साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज नै

विकसित देशका बजेट र कार्यक्रममा वर्तमानकालीन क्रियापदको भरपूर प्रयोग हुन्छ । आजैबाट यो काम थालिने छ अनि गरिनेछ जस्ता क्रियापदमा जोड दिइएको हुन्छ ।

Nepal Telecom ad

देवीप्रसाद चापागाईं :

हामी कोही हिजो र अस्तिका भक्त छौँ त कोही भोलि, पर्सि निकोर्सि अनि कानेकोर्सिका । मुखै खोलेर भन्दा आजलाई हामीले गनेकै छैनौँ । एक गाँसका लागि दैलादैला ढुक्ने कुत्ता जति पनि ठानेनाँ आजलाई । ‘आजलाई माया गर भोलि आफैँ आउने छ’ भन्ने गीतकार रिजालको गीतको मर्मलाई समेत लोप्पा ख्वाइदियौँ हामीले ।

यसो हेरिल्याउँदा हिजो र अस्ति आज पुरानिएर बनेको कुरामा हाम्रो ध्यानै गएन । भोलि, पर्सि, निकोर्सि र कानेकोर्सिहरू आजलाई सिध्याएर झुल्किन आउने हुन् । त्यति जाबो कुराको बोध गर्ने ह्याउको अभावले हामी बेलाबेलामा अन्योलमा फस्छौँ । हुन त धर्मराज युधिष्ठिर त आजको महत्व नबुझेर अबुझको संज्ञा पाउन विवश भए रे कुनै समय । खानपानको जोरजम्मामा ध्याउन्न भएका भीमसेनले समेत भोजको व्यङ्यात्मक वातावरण नै सिर्जना गर्नुपऱ्यो रे त्यसबेला । बल्ल उनको दिमागमा यथार्थताको ढोका हवाङ्ग खुलेछ । उसो त तपाईं हामी अबुझको नामी हकदार है भइहाल्यौँ ।

आज शब्ददेखि हामी यति त्रसित छौँ कि तिमी आजै घर जाऊ रे यस्तो खबर आउँदा माइत गएकी बुहारी, विदेशमा बसेका छोरी ज्वाईं यात्रारत यात्रुहरू एकछिन त ट्वाल्लै पर्दछन् । यदि त्यही बेला कसैले फोन मार्फत वा भेटेर भोलि पर्सि गए भइगयो नि भन्दा केही राहत महसुस गरेको देख्छौँ । आजको ठाउँमा भोलि वा पर्सि शब्दले थोरै हलुङ्गो बनाइदिन्छ । पैसा चाहिएको हो ? भन्ने आशङ्कयुक्त प्रश्नमा आज नै प्रयोग नगर्दा केही हँसिलो वातावरण उत्पन्न हुन जान्छ । जब कसैले आजैदेखि हजुरकोमा आउन खोजेको भन्ने तर्क देओस् त कति छिलिपिटी पैदा हुन्छ । पिइरहेको कफी कतिखेर सिद्धिएको पत्तो नै हुन्न ।

अधिकांश पात्र आजविरोधी नै पाउछौँ तपाईं हामी । थोरै अपवादबाहेक । फेरि दिनुपर्दा मात्र मान्छे आजदेखि रिसाउँछ तर लिनुपर्दा भने ऊ त्यति नेगेटिभ देखिँदैन । मेरा एक जना छिमेकी मित्र थिए गण्डकीप्रसाद । परिवार छरछिमेकी, आफन्त, नागरिकता, वाइक लाइसेन्स आदिमा पृथक पृथक नाम राख्ने बानी नै रहेछ उनको । घरपरिवारमा रामु, छरछिमेकमाझ दीर्घराज, आफन्तमा गोविन्द, नागरिकतामा गण्डकीप्रसाद बाइक लाइसेन्समा सोमनारायण, हुँदाहुँदा टोल छिमेकका नेवार र तामाङ साथीहरूले गन्दकीप्रसाद र गाण्ढोकीप्रसाद सम्बोधनले नरिसाउने वा झर्को नमान्ने व्यक्ति भनेर चिनिन्थे । तर आजै यो काम आइलाग्यो भने मात्र पनि झम्टिन खोजिहाल्थे । पत्नीले आज माइत जान्छु ल भुलवश भनिन् भने पनि एकचोटि नउफ्री छोड्दै छोड्दैनथे भन्ने कुरा टोल छिमेकमा गाइँगुइँ सुनिन्थ्यो ।

