साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्पन्नलाई दशैँ विपन्नलाई बसाइँ

लुटबहादुरहरू पनि ओढार पस्नै लागेका छन् । थिचबहादुर र मिचबहादुर रामबहादुर र ठण्डाराम बहादुरको पिछा गरिरहेछन् । बुद्धिबहादुरहरूलाई घिचबहादुरले बलबहादुरको निगरानीमा राखेका छन् ।

Nepal Telecom ad

देवीप्रसाद घिमिरे :

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, अज्ञानतामाथि ज्ञानको विजयका रूपमा हिन्दुहरूले मनाउने बडादशैँ आपसी सहयोग, सद्भाव, भेटघाट एवं शुभ कामना आदान प्रदान गर्ने निक्कै ठुलो अवसर हो । धेरैले यो दशैँ निक्कै मोजमस्तीका साथ मनाउँछन् तर जो मानिस गाँसबाँसकै समस्यामा रातदिन हड्डी घोटिरहेका छन्, उनीहरूका लागि यो दशैँ देखासिखी गर्दागर्दै बसाइँ हिँडाउने सजिलो साधन बन्न पुगेको छ । जतिसुकै उमङ्ग भए पनि यस पालि जमरा चौकामै थरथर कामिरहे । गहभरि आँसुका दहमा आफैँ आएर आफैँ गयो दशैँ । असी पुगेर बसी खाने हजुर बाले नातिलाई आशीर्वाद दिनै पाएनन् । परदेसिएका छोराहरू घर आएनन् । राम्रो नाना लाउने धोकोमा पिँढी कुरेर बसेको बालकका इच्छाहरू हेर्दाहेर्दै क्षितिजमा बिलाए ।

बाउन्न हण्डर त्रिपन्न ठक्कर खाँदै घरको बुहार्तन सहेर लोग्नेको प्रतीक्षामा बसेकी अवलाको सिराने आँसुले भिज्यो । हरेकलाई आफ्नै अगाडि मृत्यु ताण्डव नृत्य गरिरहे जस्तो लाग्छ । ’आयुः द्रोणसुते’ भन्ने आशिष मिथ्या भएको छ। कतिले घर जाने आँटै गरेनन्, धेरैका बाबुआमा सहरमै आए टीका लाइदिन । घर जान्छु भन्नेले टिकट पाएनन् टिकट पाए पनि सिट पाएनन् । छुटमा विनाछुट फुल भाडा तिरेर टुलमा बसेका बिचराहरूलाई के थाहा बाटामा हुलका हुल लुटेरा छन् भनेर । लाइसेन्स हुनेले डन्ठा देखाएर सिट्ठी बजाएर हड्डी मुसार्दै लुटे । लाइसेन्स नहुने अवैधानिक लुटेराहरूले खुकुरी गर्धनमा राखेर लुटे, बल्ल बल्ल हरिकङ्गाल भएर थरथर काम्दै घर पुगेको लिखुरेलाई त्यहाँ पनि सुख छैन । पहिले उसको गाँस लुटे एक जत्था वैचारिक लुटेराहरूले त्यसपछि आधा महिनाको तलब लुट्न लाग्दा इन्कार गरेपछि उसको हर खुस्काइदिए । उसको जोस, जाँगर र उत्साह सदाका लागि लुटियो ।

