दिलीप अर्यालद्रव्यसहस्रनाम
चूरो कुरो, सारा संसार दौडेको द्रव्यकै लागि हो । यसमा कुनै शंका र द्विविधा छैन । मान्छे द्रव्य तान्न आ-आफ्ना बल्छी लिएर हिँडेका छन् । बल्छी मात्र फरक हुन् तान्ने चाहिं माछारूपी द्रव्य नै हो ।

दिलीप अर्याल :
संस्कृतमा भगवान् विष्णुको आराधना गर्ने एउटा श्लोक यस्तो पो भेटियो –
जले विष्णु: स्थले विष्णुर्विष्णु: पर्वतमस्तके ।
ज्वालामालाकुले विष्णु: सर्वं विष्णुमयं जगत् ।।
अब यस बिष्णुको महिमाले ओतप्रोत श्लोकको सट्टामा द्रव्यको महिमाले भरिभराउ यस श्लोकलाई स्थापना गर्न सकेमा यस सांसारिक जगत अत्यन्त भव्य, सभ्य अनि दिव्य हुने देखिन्छ –
गले द्रव्य: स्थले द्रव्य: द्रव्यस्वोदरमस्तके ।
भव्यतानाकुले द्रव्य: सर्वं द्रव्यमयं जगत् ।।
विष्णुसहस्रनामको पुस्तक यहाँहरूले देख्नु भएको होला अनि कहिलेकाहीं यसको पाठ सुन्नु भएको पनि हुनुपर्छ | शायद कतिपयले त बिष्णुको हजार नामको यो महिमा आफैं पाठ गर्नु पनि भएको होला ? तर अहिलेको आर्टिफिसियल इन्टेलिजेन्स(AI) को युगमा कसले पो वैकुन्ठाधिपति विष्णुको ती हजार नाम जपिरहने टन्टा लिन्छन् होला र ! यस्तो प्राणपियारी द्रव्यका अगाडि ? विचार गर्नुस् त- कहाँ कहिल्यै नदेखेको विष्णु, कहाँ सर्वत्र व्याप्त द्रव्य !
म सानो छँदा बा आमाले ‘ लाऊ चाने (साने) पैचा (पैसा), पापा किन्ने है पैचाले’, इत्यादि के के भनेर यो द्रव्यलाई पैचा (पैसा) नामले बुझाउँदै यसको महिमाको श्रीगणेश गराउनुभएको कुरा अस्ति जस्तो लाग्छ | पैसा भनेको द्रव्य रहेछ भन्ने कुरा धेरै पछि आएर बुझेँ मैले | इतिहास पढ्दा राजा द्रव्यशाहको नाम चाहिँ राम्रैसँग सुनेको थिएँ | कुनै बेला यी राजा पनि पैसाका निकै पारखी हुँदा हुन् भन्ने नलागेको हैन मलाई । सानो बेलाको पैसा छिप्पिँदै गएर ठूलो नामधारी द्रव्य भएको कुरा पत्तै भएन | हुन त द्रव्य भन्नाले बग्ने, तरल, झोल के के पनि छ क्यारे ! ए हो नि, पैसा पनि बग्छ त, हाम्रा हातमा कहिल्यै टिक्छ र ! कहिले ममा, फेरि अर्कामा, त्यसपछि अर्कामा बग्या बग्यै । हो ठिक हो, यो तरल नै हो ।
फेरि, द्रव्य कहिले कान्छीनानी, कहिले लक्ष्मी हुँदै औपचारिक र सरकारी भाषामा रकम भएछ । रकमबाट रकम-कलम, रकमान्तर अनि रकमी बनेछ । यो रकमी शब्दले प्राय: बढी स्वार्थी, पैसासँग ज्यादै मोह गर्ने वा ज्यादै स्वार्थी मान्छे भन्ने पनि बुझाउँने रहेछ । ए फलानो त कस्तो रकमी हगि ? कुरो बुझ्नु भयो त्यो मान्छे हुनसम्मकै रकमी छ है, होस् गर्नुस् ।’ तेरो बोलीको शब्द शब्दमा रकमी अर्थ लुकेका छन् है काईंला’, भनेर मलाई मेरा जिबाले भनेको अहिले पनि ताजै स्मरण छ |
