
दशमुखे दशैँपछिको ती हार
यसपालि बटुवादेखि ढँटुवासम्मका मानिसको दोहोलो काढ्यो । बाढीको वितण्डाले घर ढले, बाटा बगे, धनजनको अपूरणीय क्षति भयो तर रोम जलिरहँदा बाँसुरी बजाउनुपर्छ भन्ने संस्कार कायम छ ।

ह्यारी- ८०
चाडबाडका मुखाँ आएर बगरेकाइँलाको बिल्लिबाठ भयो । कोसीदेखि रोसीसम्म बाग्मतीदेखि विष्णुमतीसम्म नख्खुदेखि बल्खुसम्म साराका सारा मानिसको विचल्ली भएर के भो त ? बगरेकाइँलो मजासँग सुतिरा’थे । सात समुन्द्र घोप्टे झैँ तीनदिने झरीको तेस्रो दिन सुतेको खाटैसमेत बगाएर पोखरीका बिचमा पुगिसकेका रहेछन् । बिउँझँदा पो थाहा पाए कि आफू त बाढीका बिचमा तैरेर खाटे डुङ्गाबाट छानामा पुगी सयर गरिरहेको पो रहेछु । हेलिकोप्टर आउला र उद्वार गर्ला भन्या पनि तबैतारे के आउँथे र, अह्राउने मान्छे नै घुर्र घुर्र घुरेर सुतेका थिए रे पातालाँ !
यो दसैँका मुखाँ आएको घनघोर वर्षाले निमुखा जनतालाई त के भो र ? खोलाघरेवासीलाई पो जे हुनुभयो । खोलाले आफ्नो क्षेत्र कहाँसम्म हो भनी देखाएर हरिबिजोग पो भयो । सुकुम्बासीदेखि हुकुमबासीसम्मलाई देखाइदियो पो भन्छन् त फतुरे काका ।
यसपालि बटुवादेखि ढँटुवासम्मका मानिसको दोहोलो काढ्यो । बाढीको वितण्डाले घर ढले, बाटा बगे, धनजनको अपूरणीय क्षति भयो तर रोम जलिरहँदा बाँसुरी बजाउनुपर्छ भन्ने संस्कार सिकेकाहरूले जस्ताको टहराका छानामाथिका बबुराको हारगुहार माग्दा केको सुन्थे ? दसैँका मुखमा सबै व्यस्त अझ भनौँ अस्तव्यस्त भएका वेला कसले कसलाई चाहिँ उद्धार गर्नु नि ? जसलाई पर्यो पर्यो, उसैमाथि दैवको वज्रपात झर्यो । कोही कोहीलाई कहिल्यै केही पर्दैन क्यारे ! जुन वाद आए पनि खाऊ वाद पल्किन्जेल फतुरे काका ट्वाँ परिरहने नै भए नि ।
केहीलाई अब दशैँभित्र मजाको दशैँ पलाएको अनुभूति हुँदो रहेछ । राहत त आवश्यक व्यक्तिका लागि आऊँ आऊँ भन्दै आहत दिने साधन बनेको हुन्छ । जति धेरै पुल बगायो, जति धेरै बाटाघाटा बगायो त्यति धेरै राहतको ओइरो ! घटुवारे माइलाले घट्टमा ओइरो हाले जस्तो आहतले मुख बाइरहने अनि राहत अर्कैले खाइरहने ।
यति हुँदाहुँदै पनि यिनीहरूको रोइलो किन भनी बुझ्दा थाहा हुन्छ कि गाउँ गाउँमा पहिरो जाँदा गाउँबाट सहरतिर कराउँदै आउने चारखुट्टे दशैँ नआउला भनेर पो रहेछ गाँठे ! चाकरी र चाप्लुसी जान्ने चतुरेको जिउ भइन्जेल घिउको दुःख यो देशाँ कहिल्यै नहुने रहेछ । यो आदिकालदेखि चक्र झैँ घुमिरहेछ । यही नियतिभित्रको यथार्थ हो दशैँ ।
सर्वसाधारणले दशैँका दश दिनसम्म शक्तिमाताको पूजाआराधना गरी दशमीका दिन टिका लगाइने भएकाले विजया दशमी भनिएको हो । तर दशैँका यिनै प्रत्येक दिनलाई एक टाउको मान्नेहरूका निम्ति दसैँ दशानन बन्दछ । अनि दशानन बनेको दशाननलाई सधैँ दशैँ छ । दशैँ केहीका निम्ति दसमुखे रुद्राक्ष पनि हो । आखिर परिवर्तन यिनैका लागि त भयो नि हैन र ? सिस्नु र ढिंडो धनीको आहारा बन्दै गएपछि अब सर्वसाधारणको दानापानी पनि हरण हुँदै किनिनसक्नुको भइगयो ।
परिवर्तनले यहाँ कठै विकास नभएको पनि कहाँ हो र ? गाउँ गाउँमा डोजर चलेको छ, क्रसर उद्योग खुलेका छन्, रोजगारी पाएका छन,् विकास भएको छैन त ? त्यति पहिरो गएर डाँडाघरेहरूका घर बगाए, खोलाघरेहरूको घर पुरिए, पशुपन्छी केही मरे, केही खेतबारी बगायो, केही बगरमा परिणत भयो, अरू के नै भएको छ र ? राहत बाँडौँला भनेकै छ क्यारे । दुई चार वर्षमा क्षतिको लगत सङ्कलन भइहाल्छ । यसै मेसोमा कवि साहिँलो रच्दैै थियो, “आफू टन्न खाएर गरिन्छ ढ्याउ, राहत आउँछ है आउँछ भन्न चाहिँ भ्याऊ ।”
हुँदाखानेका घराँ दश मुख आँ गर्छन् के खुवाउने भन्ने पिरलो हुन्छ भने हुनेखानेका घराँ दशमुखबाट ओइरो आएर भँडार भरिन्छ । दशैँ यसै गरी युगौँदेखि बगिरहेछ । अनि दशैँपछिको लगतै एउटाको तिहार र अर्काको ती हार सुरm हुन्छ । काग, कुकुर, गाई गोरुको पूजा गर्नु, दाजुभाइको पूजा गर्नु यमपञ्चक वा तिहारका विशेषतामा समेटिने विषय हुन् । दीपावली एक दिने हुन्छ तर हामी त पाँच दिन तिहार मान्छौँ ।
दशैँ यिनलाई नै तिहार पनि यिनलाई नै तर अन्य सर्वसाधारण त ती हार नै हुन् । ती सधैँ हारेकै छन् । चाडबाड आएपछि, पुल पुलेसा बन्ने भएपछि, बाटोघाटो बन्ने भएपछि, विकासका लागि राहत दिने कुरा सुनेपछि देउसी खेल्ने समूहले खेलिरहन्छन् । तिहारमा पनि देउसी र भैलो खेल्छन् । विदेशमा देउसी माग्ने र स्वदेशमा झोली भर्ने लुटनीति गर्ने शकुनीहरूले पासा नजितेर जनताले कहिले जितेका छन् र ?
०००
गोकर्णेश्वर ५, काठमाडौँ
२०८१ कात्र्तिक ३ गते शनिवार
Subscribe
Login
0 Comments
Oldest