कस्तो अचम्म छ यहाँ लुट्नेका आ-आफ्नै शैली छन्, आ-आफ्नै तरिका छन् । हामी रातदिन पाइलैपिच्छे लुटिँदा पनि केवल सहिरहन्छौँ अनि हेरिरहन्छौँ, केवल टुलुटुलु लाटाले पापा हेरे झैँ । दशैँ मनाउने क्रममा हामी चितवन पुग्यौँ एक बोत्तल कोक मात्र पचास रुपैयाँ तिरेर खायौँ । यस्तो सुविधा सम्पन्न ठाउँमा कसरी यति महङ्गो भन्दा मुखभरिको जवाफ पायौँ खानेले तिर्न जान्नुपर्छ खुरुक्क… ! उता भातवालाको लुट यता बसवालाको लुट जताततै लुटिँदै, भुटिँदै, किचिँदै, कचपल्टिँदै हामी मलेखु आइपुग्यौँ । समयमा काठमाडौं नपुगे डेरासम्म पुग्न पनि ट्याक्सीको लुटाइ खप्नुपर्ने डरले सबैले चालकसँग अनुनय विनय गर्‍यो विलम्ब नगर्न । तपाईंलाई थाहा छ ? त्यहाँ हामीले अनाहकमा एक घण्टा समय लुटायौँ । हाम्रा आदरणीय ट्राफिक महोदयले काठमाडौंमा लाइसेन्स खोस्दै दुई सय लिएर दशैँ खर्च उठाएको त थाहा थियो । आजभोलि मलेखुका माछा खान पनि उहाँहरू बहाना पारेर पैसा उठाउनुहुँदो रहेछ । खलासी ढोकामा बसेका कारणले ड्राइभरको लाइसेन्स खोसियो । हामीलाई त्यो एक घण्टाको पर्खाइले हरेकले गन्तव्यसम्म पुग्न ट्याक्सीलाई नै गुहार्नुपर्‍यो । नौ बजे कलङ्कीदेखि दशैँको ट्याक्सी कुदाउँदा आफैँ विचार गर्नोस् कत्तिको मजा आउँछ । अतः लाइसेन्स प्राप्त आदरणीय लुटेराज्यूको अर्थमोहमा आफैँ नियम बन्यो, पाँच सय हात परेपछि फेरि उक्त क्रियाकलाप शालिग्राम झैँ चोखो र निष्कलङ्क भयो । यसरी हामी सबै यात्रु मजासँग लुटियौँ । हामीले मनमनै यी स्वच्छ छवि भएका आदर्श मित्रहरूलाई धन्यवाद दिँदै कचपल्टिँदो यात्रा पुरा गर्‍यौँ । यो त भयो एउटा छोटो यात्राको स्यानो कथा ।

यहाँ जताततै मौनता छाएको छ । सक्नेले जे गरे पनि हुन्छ, नसक्नेले सबै पीडा सहने हो, मात्र सहने सहन पनि नसक्ने मरे पनि हुन्छ । सतीले सरापेको देश कसैले न्याय दिनै सक्दैन, शान्तिक्षेत्र भनेर चिनिएको देश मानिसलाई मान्छेले मौलोमा लगेर काट्दा पनि चुपचाप सहनु वा रमिते बन्नु भनेको आफ्नै शान्तिप्रिय स्वभावले आफ्नै मृत्यु निम्त्याउनु हैन र ? हे महाकाली महाशक्ति । अन्याय काट्ने विचार हो कि तरबार ? अनि ज्यानभन्दा ठुलो पैसा हो कि घरबार ? खै यथार्थ बुझेको । बुझ्ने पनि कसरी अनि बुझाउने पनि कसरी ! जब शक्तिको दुरुपयोग भाइको गर्दन छिनाएर हुन्छ भने ।

आज शिशु प्रजातन्त्रको इसु बनाएर दिनदहाडै किर्ना झै ढाडिएका घिचबहादुरहरू डकार्न नपाएपछि सडक सडकमा पानीबिनाको माछो झैँ छट्पटाउन थालेका छन् । कतै आफ्नो बाह्र वर्षे भ्रष्टाचारी स्वणर्कालमा बनाएका गगनचुम्बी महलमा गिद्ध आएर बस्ला कि भनेर सत्यनारायणको पूजा लाउँदै छन् । दिनदिनै पशुपतिनाथलाई लड्डु र माता दक्षिणकालीलाई बोको घुस ख्वाएर आफ्नो अपराध पखाल्दै छन् बाग्मतीमा खलखली ।

हिजो स्वदेशको खान हुने जति सबै सल्सली निलेर पनि नपुगेपछि विदेशी अनुदान निलेका सेरबहादुर, रेटबहादुर, चिमोटबहादुर र निमोठबहादुर आज मरिच चाउरिए झै चाउरिएका छन् आफ्नै पिरले । सर्वसाधारण जनतालाई हामीले देश चलायौँ, प्रजातनत्र ल्यायौ भन्नेहरू अब फेरि जनताको घरदैलोमा के सन्देश लिएर जाने हुन् ? जवाफ छ कि लाज पचाएर ङिच्च दात देखाउँदै हामीले स्वदेशी ढिकुटी खायौँ, विदेशी अनुदान खायौँ, नालापानी खायौँ, कालापानी खायौँ, बाग्मतीको फोहोर भनेनौँ, त्यो पनि पचायौँ, बाल बालिकाको लिटो पनि बाँकी राखेनौँ, वृद्धहरूको पिठो पनि बाँकी राखेनौँ, अब जनताको हाड र छाला बाँकी छ त्यो पनि खान्छौँ, हामीलाई भोट दिनोस् निर्धक्कसँग नघिनाइकन खान्छौँ भन्दै भोट माग्ने त होला नि ! हैन र ? कि अरू कुनै शब्दहरू छन् जनतासमक्ष जाने ?

