माखो झै भएका छन् । मह बटुल्ने परिश्रम गरेर महमै आलो बस्न पुग्दाको हालत हेरी मलाई “राम राम” भन्न मन लाग्यो ।
नामै मिश्र । हास्यव्यङ्ग्यको मरमसलाको मिश्रण गर्ने सुरमा हलुवामा मिसिएको बालुवालाई मिश्रको मिस्रीले छोपेको छ । मिश्रको मिस्री भन्दा अर्को अर्थ नलागेमा मिस्रीको पुलिङ्ग मिस्री हैन । न त मिश्र देशको मिस्री कै कुरो हो। यो मिस्री चिनी पकाएर काँढा खान बनाएको कालपरी मिस्री पनि हैन । व्रत लिने वा विरामी हुनेलाई तागत दिने खालको कुरो पनि हैन, न त मिस्री आँप कै कुरा हो । मिश्रको यो मिस्री गुलियो हुँदा हुँदै तीतो लाग्ने वा तीतो भगाउन मिठो लाग्ने मरमसला हो। साँच्चै मिश्रको मिसी क्या च्वाँक छ । च्वाँके पारेर वा च्याँखे थापेर यो कुरो भन्न खोजेको हैन । मिश्र र मिस्रीको सम्वन्ध देखाउन खोजेको मात्र हो ।
मिश्रको मिस्री हेर्दा च्वाँक भए पनि कतै कतै बगमफुसे गफ गरेको देख्दा कस्तो क्वॉक रहेछ भन्न मन लाग्छ । साहित्यको परे पनि च्वाँक चाँहि जोसमा मात्र फेला पर्छ । यहि जोस छ मिश्रमा । जोसलाई होस पुर्याए च्वाँक साँच्चिकै च्वाँकै हुनेछ ।
मिश्रजीले च्वाँक म कहाँ पठाएर के गर्दो रहेछ हेर्न खोजेका रहेछन् । च्वाँक पाएपछि आँखा झिम्काएर मात्र चित्त नवुझे शब्दले सुम्सुम्याई दिनु पर्ने, बाक्यले वेरिदिनु पर्ने र पंक्तिले पलङ्गमा लेटाई दिनु पर्ने तर कुनै काम नगरी आँखा सन्काएर मात्र पठाई दिएँ । मिश्रको मिस्रीमा केही मिसाउनु मन लागेन । यो आफै गुलियो छ ।
मिश्रजीलाई फाटफुटे लेख्न हाटहुटे मान्छे ठान्थे । त्यसैले “कौन पुछे खेसडीका दाल, पुडमाडे मन्त्रीको बगमफुसे ताल” भने झै रहर मात्र गरिरहेका हुन् कि ठानेको थिएँ तर हास्यव्यङ्ग्यको लहरमा च्वाँक नै फेला पारेपछि यी क्वाँक हैनन भन्ने ग्यारेन्टी भयो । तर कहिलेकाही हास्यव्यङ्ग्यमा हाम फाल्दा जेठा मामाको त धोती न टोपी भयो भने कान्छा मामाको कुन गति होला भन्ठानी टाढैबाट लाटा ताल गरेकामा टाटा । र वाटो विराएकामा वाई वाई। भनि दिउँ जस्तो नलागेको होइन । तर राम र मिताम । लाग्नेलाई अर्थोक नभए पनि राम राम भन्नै पर्ने रहेछ । अलि अलि भए पनि रामको रुप हुन्छ राम रमितामा । जन्मँदै तीनपाते नभए पनि मिश्रजी वित्पाते भएको प्रमाण यो च्वाँकलाई च्वाँक पार्नुमा छ ।
हाँस्नु नै मानिस हुनुको प्रमाण हो भने हँसाउनु महामानव भित्र हुने महानताको सिर्जना गर्नु हो । हाँस्नु हँसाउनु भनेको यस्तै महानता बाँड्नु हो । हाँस्ने हँसाउने काम जारी रहोस् । तपाईंको हृदयमा मिश्र हैन महानताको मिस्री पग्लि रहोस् । तपाईंको लेखनी अग्लि रहोस् ।
अन्त्यमा सम्झनु पर्ने मितिः ०५१ एक महिना
घोडे जात्रा “नाम उही राम” कुमार पाँडे
कानो घोडा दौडाउने जिल्ला
भोटो देखाउन ठाउँ
०००
‘च्वाँक’ (२०५१)
Subscribe
Login
0 Comments
Oldest