साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्तरआधुनिक दशैँं

देशमा थिति हुन्थ्यो भने राज्यको आफ्नो नीति हुन्थ्यो भने मौलिक संस्कृतिमाथि बाह्य प्रहार हुँदैनथे होला । कला, साहित्य र परम्परा थला पर्दैनथे होला । कसैले यसरी चिन्ता गर्न थाल्नुभयो भने तपाईं डिप्रेशनको सिकार हुन बेर छैन ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

पहिले देशमा संघीयता थिएन । धर्म निरपेक्षता थिएन । लोकतान्त्रिक गणतान्त्र थिएन । जसले गर्दा हिन्दुवादी एकल संस्कृतिको दबाब थियो । परम्परावादीहरूको रवाफ थियो । पञ्चाङ्गमा लेखिएका साइत अनुसार चाडपर्व मनाउनु पर्थ्यो । तिथि, मिति, गते, बार जुराएर नयाँ कामको थालनी गर्नुपर्थ्यो । अहिले पञ्चाङ्गको साइत जुराउनु पर्दैन । फुराए हुन्छ ।

उहिले आश्विन कृष्ण प्रतिपदाबाट सोह्र श्राद्ध सुरू हुन्थ्यो । सोह्र श्राद्ध समाप्तीपछि दशैँंले छुन्थ्यो । दशैँंले छोएसँगै परदेशिएकाहरू गाउँ फर्किन्थे । घरगोठ लिपपोतको चटारो चल्थ्यो । रातो माटो, कमेरोको हाहाकार हुन्थ्यो । झ्यालढोकामा अलकत्रा दलेर टल्काइन्थ्यो । अलकत्राले कपडा रङ्गीचङ्गी हुन्थे । गाउँमा बोका काटे भने डोका जत्रो मुख लिएर र्‍याल काढ्दै बसिन्थ्यो । भुटुवा चाखिन्थ्यो । पिङ खेल्न बुर्कुसी मार्दै डाँडै काटिन्थ्यो । कसैका हातखुट्टा भाँचिन्थे । कसैका बङ्गरा खुस्किन्थे । सबैभन्दा खुसीको कुरा स्कुल जान पर्दैनथ्यो । होमवर्क गर्ने फसाद थिएन । स्कुल खुलेपछि बाँसका सिप्किना चाखेपछि होमवर्क कट्टी हुन्थ्यो ।

उतिबेला आश्विन शुक्ल प्रतिपदालाई घटस्थापना भन्ने चलन थियो । यस दिन घर घरमा जमरा राख्ने गरिन्थ्यो । फूलपातीका दिनदेखि दशैँंले ढपक्कै ढाक्थ्यो । अष्टमी र नवमीका दिनका कोटहरू चाहरिन्थ्यो । दशमीका दिन टीकासँगै जमरा लगाइन्थ्यो । घरघर डुलेर सेलरोटी र अचार बटुलिन्थ्यो । त्यसैले अलिक दिनको भोक टारिन्थ्यो ।

अहिले दशैँं मान्ने तौरतरिका फेरिएछ । आधुनिकताले दशैँं घेरिएछ । तैपनि दशैँं अधिकांश नेपालीहरूको सबैभन्दा ठूलो पर्वका रूपमा रहेकै रहेछ । यसर्थ बडादशैँंको रूपमा गर्व गर्ने सौभाग्य पाएको दशैँंलाई बधाई तथा शुभकामना छ । बधाई यस मानेमा कि कतिपय पर्वहरू छोटा हुनु परेको अवस्थामा दशैँंले आफ्नो अवधि बढाउदै बडाको घडालाई बजबुत बनाएको रहेछ । दशैँं मनाउन असोज शुक्ल प्रतिपदा कुर्नु पर्ने रहेनछ । सोह्र श्राद्धभित्रै दशैँं मनाउन सकिने कुरा भएछ ।

संस्कृतिको हस्तान्तरण र पुस्तान्तरण महत्वपूर्ण विषय हो । शिक्षाले यसको नेतृत्व गर्दछ । अहिले घटस्थापना पहिले नै दशैँंको टीका र जमाना लगाउने प्रचलन बसाउनमा सबैभन्दा ठूलो योगदान शैक्षिक संस्थाको देखियो । अन्य संस्थाहरूले पनि सिको गरिरहेका छन् । शुभकामना आदानप्रदान भइरहेको छ । सुस्वास्थ, दीर्घायु, उत्तरोत्तर प्रगतिको कामना भइरहेका छन् ।

प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वती को विशेष पूजाआजा र आराधाना गरिन्थ्यो रे कुनै जमानामा । अहिले यी देवीहरू पुजिन्छन् पुजिदैनन् थाहा छैन् ।

दशैँंको अर्को नाम विजया दशमी किन रह्यो भन्ने कुराको नालीबेली खोज्दा केही किम्वदन्तीहरू फेला परे । आश्विन शुक्ल दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन चलेको रहेछ।

विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् या दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति-पूजाको पर्व हो । वीरताको पूजक अनि शौर्यको उपासक हो। दशैँंले दस प्रकारका पापहरू- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिन्छ भनेको पनि पाइयो ।

विजयादशमीलाई विजय उत्सवका रूपमा मान्दै गर्दा पर्वको स्वरूप ग्रहण गरेको प्रष्ट भयो । जित्नेकै अभिमान हुज्छ । जयगान हुन्छ । भक्तको काम भक्ति गर्नु हो । भक्ति त्यसको गरिन्छ जो शक्तिको केन्द्र विन्दुमा रहन्छ । इतिहास त्यसकै लेखिन्छ । त्यसैलाई देवत्वकरण गरिन्छ । पूजा गरिन्छ ।

धर्म, संस्कृति र परम्परा शक्तिकै आडमा स्थापित भएका हुन् । सत्य स्थायी र स्थिर हुँदैन । त्यसैगरी शक्ति पनि स्थिर हुँदैन । संसारमै यहीं तथ्य लागू हुन्छ । कुनै समयमा श्वेत चर्मीहरू शक्तिमा थिए । उनीहरूले अश्वेतमाथि शासन गरे । अश्वेतहरूले श्वेतहरूको जयगान गरे । पूजा गरे । सेवा गरे । हेर्दा हेर्दै अश्वेतहरू शक्तिमा पुग्दा श्वेतहरू पूजा गर्न बाध्य भए ।

नेपाली जाती अन्य देशका नागरिकको तुलनामा शक्तिको भक्ति गर्न एक कदम अगाडि छ । कहिले राजाको त कहिले राणाको जयजयकार गरेकै हो । श्री ३ र श्री ५ हरूका जन्म दिनहरू पर्वकै रूपमा मानिन्थे । जसरी कृष्णाष्टमी या बुद्ध जयन्ती मानिन्छ ।

२००७ सालमा राणातन्त्र परास्त हुँदा प्रजातन्त्र दिवस मनाउन मनाएकै हो । एवम् प्रकारले वर्तमानमा राजाको बहिर्गमन गणतन्त्र दिवस मनाउन थालियो । यस्ता तमाम उदाहरणहरू छन् जसलाई पर्व, दिवस, जयन्ती वा उत्सवका रूपमा मनाइएका छन् ।

दशैँं सत्यमाथि असत्यको विजय मान्दै गर्दा अहिले यस्ता तमाम दशैँंहरू मनाइदै आएका छन् । शैली र स्वरूपका यस्ता दशैँं विशेष गरी उच्च पदस्थहरूबाट मनाइन्छ । सरकारमा रहने दलहरूका सत्ता सत्य हो । सत्तामाथि विजय प्राप्त गरी दलहरूले दशैँं मनाएकै छन् । राज्यकोष नासेर होस् या भौतिक संरचना मासेर होस् दशैँं मनाउनेको कमी छैन । यसैपनि सिङ्गै खसी काटेर दशैँं मनाउने हैसियत हुनेले हो । नहुनेले फर्सी काटेर दशैँं मान्नलाई पनि साहु ढाँट्नु पर्छ । रिन काढ्नु पर्छ । नभए छिमेकीको बास्नामा र्याल काढ्दै निस्तो ढिंडोको थाल चाट्नु पर्छ । त्यसैले प्रतिपक्षमा रहनेहरू सत्तामा जान मरिहत्ते गर्छन् । चार/चार महिनामा सहमति तोड्छन् । सत्तोसराप गरेकासँग घाँटी जोड्छन् । सत्ताको ह्याकुलो चबाउन गठबन्धन फेर्छन् । सत्तामा पुग्न पाएपछि , राज्यको ढुकुटी खाएपछि जाबा दशैँं जति मनाए पनि भयो । जहिलेसुकै मनाए भयो । संस्कृतिका नाममा देखिएका नौला अभ्यासलाई सरकारले वैधानिकता दिएपछि कुनै नाथेले केही नाप्न सक्दैन ।

देशमा थिति हुन्थ्यो भने राज्यको आफ्नो नीति हुन्थ्यो भने मौलिक संस्कृतिमाथि बाह्य प्रहार हुँदैनथे होला । कला, साहित्य र परम्परा थला पर्दैनथे होला । कसैले यसरी चिन्ता गर्न थाल्नुभयो भने तपाईं डिप्रेशनको सिकार हुन बेर छैन । त्यसैले बिना अर्थको चिन्तन गरेर चिताको बाटो सोझ्याउनु भन्दा जसरी भएपनि दशैँं मनाऔँ। खाऔँ, पिऔँ, ऐश गरौँ । अहिलेको युग उत्तरआधुनिकताको हो । उत्तरआधुनिक दशैँं मनाऔँ ।

०००
रेसुङ्गा न पा २, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बिऊ

बिऊ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x