अँ, मेरी एउटी छिमेकी भाउजू थिइन् । जहिल्यै उनी गनगन गरिहन्थिन् । परिवारका सदस्य पनि दिक्क थिए उनीदेखि । एक दिन पछ्यौराले मुख छोप्दै कतै कुदेको देखेँ । भाउजू कता नि ? के सोधेको मात्र थिएँ । उनको असली स्वभाव प्रकट भइहाल्यो बाबु ! एउटी बजिनीको घिउ पैँचो लगेकी थिएँ । घरका हुस्सुहरुलाई घिच्न मात्र आउँछ । आजै चाहियो रे राँडीको । म अक्मकिँदै थिएँ । उनी बाटो लागिन् गनगनाउँदै । नाम पवित्रा भए पनि गाउँलेहरू गनगनकुमारी नै भनेर चिन्दथे । म उनको अगाडि साखुल्ले बन्थेँ उनी पत्याइहाल्थिन् । उनलाई गनगने सम्बोधन नगर्नेचाहिँ असल हितैषी हुन्थ्यो । दुःखको भारी उसैको अगाडि बिसाउँथिन् । मप्रति भन्ने उनी अधिक सकारात्मक थिइन् । घर परिवारका झिनामसिना कुरा पनि लुकाउँदिन थिइन् । मेरा गाउँका एक हेडमास्टर थिए उदात्तकुमार । नाम व्यवहारको नापो किन हुन्थ्यो । एक दिन बिहान चाँडै चियापसलको बाटो हुँदै विद्यालयतर्फ सोझिएका थिए । चिया पिएर सवारी होस् न त भनिन्, चिया पसलनीले । उनको गुनासो आरम्भ भइहाल्यो । वि.व्य.स अध्यक्षलाई आजै बैठक डाक्नुपर्‍यो अरे । जहिल्यै उनको हुनुम मान्नुपर्ने । आफूलाई चियाको गिलाससमेत समाउने फुर्सद छैन भन्दै बाटो तताइहाले । उनी प्रायः हरेक काम भोलि पर्सि गरौँला भनिरहन्थे । कोही विद्यालयको अनुगमन निरीक्षण गर्न आए भने चिया अर्कोचोटि खाउँला भन्दै टार्थे । प्रायः धेरैले उनको पछाडि उनलाई अर्कोचोटे को छद्म नामले सम्बोधन गर्दथे । उनलाई चाहिँ पत्तो थिएन ।

अधिक बुद्धिजीवीहरू चार्वाक दर्शनलाई खिस्याउन खोज्दछन् । यावद् जीवेत् सुखम् जीवेत् ऋणम् कृत्वा यृतम् पीवेत् को चार्वाकीय दर्शन है आजलाई बचाउने मूख्य प्राच्य दर्शन हो । भविष्य हाम्रो वशमा छौन । अहिलेबाट नै योजना तयार नगरी कदापि हुन्न । त्यो अहिले भन्नु आज हो । कार्यारम्भ भएपछि कसैको देहान्त नै भएछ भने पनि असल कामको आरम्भकर्ता वा सर्जकको उपाधि त भेट्टाउन सकिन्छ । आजै आरम्भ नगर्दा त्यो चिन्तनको सर्जक चाहिँ आफू, मान सम्मानचाहिँ अर्कोलाई ‘काम गर्ने हनुमान पगरी गुँथ्ने ढेँडु’ भन्ने लोकआहान चरीतार्थ हुन के बेर ? यदि तपाईंलाई कुनै कार्य आजैबाट आरम्भ गर्न असजिलो महसुस हुन्छ भने बुझ्नुहोस् तपाईं आज विरोधी हुनुहुन्छ । इतिहास लेखिने व्यक्तिहरुको जीवनी अध्ययन गर्नुहोस त उनीहरूले आजलाई बित्थामा खेर फालेका सुनिँदैन र पढिँदैन । झरी, बादल, गर्मी, जाडो, भोकप्यास नमानी आजको कान च्याप्प समातेर कालले बरू छोड्ला आफूले नछोडी कर्म गरेकाले इतिहास लेखिन सकेको हो । आजदेखि तर्सिनेहरू घिस्रिरहेका छन् । असन्तुष्टीका डोकाडालाहरू प्रशस्त भरेका पो भेटिन्छ ।