अहिले देशका हरेक कुनाकाप्चामा समेत बजेट शब्द ज्यादै प्रचलित छ जसले द्रव्यको नै प्रतिनिधित्व गर्दछ । ‘ ए यसपाली यो बाटाको लागि गाउँपालिकाले कति बजेट छुट्टयाएको रहेछ हँ, साहिला ?’ भनेर तल्लाघरे श्रीकण्ठ दाइले मलाई सोधेको अस्ति जस्तो लाग्छ । बजेट निकाशा भएको छैन, बजेटै पुगेन, विना बजेटले यो योजना कसरी सम्भव हुन्छ काम गर्नलाई भन्ने कुराकानी आजकल सामान्य नै मानिन्छन हाम्रा वरिपरी । यसपाली कोल्पु खोलामा पुल हाल्न बजेट निकाशा गराउनैपर्छ भनेर रातामाटे फूलप्रसाद फुँयाल दाइ कम्मर कसेर प्रदेश धाएको धायै छन् । छोड्नुस् बाटो साटो खोल्दै गरौंला, यसपटक पहिले पुल बनाऔँ भन्नेहरूको पनि बिगबिगीनै छ | यस्तै उदाहरण पश्चिम नेपालको गोर्खातिर मोटर बाटो भन्दा पहिले मोटर हिँड्ने पुल बनेको घटना यिनै आँखाले देखेका कुरा ताजै छन् |
अब द्रव्यमहात्म्यको गाँठो फुकाउँदै जाँदा यसका अनेकौं नाम मध्ये लक्ष्मीको चर्चालाई छाड्नु हुन्न | तिहारमा लक्ष्मी पूजा गर्ने चलनले धनको लागि पूजा उपासना गर्ने भन्ने जनाउँछ, त्यो जानी आएकै कुरा हो | लक्ष्मी अर्थात धनकी देवीलाई मान्ने हाम्रो चलन निकै पुरानो हो । विभिन्न धनका लक्ष्मीहरू मध्ये वैभवलक्ष्मी, ज्ञानलक्ष्मी, गुणलक्ष्मी, धनलक्ष्मी, राज्यलक्ष्मी, कान्तिलक्ष्मी, स्वर्णलक्ष्मी, हिरण्यलक्ष्मी आदि हुन् जसले धन र ऐश्वर्यसँग सम्बन्ध जोड्छ । यी लक्ष्मीका पूजाआजा र व्रत बसेर ऐश्वर्य प्राप्त हुन्छ भन्ने श्रद्दा र विश्वास हाम्रो समाजमा राम्रै रहेको पाइन्छ । यो कुरामा कर्म पनि जोड्नुपर्छ भन्ने शास्त्रले भनेको कुरो चाहिँ मान्छेले अलि बिर्सेको हो कि भन्ने लाग्छ मलाई ।
मान्छेले लामोसमय सम्म जे सोच्दछ, जे कर्म गर्दछ भने त्यसको प्राप्ति पनि त्यहि प्रकारले हुन्छ भन्ने कुरा हाम्रा धर्मशास्त्रले हजारौ बर्ष अघि सिद्ध गरेका छन् भन्ने कुराको उदाहरण दुर्गासप्तसतीमा भनिएको ‘यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्’ ले चरितार्थ गर्दछ । त्यस्तै, धम्मपदमा भनिएको ‘मन: पूर्वंगमा धर्मा मन: श्रेष्ठा मनोमया: । मनसा चेत्प्रदुष्टेन भाषते कुरुतेSथवा । ततस्तं दु:खमन्वेति चक्रम् वा वहत: पदम् ‘ । यही मन नै सबै चिज हो भन्ने भावार्थको यी श्लोक पाश्चात्य देशतिरबाट ‘यू आर व्हाट यू थिंक’ भनेर उल्था भई खली खाएर पाको भएर आएपछि यो कुरा त हामीसँग पहिल्यै रहेछ हैट ! भन्नलाई हाम्रा घैटाँ घाम लागेको छ अहिले ।
