चिरञ्जीवी दाहालदरबारी कवि
कहिले मध्यावधि चुनाव गराउने सल्लाह दिन्छन् । बेला न कुबेला तेल र ग्याँसको भाउ बढाउने, कहिले कसो हाकिमलाई वैदार र वैदारलाई हाकिम बनाउने कुरामा पनि यिनै सल्लाहकारको हात हुन्छ ।

चिरञ्जीवी दाहाल :
ग्रीष्मको दिन किन लामो हुन्छ ? राजाले आफ्नो दरबारी कविसँग सोधे । कविले उत्तर दिए “महाराज, हाम्रा सेनाले दुस्मनसँगको लडाईं सकिएपछि घोडा दौडाएर फिर्ता लैजाँदा घोडाको टापले जमिन खोस्रियो, त्यही खोस्रिएको धुलो उडेर आकाश गङ्गाको सतहभरी फैलियो । त्यहाँ प्रसस्त दूबो उम्रियो । जब सूर्यदेवका घोडाहरू दुबोको हरियाली चउरमा चर्नलागे त्यसैकारण दिन लामो भयो ।”
राजालाई लाग्यो, कवि भनेको कवि नै हो । यही कारणले ग्रीष्मको दिन लामो भएको रहेछ। कति गजबको तर्क ।
राजालाई के थाहा, यो कविको काइते तर्क हो भन्ने कुरा ! दरबारी कविको तर्कले राजाको चित्त बुझ्यो । राजा खुशी भए । कविले कल्पना पनि नगरेको एक थैलो असर्फी इनाम पाए !
मध्यकालीन समयताका मालिकलाई खुशी पार्न यस्तै अन्टसन्टका तर्क दिने गर्दथे दरबारी कविहरू । कवि मार्फत ज्ञान प्राप्त गरेको खुशीमा राजा पनि मख्ख,ईनाम पाउँदा कवि पनि मख्ख ।
सायद मल्ल युद्ध लडेर आएका, पाखुरा सुर्किएर राजा भएकाहरूले आफ्नै बुद्धि विवेकले होइन यिनै दरबारी कविसँग सल्लाह लिएर राज्य सञ्चालन गर्नेगर्थे । तिनीहरूसँग न त विधिपूर्वक राज्य सञ्चालन गर्ने खुबी हुन्थ्यो ! न तिनमा विवेक नै हुन्थ्यो ! राज्य सञ्चालनको लागि केही दरबारी कविहरूको एउटा घेरा बनाइन्थ्यो। यिनले राजाको प्रशस्ती लेख्ने र राज्य सञ्चालन सम्बन्धि सल्लाह समेत दिने गर्थे ।
यिनले राजालाई जे ठिक हो भनिदियो, त्यो अकाट्य हुने गर्थ्यो । मध्यकालीन समयमा यस प्रथाले व्यापकता पाएको भएपनि यो निकै पुरानो प्रचलन हो । युगौँदेखि राज्यका शासन व्यवस्था यसरी नै चल्दै आए ।
हुनसक्छ, अबको पाँचसय वर्ष पछि पनि राज्य सञ्चालन गर्ने सूत्र यही हुनेछ । किनकि संसारमा अनेकौं कुरा परिवर्तन भए, अझैँ भइरहेका छन् । तर राज्य सञ्चालन गर्ने कुरा परिवर्तन भएको पाइँदैन । देशभक्त भिम मल्लको कुरा होस्, राणाकालीन कोतपर्व र भण्डारखाल पर्वको कुरा किन नहोस्, प्रजातन्त्र कालमा रायणहिटी काण्डको कुरा किन नहोस्, सत्ताको खेलमा यही सुत्र प्रयोग हुने गरेको छ । अन्य क्षेत्रमा जस्तो राजनीति र सत्ता सञ्चालनका क्रममा खासै परिवर्तन भएको छैन । पटक पटक व्यवस्था परिवर्तन भएपनि शासन सञ्चालनको शैली एकै प्रकारको हुन्छ । यसो हुनुको मुख्य कारणमा तिनै दरबारी कविका सल्लाहले महत्वपूणर् भूमिका खेलेको हुन्छ र खेलिरहेको देखिन्छ ।
संसारका अधिकांश राजा महाराजाहरूले सत्ता सञ्चालन गर्न दरबारी कवि भर्ती गर्छन् र तिनकै सल्लाह मुताविक जनतालाई अर्ति दिन्छन् ।
दरबारिया कविहरूले सल्लाह दिइरहेका हुन्छन्, प्रशस्ति लेखिरहेका हुन्छन् । सरसल्लाह दिए वापत र प्रशस्ति लेखे वापत तिनले दह्रो इनाम पाउँछन्, स्याबासी पाउँछन् । केहीले कमाउँछन् केही साँझपख भए पनि रमाउँछन् । विभिन्न कालखण्डमा सत्ता सञ्चालन गर्ने सूत्र चाहीँ यही हो ।