हाम्रो लोक आहानले हामीलाई समयको महत्वको असली अनुहार छ्याङ्ग पारिदिएको छ । सप्रिने घरको बेलुकैको मतो, बिग्रने घरको बिहानको मत, उक्लिने घरको मतो न जतो दिनभरि गरिएको कामको समीक्षा गर्दै भोलिको दिनको योजना बनाउने बानी नै आजको सदुपयोगको मर्म कसले बुझोस् । दिन उजेली सुती बिताई रात उजेली बिस्कून सुकाइ जस्ता उखानले पनि आजलाई खेर फाल्न हुन्न है भन्ने सन्देश प्रवाह गर्न खोजेको छ । जुन दिनको काम हो त्यही दिन फत्ते गर्ने प्रवृत्ति नै आएको पक्षपाती हो । आजको लागि हिजोलाई, भोलिको लागि आजलाई, पोर्सिलाई भोलि नै योजना बनाउनु नै आजलाई प्राथमिकता दिनु हो । हाम्रो हातमा आज छ, अरु त आजका भूतपूर्व र भविष्यत् रुपहरू मात्र हुन् । फेरि आजको लागि आज नै निणर्य लिने कुरा अवैज्ञानिक र अव्यवहारिक पनि हुन्छ । आफू मात्र होइन अरुलाई वा परिवारलाई तत्कालै आदेश जारी गर्ने हो भने उनीहरुबाट पनि त्यस्तैउस्तै जवाफ आइहाल्छ। तपाईँले भन्नुभएको आजै ? परेन फसाद । हाम्रो अदूरदर्शा, अपरिपक्व, एकाङ्की, स्वार्थी र आत्मकेन्द्रित हुनाले निणर्य लिन हतार या त ढिलो गर्दछौँ । अनि आज या त फुत्किन्छ कि कामको थुप्रोले गर्ने अरुचि पैदा गरिदिन्छ । हिजोलाई भूतपूर्व आज र भोलिलाई भविष्यत आजको रेखाङ्कन गरौँ अनि आजलाई अलि बढी बल पुग्ला कि ?

भैरव अर्यालले पनि आजै काम नथाल्ने प्रवृत्तिलाई भोलिवादी प्रवृत्तिको संज्ञा दिए । भोलिवाद पनि आजलाई नै टार्ने मनोवृतिको उपज हो । अनि भोलि पर्सि गरौँला भन्नु नै आजैबाट थालनी नगर्ने दृष्टिकोण विरुद्ध उब्जिएको ऐंजेरु हो । पौरस्तय दर्शनले हिजो के गरियो । भोलि के होला ? त्यता ध्यान नदिई आजबाट भगवानको स्मरण गर्दा पूर्वजन्मका पापहरू पखालिने र पश्च जन्म सफल हुने विचार अगि सारेर मानवलाई आफैसँग वा आफ्नो हातमा आज मात्र रहेको तर्क दिएको छ । आजैबाट आरम्भ गर्ने मनशाय भने रुटिन बनाउन सकिन्छ । अब भविष्यका सारा काम आजको रुटिन अनुसार चल्नेछ । त्यही रुटिन भोलि हिजो अस्ति बनेर भूत हुन पुग्छ । हरेक मान्छेको भूत र भविष्यत् त्यही आजकै ऐनाबाट निर्देशित हुन्छ । अब धेरै बकबक नगर्नुहोला । ओठमाथिको जुँगा उखेली माग्न पनि सक्नुहुन्छ । म जाबोको पनि कठालो समात्ने अधिकार तपाईंसँग सुरक्षित नै छ । हेर्नुहोस् हाम्रा राष्ट्रपति र अर्थमन्त्रीद्वारा वाचित नीति कार्यक्रम एवम् बजेटमा भविष्यतकालीन क्रियापदको ओइरो देख्नुहुन्छ । विकसित देशका बजेट र कार्यक्रममा वर्तमानकालीन क्रियापदको भरपूर प्रयोग हुन्छ । आजैबाट यो काम थालिने छ अनि गरिनेछ जस्ता क्रियापदमा जोड दिइएको हुन्छ । उनीहरूका टुप्पीबाट खन्याइको वस्तु खुट्टाको बुढीऔँलाबाट निस्किने गरी प्रणाली जडान गरिएको हुन्छ । हाम्रो शरीरका विभिन्न प्रणालीहरूको जस्तै । प्रणालीकै घोती फुस्काइदिने तपाईं हामी कम बाठा छौँ र । बाठो भएर के गर्नु आज नै नसोच्ने बानीले व देशको अर्थतन्त्र बिस्तारै ओरालो झरिरहेको छ । यो समस्या त्यतिखेरसम्म रहन्छ अब सम्म हामी आजलाई अत्याधिक महत्व दिँदैनौँ ।

गल्ती अरुको देख्ने आनीबानीले तपाईं मात्र हो र म पनि भुसुक्क बिग्रिएको छु । विगत चिप्लिगयो । भविष्यको कुनै ठेगाना छैन । अनि अगाडि नै हाजिर भएको आजलाई खेदो खन्ने तपाईं हामी सभ्यता विरोधी पो हुने हैँ कि ? जुन कुरा हामी कलिला मस्तिष्कमाथि पनि थोपरिरहेका छौँ । अब यो आज लेखिएको थाङ्ने लेखलाई पनि थाङ्नामा सुताउन आज नै तयार हौँ । तपाईं त अझ कम आज विरोधी चरित्रको कानुनी, राजनीतिक र धार्मिक सल्लाहकार या कट्टर अनुयायी म नै हुँ । बल्ल चिन्नुभो ।

०००
काठमाडौं
२०८१/२/१५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
कुरा खेलाउने बानी

कुरा खेलाउने बानी

देवीप्रसाद चापागाईं
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x