देवीप्रसाद चापागाईंआज नै
विकसित देशका बजेट र कार्यक्रममा वर्तमानकालीन क्रियापदको भरपूर प्रयोग हुन्छ । आजैबाट यो काम थालिने छ अनि गरिनेछ जस्ता क्रियापदमा जोड दिइएको हुन्छ ।

देवीप्रसाद चापागाईं :
हामी कोही हिजो र अस्तिका भक्त छौँ त कोही भोलि, पर्सि निकोर्सि अनि कानेकोर्सिका । मुखै खोलेर भन्दा आजलाई हामीले गनेकै छैनौँ । एक गाँसका लागि दैलादैला ढुक्ने कुत्ता जति पनि ठानेनाँ आजलाई । ‘आजलाई माया गर भोलि आफैँ आउने छ’ भन्ने गीतकार रिजालको गीतको मर्मलाई समेत लोप्पा ख्वाइदियौँ हामीले ।
यसो हेरिल्याउँदा हिजो र अस्ति आज पुरानिएर बनेको कुरामा हाम्रो ध्यानै गएन । भोलि, पर्सि, निकोर्सि र कानेकोर्सिहरू आजलाई सिध्याएर झुल्किन आउने हुन् । त्यति जाबो कुराको बोध गर्ने ह्याउको अभावले हामी बेलाबेलामा अन्योलमा फस्छौँ । हुन त धर्मराज युधिष्ठिर त आजको महत्व नबुझेर अबुझको संज्ञा पाउन विवश भए रे कुनै समय । खानपानको जोरजम्मामा ध्याउन्न भएका भीमसेनले समेत भोजको व्यङ्यात्मक वातावरण नै सिर्जना गर्नुपऱ्यो रे त्यसबेला । बल्ल उनको दिमागमा यथार्थताको ढोका हवाङ्ग खुलेछ । उसो त तपाईं हामी अबुझको नामी हकदार है भइहाल्यौँ ।
आज शब्ददेखि हामी यति त्रसित छौँ कि तिमी आजै घर जाऊ रे यस्तो खबर आउँदा माइत गएकी बुहारी, विदेशमा बसेका छोरी ज्वाईं यात्रारत यात्रुहरू एकछिन त ट्वाल्लै पर्दछन् । यदि त्यही बेला कसैले फोन मार्फत वा भेटेर भोलि पर्सि गए भइगयो नि भन्दा केही राहत महसुस गरेको देख्छौँ । आजको ठाउँमा भोलि वा पर्सि शब्दले थोरै हलुङ्गो बनाइदिन्छ । पैसा चाहिएको हो ? भन्ने आशङ्कयुक्त प्रश्नमा आज नै प्रयोग नगर्दा केही हँसिलो वातावरण उत्पन्न हुन जान्छ । जब कसैले आजैदेखि हजुरकोमा आउन खोजेको भन्ने तर्क देओस् त कति छिलिपिटी पैदा हुन्छ । पिइरहेको कफी कतिखेर सिद्धिएको पत्तो नै हुन्न ।
अधिकांश पात्र आजविरोधी नै पाउछौँ तपाईं हामी । थोरै अपवादबाहेक । फेरि दिनुपर्दा मात्र मान्छे आजदेखि रिसाउँछ तर लिनुपर्दा भने ऊ त्यति नेगेटिभ देखिँदैन । मेरा एक जना छिमेकी मित्र थिए गण्डकीप्रसाद । परिवार छरछिमेकी, आफन्त, नागरिकता, वाइक लाइसेन्स आदिमा पृथक पृथक नाम राख्ने बानी नै रहेछ उनको । घरपरिवारमा रामु, छरछिमेकमाझ दीर्घराज, आफन्तमा गोविन्द, नागरिकतामा गण्डकीप्रसाद बाइक लाइसेन्समा सोमनारायण, हुँदाहुँदा टोल छिमेकका नेवार र तामाङ साथीहरूले गन्दकीप्रसाद र गाण्ढोकीप्रसाद सम्बोधनले नरिसाउने वा झर्को नमान्ने व्यक्ति भनेर चिनिन्थे । तर आजै यो काम आइलाग्यो भने मात्र पनि झम्टिन खोजिहाल्थे । पत्नीले आज माइत जान्छु ल भुलवश भनिन् भने पनि एकचोटि नउफ्री छोड्दै छोड्दैनथे भन्ने कुरा टोल छिमेकमा गाइँगुइँ सुनिन्थ्यो ।
अँ, मेरी एउटी छिमेकी भाउजू थिइन् । जहिल्यै उनी गनगन गरिहन्थिन् । परिवारका सदस्य पनि दिक्क थिए उनीदेखि । एक दिन पछ्यौराले मुख छोप्दै कतै कुदेको देखेँ । भाउजू कता नि ? के सोधेको मात्र थिएँ । उनको असली स्वभाव प्रकट भइहाल्यो बाबु ! एउटी बजिनीको घिउ पैँचो लगेकी थिएँ । घरका हुस्सुहरुलाई घिच्न मात्र आउँछ । आजै चाहियो रे राँडीको । म अक्मकिँदै थिएँ । उनी बाटो लागिन् गनगनाउँदै । नाम पवित्रा भए पनि गाउँलेहरू गनगनकुमारी नै भनेर चिन्दथे । म उनको अगाडि साखुल्ले बन्थेँ उनी पत्याइहाल्थिन् । उनलाई गनगने सम्बोधन नगर्नेचाहिँ असल हितैषी हुन्थ्यो । दुःखको भारी उसैको अगाडि बिसाउँथिन् । मप्रति भन्ने उनी अधिक सकारात्मक थिइन् । घर परिवारका झिनामसिना कुरा पनि लुकाउँदिन थिइन् । मेरा गाउँका एक हेडमास्टर थिए उदात्तकुमार । नाम व्यवहारको नापो किन हुन्थ्यो । एक दिन बिहान चाँडै चियापसलको बाटो हुँदै विद्यालयतर्फ सोझिएका थिए । चिया पिएर सवारी होस् न त भनिन्, चिया पसलनीले । उनको गुनासो आरम्भ भइहाल्यो । वि.