साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्तरआधुनिक दशैँं

देशमा थिति हुन्थ्यो भने राज्यको आफ्नो नीति हुन्थ्यो भने मौलिक संस्कृतिमाथि बाह्य प्रहार हुँदैनथे होला । कला, साहित्य र परम्परा थला पर्दैनथे होला । कसैले यसरी चिन्ता गर्न थाल्नुभयो भने तपाईं डिप्रेशनको सिकार हुन बेर छैन ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

पहिले देशमा संघीयता थिएन । धर्म निरपेक्षता थिएन । लोकतान्त्रिक गणतान्त्र थिएन । जसले गर्दा हिन्दुवादी एकल संस्कृतिको दबाब थियो । परम्परावादीहरूको रवाफ थियो । पञ्चाङ्गमा लेखिएका साइत अनुसार चाडपर्व मनाउनु पर्थ्यो । तिथि, मिति, गते, बार जुराएर नयाँ कामको थालनी गर्नुपर्थ्यो । अहिले पञ्चाङ्गको साइत जुराउनु पर्दैन । फुराए हुन्छ ।

उहिले आश्विन कृष्ण प्रतिपदाबाट सोह्र श्राद्ध सुरू हुन्थ्यो । सोह्र श्राद्ध समाप्तीपछि दशैँंले छुन्थ्यो । दशैँंले छोएसँगै परदेशिएकाहरू गाउँ फर्किन्थे । घरगोठ लिपपोतको चटारो चल्थ्यो । रातो माटो, कमेरोको हाहाकार हुन्थ्यो । झ्यालढोकामा अलकत्रा दलेर टल्काइन्थ्यो । अलकत्राले कपडा रङ्गीचङ्गी हुन्थे । गाउँमा बोका काटे भने डोका जत्रो मुख लिएर र्‍याल काढ्दै बसिन्थ्यो । भुटुवा चाखिन्थ्यो । पिङ खेल्न बुर्कुसी मार्दै डाँडै काटिन्थ्यो । कसैका हातखुट्टा भाँचिन्थे । कसैका बङ्गरा खुस्किन्थे । सबैभन्दा खुसीको कुरा स्कुल जान पर्दैनथ्यो । होमवर्क गर्ने फसाद थिएन । स्कुल खुलेपछि बाँसका सिप्किना चाखेपछि होमवर्क कट्टी हुन्थ्यो ।

उतिबेला आश्विन शुक्ल प्रतिपदालाई घटस्थापना भन्ने चलन थियो । यस दिन घर घरमा जमरा राख्ने गरिन्थ्यो । फूलपातीका दिनदेखि दशैँंले ढपक्कै ढाक्थ्यो । अष्टमी र नवमीका दिनका कोटहरू चाहरिन्थ्यो । दशमीका दिन टीकासँगै जमरा लगाइन्थ्यो । घरघर डुलेर सेलरोटी र अचार बटुलिन्थ्यो । त्यसैले अलिक दिनको भोक टारिन्थ्यो ।

अहिले दशैँं मान्ने तौरतरिका फेरिएछ । आधुनिकताले दशैँं घेरिएछ । तैपनि दशैँं अधिकांश नेपालीहरूको सबैभन्दा ठूलो पर्वका रूपमा रहेकै रहेछ । यसर्थ बडादशैँंको रूपमा गर्व गर्ने सौभाग्य पाएको दशैँंलाई बधाई तथा शुभकामना छ । बधाई यस मानेमा कि कतिपय पर्वहरू छोटा हुनु परेको अवस्थामा दशैँंले आफ्नो अवधि बढाउदै बडाको घडालाई बजबुत बनाएको रहेछ । दशैँं मनाउन असोज शुक्ल प्रतिपदा कुर्नु पर्ने रहेनछ । सोह्र श्राद्धभित्रै दशैँं मनाउन सकिने कुरा भएछ ।

संस्कृतिको हस्तान्तरण र पुस्तान्तरण महत्वपूर्ण विषय हो । शिक्षाले यसको नेतृत्व गर्दछ । अहिले घटस्थापना पहिले नै दशैँंको टीका र जमाना लगाउने प्रचलन बसाउनमा सबैभन्दा ठूलो योगदान शैक्षिक संस्थाको देखियो । अन्य संस्थाहरूले पनि सिको गरिरहेका छन् । शुभकामना आदानप्रदान भइरहेको छ । सुस्वास्थ, दीर्घायु, उत्तरोत्तर प्रगतिको कामना भइरहेका छन् ।

प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वती को विशेष पूजाआजा र आराधाना गरिन्थ्यो रे कुनै जमानामा । अहिले यी देवीहरू पुजिन्छन् पुजिदैनन् थाहा छैन् ।

दशैँंको अर्को नाम विजया दशमी किन रह्यो भन्ने कुराको नालीबेली खोज्दा केही किम्वदन्तीहरू फेला परे । आश्विन शुक्ल दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन चलेको रहेछ।

विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् या दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो । वीरताको पूजक अनि शौर्यको उपासक हो। दशैँंले दस प्रकारका पापहरू- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिन्छ भनेको पनि पाइयो ।

विजयादशमीलाई विजय उत्सवका रूपमा मान्दै गर्दा पर्वको स्वरूप ग्रहण गरेको प्रष्ट भयो । जित्नेकै अभिमान हुज्छ । जयगान हुन्छ । भक्तको काम भक्ति गर्नु हो । भक्ति त्यसको गरिन्छ जो शक्तिको केन्द्र विन्दुमा रहन्छ । इतिहास त्यसकै लेखिन्छ । त्यसैलाई देवत्वकरण गरिन्छ । पूजा गरिन्छ ।

धर्म, संस्कृति र परम्परा शक्तिकै आडमा स्थापित भएका हुन् । सत्य स्थायी र स्थिर हुँदैन । त्यसैगरी शक्ति पनि स्थिर हुँदैन । संसारमै यहीं तथ्य लागू हुन्छ । कुनै समयमा श्वेत चर्मीहरू शक्तिमा थिए । उनीहरूले अश्वेतमाथि शासन गरे । अश्वेतहरूले श्वेतहरूको जयगान गरे । पूजा गरे । सेवा गरे । हेर्दा हेर्दै अश्वेतहरू शक्तिमा पुग्दा श्वेतहरू पूजा गर्न बाध्य भए ।

नेपाली जाती अन्य देशका नागरिकको तुलनामा शक्तिको भक्ति गर्न एक कदम अगाडि छ । कहिले राजाको त कहिले राणाको जयजयकार गरेकै हो । श्री ३ र श्री ५ हरूका जन्म दिनहरू पर्वकै रूपमा मानिन्थे । जसरी कृष्णाष्टमी या बुद्ध जयन्ती मानिन्छ ।

२००७ सालमा राणातन्त्र परास्त हुँदा प्रजातन्त्र दिवस मनाउन मनाएकै हो । एवम् प्रकारले वर्तमानमा राजाको बहिर्गमन गणतन्त्र दिवस मनाउन थालियो । यस्ता तमाम उदाहरणहरू छन् जसलाई पर्व, दिवस, जयन्ती वा उत्सवका रूपमा मनाइएका छन् ।

दशैँं सत्यमाथि असत्यको विजय मान्दै गर्दा अहिले यस्ता तमाम दशैँंहरू मनाइदै आएका छन् । शैली र स्वरूपका यस्ता दशैँं विशेष गरी उच्च पदस्थहरूबाट मनाइन्छ । सरकारमा रहने दलहरूका सत्ता सत्य हो । सत्तामाथि विजय प्राप्त गरी दलहरूले दशैँं मनाएकै छन् । राज्यकोष नासेर होस् या भौतिक संरचना मासेर होस् दशैँं मनाउनेको कमी छैन । यसैपनि सिङ्गै खसी काटेर दशैँं मनाउने हैसियत हुनेले हो । नहुनेले फर्सी काटेर दशैँं मान्नलाई पनि साहु ढाँट्नु पर्छ । रिन काढ्नु पर्छ । नभए छिमेकीको बास्नामा र्याल काढ्दै निस्तो ढिंडोको थाल चाट्नु पर्छ । त्यसैले प्रतिपक्षमा रहनेहरू सत्तामा जान मरिहत्ते गर्छन् । चार/चार महिनामा सहमति तोड्छन् । सत्तोसराप गरेकासँग घाँटी जोड्छन् । सत्ताको ह्याकुलो चबाउन गठबन्धन फेर्छन् । सत्तामा पुग्न पाएपछि , राज्यको ढुकुटी खाएपछि जाबा दशैँं जति मनाए पनि भयो । जहिलेसुकै मनाए भयो । संस्कृतिका नाममा देखिएका नौला अभ्यासलाई सरकारले वैधानिकता दिएपछि कुनै नाथेले केही नाप्न सक्दैन ।

देशमा थिति हुन्थ्यो भने राज्यको आफ्नो नीति हुन्थ्यो भने मौलिक संस्कृतिमाथि बाह्य प्रहार हुँदैनथे होला । कला, साहित्य र परम्परा थला पर्दैनथे होला । कसैले यसरी चिन्ता गर्न थाल्नुभयो भने तपाईं डिप्रेशनको सिकार हुन बेर छैन । त्यसैले बिना अर्थको चिन्तन गरेर चिताको बाटो सोझ्याउनु भन्दा जसरी भएपनि दशैँं मनाऔँ। खाऔँ, पिऔँ, ऐश गरौँ । अहिलेको युग उत्तरआधुनिकताको हो । उत्तरआधुनिक दशैँं मनाऔँ ।

०००
रेसुङ्गा न पा २, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
प्राज्ञ बन्ने योग्यता

प्राज्ञ बन्ने योग्यता

रामकुमार पण्डित क्षेत्री
घडीको आत्मकथा

घडीको आत्मकथा

फित्काैली डटकम
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x