धन वा द्रव्यसँग जोडिएर राखिने मान्छेका नामहरू हाम्रा वरिपरी धेरै छन् – जस्तै: महालक्ष्मी, लक्ष्मीप्रसाद, लक्ष्मीदेवी, धनप्रसाद, ऐश्वर्यप्रसाद आदि। तर यो सवालमा मेरा रुम्जाटारका भान्दाइ लक्ष्मीदेव लम्साल, धार्केका भानिजबा धनप्रसाद धिताल, हैपुंगका ससुराबा ऐश्वर्यचन्द्र अमगाईं र बैकुण्ठेटापूका मितबा दामनाथ दाहाललाई भने द्रव्यका पर्यायवाची आफ्ना नामले कहिल्यै फर्केर हेरेनन् । ती सबैलाई जीवन बाँच्न पनि धौ धौ भयो र बाँचुन्जेल एक मानाको बन्दोवस्त भएको यी आँखाले कहिल्यै देख्न सकिएन भनेर मेरा स्वर्गवासी बाले भनेका कुरा मलाई स्मरण छ अहिले पनि ।
सबैभन्दा प्यारी नानीको रूपमा द्रव्य रहेको हुनाले यसलाई कान्छीनानी भन्ने गरेको कुरो उमेर छिप्पिँदै आएपछि बढि थाहा हुँदै गयो । टकटक कान्छीनानी गन त बाबू भनेर काहिला काकाले मलाई दस वर्षमै भनेको कुरा अहिले पनि मेरो दिमागमा ताजै छ । नेपाल भाषामा पैसा वा द्रव्यलाई ढेवा भनिने गरिन्छ । तर ढेवा शब्द आम नेपालीको बोलचालमा पनि सामान्य नै रहेको छ । पैसाको अर्को नाम दाम हो । पैसाको सानो इकाईलाई दाम भनिने भएता पनि पैसाको परिमाण जतिसुकै होस् त्यसलाई दाम भन्ने चलन रहेको छ हाम्रो बोलचालको भाषामा । दाम बाट दामपैसा बनेको हो भन्ने कुरामा शंका गरिरहनु नपर्ला । अलिकति पनि भन्ने अर्थमा – दुमो र दुम्मणिले द्रव्यकै वकालत गर्छन् ।
पहिले पहिले रुपैयाँ वा रुपियालाई मोहर भन्ने चलन थियो | यो मोहरको अगाडि ‘लाल’ थपेर ‘लालमोहर’ बनाएका पक्कै हुनुपर्छ । ग्यारेन्टी, शतप्रतिशत स्वीकृत भएको वा अनुमोदन भएको भन्ने अर्थमा लालमोहर शब्द प्रयोग हुनु पनि यसले द्रव्यसँग सम्बन्ध राख्दछ भन्ने कुरामा मेरो द्विविधा छैन |
अब द्रव्यलाई अरू के के नामले सम्बोधन गर्दा रहेछन् भनेर निन्दो चर्चो गर्दै जाँदा यस्तो पो पत्ता लाग्यो | नोट (कतै कतै लोंठ पनि भन्दा रहेछन्), नगद, गाँठ, सम्पत्ति, माल, दस्तूर, शुल्क, फि, भुक्तानी, पेमेन्ट, कारोवार, लेनदेन, धन, सिक्का, खोका, पेटी, सुपारी (कसैलाई यमलोक पठाउनु पर्दा दिने एडभान्स ), टिलो (मरेको बेला चढाउने), ढ्याक, दक्षिणा, तलव, ज्याला, भेटी, बील, पारिश्रमिक, बोनस, इन्सेन्टिभ, भत्ता, खर्च, घुस, रिश्वत के के हुन् के के । फेरि आजकल इलेक्ट्रोनिक युगमा द्रव्यले स्वरूप फेरेर इ-पेमेन्ट, इ-बैंकिंग, डेविट कार्ड, क्रेडिट कार्ड, स्विफ्ट, ट्रान्सफर, क्यास, मनि जस्ता विकसित रूपमा नाम फेरेछन् । आजकल कसैले कसैसँग पैसा दिनुस् वा लिनुस् भन्दा अनलाइन गर्दिन्छु है भन्ने चलनले द्रव्यलाई प्रमोसन गरेर आसमान (क्लाउड मार्फत जाने ) मा पो पुर्याएका रहेछन् त । धन्य द्रव्य तिम्रो महिमा अपरम्पार छ, अझै के के देख्नु पर्ने हो आउँदा दिनमा !