तेह्रौँ चौधौँ शताब्दीमा मात्र होइन आजसम्म पनि संसारका कतिपय मुलुक यसरी नै चलिरहेका छन् । जसरी पृथ्वी चलिरहेको छ । राज्य सञ्चालन गर्नेले पृथ्वीलाई हातले ठेलेर घुमाइरहनु पर्ने थियो भने को सत्तामा जान चाहन्थ्यो होला र ? धन्न पृथ्वी आफैँ घुम्छ । सत्ता सञ्चालन गर्न स्वयंले भने सामान्य पानी घट्ट समेत घुमाउनु पर्दैन । सत्ता त समयले चलाइरहेको हुन्छ । छलकपट र तिकडमले चलिरहेको हुन्छ ।
यिनले घुमाउनु पर्ने त दिमाग र जिब्रो मात्र हो । यसपछि सत्ता पनि स्वतः घुम्न थाल्छ । वस् यति भए पर्याप्त हुन्छ । पृथ्वी आफै घुम्ने भएकोले एकनासले घुमिरहेको हुन्छ । तर सत्ता भने कहिले सुस्त गतिमा घुम्छ, कहिले जोडले घुम्न थाल्छ । कहिले भुँइचालो गए जस्तो एक्कासि हल्लिन्छ । यसरी हल्लिँदा यताको कुर्सी उता र उताको कुर्सी यता आइपुग्छ, त्यति मात्र हो । गजबको कुरा चाहिँ के हो भने यो सामान्य गतिमा कहिले पनि घुम्दैन । सुस्त घुमोस् वा तीव्र गतिमा घुमोस्, सत्तासीनहरू भने नाङ्गो नाचमा मस्त रहिरहेका हुन्छन् ।
तर यिनले जेसुकै गरुन्, यिनका प्रशस्ति लेख्न भने छोडिन्न । किनकि प्रशस्ति लेख्नकै लागि दरबारी कविको नियुक्त गरिएको हुन्छ । कसैले पनि आश्चर्य मान्नु पर्दैन, किनभने यिनका दरबारीया कविको काम नै यही हो तिनको प्रशस्ति लेख्नु र स्वरबद्ध गरेर भक्तिगान गाउनु ।
यसको जिम्मा केही तोकिएका मान्छेलाई दिने गरिन्छ । यिनले रातलाई दिन हो भनिदिए रात पनि दिन हुन्छ । लेख्नु मात्र पर्छ सुन पनि नुन हुन्छ, नुन पनि सुन हुन्छ । गालीलाई ताली भनेर लेख्नुपर्छ त्यो ताली नै हुन्छ । भ्रष्टाचारीलाई सदाचारी भन्नु पर्छ, ऊ सदाचारी ठहरिन्छ । चोरलाई साधु र साधुलाई चोर बनाउन सकिन्छ । जनताले विश्वास गर्न छोडेको कुरालाई जनतामा विश्वास बढ्दै गएको भनेर लेख्नुपर्छ, त्यो सदर मानिन्छ । कुनै घटनामा यिनका मालिकले मान्छे कुटे भने मालिकले कुटेको होइन, मालिकले कुटाइ खाएको भन्दै समाचार आयो भने पनि अनौठो नमाने हुन्छ । आखिर दरबारी कवि न हुन् !
सल्लाहकारले राज्य सञ्चालनका लागि कहिले कर बढाउने सल्लाह दिन्छन् । कहिले थर बदल्ने सल्लाह दिन्छन् । कहिले जनताका घर भत्काउने सल्लाह दिन्छन् । सरकार फेर्ने सल्लाह दिन्छन् । कहिले मध्यावधि चुनाव गराउने सल्लाह दिन्छन् । बेला न कुबेला तेल र ग्याँसको भाउ बढाउने, कहिले कसो हाकिमलाई वैदार र वैदारलाई हाकिम बनाउने कुरामा पनि यिनै सल्लाहकारको हात हुन्छ । सल्लाह दिए वापत यिनले इनाम थाप्छन् । राजाहरू मख्ख पर्दछन् । फेरि रातीको सल्लाह जाती हुन्छ भन्ने प्रचलन छ । त्यसैले राजनीतिका ९५ प्रतिशत सल्लाह राती हुने गरेका छन् ।
सल्लाह दिनेले दिँदै जान्छन्, राजा महाराजाहरू सल्लाह लिँदै गर्छन् । आजसम्म सल्लाहकारहरूले जतिपनि सल्लाह दिए निष्कर्ष एउटै निस्कने गरेको छ । नाफा जति राजा महाराज र यिनै सल्लाहकारलाई हुन्छ । जनता भने हिजो पनि चिल्लै आज पनि चिल्लै ।
०००
कालिका, चितवन
Subscribe
Login
0 Comments
Oldest







