व्य.स अध्यक्षलाई आजै बैठक डाक्नुपर्यो अरे । जहिल्यै उनको हुनुम मान्नुपर्ने । आफूलाई चियाको गिलाससमेत समाउने फुर्सद छैन भन्दै बाटो तताइहाले । उनी प्रायः हरेक काम भोलि पर्सि गरौँला भनिरहन्थे । कोही विद्यालयको अनुगमन निरीक्षण गर्न आए भने चिया अर्कोचोटि खाउँला भन्दै टार्थे । प्रायः धेरैले उनको पछाडि उनलाई अर्कोचोटे को छद्म नामले सम्बोधन गर्दथे । उनलाई चाहिँ पत्तो थिएन ।
अधिक बुद्धिजीवीहरू चार्वाक दर्शनलाई खिस्याउन खोज्दछन् । यावद् जीवेत् सुखम् जीवेत् ऋणम् कृत्वा यृतम् पीवेत् को चार्वाकीय दर्शन है आजलाई बचाउने मूख्य प्राच्य दर्शन हो । भविष्य हाम्रो वशमा छौन । अहिलेबाट नै योजना तयार नगरी कदापि हुन्न । त्यो अहिले भन्नु आज हो । कार्यारम्भ भएपछि कसैको देहान्त नै भएछ भने पनि असल कामको आरम्भकर्ता वा सर्जकको उपाधि त भेट्टाउन सकिन्छ । आजै आरम्भ नगर्दा त्यो चिन्तनको सर्जक चाहिँ आफू, मान सम्मानचाहिँ अर्कोलाई ‘काम गर्ने हनुमान पगरी गुँथ्ने ढेँडु’ भन्ने लोकआहान चरीतार्थ हुन के बेर ? यदि तपाईंलाई कुनै कार्य आजैबाट आरम्भ गर्न असजिलो महसुस हुन्छ भने बुझ्नुहोस् तपाईं आज विरोधी हुनुहुन्छ । इतिहास लेखिने व्यक्तिहरुको जीवनी अध्ययन गर्नुहोस त उनीहरूले आजलाई बित्थामा खेर फालेका सुनिँदैन र पढिँदैन । झरी, बादल, गर्मी, जाडो, भोकप्यास नमानी आजको कान च्याप्प समातेर कालले बरू छोड्ला आफूले नछोडी कर्म गरेकाले इतिहास लेखिन सकेको हो । आजदेखि तर्सिनेहरू घिस्रिरहेका छन् । असन्तुष्टीका डोकाडालाहरू प्रशस्त भरेका पो भेटिन्छ ।
हाम्रो लोक आहानले हामीलाई समयको महत्वको असली अनुहार छ्याङ्ग पारिदिएको छ । सप्रिने घरको बेलुकैको मतो, बिग्रने घरको बिहानको मत, उक्लिने घरको मतो न जतो दिनभरि गरिएको कामको समीक्षा गर्दै भोलिको दिनको योजना बनाउने बानी नै आजको सदुपयोगको मर्म कसले बुझोस् । दिन उजेली सुती बिताई रात उजेली बिस्कून सुकाइ जस्ता उखानले पनि आजलाई खेर फाल्न हुन्न है भन्ने सन्देश प्रवाह गर्न खोजेको छ । जुन दिनको काम हो त्यही दिन फत्ते गर्ने प्रवृत्ति नै आएको पक्षपाती हो । आजको लागि हिजोलाई, भोलिको लागि आजलाई, पोर्सिलाई भोलि नै योजना बनाउनु नै आजलाई प्राथमिकता दिनु हो । हाम्रो हातमा आज छ, अरु त आजका भूतपूर्व र भविष्यत् रुपहरू मात्र हुन् । फेरि आजको लागि आज नै निणर्य लिने कुरा अवैज्ञानिक र अव्यवहारिक पनि हुन्छ । आफू मात्र होइन अरुलाई वा परिवारलाई तत्कालै आदेश जारी गर्ने हो भने उनीहरुबाट पनि त्यस्तैउस्तै जवाफ आइहाल्छ। तपाईँले भन्नुभएको आजै ? परेन फसाद । हाम्रो अदूरदर्शा, अपरिपक्व, एकाङ्की, स्वार्थी र आत्मकेन्द्रित हुनाले निणर्य लिन हतार या त ढिलो गर्दछौँ । अनि आज या त फुत्किन्छ कि कामको थुप्रोले गर्ने अरुचि पैदा गरिदिन्छ । हिजोलाई भूतपूर्व आज र भोलिलाई भविष्यत आजको रेखाङ्कन गरौँ अनि आजलाई अलि बढी बल पुग्ला कि ?