हरेक ठाउँमा द्रव्य घुमेको घुम्यै छ | जहाँ रवि पुग्दैनन् त्यहाँ कवि पुग्छन् भन्ने कुरामा मलाई शंकै छ | बरू जहाँ कवि पुग्दैनन् त्यहाँ द्रव्य पुग्छन् भन्नेमा म विश्वस्त छु, ढुक्क छु | केमा द्रव्य छैन र ? चार पुरुषार्थमा पर्ने धर्म, अर्थ, काम र मोक्ष भित्रको दोश्रो लम्बरमा पर्ने अर्थ नै द्रव्य रहेछ । जुन व्यवहारमा पहिलो लम्बरमा नै छ | धर्म गर्न, पुण्य कार्यमा लाग्न पनि अर्थ नभई कसरी सम्भव हुन्छ र, लौ भन्नुस् त ? मोक्षकै लागि पनि तिर्थव्रत नगरी कसरी सम्भव होला, त्यसको लागि पनि साधन त द्रव्य नै चाहियो । देउतीर्थ जानै पर्यो, ध्यान योग सिक्न गुरुजी र योगीजीहरूलाई दामपैसा चढाउँनै पर्यो । भागवत लाउँदाको खर्च, पण्डितलाई दिने दक्षिणा, हलुवा पुरी, प्रसाद खुवाउने खर्च पहिले नजुटाए महाराज परीक्षित, सुतजी, कृष्णजीको कथा कहाँबाट सुन्न पाउनु ?
मान्छेका पितापूर्खादेखि मान्दै आएको धर्मलाई त्यागी अर्को धर्ममा परिवर्तन गराउने गाँठी कुरो पनि त्यही मूला द्रव्य नै रहेछ । नाना प्रकारको लोभ मोहको जाल अनि वशीकरणमा पारेर एउटा देशको मौलिक भाषा. धर्म, संस्कार, संस्कृतिको पतन गराउने साधन पनि यही धन दौलत नै रहेछन्। त्यो ढेवा विना सेवा पनि हुन्न अनि कुनै मेवा पनि मिल्नेवाला छैन भन्दै मान्छे गाँठकै पिछलग्गु भई लबरल्वाँठ बनी आफैलाई बिर्सदै हिँडेका दृश्य नचाहेर पनि देख्नु पर्या छ, कस्तो बिडम्वना !
द्रव्यका सम्बन्धमा आधुनिक द्रव्य पुराणका बुक पढ्ने चलन फेसनै भएको छ आजकल । कसरी धेरै पैसा कमाउने र सोखसयल गर्ने मूल मन्त्रलाई शिरोधार्य गरि टाउकामा कफन बाँधी मान्छे पैसोको निम्ति हिँडेका देखिन्छन् । पैसा कमाउने, मोज गर्ने, भोज गर्ने र पोज देखाउने परम्पराको नयाँ नयाँ शृङ्खला आज जगतमा व्याप्त रहेको छ | गरिब सुकेको सुकेई छन् भने धनि सुँइठाएको सुँइठायै छन् । राज्यमा द्रव्यको डेलिभरी सिस्टम कोल्याप्स छ । धरोधर्म, सत्य कुरो – जीवनका सबै कुरा द्रव्यबाट नै अघि बढेका हुन् । जन्मेपछि हुर्कन, बढ्न, जीवनचर्या चलाउन द्रव्य अपरिहार्य छ भन्ने कुरा मेरा क नचिनेका फर्पिङका फूपाजुदेखि हार्वर्डबाट अर्थशास्त्रमा पि.एच.डी. गरेको कुम्ले काइँलोको कान्छो छोरो कमलेले सम्म भनेकै हुन् । भोको पेटमा खोले खानदेखि सडक पेटीमा पधारो परेको लाश जलाउनसम्म द्रव्य चाहिने रहेछ । द्रव्य विनाको जीवन अत्यासलाग्दो, कहालीलाग्दो र डरमर्दो छ | अझ भनौं द्रव्य नहुँदा जीवन त्याज्य छ, शून्य छ, क्रूर छ, अक्षम्य छ … के के छ, के के, भनी साध्य छैन ?