यसरी जताततै छुट लुटेराहरूलाई हामी आफ्नो अमूल्य मत दिई दिई उनीहरूलाई लुटेराको सक्कली लाइसेन्स उपलब्ध गराउँछौँ । सत्य कुरा बोल्न डराउँछौँ । हे नेपाल आमा ! माता दुर्गा भवानीसँग वरदान मागेर एउटा स्वच्छ छवि भएको नेता किन जन्माउँदिनौ तिमी ? आमा ! के तिम्रो कोखै रित्तो भयो या यो कलियुगमा यस्तो सम्भव नै छैन हँ ? आज हरेक मान्छेहरूलाई यस्तै अनुत्तरित प्रश्नले चिमोटिरहन्छ सबै जवाफको प्रतीक्षामा छन् । उत्तर कसले दिने कसैलाई थाहा छैन । लुटबहादुरहरू पनि ओढार पस्नै लागेका छन् । थिचबहादुर र मिचबहादुर रामबहादुर र ठण्डाराम बहादुरको पिछा गरिरहेछन् । बुद्धिबहादुरहरूलाई घिचबहादुरले बलबहादुरको निगरानीमा राखेका छन् । दारीवाला, साडीवाला र ताडीवाला अब चाकडीवालाका पछि दगुर्न थालेका छन् । सबै आफ्ना आफ्नै तालमा नाचेका छन्, आफ्नै डम्फु बजाएर ।

देश आफैँ चलेको छ, हिजो जस्तो आज पनि कतै बिसको उन्नाइससम्म देखिँदैन । झन्डावाल फुस्रा आश्वासनले जनता आफैँ बाँचेका छन्, आफ्नो सुरक्षा आफैं गरेर । गाँस, बाँस, कपासको कुरा छाडौँ । बाँचियो भने मनाउँला अर्को दशैँ नत्र ऋणैऋणमा डुबेको थाप्लोमा अब बसाइँ हिँड्नुसिबाय विकल्प छैन । ‘आयो दशैँ ढोल बजाई गयो दशैँ ऋण बोकाई’ भने झै माता दुर्गा भवानी अर्को दशैँमा देशमा शान्ति छाओस्, नेताहरूमा सद्बुद्धि आओस्, कर्मचारीले घुस नखाओस्, शिक्षकले राजनीति नगरोस्, विद्यार्थी पढाओस्, डाक्टर बिरामीको अप्रेसन छोडेर झन्डा हल्लाउँदै नआओस्, भ्रष्टाचारीले मौका नपाओस्, हत्याराले पुरस्कार नपाओस्, जनताका ओठमा खुसीको मुस्कान छाओस्, हाम्रो शिशु प्रजातन्त्र लक्का जवान बनेर आओस्, विचारको बाढीमा जङ्गल पसेकाहरूमा मान्छेले मान्छे मार्नु हुँदैन भन्ने सद्बुद्धि आओस् ।

हिमालय टाइम्स (वर्ष ७, २०५९ कात्तिक ७ गते बिहीबार, अङ्क २९५)

०००
काठमाडौं
‘थप्पड’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गाली संस्कृति

गाली संस्कृति

देवीप्रसाद घिमिरे
लुटतन्त्र जिन्दावाद !

लुटतन्त्र जिन्दावाद !

देवीप्रसाद घिमिरे
हर्कको हर्ष र जेन्जीको भ्रम

हर्कको हर्ष र जेन्जीको...

देवीप्रसाद घिमिरे
आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

देवीप्रसाद घिमिरे
कुसंस्कार

कुसंस्कार

देवीप्रसाद घिमिरे
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x