भैरव अर्यालले पनि आजै काम नथाल्ने प्रवृत्तिलाई भोलिवादी प्रवृत्तिको संज्ञा दिए । भोलिवाद पनि आजलाई नै टार्ने मनोवृतिको उपज हो । अनि भोलि पर्सि गरौँला भन्नु नै आजैबाट थालनी नगर्ने दृष्टिकोण विरुद्ध उब्जिएको ऐंजेरु हो । पौरस्तय दर्शनले हिजो के गरियो । भोलि के होला ? त्यता ध्यान नदिई आजबाट भगवानको स्मरण गर्दा पूर्वजन्मका पापहरू पखालिने र पश्च जन्म सफल हुने विचार अगि सारेर मानवलाई आफैसँग वा आफ्नो हातमा आज मात्र रहेको तर्क दिएको छ । आजैबाट आरम्भ गर्ने मनशाय भने रुटिन बनाउन सकिन्छ । अब भविष्यका सारा काम आजको रुटिन अनुसार चल्नेछ । त्यही रुटिन भोलि हिजो अस्ति बनेर भूत हुन पुग्छ । हरेक मान्छेको भूत र भविष्यत् त्यही आजकै ऐनाबाट निर्देशित हुन्छ । अब धेरै बकबक नगर्नुहोला । ओठमाथिको जुँगा उखेली माग्न पनि सक्नुहुन्छ । म जाबोको पनि कठालो समात्ने अधिकार तपाईंसँग सुरक्षित नै छ । हेर्नुहोस् हाम्रा राष्ट्रपति र अर्थमन्त्रीद्वारा वाचित नीति कार्यक्रम एवम् बजेटमा भविष्यतकालीन क्रियापदको ओइरो देख्नुहुन्छ । विकसित देशका बजेट र कार्यक्रममा वर्तमानकालीन क्रियापदको भरपूर प्रयोग हुन्छ । आजैबाट यो काम थालिने छ अनि गरिनेछ जस्ता क्रियापदमा जोड दिइएको हुन्छ । उनीहरूका टुप्पीबाट खन्याइको वस्तु खुट्टाको बुढीऔँलाबाट निस्किने गरी प्रणाली जडान गरिएको हुन्छ । हाम्रो शरीरका विभिन्न प्रणालीहरूको जस्तै । प्रणालीकै घोती फुस्काइदिने तपाईं हामी कम बाठा छौँ र । बाठो भएर के गर्नु आज नै नसोच्ने बानीले व देशको अर्थतन्त्र बिस्तारै ओरालो झरिरहेको छ । यो समस्या त्यतिखेरसम्म रहन्छ अब सम्म हामी आजलाई अत्याधिक महत्व दिँदैनौँ ।
गल्ती अरुको देख्ने आनीबानीले तपाईं मात्र हो र म पनि भुसुक्क बिग्रिएको छु । विगत चिप्लिगयो । भविष्यको कुनै ठेगाना छैन । अनि अगाडि नै हाजिर भएको आजलाई खेदो खन्ने तपाईं हामी सभ्यता विरोधी पो हुने हैँ कि ? जुन कुरा हामी कलिला मस्तिष्कमाथि पनि थोपरिरहेका छौँ । अब यो आज लेखिएको थाङ्ने लेखलाई पनि थाङ्नामा सुताउन आज नै तयार हौँ । तपाईं त अझ कम आज विरोधी चरित्रको कानुनी, राजनीतिक र धार्मिक सल्लाहकार या कट्टर अनुयायी म नै हुँ । बल्ल चिन्नुभो ।
०००
काठमाडौं
२०८१/२/१५
Subscribe
Login
0 Comments
Oldest









