सारा संसारका देश, शक्ति, सामर्थ्य यी सबै द्रव्यकै उपज हुन् भन्दा के को लाज ? जागिरमा हाकिम, कारिन्दा अनि कार्यालय सहयोगी जस्ता पदको औकात नाप्ने पनि द्रव्य नै हो, लौ जा भनेर हाम्रा रिटायर्ड साना मामाले भन्न भ्याए | भूँई मान्छे हो कि, खाईलाग्दो मान्छे हो भन्ने नाप्ने पनि पैसो नै रहेछ । फलानाले दाम कमाएर तामझाम गर्यो अनि कस्तो प्रगति गर्यो हेर्नुस् त भनेको कुरो खोतल्दा गाँठी कुरो द्रव्यको महिमा वाचन गरेकै रहेछ । राजनीतिशास्त्र पनि चुरोमा अर्थशास्त्रको माथापच्चिसी रहेछ भन्दा केही पनि नापिन्न ! देख्या, सुन्या, भोग्या त्यही हो । अमेरिका, जापान, नेपाल, सोमालिया आदि पैसोले नै नाप्ने त रहेछ नि । अमेरिका, युरोप, अष्ट्रेलिया आदि सम्पन्न देशका ग्रीन कार्ड, पी आर, एन आर एन, पी एच डि सबै उपाधिमा पैसा याने द्रव्यका डिग्री र प्रमाणपत्र समेटिएका छन् । तब त महत्वपूर्ण छन् यी कुरा । हरिकंगाल देशहरू नेपाल, बुरूण्डी, सोमालिया जस्ता देशहरूले यदि ग्रीन कार्ड, पी. आर. जारी गरे को पो लिन अघि सर्ला र ?
चूरो कुरो, सारा संसार दौडेको द्रव्यकै लागि हो । यसमा कुनै शंका र द्विविधा छैन । मान्छे द्रव्य तान्न आ-आफ्ना बल्छी लिएर हिँडेका छन् । बल्छी मात्र फरक हुन् तान्ने चाहिं माछारूपी द्रव्य नै हो । कस्को बल्छी कस्तो छ, कति दरो छ, कति गतिलो छ, बलियोबाङ्गो छ कि कम्जोर वा निम्सरो छ त्यसको आधारमा माछा जालमा पर्ने तरिका मात्र फरक हो । आखिरमा शिकार त्यहि प्यारो द्रव्य नै हो ।
हे द्रव्य ! तिम्रो महिमा गाउन हजार जिब्रा भएका शेष नागले त सक्दैनन् भने म बबुराले के सकूँला ? तिमी अपरम्पार छौ , सर्वत्र व्याप्त छौ र जगतमा अनन्त भई बसेका छौ । हे द्रव्य ! तिम्रो नाम पनि सहस्र विष्णुको नाम झैं छ । तिम्रो हजार नामले रचित शास्त्र द्रव्यसहस्रनाम अजर, अमर, अपरम्पार, अनन्त र जगतको कण कणमा व्याप्त छ । तिम्ले यस्सो टेढो आँखाले भए पनि हामी जस्ता पाखा लागेका आशेहरूलाई कहिलेकाहीँ हेर्दिनू । जय द्रव्य !
०००
काठमाडाैं








































Laxman
राम्रो लाग्यो !